विराट्देखि सूक्ष्म परमाणुसम्मलाई जन्माउने मूल प्रकृति मातृशक्तिको पूजा–उपासना गर्ने परम्परा प्राचीनकालदेखि नै चल्दै आएको पाइन्छ । किनभने सृष्टिको सुरुदेखि नै असल खराब शक्तिहरुबीच संघर्ष चल्दै आइरहेछ । यसरी सृष्टिको सुररुदेखि नै चलेको संघर्षमा शान्तिप्रेमी सद्गुणीहरुले आतंकारी दुर्गुणीहरुलाई हराउने अभिलाषाले ‘आदिशक्ति जगन्माता विजया’ लाई पूजा–उपसना गर्दै आइरहेछन् ।
मातुशक्तिको प्रभावले गर्दा नै रावणको अन्त्य भएको छ, रामको होइन । कृष्णले कंसलाई हराएका छन् । मातृशक्ति पूजाबाट नै पाण्डवहरुले कौरवहरुलाई र इन्द्रले वुत्तासुरलाई हराउने शक्ति प्राप्त गरेको तथ्य पौराणिक आख्यानहरुबाट थाहा पाइन्छ । यस प्रकार जगद्धात्री आदिशक्तिको कृपाले प्रागैतिहासिक क्रमदेखि नै असत्माथि सत्को, दानवतामाथि देवताको र अमानवतामाथि मानवताको विजय हुँदै आइरहेको छ ।
यसै क्रममा सत्यको बाटोमा हिड्ने प्रह्लादको विजय भएको छ भने असत्यमार्गी हिरण्यकशिपुको अन्त्य भएको छ । फेरि चंगेज खाँ, नादिर शाह र हिटलरजस्ता असत् शक्तिहरुको अन्त्उ भई सत् शक्तिको उदय भएको कुराको इतिहास साक्षी छ । अझ हाम्रो देशमा नै मातृशक्तिरुपी देशभक्तिको प्रभावले जनता संगठित भई शक्तिसाधना गर्दै अन्यायी र अत्याचारी राणाशासनको अन्त्य गरेको कुरा सर्वविदित नै छ । शोषित, पीडित र दुःखीहरुलाई शक्ति दिई विजय गराउने मातृशक्तिको प्रथाम रुप ‘दुर्गा’ हो । दुर्गा विश्वकी सिर्जनात्मक मातृशक्ति मात्र होइनन्, रक्षाकर्तृ देवी पनि हुन् । दसैंमा ‘दुर्गासप्तशती’ को पाठ गरिन्छ । ‘दुर्गासप्तशती’ मा भनिएको छ ।
इन्थं यदा यदा बाधा दानवोत्था भविष्यति ।
तदा तदावतीर्यास्हं करिष्यामि अरिक्षयम् ।।
अर्थात्“जुन–जुन बेला आतंककारी शक्ति बढेर शान्ति सुरक्षामा बाधा पुर्याउँछन् त्यस–त्यस बेला म शक्तिका रुपमा आएर ती दुष्टहरुलाई नाश गरी सज्जनहरुलाई रक्षा गर्नेछु ।” यसरी आतंक आदि अनिष्ट तत्वविरुद्ध युद्ध जित्न संगठित भई अपराजिता मातृशक्तिको पूजा–उपासना गरिने विश्वपरम्पराबाट विजयादशमी अर्थात् बडादसैंको जन्म भएको पाइन्छ ।
मातृशक्तिको विश्वव्यापी प्रभाव
वेद र पुराणमा मात्र होइन, बाइबल र कुरानमा समेत मातृशक्तिलाई सम्मान दिएको छ । अतः विश्वभरि नै रहेको मातृशक्तिको पूजा उपासना गर्ने परम्परा कालान्तरमा शक्तिपूजाका रुपमा परिणत भएको पाइन्छ । मोहन्जोदाडो, हडप्प आदि ठाउँहरुमा प्राप्त माटाका नारीमूर्तिहरुबाट पनि मातृशक्तिपूजाको चलन थाहा पाइन्छ । चीन तिब्बत, मंगोल, मिस्र आदि देशहरुमा प्राप्त प्रमाणहरुबाट पनि शक्तिपूजाको विश्वव्यापी प्रभावलाई बुझ्न सकिन्छ । मातृशक्तिको उपासना वर्तमान नागरिक समाजले मात्र होइन प्राचीन जंगली जाती, बर्बर, शबर आदिले समेत गरेको कुरा मातृशक्तिका ‘अर्पणा’, नग्नशबरी, पर्णशबरी आदि नामहरुबाट थाहा पाइन्छ । ऋग्वेदमा आदिति, अथर्ववेदमा पृथ्वी आदि नाम भएकी मातृशक्तिलाई उत्तरवैदिककालीन ग्रन्थहरुमा अम्बिका , उमा, दुर्गा, काली आदि भनिएको छ । सांख्यदर्शनमा प्रतिपादित प्रकृति बाट पनि मातृशक्तिको बोध हुन्छ भने संस्कृतको प्रसिद्ध भाषाशास्त्रीय ग्रन्थ ‘अष्टाध्यायी’ मा वर्णित भवानी, शर्वाणी, रुद्राणी, तथा मृणानी पनि शक्तिदेवी नै हुन् । महाभारतको दुर्गास्तोत्र, हरिवैशपुराणको आर्यास्तवन मार्कण्डेउपुराणको देवीमाहात्म्य खण्ड आदिबाट देवीका नाना रुपशक्ति जान्न सकिन्छ । वाजसनेयीसंहिता र तैत्तरीय ब्रह्मणमा अम्बिकालाई रुद्रपत्नी भनिएको छ ।
केन उपनिषद्मा उमालाई समस्त ब्रह्माविद्याको रुप मानिएको छ । गृह्यसूत्रहरुमा दुर्गा, भवानी, भद्रकाली आदि नामहरुको उल्लेख पाइन्छ । वस्तुतः यी सबै एउटै देवी दुर्गाका नाम हुन् । यी दुर्गादेवी शक्तिका महिषसुरमर्दिनी, नारायणी, गौरी आदि असंख्य नाम छन् । माया, महमाया, मूल प्रकृति, अविद्या, विद्या, व्यक्त, अव्याकृत आदि शक्तिका पर्यायवाची नाम हुन् । नवदुर्गा, काली, अष्टलक्ष्मी, नवशक्ति, देवी आदि नामहरुबाट पराशक्तिको बोध हुन्छ । महालक्ष्मी, महासरस्वती र महाकाली यी शक्तिका तीनवटा प्रधान व्यक्त स्वरुप हुन् । वस्तुतः शक्तिविना हामी केही पनि गर्न सक्दैनौं, अर्थात् लास हुन्छौं । स्कन्दपुराणामा त शक्तिविना शिवलाई पनि शव मानिएको छ । लोक व्यवहारमा पनि शक्तिको इकार (ि)लाई शिव शब्दमा नजोड्दा शव हुन आउँछ । यसरी शक्तिविना देवाधिदेव शिवसमेत निष्क्रिय र निश्चेष्ट हुन्छन् भने शक्तिविना अन्य प्राणीहरुको जीवन्तताको कल्पना गर्नु व्यर्थ छ । फेरि ऋग्वेदको दसौं मण्डलको देवीसुक्तानुसार देवता, मनुष्य, पशु आदिको मूल तत्वमा महाशक्ति भावना प्रधान छ ।
यिनै महाशक्ति नै सिंहमा चढेकी दुर्गा हुन् जो विविध शक्तिहरुको सहयोगबाट अनेकन् बाहुलीहरुको संयुक्त भई आतंक, आलस्य र अज्ञानका प्रतीक महिषासुर आदि असुरहरुको नाश गर्दछिन् । यिनै शक्तिलाई हामी समय (काल) का रुपमा अनुभव गर्न सक्दछौं । यी कालरुपी दैवी शक्तिले ऋतुका रुपमा संसारलाई परिवर्तन गरिरहेकी छन् जसमा हामी प्राकृतिक पटपरिवर्तनका रुपमा महाशक्ति प्रकृतिको प्रत्यक्ष अनुभूति गर्दछौं । यी कालरुपी शक्तिको प्रधान रुप संवत्सर हो जसमा चैत्र र आश्विन दुईटा नवरात्र प्रधान छन् । यीमध्ये चैतको वासन्तिक र असोजको शरद नवरात्रलाई क्रमशः हामीहरुले चैते दसैं र बडादसैंका रुपमा मनाउने गरेका छौं जसलाई रामनवरात्रि र दुर्गानवरात्रि पनि भनिन्छ ।
नवरात्रि र नवदुर्गाका नौ रुप
दुर्गा मातृशक्तिको रुप हो । दुर्गाशक्तिका नौ रुप छन् जसलाई नवदुर्गा भनिन्छ । शक्तिकी अधिष्ठात्री दुर्गादेवीका नौवटा स्वरुपको पूजा गरिने नौ दिनहरुलाई नवरात्र भनिन्छ । नव र रात्र यी दुई शब्दबाट नवरात्र शब्द बनेको छर नव शब्द नौ संख्याको वाचक हो भने रात्र शब्दले रात्रीसमूह अर्थात कालविशेषलाई जनाउँछ । विक्रमीय संवतको कालगणनाअनुसार एक महिनामा दुई पक्ष हुन्छन् । तसर्थ ३६० दिनमा ४० (४० गुणा ९ बराबर ३६०) नवरात्र पर्छन् । तीमध्ये नवदुर्गापूजाका निमित्त चैत्र शुक्ल र आश्विन शुक्ल उत्तम काल मानिएका छन् । जीवनका मूल तत्व अग्नि (गर्मी) र सोम (ठण्डी) का प्रतीक तथा ऋतुपरिवर्तनका सूचक यी नवरात्रद्वयमा कृषि अर्थव्यवस्थाको दृष्टिबाट पनि प्राकृतिबाट नयाँ अन्न र शक्ति प्राप्त हुने गर्दछ ।
फेरि पुराण र तन्त्रशास्त्रहरुमा कलियुगमा नवोरात्रोत्सव विधिपूर्वक मनाइएमा अश्वमेध यज्ञभन्दा बढी फल र चतुर्वर्गको प्राप्ती हुन्छ भनिएको छ । अझ शारदीय नवरात्र महोत्सवमा देवीशक्तिको पूजाको विशेष महत्व रहेको तथ्य शरत्काले महापूजा क्रियते या च वार्षिकी जस्तो शास्त्रीय वचनसमेतले प्रमाणित गरेको छ । यसरी नवदुर्गापूजनका लागि प्राकृतिक र शास्त्रीय मान्यतासमेत प्राप्त यस नवरात्रलाई हामीहरु बडादसैं शब्दले बढी चिन्दछौं । शारदीय नवरात्र आश्विन शुक्लपक्षको प्रतिपदादेखि आरम्भ भएर नवमीसम्म चल्छ । देवीभागवतका अनुसार नवरात्रका यी नौ दिनको अवधि नवदुर्गालाई पूजा गर्ने सर्वश्रेष्ठ समय हो । यी नौ दिनहरुमा देवी आफ्ना नौवटा स्वरुपमा प्रकट हुन्छिन् । नवदुर्गाका ती नौवटा स्वरुप यस प्रकार छन् ।
शैलपुत्री–नवदुर्गादेवीको पहिलो स्वरुप शैलपुत्री हो । हिमालय पर्वतकी छोरीका रुपमा उत्पन्न भएकी हुनाले यीनलाई शैलपुत्री भनिन्छ । गोरु वाहन भएकी यिनको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल शोभामयमान् छन् ।
ब्रह्मचारिणी– दुर्गाको नवशक्तिको दोस्रो रुप ब्रह्मचारिणी हो । ब्रह्म शब्दका अर्थ तपस्या हो। ब्रह्मचारिणी अर्थात् तपस्विनी । वेदतत्व, तप आदि ब्रह्म शब्दको अर्थ हुन् । ब्रह्मचारिणी देवीको स्वरुप पूर्ण ज्योतिर्मय छ जसको दायाँ हातमा जपमाला र बायाँ हातमा कमण्डलु रहेको छ ।
चन्द्रघण्टा– जगदम्बाको तेस्रो शक्तिको नाउँ चज्द्रघण्टा हो । नवरात्रिको तेस्रो दिनमा पुजिने यिनको स्वरुप शान्तिदायक र कल्याणकारी छ । यिनको मस्तकमा घण्ट आकारको अद्र्धचन्द्र छ, अतः यिनलाई चन्द्रघण्ट भनिन्छ ।
कूष्माण्डा– आफ्नो मन्द मुस्कानबाट अण्डा अर्थात ब्रह्मण्डलाई उत्पन्न गरेकाले यिनलाई कूष्माण्डा भनिन्छ । जब चारैतिर अन्धकार थियो, सृष्टिको अस्तित्व थिएन त्यसबेला ईषद हास्यबाट ब्रह्माण्डको सृष्टि गर्ने यी सृष्टिको आदिस्वरुप र आदिशक्ति हुन् । नवरात्रको चौंथो दिनमा यसै स्वरुपलाई पुजिन्छ ।
स्कन्दमाता– स्कन्द कुमार कार्तिकेयको नाम हो । देवासुरसङ्ग्रममा देवताका सेनापति बनेको यिनको पुराणहरुमा शक्तिधार आदि नामबाट प्रस्तुत गाइएको छ । यिनै स्कन्दकी आमा भएकी हुनाले दुर्गाको पाँचांै दिनमा रुपलाई स्कन्दमाता भनिन्छ ।
कात्यायनी–कतका छोरा कात्य ऋषिको गोत्रमा उत्पन्न कात्यायनले अनेकन् वर्ष कठिन तपस्या गरी दुर्गा भवानीलाई छोरीका रुपमा पाएको हुनाले देवीको छैटौं रुप कात्यायनी नामबाट चिनिन्छ ।
कालरात्रि–चार हप्ता भएकी, चम्किलो तरबार धारण गरेकी, गर्दभ वाहन भएकी, सबैलाई मार्ने काल की पनि रात्रि अर्थात् विनाशिनी दुर्गाको सातौं रुपलाई कालरात्रि भनिन्छ ।
महागौरी–दुर्गादवीको आठौं शक्तिको नाम महागौरी हो । शङ्ख–चक्रजस्ती गोरी यिनका सबै वस्त्र र आभूषणहरु पनि सेतो रङ्गका छन् ।
सिद्धिदात्री– दुर्गा भवानीको नवौं शक्तिको नाम सिद्धिदात्री हो । अणिम, महिमा, गरिमा, लघिमा, प्राप्ती, प्राकाम्प, ईशित्व, र वशित्व नाम भएका आठैवटा सिद्धि दिन सक्ने भएकी हुँदा यिनलाई सिद्धिदात्री भनिन्छ । नवरात्रको भोलिपल्ट दशमी अर्थात् बडादसैं मनाइन्छ ।
बडादसैंको अर्थ र महत्व
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिनदेखि कोजाग्रत पूर्णीमासम्म नेपालमा बडादसैं राष्ट्रिय समन्वय र एकताका लागि राष्ट्रिय चाडका रुपमा मनाइदै आइरहेको छ । संस्कृतको दशमी शब्दबाट अपभ्रंश भई दसैं शब्द बनेको छ । नेपालमा मनाइने विभिन्न चाडहरुमा प्रमुख राष्ट्रिय चाड भएर नै यसलाई बडा अर्थात् सर्बश्रेष्ठ चाड मानी बडादसैं भनिएको छ । हामीले मनाउने चैते दसैंभन्दा बडो अर्थात् ठूलो हुनाले पनि बडादसैं बन्न पुगेको छ । असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दुर्गानवरात्रमा दशमी तिथि सबभन्दा महत्वपूर्ण दिन भएकाले यो चाड दसैं नामबाट प्रसिद्ध भएको छ । यो नेपालको अति प्राचीन चाड भएकाले प्राचीन ग्रन्थहरुले त यसको महत्वबारे उल्लेख गरेका छन् नै, अर्वाचीन नेपाली कविशिरोमणि लेखनाथ पौड्यालले पनि दसैंको महत्व यसरी व्यक्त गरेका छन्–
ठूला– साना सबैलाई दसैं अत्यन्त राम्रो छ ।
चलेका चाडमा ज्यादा यही उत्कृष्ट हाम्रो छ ।।
अझ नेपालीहरुको सर्वोत्कृष्ट चाड दसैंको महत्वलाई पार्वतीको अनुरोधमा शिवजीले यसरी व्यक्त गरेका छन् । मानवमात्रको लोक–परलोकमा कल्याणकारी र मंगलदायी विजयमुहूर्त बडादसैंमा मात्र पर्छ । यसै शुभ मुहूर्तमा रामले युद्धको विजययात्रा गरेर विजयी भई शक्तिमाताको पूजा गरेबाट उनी मर्यादापुरुषेत्तम भएका हुन् । दसैंमा मातृशक्तिको उपासनाबाट नै मानव महामानव बन्न सक्छ र पुरुष पुरुषोत्तम बन्न सक्छ ।
ज्योतिषशास्त्रअनुसार पनि यो दसैंको तिथि दुःनाशक, यशदायी र लाभदायी मानिन्छ । पहिले देवासुरसङ्ग्राममा पराजित देवताहरुबाट पूजित मातृशक्तिले महिषासुरलगायत शुम्भ, निशुम्भ, चण्ड, मुण्ड आदि आतंककारी शक्तिलाई सखाप परेपछि तीनै लोकमा अमनचयन कायम भई मातृशक्तिरुपी विजयादशमी अर्थात् बडादसैंको महत्व स्थापित हुन गएको हो । त्यसै बेलादेखि अनिष्ट तत्वमाथि विजया प्राप्त गरी सुख शान्ति पाउन शैलपुत्री, ब्रह्मचारिणी आदि नवदुर्गाको पूजा गरी दसैं मनाउने परम्पराको थालनी भएको मान्नुपर्छ ।
दसैं मनाउने चलन
दसैंको चाड मनाउने चलन अनेक देशहरुमा पाइन्छ । हामीजस्तै चाडपर्वहरुमा समान आस्था राख्ने भारतमा दशहरा भनिने दसैं पाल र सेनवंशी राजपुत(राजा) हरुका पालामा पनि विशेष रुपमा मनाइएको पाइन्छ । भारतको पन्जावमा उपवास र गुजरातमा नारीहरुद्वारा नौ दिनसम्म गरवा नाच नाचेर नवरात्रमा मातृशक्तिको आराधना गरिन्छ । तमिलनाडूमा तीन–तीन दिनका हिसाबले क्रमशः लक्ष्मीपूजा, मातृशक्तिपूजा र सरस्वतीको पूजा–उपासना गरी दसैं मनाइन्छ । बङ्गालमा दुर्गापूजा प्रसिद्ध छ ।
भारत लगायत इन्डोनेसिया आदि देशहरुमा समेत दसैंको अवसरमा रामलीला खेल्ने चलन पाइन्छ । हाम्रो देश नेपालमा त बडादसैंका विशिष्ट महत्व छ । त्यसैले दसैं मनाउन सरकारी कार्यालय, अदालत, शिक्षणसंस्था आदिमा लामो सार्वजनिक बिदा दिई दसैंखर्चको नाउँमा एक महिनाको तलब बढी दिने चलन छ । खाने, पीउने, लगाउने, खेल्ने आदि आ–आफ्ना रहर सबैले पुुर्याउँछन । यस पर्वमा केटाकटीहरु पनि दसैं आयो खाउँला पिउँला भन्दै रमाइलो गर्छन् । कतै पूजापाठ हुनछ भने कतै जात्रा–मेला लाग्छ । कतै जुवा–तास खेली मनोरञ्जन गरिन्छ भने कतै भवानी भट्याई आनन्द लिने चलन छ । नेपालीहर जुनजुन देशमा छन् त्यही दसैं धुमधामसँग मनाउछन् । गोरखा पल्टन(भारत) र द रोयल गुर्खा राइफल्स (बेलायत) मा समेत दसैं अनिवार्य रुपमा मनाउने चलन छ ।
कति कामका लागि देशबाहिर गएका नेपालीहरु दसैं मनाउनका लागि मात्र आफ्नो कामबाट बिदा लिई आ–आफ्नो घरमा आउँछन् । घरमा फर्कन नसकेकाहरु जहाँ–जहाँ छन् त्यहाँ दसैं मनाउछन् । अमेरिका आदि देशहरुमा नेपालीहरुले मनाउने दसैं प्रशंसनीय छ । प्राचीन धर्मग्रन्थ र शास्त्रहरुका अतिरिक्त ऐतिहासिक सामाग्री पाटन च्यासलटोलको लिच्छवि अभिलेखमा समेत दशमी गोष्ठी शब्द पाइन्छ जसअनुसार लिच्छविकालमा पनि दसैं मनाउने चलन रहेको बुझिन्छ । ठ्यासफूको प्रमाणबाट मल्लकालमा दसैं धुमधामका साथ मनाइन्थ्यो भन्ने थाहा पाइन्छ । मातृशक्ति मनकामना माईका उपासक श्री ५ पृथ्वीनारयण शाहका लालमोहरमा समेत दुर्गासहाय लेखिएबाट शाहकालमा दसैंको महत्व झन बढेको जानकारी पाइन्छ ।
हाल प्रचलित पैसा (मुद्रा) हरुमा अंकित श्रीभवानी शब्दले नेपाली जनजीवनमा मातृक्तिको प्रभावलाई महत्वपूर्ण बनाई दसैंलाई जीवन्त गराएको छ । प्रतिपदादेखि दसैंघरमा र आ–आफ्नो पूजाकोठामा जमरा राखी घटस्थापनाबाट दुर्गासप्तशती पाठ गरी शुभारम्भ गरिने दसैंमा काठमाडौंमा भद्रकाली, गुह्येश्वरी, दक्षिणकाली, नक्साल भवती, वज्रयोगिनी, मैतिदेवी, शोभाभगवती, आदि शक्तिपीठहरुमा दर्शनार्थीहरुको बढी भीड हुन्छ । काठमाडौं बाहिर पलान्चोक भगवती, मनकामना, भैरवी, वागेश्वरी, विन्ध्यावासिनी, गोरखकाली, ज्वालामुखी, बडिमालिका आदि शक्तिपीठहरुमा मातृशक्तिको पूजा गरिन्छ । काठमाडौंमा पञ्चमीमा पचलीभैरव र आजिमादेवीको यात्रा सम्पन्न गरिन्छ । सप्तमीमा गोरखाबाट ल्याएर जमलमा राखिएको फूलपातीलाई जंगि रनिजामती कर्मचारीहरुको उपस्थितिमा राजकीय समारोहका साथ हनुमानढोकामा भित्राइएको उपलक्ष्यमा टुँडिखेलमा आयोजित हर्ष–बढाई नजर गरिबक्सन श्री ५ को सवारी हुन्छ ।
अष्टमी मूल चोकमा तलेजु (तुलजा भवानी) पूजन र गुप्त रीतिले कालरात्रिपूजनपछि नवमीमा सबैले फूल प्रसाद ग्रहण गर्छन् । मूल चोक, कोहिटी, मखन, महाबौद्ध , यट्खा आदि ठाउँमा खड्गजात्रा गरिने दशमी दसैंको विशेष महत्वपूर्ण दिन मानिन्छ । यस दिन मान्यजनहरुका हातबाट दही, चामल र अबिरमिश्रित रातो टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ । (यहाँ विशेष उल्लेखनीय के छ भने मानिसको जीवनका लागि रक्षक र स्वास्थ्यकर चामल र दहीको टीका तथा जमरा लगाउने चलन अन्यत्र कतै पाइन्न । यो नेपाली जातिको पहिचान हो । दसैंको आशीर्वचन यस प्रकार छ ।
आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्य शान्तनवे बलं हलधरे सतयञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
द्रोणचार्यका छोरा अश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री लक्ष्मी अर्थात् धनसम्पत्ति, भगवान् रामचन्द्रको झैं शत्रुनाश, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर्योधनको जस्तो मान, शन्तनुका छोरा देवव्रत (भीष्मपितामह) को अनुरुप पराक्रम, बलरामको जस्तो बल, कुन्तीका छोरा युधिष्ठिरको झैं सत्यता, विदुरको जस्तै नीतिज्ञान र भगवान नारायण को जस्तो कीर्ति (सुनाम) प्राप्त होस् ।
यस दिन टीका लगाउन आउने सबैलाई राजदरबारको प्रांगणमा श्री ५ बाट टीका बक्सने चलन छ ।
यसरी संग्रामिक, सांस्कृतिक, समाजिक, आध्यात्मिक, ऐतिहासिक, धार्मिक र मौलिक महत्व रहेको यस पर्वले हामीलाई मातृशक्तिरुपी देशभक्ति भावनाले सबै नेपालीहरु संगठित भएमा अशान्तिमाथि शान्तिको विजय हुने सनदेश सुनाइको छ ।
अन्त्यमा दसैं आएको शुभ अवसरमा देशमा अशान्ति र संकट ल्याउने परस्परको संघर्षलाई बिर्सेर त्यागेर देशमा शान्ति र आनन्द कायम गरौं । यही भावनाको कविशिरोमणि लेखनाथको कविता मननीय छ ।
जता जाऊ उतै भन्छन् दसैं आयो ! दसैं आयो !
यही आनन्द चर्चाले सबै संकट बिर्सायो ।।
नेपाल राष्ट्रिय चाडपर्व (डा. ऋषिप्रसाद शर्माद्वारा लिखित)