संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ : प्रधानमन्त्री ओली

| 2018 Sep 02 | 03:16 pm 1586

काठमाडौं, भदौ १७ :  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुसीयालीको रूपमा आएको संविधान पनि जनताले खुसीयालीपूर्ण ढंगले मनाउन पाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।उनले भने “ २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवस सबैभन्दा ठुलो राष्ट्रिय दिवस हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसर पारेर शैक्षिक संस्था,स्थानीय तह र अन्य निकायहरूलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह समेत गरेका छन् । “संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति,महिला,दलित,मधेस,पहाड,हिमाल सबैको उत्सवको दिन हो” प्रधानमन्त्री ओलीले भने “यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।”

संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो कर्मकाण्ड मात्र बनाउनु नहुने उनले बताए । प्रधानमन्त्री ओलीले सामाजिक विकृति विसंगतिविरुद्ध आवाज उठाउन र संस्कारयुक्त जागरण अभियान चलाउन आग्रह गरे । साथै उनले संविधान दिवसलाई पनि विकृति र विसंगतिविरुद्धको अभियानसँगै जोडेर जनस्तरमा लैजान निर्देशन दिए ।

प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र राष्ट्रिय एकताका लागि संविधान महत्त्वपूर्ण दस्ताबेज भएको भन्दै सबै नागरिकले संविधानमा अपनत्व महसुस गर्नुपर्ने धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.