मानवता र नैतिकता मासिएको राजनीति

रिपोर्ट नेपाल | 2019 Dec 16 | 04:54 pm 2161

  • प्रकाश कुमार कार्की

‘कुशल शासकहरु भविष्यको सोचाइ गर्छन् तर नेताहरु चुनावको मात्र चिन्ता गर्छन्’ प्रसिद्ध अमेरिकन पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको यो कथनले वास्तवमा नेपालली राजनीतिमा प्रष्टरुपमा देखिन्छ । समय अनुरुप परिवर्तनशील र आफूलाई क्रान्तिकारी भन्ने नेताहरुले चुनावको मात्र चिन्ता गरेकाे पाइन्छ  ।

२००७ सालमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भयो । २०१७ सालमा आम निर्वाचन अनि निवार्चन मार्फत प्रथम जननिर्वाचित प्रधानमन्त्री मुलुकले पायो । २०१७ सालमा निर्वाचित प्रधानमन्त्रीलाई असक्षमताको बिल्ला भिराएर राजाले ‘कु’  गरे । २०३६ सालमा जनमत संग्रह भयो ।  २०४७ सालमा पहिलोपटक आन्दोलनकारी अर्थात् क्रान्तिकारीको सरकार मुलुकले पायो ।

२०४८ सालमा जननिर्वाचित सरकार बन्यो । २०५१ सालमा कम्युनिष्ट सरकार हुँदै २०६२/६३ मा दोस्रो जनआन्दोलन भयाे ।  लोकतन्त्र, गणतन्त्र, संघीयता हुँदै अहिले गाउँगाउँमा सिंहदरबारजस्ता राजनीतिक परिवर्तन भए ।  तर व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन सकेन ।

सत्ता परिवर्तन भए तर राजनीतिक प्रणाली र संरचना परिवर्तन हुन सकेन । आदिकालदेखि आजका दिनसम्म पनि सत्ता परिवर्तनका खेल भइरहेकाे छ । तर परिवर्तित व्यवस्था र शासन प्रणालीले जनतालाई परिवर्तनको महसुस कदापि हुन दिएन ।

हिजो राजनीतिक परिवर्तनका नाममा सत्ता प्राप्तिका लागि रचिएका कयौं पर्वभित्र जनताको घाँटी कस्ने कार्य आजका दिनसम्म पनि यथावतै नै रहिरहेको छ । हिजोका दिनमा जनताले महसुस गरेका गरिबी, मूल्यबृद्धि, कष्टकर जीवन प्रणाली जुन आजका समयमा झन् जटिलमाथि जटिल हुँदै गइरहेको छ ।

लामो समयवधि अनि परिवर्तित समयसँगैको व्यवस्थामा, पटकपटक निर्वाचन अनि निर्वाचनमार्फत् कसैको जीत अनि कसैको हारले आजको दिनसम्म कुनै अर्थ राख्न सकेन । कारण- राजनीतिका नाममा मारिएको मानवता र नैतिकता ।

नेपाली समाजमा आधिमकालदेखि राज्य व्यवस्था परिवर्तन गर्नका लागि कयौं नेपाली जनताले हाँसीखुशी मर्न तयार भएका थिए । लाखौं आहुतीका बाबजुत पनि आज समाज संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थासम्म आइपुग्दासम्म पनि नेपाल जनताले हाँसीखुसी बाँच्न सकिरहेका छैनन् ।

नागरिकले समायनुकुल परिवर्तित व्यवस्थाले दिलाएको नागरिक चुरोको व्यवस्थाको अनुभूति गर्न पटक्कै सकेको पाइँदैन । सामान्यता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र न्युनतम पारिश्रमिकमा रोजगारीजस्ता आधारभूत आवश्यकता परिवर्तन गर्नकाे लागि नियम/कानूनहरु बनाइयाे । तर ती सबै  जनतालाई प्रलोभनमा पार्ने एक अचुक औषधिका रुपमा मात्रै देखापरे । सरकारले जनताका लागि गरेकाे कार्य यदि खोताल्ने हो भने सायद हातका औंलामा नै सिमित रहनेमा कुनै शंका छैन ।

प्रश्न यहाँनिर देखापर्छ, राजनीति कसका लागि ? राजनीतिक दल के का लागि ? अनि कयौं संघर्ष र बलिदानबाट प्राप्त व्यवस्था बमोजिमका सरकार कसका लागि ? जुन प्रश्नको उत्तर वास्तवमा जति सरल देखिन्छ व्यवहारिक पाटोमा मुलुक अनि जनताको जीवन पद्धतीको नजरअन्दाजसँगै व्यापक जटिल भन्दा जटिल देखिन्छ ।

जुनै व्यवस्था होस हरेक व्यवस्थाका तानाशाह अनि शोखिन शासक नै परिवर्तित व्यवस्थाको नव शासकका रुपमा देखिन्छ । कयौं त्याग अनि बलिदानले मात्र व्यवस्थाको नाम परिवर्तन गरिएको देखिन्छ तर शासक अनि शासकको शासन प्रणाली यथावत नै देखिन्छ । आदिम कालदेखि राज्यको शासन प्रणालीमा जो कोही थिए, जसले आदिकाल देखिनै माथिल्लो पदमा रहि राज्यको सेवा सुविधा बहन गरेका थिए, तिनै आजका दिनसम्म पनि यथावत छन् । क्षमताको आधारमा जिम्मेवारी दिने राजनीतिक सरकार आजका दिनसम्म पनि यत्तिका व्यवस्था फेरिए तापनि पटक्कै देखिएको छैन ।

हिजोका मण्डले नै आजका राजनीतिक दलका नेतृत्व, हिजोका दरवारिया आजका सत्तासझेदारी आदि इत्यादि चलिनै रहेको छ । कहिले पनि मुलुकले राष्ट्रियताका मुद्दामा नागरिकलाई एक जुट गराउन सकेन । कारण स्वार्थ केन्द्रित राजनीतिक दलका सिमित व्यक्ति विशेषका स्वार्थ अनि तिनका गैर जिम्मेवारी बोध जिम्मेवारीमा तिनका हालिमुहाली ।

२००७ सालदेखि आजका दिनसम्म राष्ट्रियताको रक्षा र देश विकासका पक्षमा देशभित्र विद्यमान अधिकांश राजनीतिक दलबाट कहिल्यै पहलदारी कदम चालिएन । जसको कारणस्वरुप राजनीतिका नाममा जनतालाई शोषण, दमन अनि अत्याचारमा पु¥याउँदै, जनताका नेताका नाममा आफ्नो हुकुमी शासन हिजोका दिनदेखि आजसम्म मात्र यही हामीले पाएका छौं ।

२००७ सालदेखि गरिएको कयौं क्रान्ति न त देशका लागि फलदायी हुनसक्यो न त देशका जनताका लागि नै । जति पनि आन्दोलन होस् या त जति पनि क्रान्तिका नाममा गरिएको क्रान्तिकारी कदममात्र देश अनि देशवासी विशेषगरी जनताको नाममा या त वहानामा नेतालाई हालिमुहाली गर्नका लागि गरिएको मात्र देखिन्छ । त किन कयौं आन्दोलन अनि पटकपटकको कयौं क्रान्तिकारी कदमले किन जनता अनि देशको अवस्थालाई अझ दिन प्रतिदिन दहनीय अवस्थामा पु¥याउँदै लगिरहेको छ । राजनीतिक दलका नेताद्वयका जीवन अनि तिनका सुखसयलले पराकाष्ट नै नाघिरहेको छ ।

कयौं क्रान्तिका नाममा गरिएका क्रान्तिकारी कदम अनि अन्दोलनले जनता र मुलुकलाई ग्रहणको अवस्थामात्र दिलाएको देखिन्छ भने नेता अनि तमाम क्रान्तिका नेतृत्वदयका अधिकांशमा सुखसयल अनि ऐश्वर्य मात्र उपलब्धि आदिकाल देखि देखिन्छ । हिजोका दिनदेखि आजसम्म मुलुकले कयौं निर्वाचनको सामना ग¥यो ।

कयौं निर्वाचन मार्फत् जनताले कयौं आस्वाशनका पोकासँगै तिनका सुनौला भविष्य अनि समृद्धि नेपालको सपना सिंगारिरहेका हुन्थे । अबको निर्वाचन मार्फत त केही न केही होला भन्ने पटकपटकको सपनालाई निर्वाचनको मत परिणामको विजय जुलुस लगत्तै तुह्याउने कार्यको हामीसँग हजारौं उदाहरणहरु प्रष्ट रहेको छ ।

निर्वाचनमा होमिदाको त्यो समाजसेवी भावना, त्यो क्रान्तिकारी सोच अनि विचारसँगैको राष्ट्रवादका तिनका ठूल्ठूला कुरा अनि जनताका र मुलुकको समृद्धिको सपना देख्ने र देखाउने विजय जुलुुसको समाप्ति लगत्तै न त जनतालाई चिन्छन् न त देश अनि जनताप्रतिको तिनका दायित्व नै सम्झन् छन् । सत्ता र पावरको मातमा पुगे लगत्तै भाष्मासुरको सैलीमा राज्य ढुकुटीको दोहन गर्दै आफ्नो र आफ्नो परिवार अनि नाता गोताका भविष्य निर्माणका रुपमा प्रथमत आफूलाई उभ्याउँछन् ।

निर्वाचनमा जितको विजय जुलुससँगै आफ्नो पद र पदीय मर्यादा विर्सिने नेतादयका यस्तो अवस्थामा निर्वाचनमा पराजय व्यहोरिने नेतादयको त कुनै नगरौं । पराजयसँगै लापता नै हुन्छ भन्दा अलि अपाच्य देखिएता पनि वास्तवमा नै यहि हो सत्य र सत्य तितो नै हुन्छ । हामी कयौं निर्वाचन मार्फत् निर्वाचित बनाएर पठाएका पात्रहरु कहिल्यै पनि एक कुशल शासकका रुपमा देखिएनन् ।

यदि पटकपटक निर्वाचन मार्फत् निर्वाचित पात्र एक कुशल शासकका रुपमा देखिएका भए सायद नेपालको भविष्य यस्तो अन्धकारमय पटक्कै देखिँदैन थियो होला । किन भने एक कुशल शासकलाई मात्र देश अनि जनताको भविष्य प्रति चिन्तन गर्ने विचार मात्र पैदा गरिनै रहन्छ । तर निर्वाचन मार्फत आजका दिनसम्म पनि निर्वाचित हाम्रो नेतादयबाट कहिल्यै हामीले यस्तो सपना अनि चिन्तनको महसुस पटक्कै गर्न पाएका छौं । मात्र उनीहरु आफ्नो स्वार्थका लागि मात्र जे पनि गर्न तयार हुन्छन् । सत्तामा रहेका होस् या त प्रतिपक्षमा, निर्वाचनमा निर्वाचित होस् या त निर्वाचनमा पराजित जो कोही होस् मात्र आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र देखिन्छ । राष्ट्र निर्माणका पक्षमा शून्य नै सहभागिता देखिन्छ ।

लगभग ६.७ दशक देखिको लामो अवधिमा राजनीतिका नाममा राजनीतिक दलले देखाएको अवस्था यही नै हो । विचार शून्यता, शुन्य सहभागिता, विसंगती, विकृति, विरासत, नैतिकपतन अनि मानवतालाई मारिएको राजनीति वास्तविक राजनीतिको राजनीतिक दलबाट दिलाइएको परिभाषा हो, यस्तो अवस्थामा नै अझ पनि उही राजनीतिक दल अनि उही राजनीतिक दलका नेतादयहरुका भविष्यको सम्भावना देख्दा चाहिँ वास्तवमा नै आश्चर्य चकित लाग्छ ।

हिजो प्रजातन्त्र भनिएता पनि र आज लोकतन्त्र भतिएता पनि तत्कालीन प्रजातन्त्र र वर्तमान लोकतन्त्रलाई प्रत्याभूति हुने कार्य न त हिजोका दिनमा हामीले महसुस गर्न सक्यौं न त आजका दिनमा नै महसुस गर्न सकेका छौं । कारणत हिजोका दिनदेखि आजसम्म राजनीतिक दलका नेताहरु राजनीतिका मुलभूत उद्देश्यहरुलाई विसर्नु र पैसा अनि शक्तिको कुटिल धन्दामा चुर्लुम्म डुबिरहनु नै हाे।

निष्ठावान, इमान्दार अनि वास्तवमा सिद्धान्त र आदर्शमा अडिक, वास्तवमा नै जनताले र देशले मागेको नेता, उही पैसा अनि शक्तिको कुटिल राजनीतिको दाउपेचको सिकार भएका कयौं उदाहरण हामीसँगै रहेको छ । तिनका सिद्धान्त, निष्ठा र आदर्शलाई पैसा अनि शक्तिको कुटिल राजनीतिले गलत सावित गर्दै तिनलाई राजनीतिबाट नै विस्तापित गराइदिएको छ । राजनीतिका लागि चाहिने अति नै आवश्यक तत्व मानवता र नैतिकता नै हिजोका दिनदेखि आजसम्म मारिदै आइरहेको छ । जुन राजनीतिमा मानवता र नैतिकता मासिन्छ त्यो राजनीति भित्र गरिएको निर्वाचनबाट निर्वाचित होस् या त पराजित त्यो कतै कुनै अर्थ राख्दैन ।

निर्वाचनमार्फत् जो कोही निर्वाचित भएका थिए वा छन्, अधिकांशका व्यक्तिगत जिवनमा आकाश जमिनको परिवर्तन आएका हामीले प्रष्ट देखेका अनि सुनेका छौं । हिजो चप्पल लगाउन सक्ने हैसियत नभएकाहरुको निर्वाचन मार्फत निर्वाचित भएपछिको हैसियतमा परिवर्तनको रास नै देखापरेको छ । राजनीतिमा आफूलाई समर्पित गरेको भन्दै जीवनकालमा न त कुनै जाँगिर वा इलममा आफूलाई उभ्याए, न त कुनै व्यापार अनि उद्यमशीलतामा नै त्यही पनि आज तिनका जीवनको जीवनप्रणाली कुनै राजामहाराजाको भन्दा कम छैन ।

यस्तो जीवनप्रणालीका लागि यिनलाई पैसा कताबाट आयो ? प्रश्न यहानिर छ । उत्तर सहज नै छ, जति पनि विकृति, विसंगती र समाज अनि सामाजिक पात्रले नरुचाएका काम क्रियाकलाप नै यिनै राजनीतिका नाममा निर्वाचित होस् या त राजनीतिमा लागेका अधिकांशका गर्ने नित्यकार्य जस्तै नै भइरहेको छ ।

विधिको शासनको उल्लंघन गर्ने, प्रजातन्त्र हुँदै लोकतन्त्रको मजाक बनाउने, आफ्नो सीमित स्वार्थका लागि जो कोहीसँग जस्तो पनि मजाक गर्ने या त तिनका चरित्रहत्या गर्दै मृत्यशैयामा पु¥याउने कार्य गर्नु नै अधिकांश राजनीतिक दल वा आफूलाई नेता भनाउँदाको धर्म नै जस्तो भनिरहेको छ । त यस्तो धर्म धारण गरेका नेतादयको निर्वाचनमा जित वा हारले देश अनि जनतालाई कुनै अर्थ राख्दैन भन्नेमा कुनै दुइमत छैन् ।

प्रश्न यहाँ निर छ- निर्वाचनमा कसैको जितमा हामी किन हर्षोल्लासका साथ प्रस्तुत हुने अनि हारमा किन दुःख मनाउ गर्ने जब कि कसैको जित अनि कसैको हारले देश अनि मुलुकका जनतामा कुनै परिवर्तन नै दिलाउँदै भन्ने सत्यबाट हामी कदापि भाग्न पटक्कै सक्दैनौं ।

आदिकालदेखि वर्तमानसम्म राजनीतिका नाममा राजनीतिभित्र भएका र देखेका अनि नेताकार्यकर्ताको चर्तिकलाबाट जनता एकदमै दिक्दार भइसकेका छन् । कारण नेपालको राजनीतिमा असल इमान्दार मानिस विभिन्न पैसा अनि सामाजिक अभियन्ताका रुपमा आफूलाई प्रस्तुत गरेका कदापि राजनीतिमा आउन नचाहनु नै हो ।

स्कूलमा पढ्न नसकेका, बदमास अनि छट्टु गर्न माहिर, बोली नै पिच्छे झुटो बोल्न सक्नेले राजनीतिमा आदिकाल देखिनै वर्चस्व गर्दै आएकाले आजको दिनसम्म पनि  राजनीतिले खासै सकारात्मक सफलताको छलाङ्ग मार्न सकेकाे छैन।

यसो सोचौं राजनीति गरेका अधिकांश मध्ये पनि ती तमाम निष्ठावान र इमान्दार व्यक्तिको राजनीति कहिँ न कहिँ छोटो सयममा नै समाप्त भएको पटकपटक देखेका छौँ। राजनीति गरेका मध्ये पनि चाहे निर्वाचन मार्फत् होस् चाहे छनौटका आधार वा त सहमतीमा नै किन नहोस्, उही छट्टु बदमासकै हालिमुहाली रहेको छ । कारण काले काले मिलेर खाउँ भाले ।

नेपालको पटक-पटकको सबै कुरा परिवर्तन हुँदा पनि राजनीतिक प्रणाली र व्यवस्था पुरै विग्रदोमा रहनुको पनि प्रमुख कारण यही नै मान्न सक्छौँ । नेपालमा राजनीतिमा होमिएका अधिकांशले देश र जनताको मुक्तिका लागि, प्रजातन्त्रका लागि, निरंकुशताबाट उन्मुक्तिका लागि, स्वतन्त्रताका लागि लडेका, मरेका, जेल बसेका, सास्ती खाएका, धन सम्पत्ति नास गरेका आदि उल्लेख गर्दै त्यो त्याग र बलिदानका आधार आफू राजनीतिक विरासतमा जीवनभर बस्ने अधिकार छ भन्नु र बस्नु नै वर्तमान राजनीतिक नेतामा नरहेको मानवता र नैतिकता हो ।

त्याग र बलिदान वास्तवमा नै भन्नुपर्दा व्यक्ति विशेषका लागि कदापि हुँदैन । अनि राजनीतिलाई पेसा बनाएर व्यवसायी गर्ने नेताबाट कहिल्यै पनि मुलुकले दिगो विकास अनि समृद्धिको कदममा कदापि आफूलाई उभ्याउन सक्दैन । जसको ज्वलन्त उदाहरण नेपालको राजनीतिलाई लिन सक्छौं । त यस्तो अवस्थामा मुलुकको निर्वाचन वा त निर्वाचन मार्फत निर्वाचितले वा त पराजयले खासै परिवर्तन दिलाउन सक्दैन ।

निष्कर्षमा भन्दा राजनीति के हो ? के का लागि ? यसको उद्देश्य को हो ? राजनीतिक दलको उपदेहिता र कार्य के हुन्छ ? निवार्चनमा निर्वाचित उम्मेदवार वा त पराजित उम्मेदवारको कर्तब्य र दायित्व के हो ? भन्ने बारेमा ब्यापक छलफल नगरी गरिएको राजनीति अनि निर्वाचनले कुनै तुक राख्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.