यस्तो थियो बीपीले जेलमा पाएको सुविधा

| 2019 Feb 16 | 07:01 am 2144

एक दिन मध्यरात बन्दी कक्षमा पुगेका एक जना सैनिक अधिकारीले बीपीलाई तयार हुन आदेश दिए । अनि सशस्त्र गार्डको पहरामा एउटा ट्रकमा हाली उनलाई हरि शमशेरको दरबारनजिकैको झ्यालखानामा पुर्‍याए ।

सुत्ने कोठामा लगाउने चप्पल, टोपी र ओभरकोट लगाएका हरि शमशेर स्वयम् तुसारोले छोपिएको आगनमा आएर बीपीलाई महाराज मोहन शमशेरले जेल चलान गर्न हुकुम दिएको फैसला सुनाए ।

त्यहीँ बीपीले आफूलाई कति समयका लागि थुन्न लगेको हो रु भन्ने जिज्ञासा राखेका थिए । जवाफमा हरिले भने,“तिम्रो र तिम्रो परिवारको व्यवहारमा जहिलेसम्म सुधार आउँदैन, तबसम्म जेलमा रहनेछौ ।”

बीपीले गोलघरबाट लेखेको पत्र प्रदीप गिरिले विश्वेश्वरप्रसाद कोइरालाका प्रतिनिधि संकलन नामक पुस्तकमा समावेश गरेका छन् । पत्रमा बीपी भन्छन्, “मलाई आफूविरुद्ध लगाइएको अभियोगको पूरा जानकारी छैन ।

म वर्तमान पञ्चायतविरोधी आन्दोलनको नेता भएको र मैले नेपाल प्रवेश गर्न नपाउने बन्देजलाई तोडेको हुँदा महाराजबाट यहाँ मेरो परिवारको गतिविधि रहुन्जेल मलाई कारावासमा राख्ने हुकुम भएको कुरा जनरल हरि शमशेरले बताए ।”

बिहानको दुई बज्नै लाग्दा उनलाई असाध्यै होचो र पानी चुहिने, आठ फिट लम्बाइ र सात फिट चौडाई भएको कहिल्यौ घाम नछिर्ने कोठामा थुनियो ।

भद्रगोल जेलको त्यो कोठामा दिसापिसाब गर्न बीचमा एउटा सानो प्वाल बनाइएको थियो ।” बस्न दिइएको कोठाको त्यही प्वालमा दिसा गरेर पानीले बगाउनुपथ्र्यो ।

खोरभित्र कुकुरले नपाउने दुःख पाएपछि हायलकायल भएर चाँडै नै उनी गल्नेछन् भन्ने राणाहरुको बुझाई थियो । “बीपी जस्ता दुईचार जना ठेट्नालाई ठोकठाक पारेपछि नेपालका अरु अल्लारे, हुल्लडबाजहरु स्वतः तर्सेर राजनीतिक समस्या आफैं सुल्झन्छ ।”

भनेर राणाहरुले उनलाई हदैसम्मको सास्ती दिएका थिए । बीपी आफैंले भनेका छन्, “कोठा यति अँध्यारो थियो कि मलाई त यो एउटा कालकोठारी जस्तो लाग्यो ।”

थुनामा राख्न लगेकै दिन जेलरले बीपीसँग भनेका थिए, “अब तपाईको घर यही हो । सरकारबाट तपाईले अरु कैदीसरह डेढ माना चामल, एक पैसा, तीन ओटा रातो खुर्सानी, अलिकति नुन र दुई मुठा दाउरा पाउनुहुनेछ ।”

भान्सा प्रयोजनका लागि एक कुनामा तीनवटा ईटा राखेर चुलो बनाइएको थियो भने खाना पकाउने भाँडाको नाममा दिसा जाने बेला प्रयोग हुँदै आएको आल्मुनियमको कुच्चिएको लोटा दिइएको थियो । बीपीले पाएको सुविधा त्यति नै थियो । (बीपीको विद्रोह जगत नेपालद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.