सप्तकोसी बाढीले ५ सय घर डुबानमा, भारतले बहावलाई पश्चिमतर्फ फर्काएपछि समस्या

रिपोर्ट नेपाल | 2018 Aug 31 | 06:51 am 1688

राजविराज, भदौ १५: सप्तकोसी बाढीले स्थानीय बस्ती ७२ घण्टादेखि डुबानमा छ। भारतीय पक्षले ब्यारेजमुनि च्यानल खनी बहावलाई पश्चिमतर्फ फर्काएपछि नेपालतिरको करिब ५ सय घरपरिवार डुबानमा परेको हो ।

बहाव परिवर्तनले ल्याउन सक्ने समस्याबारे यसअघि नै स्थानीय तह हुँदै केन्द्रमा समेत पत्राचार भयो। तर, भारतीय पक्षसँग समस्या समाधानको पहल हुन सकेन।

हनुमाननगर कंकालिनी नगरपालिकाको ५, ६, ७, ११ र १२ नम्बर वडा तथा तिलाठी कोइलाडी गाउँपालिकाको ४ नम्बर वडाका गरी ५ सयभन्दा बढी घरबाट कोसी नदी बगिरहेको छ।

स्थानीय अगुवा यो समस्या विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले नेपाल रहेको बेला नेपाल पक्षले उठाउनुपर्ने सुझाउँछन् । ‘भारतीय पक्षले च्यानल खन्दा यति ठूलो समस्या देखिएको छ । नेपालका प्रधानमन्त्रीले मोदीलाई यही बेला यसबारे कुरा राखे समस्या तत्काल हट्न सक्छ,’ कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले भने।

३ महिनाअघि पनि जिल्ला प्रशासन कार्यालयले नेपाल तथा भारतका गृह सचिवस्तरीय वार्तामा कोसीको धार पश्चिमतर्फ फर्काइएको विषयमा कुरा उठाउन र समस्या समाधान गर्न आग्रह गरेको थियो । ‘सबैतिरबाट पत्राचार गर्ने कार्य मात्रै भयो, समस्या समाधान गर्ने उद्देश्यका साथ कार्यान्वयन गर्ने कुरा कतैबाट भएन,’ यादव दुखेसो गर्छन् ।

गत साउनमा हनुमाननगर कंकालिनी नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी भारतले सुनियोजित रूपमा कोसीमा पाइलट च्यानल खनी बहावलाई पश्चिमतर्फ फर्काएको र नदी पश्चिम फर्काइँदा केही बस्ती डुबानमा पर्नुका साथै पश्चिमी तटबन्ध समेत जोखिममा पर्ने औंल्याएको थियो । पत्रमा एक लाखभन्दा बढी जनताको उठिबास हुन सक्ने खतरा समेत देखाइएको थियो । ‘हाम्रो स्तरबाट भारत सरकारसित कुरा गर्न सम्भव थिएन,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवले कान्तिपुरसित भने, ‘यो उच्च स्तरको विषय भएकाले भारतीय पक्षसित छलफल गरी नदीको बहाव बीचबाट गराउन आवश्यक समन्वयका लागि जिप्रकालाई पत्राचार गर्‍यौं ।’

जिप्रकाले पनि सीमावर्ती समकक्षीसित मात्र छलफल गरेर समस्या समाधान हुँदैन भन्ने निष्कर्ष निकाल्यो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोसीमा च्यानल खनेर नदी पश्चिम फर्काइएको पत्र स्थानीय तहबाट आएपछि आफूले परराष्ट्र र ऊर्जा मन्त्रालयलाई पत्राचार गरेको सुनाए । ‘हाम्रो स्तरबाट कुरा गरेर समस्या समाधान गर्ने अवस्था छैन, उच्च तहबाटै कूटनीतिक स्तरमा कुरा गरेर मात्रै समाधान हुने अवस्था छ,’ प्रजिअ पौडेलले भने ।

स्थानिय तह र स्थानिय प्रशासन बस्ती सार्ने बिकल्प खोजीरहेका बेला बाढी घरमा पसेर बिस्थापित भएकाहरु भने आफूहरु घर सारेर कहा जाने भन्ने अन्योलमा छन् । पछिल्लो ३ दिनदेखी घरवार डुबेका मध्ये अधिकांस सुकुम्वासी छन् ।

बाढीपीडित क्षेत्रमा अहिले खानेपानीको अभाव देखिएको छ । सबै घरका ट्युवेलहरु डुवानमा परेकोले खानेपानीको अभाव भएको हो । बुधवार नगरपालिकाले भुजा,चिउरा,चाउचाउ,नुन लगायतका सामग्री सहित २ बोतलका दरले पानी बितरण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.