म यस्तै छु साहेब

रिपोर्ट नेपाल | 2020 Mar 31 | 04:13 pm 3830

नरेन्द्र बहादुर अर्याल (गुल्मी)

हो, यस्तै छ साहेब मेरो मानसिकता
विपतमा पनि चुपलाग्न नसक्ने
जानी नजानी भएपनि लेखेकै हुनु पर्ने
विश्व आतंकित छ, कोरोनाको महामारीले मानव जगत निसास्सीएको छ
खाने पिउने समस्याले जकडिएका छन् हुँदा मात्रखानेहरु, असहज सम्झेका हुनेखानेहरु
उपचार पाएका छैनन् रोगी र मौसमी बिरामीहरु
सेवा उपलब्ध गराउन मानेका छैनन् आफुलाई उच्चकोटीको अस्पताल सम्झिने लुटपाट केन्द्रहरु
ज्यानकै माया र डर सबैलाई, लुकेका छन् दुलोभित्र
घर वा भाडाका कोठाचाहे जहाँ, तर घुमेका छन् खुलेआम कालजयीहरु
देश बन्द छ, सडक सुनसान, नाकमा मास्क छ बोल्न हातको इशारा
बराबर छ, देखेको नदेखेको मान्छे, छैन अन्तर चिनेको र नचिनेकोमा
चलेकै छ, ठट्टा र गम्भिरता मान्छेहरुमा
छताछुल्ल छ पीडा र रमाइलो सामाजिक सञ्जालहरुमा
मनहरु आतुर छन्, बिरामीको संख्या कतिभयो जान्न,
संख्या पछि बिरामीको रिपोर्ट जान्न,
तर सौभाग्य वा दुर्भाग्य जिउँदाहरुमा पोजिटिभ, मरेकाहरुमा नेगेटिभ,
अचम्मको छ उपचारको तरिका,
डाक्टरले रिपोर्टको जानकारी सञ्चारबाट थाहापाउनु पर्छ,
ठूला बडा भएका छन् पत्रकारहरु, उनीहरु बिना रिपोर्ट बाहिरिदैन,
सबैका मनमा कुण्ठा छ, आत्मामा प्राथना,
कसैलाई केही नहोस् यदी भयो भने, न अस्पताल छ न त उपचार ।
न त औषधि किन्ने पैसा, अभावै अभाव
बल्न छाडेको छ गरिबको चुल्हो ग्याँस, चामल अनि तिहुनको अभावमा,
मेलापात नै बन्द हुँदा,
सरकार कात्रो किन्दा पनि कमिशनमा डुब्यो रे,
समाचार यस्तै आउँछन्,
यो बेला उपचारको लागि किनिएका सबै सामानहरु कात्रो नै हुन्
कात्रो, अप्रिय अनि धेरै गम्भिर शब्द
खै, कोरोनाले के गर्ने हो
तर मेरो पुरानो बानी छोडेको छैन मैले
कमी आएन कुनै मेरो पागलपनमा
ब्यंग्य, आक्रोस, तिक्तता अनि बिम्वित प्रेम
टुटे फुटेको साहित्य
महाभारतमा युधिष्ठीरले भने जस्तो, मर्नै नपर्ने जस्तो गर्ने मान्छे म
हो म यस्तै छु साहेब, सानैेदेखि क्रुर स्वभावको
सबैसँग छुच्चो म, रुखो अनि तुच्छ वाँणी मेरो
महामारी, विपदमा पनि गम्भिर नहुने ताइँ न तुइँको फतफत मात्र
हो, म यस्तै छु साहेब, सायद अल्पविद्या भयंकारी
खै के भन्छ दुनिया, राम्रो वा नराम्रो
खै के साेंच्छ दुनिया सान्दर्भिक वा असान्र्दिर्भक
हो म यस्तै छु, मर्ने त हुँ म पनि
तर लेख्न छोडिन मैले, यसैमा छ मेरो खुसी
चाहे जे भनोस् दुनिया लेख्ने मेरो रहर
किनकी मेरो हरेक शब्दमा मेरो पीडा पोखिएको हुन्छ
लेख्ने उसलेमात्र गर्छ जसको भित्र दुखाई हुन्छ
मिठो वा तितो, सान्दर्भिक वा असान्र्दिर्भक
सापेक्ष वा असापेक्ष, घृणित राजनीति वा फुटेको साहित्य
देवकोटाको पागल कविता जस्तो म, राम्रो बन्ने प्रयास नै नगरको म
ता पनि यसैमा छ मेरो सन्तुष्टी, सम्हालीने मेरो उपाय
मार्क जुकर बर्गको फूलबारीमा रमाउने म मौरी वा भमरा ।
हो, म यस्तै छु साहेब ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.