मजदुर आन्दोलनका क्रममा पक्राउ परेका बीपीलाई सेन्ट्रल जेल त्रिपुरेश्वरनजिकैको एउटा बंगलमा सबैखाले सुविधा दिएर राखिएको थियो । भने तरिणी, मनमोहन, गिरिजा, गेहेन्द्रहरि शर्मालाई नख्खु जने बाटोनजिक एक जना राणाको बंगलमा ।
पूर्वप्रधानमन्त्री गिरिजाले लेखकसँग भनेका छन्,“हामीलाई दूध, टिनको बट्टामा भएको बिस्कुट तथा भान्सामा चाहिएजति सबै व्यवस्था थियो । नयाँ जुत्ता, ओभर कोटहरु जति चाहिए पनि दिन्थे ।
घर भित्र सबै सुबिधा भए पनि आँगनबाहिर भने जन पाइदैनथ्यो ।” बन्दी बनाइएको केहि समयपछि बीपीको स्थास्थ्य बिग्रदै थियो । “रगत बान्ता हुन थाल्यो ।” बीपी जेल परेपछि दाजु मातृकालाई पार्टी सभापति बनाइएको थियो ।
उनले बीपीको रिहाइका लागि भारतीय राष्ट्रपति डा राजेन्द्रप्रसादसँग आग्रह गरे । तर बीपीको स्वास्थ्य बिग्रदै गएकोमा चिन्ता व्यक्त गरे पनि राजेन्द्रप्रसादले रिहाइका लागि पहल गरेनन् ।
भर्खरै बेलायती उपनिवेशबाट मुक्ति पाएको भारत आफ्नै आन्तरिक समस्यामा फसेको थियो । भारत र पाकिस्तानको विभाजनका कारण पूर्व भागमा साम्प्रदायिक दङ्गा फैलिएको थियो । “महात्मा गान्धी पूर्वी बंगालको साम्प्रदायिक दंगा क्षेत्रको शान्तियात्रा सकेर भर्खर कलकत्ता पुगेका थिए ।”
भारत प्रवासमा रहेका गणेशमान र कृष्णप्रसाद भट्टराई बीपीलाई छुटाउन भारतीय नेतृत्वलाई दबाब दिने र अखबारमा समाचार छपाएर हल्लाखल्ला मच्चाउने काममा सक्रिय थिए । तर, त्यसबाट राणा सरकारलाई खासैअसर परेको थिएन । “अनि २००४ साल भदौ ४ गते दबै महात्मा गान्धीलाई भेट्न कलकत्ता पुगे ।”
गणेशमानले भनेका छन्, “बीपीलाई छुटाउन पध्म शमशेरका नाममा महात्मा गान्धीको पत्र लेखाउनु सबैभन्दा प्रभावशाली उपाय हुने निष्कर्षमा हामी पग्यौं ।” नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उनीहरुले गान्धीसँग भनेका थिए, “राजनीति गर्नेहरुले जेल भोग्नैपर्छ ।
बीपीलाई जेल बस्न गाह्रो भो भनेर छुटाउन हामी आएका होइनौं । उहालाई क्यान्सर जस्तो घातक रोग लागेको र त्यहाँ उपचार हुन नसक्ने भएकाले बापुले पध्म शमशेरलाई एउटा पत्र लेखिदिनुपर्यो भन्ने अनुरोध गर्न आएका हौं । कोइरालाजी सिकिस्त बिरामी हुनुहुन्छ, तपाईको पत्र बाहेक अरु उपायले उहाँलाई बचाउन मुस्किल छ ।”
यस सन्दर्भका गिरिजाले भनेका छन्, “गणेशमानजीले महात्मा गान्धीकहाँ गएर भन्नुभएछ, “बीपीलाई क्यान्सर भएको छ । छुटाउन प्रयास गर्नुपर्यो । गान्धीले भनेछन्, “आन्दोलनमा केही मान्छे त मर्छन नि !” गणेशमानजीले गर्जिएर भन्नुभएछ, “यहाँ पो धेरै नेता छन् ।
हामीकहाँ त त्यही एउटा नेता हो । मर्यो भने कसरी काम गर्ने ।” अनि मात्र गान्धीले भनेछन्, “हुन्छ म एउटा चिठी लेखिराख्छु, तपाईहरु भोली कएपल्ट आउनुहोला ।” गणेशमान र कृष्णप्रसाद बिदा भएर उठिसकेपछि गान्धीले सोधे, “अँ साँच्चै मेरो पत्र लिएर नेपाल को जान्छ नि ?”
तत्काल कृष्णप्रसादले भने,“बापुको पत्र लिएर म जान्छु ।”
गान्धीः आपका ना क्या है ?
किसुनजीः कृष्णप्रसाद भट्टराई ।
गान्धीः आच्छा प्यारेलाल (गान्धीका पिए) नेपालमे एक तार भेज दो । कृष्णप्रसाद भट्टराई मेरा एक तार लेकर आ रहा है ।
तारमा गान्धीले भनेका थिए, “बीपीलाई रिहा गरेर उपचारका लागि पठाउनुपर्छ । यदि उनका रिहाई भएन भने म आफैँ नेपालको पदयात्रामा आउनेछु ।” गान्धीको “तारले राणाहरुमा ठूलो हलचल पैदा भयो ।”
भोलिपल्ट गणेशमान र कृष्णप्रसाद फेरि गान्धीकहाँ पुगे । त्यस बेला सम्म उनले पत्र लेख्न भ्याएकै थिएनन् । बडो सरल शैलीमा उनले भने, “हेर्नुहोस् मैले त चिठी लख्न भ्याएकै छैन । तपाईहरु पर्खिनुहोस्, म एकछिनमा लेखेर दिन्छु ।”
पत्र लेख्दै गर्दा गान्धीले सोधे, “के रे के ? कुरिला होइन, विश्वेश्वर कुरिला ?”
गणेशमानः बापु । कुरिला नहीँ, कोइराला है । अब पत्र लिखनेका आवश्यकता नहीँ है, बपु । काठमाडौं से खबर आया है कि कोइरालाजी कल ही जेल से छुट गया है । आपका तार मिलते ही राणा सरकार ने उनको रिहा कर दिया । हम बापु पर आभारी हैं । और सभी नेपालीयो की तरफ से कृतज्ञता व्यक्त करता हुँ, बापु ।
गान्धीः (खुसील गद्गद् हुँदै) अच्छा । वह छुट गए, तार मिलते ही उनको छोड दिया ? बडी खुसी की बात है, सुनकर मै बहुत खुस हुआ हुँ ।
गणेशमानः बापु किी शुभेच्छा और आशीर्वाद हम कोइरालाजी तक पहँुचायेंगे ।
गान्धीः कह दिजिएगा कोइरालाके स्वास्थ्य के बारे मे गान्धीजी चिन्तित है । अभी उनका स्वास्थ्य कैसा है, खबर हमके जरुर भेजें ।
“बीपीको रिहाइका लागि चातर्फी दबाब थियो । स्वतन्त्र भारतको प्रधानमन्त्रीका हैसियतमा जवाहरलाल नेहरुले पनि प्रधानमन्त्री पध्म शमशेरलाई टेलिग्राम पठाएका थिए । त्यसैगरी, भारतीय समाजवादी नेता डा राममनोहर लोहियाले पनि ।” यसरी विराटनगर मजदुर आन्दोलनका क्रममा पक्राउ परेका बीपी २००४ साल भदौको मध्यतिर रिहा भए ।
बीपीको रिहा भएपछि मात्र गान्धीको पत्र पध्म शमशेरसँग पुगेको थियो । रिहा गर्ने बेलामा महाराज पध्मले बीपीसँग भनेका थिए, “यो नसोच्नु कि गान्धीजीले अनुरोध गरेकोले मैले छाडिदिएँ ।
डाक्टरले तिम्रो जीवन खतरामा छ भन्ने रिपोर्ट दिएकाले मैलेछाडिदिएँको हुँ । हुन त गान्धीजीले पत्र पठाएको कुरा पत्रिकामा पढेको थिएँ । तर मैले छुटकारा दिँदासम्म चिठी पाएको थिइनँ।” छाड्ने बेला राणाहरुले बीपीलाई फेरि नेपाल प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाएका थिए । (जगत नेपालद्वारा लिखित)