यसरी भयो पहिलो संगठित आन्दोलन

| 2019 Jan 05 | 06:43 am 2153

नेपालमा कहीँकतै उद्योगधन्दा नभएको समयमा “प्रधानमन्त्री जुद्ध शमशेरले १६ लाखको लगानी गरेर विराटनगरमा जुटमिल्स १९९३ सालमा स्थापना गरेका थिए । दुई सय वटा तानबाट शुरु भएको मिलमा एक सय ५८ तान थपेर तीन सय ५८ पुर्याइयो ।”

नेपाल–भारत सिमानजिक स्थापना गरिएका जुट, कटान, केमिकल्सलगायत उद्योग शतप्रतिशत नाफमा थिए । तर दैनिक ११ घण्टा काम गर्ने मजदुरहरुको अवस्था भने दयनीय थियो । मजदुरका छोराछोरीको शिक्षा र स्वास्थ्यमा ध्यान दिइएको थिएन । न त ट्रेड युनियन नै खोल्ने अधिकार थियो ।

मिलका मजदुरलाई संगठित गरी आन्दोलन चलाउन सकिन्छ भनेर तारिणी, गिरिजाप्रसाद र मनमोहन अधिकारीले मजदुरका रुपमा काम थाले । युवराज अधिकारी, गेहेन्द्रहरि शर्मा पहिलेदेखि नै काम गरिरहेका थिए ।

कालकत्तामा नेपाली राष्ट्रिय काँग्रेसको सम्मेलन हुनुपूर्वा नै तारिणीले बीपी र गणेशमानसँग भनेका थिए, “प्रजातान्त्रिक पार्टी गठन भए राणाविरुद्ध मजदुरहरुको संगठित आन्दोलन शुरु गर्न सकिन्छ ।” विराटनगरका मिलहरुमा कार्यरत मजदुरलाई संगठित गर्ने र राणाविरोधी आन्दोलनको जग बसाउने काम तारिणीको त्यही सुझावमा आधारित थियो ।

दोस्रो विश्वयुद्ध जारी रहेकाले चामल जुटको उच्च माग थियो । विराटनगरका मिलहरुमा काम गर्ने मजदुरहरुले युनियनलाई मान्यता दिनुपर्ने, ३५ प्रतिशत तलब बढाउनुपर्ने, दैनिक आठ घण्टा काममा लगाउनुपर्ने र आवासको उचित व्यवस्था गर्नुपर्ने माग राखी आन्दोलन गर्ने अल्टिमेटम दिए । मिल मालिकले माग पूरा गर्न अस्वीकार गरेपिछ “२००३ साल फागुन २१ गतेदेखि हडताल शुरु भयो ।”

हरेक दिन बिहान सात बजे मिल खुल्थ्यो । तर त्यस दिन १५ मिनेटअगाडि नै मिल्स एरियामा मजदुर जम्मा भए । मजदुरसभाले २२ वर्षीय गिरिजाप्रसाद कोइरालालाई सभापति र विश्वनाथलाई सचिव चुन्यो । अनि शुरु भयो नेपालकै पहिलो संगठित आन्दोलन ।

पाँच दिनपछि फागुन २६ गते मजदुर आन्दोलनलाई नेतृत्व दिन बीपी र गोपालप्रसाद भट्टराई विराटनगर पुगे । चैत्र ११ गतेसम्म शान्तिपूर्ण रुपमा हडताल चलिरहेको थियो ।

राणा सरकारले त्यो बिरोधलाई कोइराला परिवारको उत्पात ठान्यो । आन्दोलन दबाउन काठमाडौंबाट पहाडको बाटो हुँदै साढे दुई सयजति सैनिक विराटनगर पठायो । त्यही सैन्य टोलीले चैत्र १२ गते बिहानै बीपी, तारिणी, गिरिजा, मनमोहन, युवराज, गेहेन्द्रहरि शर्मालाई पक्राउ गरी बडाहाकिम राम शमशेरकहाँ हाजिर गरायो ।

त्यसपछि सबैलाई पैदल हिडाएर धनकुटा पुर्याइयो । त्यहाँबाट रामेछाप, सिन्धुली, काभ्रेको पहाडी बाटोमा २२ दिन हिडाएर काठमाडौं ल्याइयो । छोराहरु गिरफ्तार भएपछि विराटनगरमा आमा दिव्याको नेतृत्वमा चैत्र १४ गते बिशाल प्रदर्शन भयो । दिव्यासहित कोइराला परिवारका छोरीहरुनलिनी, इन्दिरा, कामिनी पनि थुनिए । दिव्यालाई छ महिना धनकुटामा थुनेर छोडियो ।

बीपीले भनेका छन्, “के भनौं, मेरी श्रीमतीबाहेक मेरो परिवारका सबै गिरफ्तार भए ।” बीपी थुनामा परेपछि मातृका नेपाली राष्ट्रिय काँग्रेसको कार्यकारी सभापति भए ।

देशमै पहिलो पटक भएको संगठित आनदोलनका क्रममा पक्राउ परेका बीपीसहित छ जनालाई काठमाडौं विशालनगरस्थित प्रधानमन्त्री पध्म शमशेरको दरबारमा एउटा सानो कपुरको रुखमुनि राखिएको थियो । २००४ साल बैशाख १ गतेको कुरा हो ।

“दिउँसो १२ बजे त्रिचन्द्र कलेज र जुद्धोदय पब्लिक स्कुलका विद्यार्थी टंकविलास बज्राचार्य, प्रेमबहादुर कंसाकार, गोपालप्रसाद रिमाल, तिलकराज शाही, नूतन थपलिया साइकल चढेर बीपीलगायतलाई हेर्न विशालनगर दरबार पुगे ।

त्यही बेला दरबारका एक आठपहरिया कप्तानले अपशब्द प्रयोग गर्दै भनेका थिए, “राणाशासन उल्टाउन खोज्ने काँग्रेस, यस्तालाई यहाँ नल्याएर कहाँ लग्ने त ?” ती कप्तानले अपशब्द प्रयोग गर्दै गाली गरेको बीपीले सहनै कसेनन् । कप्तानको गालैमा चडेकाइदिए । दरबारका मानिसलाई पिटेपछि हलचल मच्चिने नै भयो ।

बीपीले भनेका छन्, “अलि फोहोर गाली गर्दै उसले भनेको थियो, मैले त्यसको गालामा पटापट दुई थप्पड लगाइदिएँ । मलाई पति रिस उठिरहेको थियो कि, मेरो सुटकेसमा अड्काइरहेको एउटा लठ्ठी लिन म झुकें, त्यसैले पिट्छु भनेर । तर मनमोहन अधिकारीले त्यो लठ्ठी समातेर मलाई रोके ।”

अनि महाराजको ठाडो निर्देशनमा गिरिजा, मनमोहन, तारिणीलाई जावलाखेलको एउटा बंगालमा राखियो भने बीपीलाई छुट्टै अर्को बंगालमा नजरबन्द गरियो । प्रधानमन्त्रीको रोलक्रममा रहेको मोहन शमशेर “बीपीसहित छ जनालाई राजबन्दीको सुविधा दिएर हैन, सामान्य कैदीसरह केन्द्रीय कारागारमा राख्नुपर्छ भन्ने पक्षमा थिए । महाराज पध्म शमशेरले उनको कुरा मानेनन् ।”

त्यो घटनापछि काठमाडौंमा राणाविरोधी भावना ह्वात्तै बढेको थियो । दिनहुँ जसो विद्यार्थी जुलुस हनु थाले । राष्ट्रिय काँग्रेसले बीपीलगायतका नेताका रिहाइको माग गर्दै २००४ साल बैशाख १ गतेबाट सत्याग्रह थाल्यो ।

ती दिन पुष्पलाल श्रेष्ठ, तुल्सीलाल आमत्य, सहाना प्रधान र साधना प्रधान पनि राष्ट्रिय काँग्रेसमै थिए । बैशाख १७ गते उपत्यकाव्यापी जनप्रदर्शनको कार्यक्राम राखिएको थियो । त्यो  दिन सहाना र साधना दुई दिदीबहिनी बिहानै घरका सदस्यहरुले थाहा नपाउने गरी सुटुक्क बाहिर निस्किए । ठिक १० बजे कमलपोखरीबाट जुलुस निकाल्ने योजना थियो ।

आफूलाई दिइएको निर्देशन बमोजिम दिदीबहिनीले हस्तलिखित पर्चा तयार पारी साथमा लगेका थिए । नाराबजी गर्दै पर्चा बाँड्न थालियो, जुलुस अघि बढ्नदै गयो । “इन्क्लाब जिन्दावाद, नेपाली राष्ट्रिय काँग्रेस जिन्दावाद, राजबन्दी छोडिदेउ, राजा हामीले तोकेको छैनौं, ताज हामीले ताकेका छैनौं, नागरिक अधिकार दिनै पर्छ, मर्नमेट्न तयार छौं, गोलीदेखि डराउन्नौं ।”

जुलुस महाराजको विशालनगर दरबारतिरै आउन लागेको सूचना पाएपछि हात्तीसारनिर रोक्ने आदेशसहित पुलिस विभागका तालुकवाला मे.ज नर शमशेरलाई खटाइयो । लाठीचार्ज भयो । टंकविलास, शम्भुराम श्रेष्ठ, तिलकराज शाहीसहित ५७ जना पक्राउ परे । जुलुसमा सहभागी सहाना प्रधान, स्नेहलता र कनकलता तीन महिलालाई हप्काउँदै नर शमशेरले भने, “निर्लज्ज केटीहरु । यसरी विद्रोहमा उत्रिने केटीहरुलाई भारतमा के गर्छन्, थाहा छ ?

सहानाः हो, मलाई थाहा छ ।

नर शमशेरः त्यसो भए किन तिमीहरु विद्रोहमा समेल भयौ ?

सहानाः यो हाम्रो पछाडि नफर्कने यात्रा हो । हामी मृत्युसँग पनि डराउँदैनौं । प्रहरीले उनीहरुलाई गिरफ्तार गर्यो । सबैलाई दरबारमा बोलाएर पध्म शमशेरले माफी दिए । तर बाहिरिने क्रममा टंकविलास, शम्भुराम र तिलकराजलाई पुनः पक्राउ गरी जेल चलान गरियो, “झ्यालबाट हेरिरहेका बीपीसँग कुरा गरेको आरोपमा ।”(जगत नेपालद्वारा लिखित) 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.