डलर, सुन र पेट्रोलियमको मूल्य हालसम्मकै उच्च

विश्वव्यापी चरम महँगी

रिपोर्ट नेपाल | 2022 Mar 10 | 08:18 am 1357

काठमाडौं, फागुन २६: अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिको प्रभाव नेपालको अर्थतन्त्रमा परेको छ। पेट्रोलियम पदार्थ, डलर र सुनको मूल्य चर्किँदा समग्रमा अर्थतन्त्र महँगीको चपेटामा परेको हो। युक्रेन र रूसको युद्धले पेट्रोलियम तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा आकासिएको छ। अमेरिकी डलरको भाउ नेपालकै इतिहासमा अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ। सुनमा पनि एकै दिन २ हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मको उच्च मूल्य कायम भएको छ।

करिब दुई वर्षदेखि कोरोना महामारीबाट थलिएको विश्व अर्थतन्त्र क्रमशः फस्टाउने क्रममा थियो। तर, यसैक्रममा पछिल्लो समय रूस र युक्रेनबीचको द्वन्द्वले निम्त्याएको युद्ध चर्किंदै जाँदा समग्रमा अर्थतन्त्रमा प्रभाव देखिन थालेको विश्लेषकहरू बताउँछन्। एकातिर कोरोनाले विश्व अर्थतन्त्र संकटमा परेको छ भने अर्को डलरको भाउ भने दिनदिनै नयाँ उचाइमा पुगिरहेको छ। डलर बलियो बन्दै जाँदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरूका लागि बुधबार (फागुन २५) कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.७६ रुपैयाँ र बिक्रीदर १२३.३६ रुपैयाँ कायम भएको छ।

अझ मंगलबार (फागुन २४ गते) प्रतिडलर खरिददर १२२.८४ रुपैयाँ र बिक्रीदर १२३.४४ रुपैयाँ कायम भएको थियो। यो विनिमय दर नेपालमा हालसम्मकै उच्च हो। यसअघि हिजो प्रतिडलर खरिददर १२२.०१ रूपैयाँ र बिक्रीदर १२२.६१ रुपैयाँ कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो। यसअघिका आर्थिक वर्षमा यसभन्दा कम दर कायम भएको थियो। यद्यपि यसअघि आव २०७६÷७७ मा डलरको बिक्रीदर अधिकतम १२३.२८ र न्यूनतम ११३.५२ कायम थियो। गत आवमा भने डलरको बिक्रीदर अधिकतम १२२.२८ र न्यूनतम ११८.५२ कायम थियो।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर छ। यस कारण पनि डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ। डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि बढी मूल्य तिर्नुपर्ने भएकाले यसको असर नेपाली अर्थतन्त्रमा पर्ने गरेको छ।

एकातर्फ महँगो डलर अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको चर्को मूल्य बढ्दा नेपाललाई महँगीको भार थेक्न हम्मे परेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि हप्तैपिच्छे भाउ बढेको छ। अझै बढ्ने संकेत छ। फागुन २५ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल १४२ पुगेको छ। जबकी फागुन १५ गतेसम्म प्रतिब्यारेल ९१.५९ थियो। यसपछि क्रमशः प्रतिब्यारेल १०० भन्दा माथि बढ्दै गएको छ।
यसको असर स्वदेशी बजारमा देखिसकेको छ। अझै महँगोमा तिरेर आयात गर्नुपरेकाले फेरि मूल्य बढ्ने देखिन्छ। यद्यपि सरकारले भारतीय आयल निगमबाट ३ रुपैयाँ बढेको मूल्य सूची पाएसँगै नेपाल आयल निगमले गत सातादेखि लिटरमा ५ रुपैयाँ बढायो। यसपछि अहिले पेट्रोल १ सय ५० रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै डिजेल र मट्टीतेल १ सय ३३ रुपैयाँ पुगेको निगमले जनाएको छ। एलपी ग्यासमा ६ सय ६५ रुपैयाँ घाटा हुँदा पनि बिक्री मूल्य बढाएको छैन।

यसैक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट पेट्रोलियम पदार्थको भाउ, मूल्यवृद्धिले विदेशी विनिमय सञ्चितिमा थप दबाब पार्ने बताउँछन्। किनभने मुलुकले जति परिमाणमा तेल किन्दै आए पनि मूल्य बढ्दा बढी खर्चिनु परेको छ। ‘अन्तर्राष्ट्रिय बजारमा दिनदिनै मूल्य चर्किएको छ। रूस र युक्रेनको युद्धले यसको मूल्य बढेको छ। जसले गर्दा नेपाललाई समेत भार पर्न गएको छ,’ उनले भने, ‘यो युद्ध चर्किंदा अन्तर्राष्ट्रिय बजारका मानिसहरू सुरक्षित ठाउँमा लगानी गर्ने हुँदा डलर, सुनको मूल्य बढेको हो। डलरको भाउ बढेकाले नेपालको विदेशी मुद्रा बढी बाहिरिँदा सञ्चितिमा चाप पर्ने देखिएको छ।’

अब समग्र मूल्यवृद्धिमा दबाब पर्छ। अन्तर्राष्ट्रिय अर्थतन्त्र अस्थिर हुन थालेपछि पर्यटन क्षेत्र प्रभावित हुने उनले बताए। डलरको भाउ बढ्दा मुलुकले लिएको ऋणको ब्याज तिर्ने भार पनि बढ्दै जाने प्रवक्ता डा. भट्टले बताए। यसर्थ अन्ततः मुलुकको अर्थतन्त्र महँगीको चपेटामा पर्नसक्ने संकेत देखिएको छ। अहिलेलाई विदेशी सञ्चितिमा भार पर्न गएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल १४२

पछिल्लो समय रसिया र युक्रेनबीचको तनावले  विश्व अर्थतन्त्र नै आक्रान्त हुन थालेको छ। रसियाले युरोपियन मुलुकमा ४० प्रतिशत पेट्रोलियम पदार्थ पठाउने गर्छ। एकदिनमा रसियाले दैनिक नेपाली १ खर्ब रुपैयाँ बराबरको ब्यारेलमा विदेशमा निर्यात गर्दै आएको छ। यता अर्थविद् डा. विश्वम्भर प्याकुरेल नेपालको अहिलेको बजार अनियन्त्रित भइरहेका बेला झन् बाह्य समस्या थपिएकाले चर्को मूल्यवृद्धिको सामना गर्नुपर्ने संकेत
देखिएको बताउँछन्।

युक्रेन र रूसकोे युद्धले पेट्रोलियम उत्पादनमा एउटा ब्यारेलको १४२ डलर मूल्यवृद्धि भएकोे छ। अर्थविद् डा. प्याकुरेलका अनुसार अझ रूसले आफूहरूमाथि गरेको बन्देज नफुकाए यसको मूल्य एक ब्यारेलमा ३ सय डलरसम्म पुग्ने धम्की दिइरहेको छ। उनकाअनुसार यो आर्थिक वर्ष अन्त्यमा भारतमा पनि मुद्रास्फीति बढ्ने सम्भावना भएकाले दोहोरो अंक मुद्रास्फीतिको मारमा पर्ने भन्ठानेका थियौं। अब त युक्रेन र रूसको युद्धले दोहोरो अंकमा बढ्ने निश्चित रहेको उनको ठहर छ।

नेपालमा मुद्रास्फीति समस्या पहिलादेखि नै थियो। महामारीले सामान्य हुँदै जाँदा मुलुक पुनरुत्थान (रिकभरि) तिर जान थालेको थियो। विस्तारै सेवा क्षेत्र रिभाइल हुने हुनाले मागमा अविभृद्धि हुने अपेक्षा थियो। चालू आर्थिक वर्षको ६ महिनामा मुद्रास्फीति ५.५६ प्रतिशत भएको थियो। अझ बढ्ने सम्भावना छ।

चर्किंदै सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य चर्किंदै गएको छ। बुधबार (फागुन २५गते) मात्रै प्रतितोला २ हजार ५ सयले वृद्धि भएर नयाँ कीर्तिमान कायम गरेको छ। छापावाला र तेजाबी सुन उक्त दरले बढेर प्रतितोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। सोही दरले बढेर तेजाबी सुन प्रतितोला १ लाख ५ हजार पुगेको छ। यो हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन्। जबकी अघिल्लो दिन (मंगलबार) छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजावी सुन १ लाख २ हजार ५ सय कायम गरेको थियो। सुनको मूल्‍यसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। यसदिन चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। मंगलबार चाँदी तोलाको १४ सय १० रुपैयाँमा खरिद बिक्री भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यका अनुसार सुनको मूल्य अहिलेसम्मकै उच्चमा पुग्नुको मुख्य कारण डलरको भाउ र अन्तर्राष्ट्रिय स्तरमै मूल्य ह्वात्तै बढ्नु हो। एकातर्फ एक डलरको मूल्य १ सय १८– १ सय १९ भइरहेकामा अहिले १ सय २३–१ सय २४ रुपैयाँसम्म पुगेको छ। अर्कोतर्फ सुनको अन्तर्राष्ट्रिय बजारमै मूल्य एकदमै उच्च हुँदै गएको छ। ‘यसअघि जुन गतिले बढ्थ्यो अहिले त्यसको सीमा पार हुने गरी मूल्य बढेको छ। सोही अन्तर्राष्ट्रिय बजारको उच्च मूल्यको सुन खरिद गर्न अहिले बढेको डलरको विनिमयदर तिरेर किन्नु परेको छ। यस्तो दोहोरो मारले गर्दा नेपाली बजारमा सुनको भाउ चर्किएको हो,’ अध्यक्ष शाक्यले भने। रूस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको  उनको तर्क छ। यो युद्ध तत्कालै अन्त्य होला जस्तो  नदेखिएकाले कालान्तरमा सुनको भाउ अझै बढ्न सक्ने सम्भावना भएको उनको अनुमान छ।

सामान्यतयाः डलर र सुनको मूल्यवृद्धिको विपरीत सम्बन्ध हुन्छ भनिन्छ। तर, यो अन्तर्राष्ट्रिय बजारमा मात्र लागू हुने अध्यक्ष शाक्य बताउँछन्। मुद्रा र सुन दुवैलाई लगानी गर्ने क्षेत्रका रूपमा लिइन्छ। कसैले डलर, कसैले पाउण्ड, युरोलगायतको मुद्रामा लगानी गर्छन्। अन्तर्राष्ट्रिय मुद्रा बजारमा वस्तु विनिमय (कमोडिटी) जस्तै मुद्रा किनबेच गर्न पाइन्छ। अन्नपर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.