तिहारको तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । लक्ष्मी पूजालाई दीपावली भन्ने चलन छ । हुन त दीपावली तिहारमा पाँचै दिन गरिन्छ । यस वर्षको लक्ष्मी पूजा कात्तिक २१ गते बुधबार परेको छ । लक्ष्मी पूजाका लक्ष्मी पूजाका विधिहरु ठाउँ तथा सामुदाय अनुसार बेग्लाबेग्लै छन् । तर यहाँ स्कन्दपुराण बैष्णव खण्डमा उल्लेख गरिएको धार्मिक विधान प्रस्तुत छ ।
कार्तिक कृष्ण औंसीका दिन बिहानको नित्य कर्म सक्नु । भक्तिपूर्वक देवता र पितृको पूजा गर्नु । नमस्कार गर्नु । अनि विधि पूरा गर्नेले दही, दूध तथा घिउ आदिले पार्वण श्राद्ध गर्नु । यो दिन बालक, वृद्ध र रोगी बाहेक अरुले भोजन नगर्नु । त्यसपछि साँझमा लक्ष्मीको पूजा गर्नु । त्यो दिन लक्ष्मीलाई सुख दिनका लागि जसले उनका लागि कमलका फूलको ओछ्यान बनाउँछ, त्यसको घर छाडेर लक्ष्मी कतै जानु हुन्न । जाइफल, ल्वांग, अलैंची र कपूरमा गाईको दूध एवं सखर मिसाएर लड्डू बनाउनु र त्यो महालक्ष्मीलाई भोग लगाउनु । पूजा सकेपछि लक्ष्मीको स्तुती गर्नु र भन्नु–दियोको ज्योतिमा विराजमान भएकी हे लक्ष्मी ! हजूर ज्योतिर्मय हुनुहुन्छ । सूर्य, चन्द्रमा, अग्नि, सुन र तारा आदि सबै ज्योतिका पनि हजूर ज्योति हुनुहुन्छ । हजूरलाई नमस्कार छ । कार्तिक कृष्ण औंशीको दीपावलिको पवित्र दिनमा गाईगोठमा जुन लक्ष्मीले शोभा पाउनु हुन्छ, तिनी मेरा लागि सधैं वरदायिनी होउन् ।
यसपछि दीपदान गर्नु । गच्छे अनुसार दीप बाल्नु । धनको उन्माद नदेखाउनु, धनी भएर पनि कञ्जुस नहुुनु । देवमन्दिर आदि स्थानमा दीपको वृक्ष बनाउनु । चौबाटो, मसान, नदी किनार, पर्वतको टाकुरा, घरका सबै भाग, रुखको फेद, गाईगोठ आदि सबैतिर दीप बाल्नु ।
त्यसपछि पहिले पूजा कार्यमा नियुक्त गरिएको कोही ब्राह्मण भए उनलाई, त्यसपछि व्रतबस्ने अन्य परिवारका सदस्यलाई खुवाएर आफूले नयाँ कपडा र गहना लगाई भोजन गर्नु ।
जीवहिंसा, मदिरापान, अगम्या (सहवास गर्न नहुने भनी तोकिएका सबै खाले स्त्री) गमन, चोरी र विश्वासघात यि पाँचलाई नरकको ढोका भनिएको छ । यि कुरा सधैं त्याग गर्नु ।
त्यसपछि आधा रातमा नगरमा लक्ष्मीपूजाको दीपावलि (दीपको माला) को रौनक विस्तारै पैदल हिँडेर सम्भव भएसम्म हेर्नु र घर फर्कनु ।
यसैगरी कर्मकाण्डभास्करमा भनिएको छ–
लक्ष्मीपूजाको संकल्प गर्नु । इन्द्रको ध्यान गर्नु । कुबेरको ध्यान गर्नु । त्यसपछि कोजाग्रत पूर्णिमामाझैं सुनको प्रतिमा स्थापना गरी इन्द्र, कुबेर सहित लक्ष्मीको षोडशोपचारले पूजा गर्नु ।
त्यसपछि क्रमशः लक्ष्मी, इन्द्र र कुबेरको प्रार्थना गर्नु । प्रचलनमा गणेश र सरस्वतीको पनि सँगै पूजा गर्ने गरिन्छ । यसपछि नांग्लो वा डमरु बजाएर अलक्ष्मीलाई घरबाहिर निकाल्ने पनि विधान छ । महालक्ष्मी, महाकाली र महासरस्वतीको पनि सँगै पूजा गर्नु भनेर पनि कुनै कुनै पुराणमा लेखिएको छ ।
दीपावलीमा कागजी मुद्राको पूजा नगर्दा पनि हुन्छ । दीप बाल्दा कतै केही सल्केर बल्ला भनेर होस गर्नु पर्दछ ।
हाम्रो प्रचलन
मूल ढोका देखि हरियो गोबर एवं रातो माटोले पोत्दै लगी सम्भव भएसम्म नटुटाई लक्ष्मीको पूजास्थलसम्म बाटो बनाउइन्छ । आजभोली रंगोली पनि बनाउने चलन छ । रंगोली लक्ष्मी उभिएर यताउती हेर्ने स्थल भनिएको पाइन्छ । साँझ पर्न लागेपछि त्यो बाटोमा चामलको पिठोले पाइला बनाउइन्छ । पाइला बनाउन साँचो पनि पाइन्छ तर धेरै जसोले सयपत्री फूलको थुंगालाई प्रयोग गर्छन् ।
त्यसपछि लक्ष्मीको पूजास्थलमा रहेको रातभर बल्ने दियो गृहणीले चोखो लुगा गहना लगाएर सल्काउने चलन छ । गृहणीद्धारा माटाका पालाहरुमा बत्ती हालेर नाङ्ला भरी राखिन्छ । तिलको तेल एउटा छुट्टै भाँडामा रखिएको हुन्छ । धूप, शंखघण्ट सहित परिवारका सबै सदस्य त्यसपछि परिसरको मूल ढोकातिर लाग्दछन् । मूल ढोकाको दुबैतिर गृहणीले बत्ती बालेर लक्ष्मीलाई निम्ता दिन्छिन् । त्यसपछि गृहणी तुलसाको मोठमा आरती गर्नतिर लाग्दछिन् । परिवारका अरु सदस्य कोही धूप बाल्नतिर कोही शखघण्टं बजाउन तिर कोही बाँकी रहेका दियोहरु पुगेसम्म सबैतिर बाल्नतिर लाग्दछन् । गाउँतिर हुँदा गाइतिहारेको पातको खोचेमा वा केराको बोटको सुप्लोमा बत्ती बालिन्थ्यो ती अब इतिहास बने । त्यसपछि बल्ल बिजुलीका रंगीचंगी बत्ती सबैतिर बाल्ने गरिन्छ । लक्ष्मीपूजाको विधिपूर्वकको आराधाना मध्यरातमा गर्ने प्रचलन छ । पहिले पहिले लक्ष्मी पूजाका अवशरमा भैलिनीहरु रातभर मधुर स्वरमा भैलो भनिरहेका हुन्थे । अहिले भैलो होइन भाँडभैलो मात्र सुनिन्छ । एक हुल भैलिनी आए पछि तिनलाई केही दान दिएपछि अनि तिनबाट केही आशिष पाएपछि लक्ष्मीको विधिपूर्वकको पूजा गर्ने प्रचलन छ । यसपछि नित्य आरती सकेर सेल रोटी आदि मिठाई खानेक्रम शुरु हुन्छ, गृहणीले भने पूजा सकेर खान्छिन् । गृहणीले सबै दराजमा स्वस्तिक चिह्न बनाएर पूजा गर्दछिन् । सरस्वती र देवीको पनि पूजा गर्दछिन् ।