बीपीको विद्राेह

यसकारण लिए माता दिव्याले अडान

रिपोर्ट नेपाल | 2019 Apr 20 | 07:31 am 2501

अनशनको २४ औं दिन बीपी बेहोस भए । सिद्धिमणिसहित तीन जना डाक्टरको टोलीले जाँच गरी अब पनि अनशन जारी राखे नबाँच्ने रिपोर्ट दिएपछि राणा सरकारले राति स्ट्रेचरमा राखेर उनलाई परिवारको जिम्मा लगाउन खोज्यो । ब्रह्महत्याको डरले मोहन शमशेर आत्तिएका थिए ।

तर राणाको बन्दी हुँदै तीन वर्षअघि मात्र मृत्यु भएका पति कृष्णप्रसादको चितामा दागबत्ती दिएकी दिव्याले सरकारको कैदी रहँदासम्म छोराको जिम्मा नलिने अडान लिइन् । दिव्याले प्रस्टै भनेकी थिइन्, “जबसम्म मेरो छोरा छुट्दैन, ऊ सरकारको कैदी छ, सरकारले नै जिम्मा लिनुपर्छ । म लिन्नँ ।”
अनशनको २७औं दिनमा विजय शमशेर (श्री ३ मोहनका छोरा) ले दिव्या र सुशिला, विजयालक्ष्मीलाई सिंहदरबारमै प्रधानमन्त्रीसँग भेट गराए । त्यो भेटमा भएको

वार्तालापको अंश–
मोहनः अब छोरा तिम्रो जिम्मामा छन् । जे गर्नु छ, गर्नु ।
दिव्याः महाराज थुनामा रहँदासम्म ऊ सरकारको जिम्मामा छ ।
मोहनः एउटा हठी युवकको दबाबअगाडि सरकारले कसरी घुँडा टेक्ने ? सरकारले पनि त आफ्नो मर्यादा राख्नुपर्यो !
दिव्याः मेरो छोराको मर्यादाअगाडि तपाईको के मर्यादा ?
मोहनः आक्रोशित हुँदै छोरा विजयतर्फ हेरेर भन्न थाले– तिमीले नै भट्नुपर्छ भनेर जोड गरेको त हो नि १ यस्तौ जवाफा आउँछ भन्ने मलाई थाहा थियो ।
दिव्याः महाराज, तानाशाही सरकारको तुलनामा मेरो छोराको इज्जत धेरै ठूलो छ ।
मोहनः ठीक छ । त्यसो भए तिम्रो छोरा मर्छ ।
दिव्याः धम्की नदिइबक्सियोस्, महाराज । काठमाडौं मेरो तीतो अनुभव छ । पतिको मृत्यु यही खेपें । यही काठमाडौंमा मेरो पतिको पार्थिव शरीरलाई चितमा जलाएर छोराको दाहसंस्कार गर्न म फेरि आएकी छु ।”

ब्रह्महत्याको दोष लाग्ने डरले प्रधानमन्त्री मोहन अप्ठ्यारोमा परेका थिए । आफ्नो आदेशमा थुनिएका बाहुन मरे भने पापको भारी बोक्नुपर्छ भनेर उनी लचिलो हुन बाध्य भए । प्रधानमन्त्रीलाई धर्मशास्त्रमा ठूलो विश्वास थियो । उनी हरेक दिन बिहान टाउकोमा रुद्राक्षको माला लगाएर घण्टौं पूजा गर्थे । “गाई र बाहुनलाई सदा पूजा गर्दथे र निकै मान्दथे । बाहुनलाई टीका लगाई तुलसी, पीपलतथा गाई पूजा गरेर मात्र मुखमा पानी हाल्थे । परिवारमा सकैले झुक्किएर नङ टोक्यो भने पनि उपवास बसाएर गौदान गराउँथे ।”

महाराजले दिव्यासँग कुरा गर्न उनका नातेदार नरेन्द्रमणि दीक्षितलाई पठाए । बीपीले भनेका छन्, “हस्याङफस्याङ गर्दै उनी आमाहरु बसेको धर्मशाला पुगे । मेरी आमाले मलाई भन्नुभयो– करिब २० वर्षपछि मलाई सम्झेछौं । मेरो नातेदारका रुपमा त म तिमीलाई मान्दिनँ । म तिमीलाई मोहन शमशेरको दूतका रुपमा लिन्छु । तिमी किन यहाँ आएको बताऊ, के चाहियो ?”

भाँचिन तयार हुने, तर नझुक्ने महाराज मोहन धर्म र पापको डरले मात्रै लत्रिन बाध्य भएका थिए । दीक्षितले महाराज धर्मात्मा र दयालु छन्, एउटा बाहुनलाई मर्न दिँदैनन् भनेर सम्झाउने खोजे । तर जेलबाट मुक्त नहुँदासम्म छोराको जिम्मा नलिने अडान दिव्याले छाडिनन् । अन्त्यमा डा सिद्धिमणि दीक्षितमार्फत प्रधानमन्त्री मोहनले थुनामुक्त गर्ने र उनलाई भेटेर राजबन्दीबारे कुराकानी गर्ने विश्वास दिलाएपछि २९औं दिनमा बीपीले अनशन तोडे ।” जेलमुक्त भएपछि कालिकास्थाननजिकै एउटा घरमा बीपी स्वास्थ्यलाभ गरिरहेका थिए । उनको उपचारका लागि डाक्टरका साथै महाराजले आफ्नो निजि वैद्यसमेत पठाएका थिए । स्वास्थ्यमा क्रमिक सुधार हुँदै थियो । जेलमुक्त भएको १२औं दिन साँझ बीपीलाई लिन मोहन शमशेरले आफ्ना विश्वासिला सहयोगी खटाए ।

सिंहदरबारको बेलायती बैठकमा तीन ओटा फोल्डिङ मेच राखिएका थिए । दुई छोरा शारद र विजयलाई दाँयाबायाँ राखेर महाराज आफूचाहिँ बीचको कुर्सीमा बसे । सरदार नरेन्द्रमणि दीक्षित, मिरसब्बा उपेन्द्रपुरुष पनि त्यहाँ थिए । राणाजीलाई देख्नासाथ “बाहुनले दुई हात जोडेर स्वस्ति गर्नुपर्ने, नेवारहरुले आफ्नै प्रकारले सम्मान दर्साउनुपर्ने र क्षेत्रीहरुले सलाम गर्नुपर्ने चलन थियो ।” महाराजलाई बाहुनी स्वस्ति ९घुँडासम्म हात झारी अति निहुरेर त्यस बखत बाहुनले राणाजीलाई गर्ने स्वस्ति० गर्नुपर्ने । दरबारको चालचलन थाहा नभएका बीपीले हिन्दुस्तानी ढाँचाको प्रणाम गरे । श्री ३ मोहनलाई खड्कियो ।

रिसको झोकमा उनी झड्किए, “तिमी हाम्रो गाथगादी ताक्न आएका होइना ? तिमी जस्ता भुरे ठेट्नाहरुले कराउनेबित्तिकै कसैले राज्य दिदैन, राज्य गर्नको लागि पुर्पुरोमा लेख्नुपर्छ ।” अँ, त्यो कुरो निधारमा लेखिएको हुन्छ , औलाले आफ्नो निधार देखाउँदै उनले भने । प्रधानमन्त्रीको झण्डा देखाउँदै उनले फरि भने, तिमीले यो लिन खोजेको ? बीपीले भने, महाराज हामी प्रजातान्त्रिक स्वतन्त्रता र नागरिक अधिकार चाहन्छौं । पछि स्थिति बन्यो भने जनउत्तरदायी सरकार पनि माग्नेछौं । रिसको आवेगमा मोहनले भन्न थाले, तिमीहरुलाई लाग्दो हो, मैले जवाहरलाल नेहरुको दबाबमा छाडें । कसैको दबाबमा छाडेको होइन । बाहुनको छोरो मर्न लाग्यो भनी डाक्टरले भनेकाले छाडेका हुँ ।

भेटमा महाराजले भने, तिम्रो स्वास्थ्य राम्रो छैन । बम्बै वा अन्यत्र जहाँ राम्रो हुन्छ, गएर उपचार गराउ । तिमीलाई अव कुनै रोकतोक छैन । तिमी स्वतन्त्र भयौ । तर शक्ति हस्तान्तरण हुन्छ भन्ने भ्रममा नपर्नु । त्यो त ललाटमा लेखिएको हुनुपर्छ । मोहनले सीमित राजनीतिक सुधार गर्ने वचन पनि दिए । महाराजको त्यही आश्वासनका कारण नेपाली राष्ट्रिय काँग्रेसले चलाएको सतयाग्रह रोक्न भारतमा रहेको नेताहरुलाई बीपीले काठमाडौंबाट तार पठाइदिए । सत्याग्रह स्थगित भयो ।

बीपी उपचारका लागि २००६ असार १ गते भारततर्फ लागे । तर प्रधानमन्त्रीले सुधार गर्ने संकेतसम्म देखाएनन् । तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालले भनेका छन्, “बीपीको तार पाएपछि मलाई लागेको थियो प्रधानमन्त्री मोहन शमशेरसित कुनै वार्ताको अवसर प्राप्त हुने आश्वासनमा त्यो तार आएको हुनुपर्छ । तर होइन रहेछ । त्यो बेला सत्याग्रह स्थगित गर्नुलाई मैले आफ्नो जीवनको ठूलो भूल ठानेको छु । बीपी स्वयम्ले चाहिँ अहिंसात्मक आन्दोलन उपयुक्त छैन भन्ने लागेपछि रणनीतिक रुपमा त्यसलाई लिएको बताएका छन् । उनले भनेका छन्, “मैले काठमाडौंका जनातालाई सत्याग्रह नगर्न आग्रह गरें । तपाईसँग तरबार नभएसम्म युद्ध मैदानमा कसरी जान सक्नुहुन्छ भन्ने प्रश्न राखें । त्यसपछि सुवर्ण शमशेरसँग सम्पर्क गरेर सशस्त्र क्रान्तिको तयारीका लागि हात मिलाएँ ।”

बीपी कर्ममा विश्वास गर्थे, परिश्रमलाई पूजा गर्थे । धर्मकर्म, कर्मकाण्ड र ज्योतिषीमा खासै विश्वास गर्दैनथे । यति हुँदाहुँदै पनि जेलबाट मुक्त भएपछि आमा दिव्याको आग्रह टार्न नसकेर गजाधर पण्डित नामका एक जना राजज्योतिषसँग हात देखाएको प्रसंगउनको आत्मवृत्तान्तमा उल्लेख छ । यी तिनै ज्योतिष थिए, जसले पिताजी कृष्णप्रसादको मृत्युको दिन नै तोकेका थिए । संयोगले त्यही दिन उनको मृत्यु भयो । बीपीले भनेका छन्, “उनले मलाई कुनै कुरा मनमा सोच्न लगाए । अनि जवाफ दिए तपाईको लक्ष्य एकदुई वर्षमा पूरा हुनेछ । त्यसपछि तपाईले ठूलो पद पनि पाउनुहुनेछ । त्यसलाई अस्वीकार गर्नुभयो भने त्यो भन्दा पनि ठूलो पद पाउनुहुन्छ । त्यसलाई स्वीकार गर्नुभयो भने ठूलो पदलाई बाधा दिनेछ ।”

नभन्दै उनी रिहा भएको दुई वर्षपछि २००७ साल फागुन ७ गते एक सय चार वर्षे राणाशाहीको अन्त्य भयो । बीपी गृहमन्त्री बने । तर बीचैमा राजिनामा दिए । अनि उनैको नेतृत्वमा २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली काँग्रेसले दुईतिहाई बहुमत अर्थात संसदको कुल एक सय नौ मध्ये ७४ सिटमा विजय हासिल गर्यो । बीपी मुलुककै पहिलो निर्वाचित प्रधानमन्त्री भए ।(जगत नेपालद्वारा लिखित बीपीको विद्राेह)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.