‘वार्ताबाट समाधान निस्किएन भने ओली सरकार ढल्छ’

| 2018 Jul 25 | 11:28 pm 3855

– ओमप्रकाश अर्याल, डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य

० ओमजी, तपाईं अनसन बसिरहनुभएका चिकित्सक गोविन्द केसीका तर्फबाट वार्ताटोलीको सदस्य हुनुहुन्छ, सरकारले वार्ता सकारात्मक दिशामा गएको प्रचार गराएको छ, वास्तवमा के भइरहेको छ बताइदिनुस् न ?
– डा. गोविन्द केसीका सातवटा माग छन् । त्यसबारे छलफल गर्न हिजो राति (मंगलबार राति)सम्म बस्यौँ । सरकारी टोलीका सदस्यले विधेयकबारे खास केही भन्न सक्नुभएन । त्यसैले त्यसको अन्तरवस्तुमा हामी प्रवेश गरेका छैनौँ । बाँकी ६ वटा मागका बारेमा केही गर्न सकिन्छ कि भनी छलफल हुँदा केही समझदारीहरू बनेका छन् । मूख्य गाँठो परेको विधेयकको सम्बन्धमा हो । त्यसको अन्तरवस्तुमा प्रवेश गर्नका लागि सरकारी वार्ता टोलीले पनि राजनीतिक नेतृत्वसँग समन्वय गर्नुपर्ने भएकोले अब हुने वार्ता त्यसमै केन्द्रित हुनेछ । अब विधेयककै विषयमा वार्ता केन्द्रित हुन्छ र वार्ता निश्कर्षमा पुग्ने–नपुग्ने यसैले निर्धारण गर्छ ।

० वार्ताको सन्दर्भअघि त सरकार निकै आक्रामक देखिएको थियो, वार्तामा बसेपछिको रवैयाचाहिँ कस्तो पाउनुभएको छ ?
– सरकारकै वैधता संकटमा पर्नेजस्तो सम्भावना देखिएकोले होला मिलाएरै लैजानुपर्छ भन्ने उहाँहरूको व्यवहार देखिएको छ । दम्भ र अहंकारले मात्रै त कहीँ पुगिँदैन भन्ने महसुस भयो होला । एउटा सत्याग्रहीले सत्यको आग्रह गरिरहेको छ, त्यत्ति कुरा पनि नसुनिदिने जुन दम्भ थियो, स्वार्थी तत्वबाट घेरिएको थियो सरकार । तर अब सरकारले विज्ञका कुरा पनि सुन्न थालेको छ । विज्ञको कुरा सुन्नेवित्तिकै त सरकार या सरकारी मान्छेहरूमा रहेको भ्रम तोडिइहाल्छ नि । डा. केसीले त सत्य उजागर गर्न खोजेका हुन्, स्वयम् केपी ओलीलाई नि भ्रमबाट मुक्त तुल्याउन खोजिएको हो । सरकारले विस्तारै विज्ञहरूको कुरा सुन्दै गरेको हुनाले अब सत्यको आग्रह सुन्छ कि, सरकार भ्रमबाट मुक्त हुन्छ कि भन्ने हामीलाई लागिरहेको छ ।

राजतन्त्रलाई पनि त संविधानले कहिल्यै परिवर्तन गर्न नसकिने भनेर राखेको थियो त, जनता उर्लेपछि के भयो ? अनि केपी ओली को हुन् र जसको विगत पनि राम्रो छैन फेरि ! उनको त संगत नै माफियाहरूसँग रहेको हामी देखिरहेका छौँ । ती माफियाको संगतबाट प्रधानमन्त्री मुक्त भइदिनुपर्यो, आमनागरिकको नेता र जनताको प्रधानमन्त्री भइदिनुपर्यो केपी ओली भनेर अनुरोध गरिरहेका न हौँ हामीले त ।

० डा. केसीलाई अगाडि सारेर केही राजनीतिक दलले आफ्नो स्वार्थ पूर्ति गर्न थालेका छन् भन्ने आरोप छनि प्रधानमन्त्रीको त ?
– यो बेकारको कुरा हो । भोलि केपी ओली पनि डा. केसीको पछाडि लाग्नुपर्ने अवस्था आउँछ । डा. केसीले गरेको कुरा मानव कल्याणका लागि गरेको कुरा हो । जुनसुकै पार्टी, संघ–संस्था, नागरिक जो आए पनि स्वागत हुन्छ नि यस्तो मानव कल्याणको कुरामा त । सत्यका कुरा सुन्न कांग्रेस आयो या अर्को आयो भनेर डराउनुपर्ने हुन्छ र ? भोलि सिंगै कम्युनिष्ट पार्टी पनि आउँछ यो लाइनमा । आज पनि चित्रबहादुरको पार्टी जनमोर्चा आएको छ, मोहन वैद्यको पार्टी पनि आएको छ, मजदूर किसान पार्टीले समर्थन गरेको छ, आमनागरिकले समर्थन गरेकै छन् । यस्तोमा कांग्रेसले समर्थन गर्नु, विवेकशील साझा पार्टीले समर्थन गर्नु के अनौठो कुरा भयो र ? देशै अब त डा. केसीको समर्थनमा आइरहेको छ । अब सरकार या प्रधानमन्त्रीले यस्ता छुद्र कुरा गरेर केही अर्थ छैन ।

० वार्ताबाट निकास निस्कन्छ जस्तो लाग्छ तपाईंलाई ?
– वार्ताबाट निकास निस्केन भने यो सरकार ढल्छ, केपी ओलीले राजीनामा दिनुपर्ने परिस्थिति आउँछ । यो सामान्य विषय हुँदै होइन नि । दुई तिहाई छ भनेर धानिने हो र यत्रो जनमत एकातिर भएपछि ? जनता नै विरुद्धमा गएपछि के हुन्छ ? राजतन्त्रलाई पनि त संविधानले कहिल्यै परिवर्तन गर्न नसकिने भनेर राखेको थियो त, जनता उर्लेपछि के भयो ? अनि केपी ओली को हुन् र जसको विगत पनि राम्रो छैन फेरि ! उनको त संगत नै माफियाहरूसँग रहेको हामी देखिरहेका छौँ । ती माफियाको संगतबाट प्रधानमन्त्री मुक्त भइदिनुपर्यो, आमनागरिकको नेता र जनताको प्रधानमन्त्री भइदिनुपर्यो केपी ओली भनेर अनुरोध गरिरहेका न हौँ हामीले त ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.