अघिल्लो हप्ता रामग्राम नगरपलिकाको उज्जैनीमा रहेको प्रसिद्ध स्थल बौद्ध स्तुपाको बारेमा चर्चा एकाएक चुलिएर आयो । तर चर्चा हुनुको खास कारण त्यहाँ कुनै मुलुकबाट स्तुपा भ्रमणको लागि आएको पर्यटकको घुईचोले गर्दा त्यसको ब्यबस्थापनको चुनौती भएर आएको चाहीं थिएन । चर्चा थियो त केबल त्यस क्षेत्रको सुरक्षाको । नागरिक समाज नवलपरासीको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा बौद्ध स्तुपा आसपासको क्षेत्र पर्यटकीय हिसाबले भन्दा पनि परासी तथा आसपासको क्षेत्रबाट लागु पदार्थ र मादक पदार्थ सेवन गरि आउने युवाहरुको आश्रयस्थल जस्तो भएको भन्दै त्यस्ता गतिबिधि नियन्त्रण गर्न सुरक्षाको माग गर्दे प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा पोष्ट स्थापनाको लागि ज्ञापन पत्र बुझाइएको थियो, चर्चा त्यसकारण भएको थियो । नागरिक समाज नवलपरासीले गरेको उक्त प्रयास अत्यन्त सान्दर्भिक र समय सापेक्ष छ ।
नवलपरासी जिल्लाको सदरमुकाम परासीमा रहेको जिल्ला प्रहरी कार्यालय र अमानिगञ्जमा रहेको ईलाका प्रहरी कार्यालयबाट चार किलोमिटरको मध्य दुरीमा रहेको सो क्षेत्रमा प्रहरीको उपस्थिति नहुदा सुरक्षा चुनौती बढ्नु स्वभाविक पनि हो । हुनत चार किलोमिटरको दुरी खासै टाढाको दुरी पनि होइन । नियमित प्रहरी गस्तीबाट सुरक्षा व्यवस्था भरपर्दो रुपमा कायम भएको पनि छ । तथापि प्रहरीको तैनाथी सहित सुरक्षा पोष्ट स्थापनाको लागि नागरिक स्तरबाट आबाज उठ्नु समाजमा प्रहरीको अपरिहार्यता, बिस्वास र भाइचाराको आभाष पनि हो ।
नवलपरासी जिल्लाको दक्षिणी सीमाना करिब २७.५ किमी भारतसँग जोडिएको छ । जिल्लाको भारतीय सीमा क्षेत्रमा सीमित संख्यामा रहेको प्रहरी कर्मचारीको उपस्थितिले गर्दा खुल्ला सीमानाको फाइदा उठाई हुने अबैध कार्य रोक्न प्रहरीलाई चुनौती रहेको छ । खुल्ला सीमानाकै कारण युवाहरु भारतको सिमावर्ती शहरमा गई लागु पदार्थ सेवन गरि सो क्षेत्रमा आई जमघट गर्ने र युवाहरुको (झुण्ड) समूह बनाई स-सानो निहुंमा झैझगडा गर्ने, एकआपसमा कुटपिट गर्ने र सामाजिक सञ्जालबाट तथानाम गालि गलौज गर्ने लगायतका घटनाहरु हुने गरेको सन्दर्भमा सुरक्षा चासो आम नागरिकको सरोकारको बिषय बन्नु स्वभाविक नै हो ।
नेपाल बिबिधताले भरिएको देश हो । नेपालको पहिचान बिश्व सामु चिनाउने अनेकौ आधारहरु रहेका छन । सांस्कृतिक, भौगोलिक, धार्मिक र ऐतिहासिक आधारहरु त्यसमध्येका बिम्वको रुपमा रहेका छन । नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको उज्जैनी स्थित झरुवा नदीको किनारमा रहेको बुद्धकालीन रामग्राम स्तुपाको यस क्षेत्रमा ठुलो महत्त्व ठूलो रहेको छ । यो बौद्ध स्तुपा क्षेत्र धार्मिक, सास्कृतिक र पुरातात्विक हिसाबले अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । यस स्तुपामा भगवान् बुद्धको अस्थिधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र स्तुपा नै रामग्राम स्तुपा हो । स्तुपा क्षेत्रको व्यापक रुपमा प्रचार प्रसार र व्यवस्थित रुपमा व्यवस्थापन गर्न सकेमा पर्यटन बिकासमा यसको महत्वलाई राष्ट्रीय तथा अन्तराष्ट्रीयकरण गर्न सहज हुन्छ ।
बिभिन्न आलेख तथा कीर्तिहरुमा वर्णन भए अनुसार भगवान गौतम बुद्धका मातापिता सौर्य वंशका फरक महाजनपद र राज्यबाट हुनुहुन्थ्यो । उहाँका बुवा शुद्धोदन शाक्य राज्यका हुनुहुन्थ्यो भने आमा मायादेवी कोलिय राज्यका हुनुहुन्थ्यो । बौद्ध ग्रन्थहरुका अनुसार बुद्धको ई.पू ४८३ कुशीनगरमा गौतम बुद्ध महापरिनिर्वाण पछि उहाँको दाहसंस्कार गरिएको अवशेष सोह्र महाजनपदहरू मध्ये आठ वटा राजकुमारहरुलाई बाँडिएको थियो । प्रत्येक राजकुमारले आफ्नो राजधानी सहरमा वा नजिकै एउटा स्तुपा निर्माण गर्नुभयो । जसभित्र खरानीको सम्बन्धित भाग राखिएको थियो । कपिलवस्तु, शाक्य राज्यको राजधानी शहर भनिए तापनि यस स्तूपा रहेको स्थान विवादको विषय रह्यो । त्यहाँ पिपरहवामा निर्माण भएको प्रमाण अझै रहेको छ ।
सातौँ शताब्दीमा कपिलवस्तु र लुम्बिनीमा चिनिया यात्री फाहियान र हृवेनसांगले कोलिय गणराज्यको पनि यात्रा गरेका थिए । उनीहरूको यात्रा वर्णनमा कोलिय गणराज्यको विनाश भइसकेको र रामग्रामको मूल स्तुपा यथास्थानमा रहेको उल्लेख गरेका थिए । सो स्तुपालाई हालसम्म रामग्राम स्तुपाका नामले चिन्ने गरिन्छ । जुन नवलपरासीको सदरमुकाम परासीबाट करिब ४ किलोमिटर दक्षिण उज्जैनीमा रहेको छ । यसलाई प्राचीन रामग्राम स्तुपा समेत मानिएको छ । यहाँ भएका विभिन्न उत्खनन पश्चात् रामग्राम यही हो भन्ने प्रमाणित गर्ने अभिलेख वा ऐतिहासिक स्रोत प्रमाण भने हालसम्म भेटिएको छैन ।
भगवान गौतम बुद्धको अस्तित्वसँग जोडिएका यस्ता पुरातात्विक र सांस्कृतिक धरोहरहरु बिरलै अस्तित्वमा रहेका छन । नेपालमा अझै पनि धेरै पुरातात्विक सम्पदाहरु रहेको र तिनिहरुको प्रयाप्त सोधखोज र उत्खनन हुनु पर्ने देखिन्छ । प्रचार प्रसार र उचित मर्मत संहार तथा व्यवस्थापनको अभावले गर्दा यस्ता ऐतिहासिक तथा धार्मिक धरोहरहरु नेपालमा ओझेलमा पर्दै गैरहेका छन । भगवान गौतम बुद्धको पबित्र जन्मस्थल लुम्बिनीको नजिक रहेर पनि यसको प्रचार प्रसार र बिकासमा जुन किसिमको छलाङ हुनु पर्ने थियो त्यो हुन सकेको देखिदैंन् ।
संस्कृति र परम्परा, सदियौं देखि चलि आएका मुल्य मान्यता र संस्कारहरु राज्यका गहना हुन् । यसको जगेर्ना र संरक्षण गर्न सकेको खण्डमा राज्यको पहिचान र आर्थिक बिकासको आधार समेत बन्न सक्दछ । स्थानीय सरकारबाट यस्को प्रचार प्रसार र संरक्षणमा अझ ब्यापक रुपमा योजना सहित लाग्नु पर्ने देखिन्छ । स्तूपाले चर्चेको क्षेत्रको नाप नक्सा सहित पहिचान गरि भरपर्दो र सुरक्षित तारजाली र वाल कम्पाउण्ड सहित दिगो रुपमा संरक्षण हुनु पर्ने देखिन्छ । बिभिन्न मुलुकहरु बाट उक्त स्तूपा दर्शन र भ्रमणको लागि आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई स्तूपा सम्बन्धी जानकारी गराउने संयन्त्र (गाइड) को व्यवस्थापन हुनु जरुरी छ ।
स्तुपा भ्रमण गर्न आउने स्वदेशी तथा बिदेशी पर्यटकलाई ब्यबस्थित रुपमा स्तुपाको बारेमा जानकारी सहित भ्रमण गराउन सकेको खण्डमा उनीहरुको माध्यमबाट स्तुपाको बारेमा स्वदेश तथा बिदेशमा समेत प्रचार प्रसार गराउन सकिन्छ । जसले गर्दा लुम्बिनीको भ्रमण गर्न आउने पर्यटकहरुलाई एकपटक नवलपरासीको रामग्राम पुगौंपुगौं लाग्ने बनाउन सकिन्छ । लुम्बिनी भ्रमणको लागि आउने पर्यटकहरुलाई यहाँसम्म ल्याउन सकेको खण्डमा पक्कै पनि यसले नगरपालिकाको पर्यटन र आर्थिक बिकासमा पनि टेवा पुर्याउन सक्छ र समग्रमा यसले देशको पर्यटनको सम्भावनालाई नै थप मजबुत बनाउंछ । हुनत यसको लागि बिभिन्न प्रयासहरु पनि भैरहेका छन । तथापी प्रयासको निरन्तरताको अभाव देखिन्छ ।
पर्यटकको घुंइचो बढ्दै गए पछि स्वभाविक अथवा टडकारो रुपमा सुरक्षा चुनौती जोडिएर आउंछ । नागरिक समाजले जुन चासो र चिन्ता ब्यक्त गरेर उक्त क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्ने प्रसंग उठाउनु भएको छ, त्यो अत्यन्त दुरगामी महत्वको बिषय हो । मानिसको लागि अपरिहार्य आबस्यक्ताको रुपमा रहेको गास, बास र कपास संगसंगै सुरक्षा समेत जोडिएर आउने बिषय हो । आफूले चाहेको स्थानमा निर्वाध रुपमा घुम्न पाउने संबैधानिक व्यबस्थालाई अबरोध हुन नदिने सुरक्षा दायित्व प्रहरी संग जोडिएको हुन्छ । तसर्थ रामग्राममा रहेको स्तुपा क्षेत्रको बिकासमा सुरक्षा कदापी अलग रहेर बस्न सक्दैन र यसकै कारण कसैको इच्छा नामेट गर्ने काम कहिंकतैबाट पनि हुन दिनु हुदैन । बिकास र सुरक्षा भन्ने कुरा कुनै एकजनाको प्रयासमा मात्र सम्भव हुंदैन । तसर्थ स्तुपा क्षेत्रको बिकास संगसंगै आउने सुरक्षा चुनौतीलाई नागरिक समाज, स्थानीय सरकार र प्रहरीको हालेमालो सहितको संयुक्त प्रयासका साथ कार्य गर्न सकेमा अबस्य पनि बिना ब्यबधान पार लगाउन सकिन्छ भन्ने कुरामा कुनै सन्देह नरहला ।
(लेखक जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक हुन्)