गुल्मी, असोज २९ः ‘माथील्लो गराको पानी तल्ला गरामा झर्छ तर तल्ला गराको पानी माथील्लो घरमा उक्लिन्न’ प्रविधिको विकास नहुनु अघि सम्म बुढापाकाहरुको यो भनाई अर्थपुर्ण थियो । सिधा अर्थमा तल्ला गराको पानी माथल्लो गरामा उक्लिने कुरै थिएन । अर्को अर्थमा घरका अभिभावकले छोरा छोरीलाई जति माया गर्छन त्यति माया छोरा छोरीले गर्दैनन भन्ने पनि थियो ।
यहि प्रशंगमा गुल्मीको पहिलो बिद्युतिय संचार माध्यम रेडियो रेसुङ्गाबाट २०६७ सालमा एउटा रेडियो रिर्पोट बजेको थियो । त्यो बेला उक्त रिर्पोटले राम्रै चर्चा पायो र धेरैलाई अचम्बित पनि पा¥यो । किनकी तल्ला गराको पानी माथील्लो गरामा उक्लेरै छाड्यो । त्यो रेडियो रिर्पोट थियो तम्घास बृहत लिफ्ट सिस्टम खानेपानी योजना सम्पन्न भई खानेपानीको चरम हाँहकार खेपेको तम्घास बजारको घर घरमा खानेपानीको धरा पुगेको ।
अहिले लिफ्ट सिस्टम खानेपानी योजना देशैभर सामन्य भई सकेको छ । तर आज भन्दा झण्डै २० बर्ष अघि सम्म गुल्मीको हकमा कल्पना भन्दा बाहिरको बिषय थियो । त्यति बेला त्यही कल्पना भन्दा बाहिरको कुरालाई साकार पार्दै गुल्मी जिल्लामा खानेपानी समस्या समधानको विकल्प दिने पहिलो ब्यक्ति नेपाली कांग्रेसका नेता भुवनप्रसाद श्रेष्ठ हुन भन्ने कुरामा कसैको दुई मत छैन ।
ग्रामिण भेगको कुरै छाडौं सदरमुकाम तम्घस जस्तो ठाउँमै उक्त लिफ्ट सिस्टम योजना सम्पन्न नहुने बेला सम्म हिउँदयाममा खानेपानीको हाँहकार थियो । यहाँका मानिसहरु चिदीचौर पँधेरो, चारीखोला पँधेरो , ओख्रेनी तिनधारा पँधेरो माथी भगवती मन्दिरको पुरानो धारामा भरिभराउ हुन्थे ।
कोही त तल अर्खले सम्म पुगेर गाग्रीमा पानी बोकेको देखिन्थ्यो । त्यस्तो बेला उनै भुवनप्रसाद श्रेष्ठले पहिलो पटक गुल्मी जिल्लामा लिफ्ट सिस्टम खानेपानी योजना भित्राएर यहाँको खानेपानी समस्या समाधान गरेका थिए र त्यही योजनाले हाल सम्म सदरमुकाम तम्घासको खानेपानी समस्या थेगेको छ । तल ओख्रेनी मुहानको पानी माथी भुजेलखर्कको टापुमा पुराएर फेरी तम्घास बजारमा झारेर त्यति बेला झण्डै १८ घरधुरीमा पानी पुराउने श्रेष्ठको विकासमा के कस्तो ‘भिजन’ छ भन्ने कुराको उदाहरण त्यही नै काफी होला तर अरु थुप्रै छन् ।
श्रेष्ठले सदरमुकाम तम्घासको खानेपानीको विकल्प मात्रै खोजेनन् जिल्लाको सबै भन्दा बढि खानेपानीको हाँहकार खेपेको गाउँ दौंघामा पनि लिफ्ट सिस्टम खानेपानी योजन भित्राएर त्यहाँ बासीन्दाको आत्मै देखि आशिष पाएका छन् ।
यसरी श्रेष्ठले सुरु गरेको लिफ्ट सिस्टम खानेपानी योजना अहिले गुल्मी जिल्लाभर र देशैभर सञ्चालनमा आएको छ । त्यति मात्र होईन , उनि संघियता नआउनु अघि सम्म साविक जिल्ला विकासको जिल्ला स्तरिय संयन्त्रमा बसेर जिल्लाका बाटाघाटा , शिक्षा , स्वास्थ्य लगायतका विभिन्न विकासमा जहाँ समस्या आउँथ्यो त्यस समस्याको समधानमा श्रेष्ठ संयन्त्रको सोध–खोजकर्ताका रुपमा थिए र समधान निकाल्थे । साविक जिल्ला विकास समिति छँदा दलहरु बिच विकासमा साझा अवधारण स्थापित गर्न र २० बर्षे कार्य योजना बनाउन श्रेष्ठको उत्तिकै भुमिका रहेको थियो ।
लिफ्ट खानेपानी योजनाको उनै परिकल्पनाकार भुवनप्रसाद श्रेष्ठ यति बेला गुल्मी क्षेत्र नम्वर २ क प्रदेशको चुनावी मैदानमा खडा छन् । त्यस प्रदेश मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिका वडा नम्वर १, २ , ३, ४, ५ र ६ सम्म पर्दछ । जुन स्थानहरुमा बाटोघाटो , खानेपानी, शिक्षा , स्वास्थ्यको क्षेत्रमा उनी नेपाली कांग्रेस गुल्मीको दुई दुई कार्यकाल सचिव, उपसभापति र सभापति छँदा महत्वपुर्ण योगदान पुराई सकेका छन् । त्यसैलाई मध्ये नजर सुनाउँदै उनि आफु निर्वाचन ढुक्क सग जित्ने दाबी गर्दछन् ।
अनवरत राजनैतिक यात्रा
२०३८ साल देखि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघबाट राजनैतिक यात्रा सुरु गरेका श्रेष्ठ २०४६ को जनआन्दोलन सम्म आई पुग्दा पञ्चायत बिरुद्ध उत्रिने एउटा सशक्त युवा पात्रको रुपमा जिल्लामा चर्चा कमाई सकेका थिए । यता जनताबाट उनि जति चर्चा र प्रशंसाका पात्र थिए उता निरङकुस पञ्चायती सरकारका उनि त्यति नै आँखाको तारो बनेका थिए ।
अन्ततः उनलाई २०४६ सालको चैत्र ८ गते तत्कालिन शाही सेना र प्रहरीको संयुक्त गस्तीले राज्य विरुद्धको अपराध आरोपमा पक्राउ ग¥यो । गुल्मी बाट बुटलवस्थित अञ्चालाधिश कार्यालयमा पुराईएका श्रेष्ठ चैत्र २६ गते बहुदल घोषणा हुनुको दुई दिन अघि अर्थात चैत्र २२ गते १४ दिन सम्म प्रहरी कष्टडीबाट रिहा भएका थिए ।
बहुदल ब्यवस्थाको उदय पछि २०४७ सालमा नेवि संघको जिल्ला सचिव रहेका श्रेष्ठ त्यस संगठनको छैठौं जिल्ला अधिवेशनको संयोजकको जिम्मेवारी सम्हालेका थिए । २०५४ सालमा नेवि संघ गुल्मीको संस्थापक सभापति रहेका श्रेष्ठले क्रमशः नेपाली कांग्रेसमा आफ्नो राजनैतिक उचाई बढाउँदै आए र जिल्ला पार्टीको सभापति हुँदै हाल लुम्बिनी प्रदेशको उपसभापति छन् ।
२०४८ साल देखि महाधिवेशन प्रतिनिधी रहेका श्रेष्ठले दुई कार्यकाल जिल्ला पार्टी सचिवको जिम्मेवारी सम्हाले । एक कार्यकाल उपसभापति र अर्कोकाल सभापतिको जिम्मेवारी सम्हाल्दा जनाधार खस्की सकेको बेला विभिन्न अभियानहरु सञ्चालन गरेर श्रेष्ठले कांग्रेसलाई फेरी पुरानै विरासतमा फर्काउने भुमिका खेले ।
कांग्रेस नेतृत्वलाई सदरमुकाम केन्द्रित होईन गाउँमुखी बनाउन उनले अर्बेनी –अग्लुङ्ग अभियान सञ्चालन गरेर सुस्ताएका कांग्रेसजनलाई जुर्मुराएका थिए । २०७५ सालमा उनले देशभरकै कांग्रेसलाई सवक दिने गरी एउटा यस्तो अभिान छेडे त्यो कम्युनिष्टहरुका लागि समेत अनुशरणिय बन्न पुग्यो ।
त्यो थियो ‘ नेपाली कांग्रेस गुल्मीको आव्हान, गाउँ जाऔं, गाउँमै रमाऔं–५० दिने महाअभियान’ । त्यस अभियानले साँचो अर्थमा कांग्रेसजनलाई अब मुखले भाषण होईन, ब्यबहारिक रुपमै सामाजिक कलंकको रुपमा रहेको जातिय छुवाछुत प्रथा अन्यत्य गर्नु पर्छ भन्ने कुराको पहिलो पाठ सिकायो ।
जनताको प्रत्यक्ष दुख सुख नियाल्ने , उनिहरुको पिर मर्का नजिकबाट बुझ्ने एउटा महत्वपुर्ण काम ग¥यो । जनै भिरेका , छोई छिटो गर्ने , कुनै बैठक बसेको बेला दलितहरु संगै चिया नास्ता गर्नु पर्दा पेट दुखेको वाहना बनाएर पन्छिनेहरु त्यो अभियानका बेला दलितको घरमा सात दिन सम्म बसेर उनैहरुले पकाएको खान खानु , उनैहरुको दैलोकुचो मेलापात गर्नु भनेको त्यस्ता रुढीवादी कांग्रेसजनका लागि जिवन मरणको युद्धमा होमिनु सरह थियो ।
त्यस अभियानलाई साथ दिन आएका कांग्रेस केन्द्रिय सदस्य गगन थापा वाग्ला गाउँको एक दलित परिवारमा बास बस्न पुगे । अँगेनाको छेवैंमा बसेर दलितहरुले पकाउने , उनि आफैले खान झिक्दै खाए । अर्को दिन विहान तत्कालिन विध्यार्थी नेता सुदर्शसन खनाल संग गम्भीर मुद्रामा भन्दै थिए–‘ साँच्ची नै यो अभियान त कांग्रेसले देशैभर चलाउनु पर्ने देखें , मैले नेपाली कांग्रेस गुल्मीलाई धन्यवाद । ’
त्यस बेला सम्म दलित वस्तीको नाम कतै कामीडाँडा , कतै सार्कीखर्क कतै दमैटोल जस्ता उपेक्षित थिए । त्यसै अभियान मार्फत त्यस्ता उपेक्षित नामहरु हटाएर कांग्रेसले सम्मानित नाम राखेको थियो । त्यस अभियानका क्रममा दलितहरुको घरमा सात दिन सम्म गरिएको श्रमले जनयुद्ध कालिन माओवादीको झल्को दिईरहेको थियो र अन्य कम्युनिष्टहरुलाई शैद्धान्तिक घोकनका सामु ब्यबहारिक झापड हानेको थियो ।
साँच्ची भन्नु पर्दा श्रेष्ठबाट पुनः एक पटक जुरुक्क उठेको कांग्रेसलाई दौडाउने काम गर्दै छन् बर्तमान पार्टी सभापति खिलध्वज पन्थीले । त्यस अघि श्रेष्ठलाई सचिवको हैसियतले ठुलो साथ दिएका थिए पन्थीले । यी दुई जना सहितको पछिल्लो दुई कार्यकालका नेताहरुको खटनले बिचको लामो समय थलिएको नेपाली कांग्रेसलाई उपचार गरी तन्दुरुस्त बनाएको छ ।
२५ बर्षकै उमेरमा गाविस अध्यक्ष
२०४९ सालको स्थानीय तह निर्वाचनमा देशभर मै सबै भन्दा कम उमेरको गाविस अध्यक्ष हुने ईतिहास रचेका थिए श्रेष्ठले । जति बेला उनि २५ बर्षका थिए । साविक तम्घास गाविसको पहिलो गाविस अध्यक्ष भएका श्रेष्ठ दोश्रो पटक पनि अध्याधिक मतले विजयी भई तम्घासमा त्यति बेलाको बजेट अनुसारको विकास गरेका थिए ।
श्रेष्ठ भन्छन्–‘ अहिले जस्तो ठुलो बजेट त्यो बेलामा थिएन । सुरुमा जम्मा ३ लाख र पछि छाड्ने बेलामा १६ लाख ६५ हजार बार्षिक बजेट आउँथ्यो । त्यतिले के नै ठुलो विकास गर्न सकिन्थ्यो र तै पनि तम्घासको बाटोघाटो , शिक्षा , स्वास्थ्यमा जे जति सकियो त्यति गरियो । ’
शैक्षिक क्षेत्रमा उदाहरण
श्रेष्ठले सदरमुकाम तम्घासका दुई वटा विद्यालय ब्यवस्थापनमा लामै समय नेतृत्व गरे । उनले जुन जुन बिद्यालयमा नेतृत्व गरेका थिए अहिले तीनै विद्यालयहरु नमुना विद्यालयका रुपमा परिचित छन् । ति हुन रेसुङ्गा माध्यामिक विद्यालय र महेन्द्र माध्यामिक विद्यालय ।
उनले हालको रेसुङ्गा मावि र तत्कालिन निमावि छँदा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहँदा पहिलो पटक जिल्लाका सामुदायिक विद्यायहरु मध्ये अग्रेजी माध्यको पढाई सुचारु गराएका थिए । त्यसबाट क्रमिक रुपमा फ्ड्को मारेको रेसुङ्गा मावि अहिले देशकै नमृुना सामुदायिक विद्यायहरु मध्ये एकमा गनिन्छ ।
२०६० साल देखि दुई कार्यकाल सम्म महेन्द्र माविको अध्यक्ष रहेका श्रेष्ठले त्यस माविलाई शैक्षिक र भौतिक पुर्वधार विकासले निकै उचाईमा पुराई दिए । श्रेष्ठले कार्यभार सम्हाल्दा तत्कालिन एसएलसी परिक्षाको नतिजा १६ प्रतिशत थियो भने दोश्रो कार्यकाल अरुलाई बुझाउँदा ९८ प्रतिशतमा पुराए । शैक्षिक क्षेत्रको विकासमा श्रेष्ठको ‘भिजन’ अर्को उदाहरण हो ।
अर्को एउटा उदाहरण गुल्मी जिल्लाका विद्यालयमा मात्रै होईन सम्भवत देशमै पहिलो दलित महिला होलिन त्यस विद्यालयमा श्रेष्ठले चिया नास्ता बनाउने परिचर नियुक्ती गरे । धागीथुम टोलकी घरेलु हिसा पीडित विपन्न परिवारकी महिला मिना बिकलाई उनले परिचरका रुपमा नियुक्ती गरेर उनी र उनका नाबालक छोरा छोरीको उद्धार मात्रै गरेनन् , दलितहरुलाई सरकारी क्षेत्रमा भान्छेका रुपमा पनि राखिनु पर्छ भन्ने एउटा दवावमुलक आन्दोलनको पनि सुरुवात गरे ।
मिना भन्छिन् –‘मेरा लागि उहाँले ठुलो उद्धारको काम गर्नु भएको थियो, जुन म कहिल्लै बिर्सन सक्दिँन । ’ एउटी दलित महिलालाई सरहरुलाई पानी र चिया टक्राउने काममा नियुक्त गर्दा कतिपय बाट आफुले आलोचना खेप्नु परेको श्रेष्ठ सुनाउँछन् । श्रेष्ठ भन्छन्–‘ आलोचना आउँछन् ,अनेकन चुनौतीहरु पनि तेर्सिन्छन तर त्यसको सामाना गरेर परिवर्तन आफैबाट सुरु गर्नु पर्छ । ’ सामाज रुपान्तरणमा श्रेष्ठको यो अर्को श्रेष्ठता हो ।
सादा जिवन स्वच्छ छवी
राजनैतिक र सामाजिक क्षेत्रका मानिसहरुको नैतिकता र चरित्रको पनि लेखाजोखा हुने गर्दछ । यति लामो राजनैतिक र सामाजिक यात्रामा रहेका श्रेष्ठ प्रति कुनै प्रकारको नैतिक प्रश्न विपक्षीले समेत उठाउन सकेनन् ।
भलै आरोपका लागि आरोप लगाईने राजनैतिक संस्कार कार्यमै रहेका बेला आरोप प्रत्यारोप चलेका होलन कुनै बिषयमा तर पनि श्रेष्ठ कतै चुकेनन् । चारित्रक रुपमा एउटा नेवारको छोरा जाँड रक्सी पिउँदैन भन्दा अलि अपत्यारिलो लाग्न सक्छ । तीनै अपत्यारिलो पात्र हुन भुवन श्रेष्ठ ।
जसले त्यो उमेर पुग्ने बेला सम्म न जाँड रक्सी सेवन ग¥यो न चुरोट विडी कुनै अम्वलको लतमा लाग्यो । मृतभाषी र साधरण मानिसहरु संग पनि उ जस्तो उस्तै शैलीमा प्रस्तुत हुने श्रेष्ठको एउटा कम्जोरी नै भन्नु पर्छ कि चित्त नबुझे विपक्षी संग खरो रुपमा कट्किने बानी छ । अन्य संग मिजासीला , फरासिला राजनैतिकर्मी श्रेष्ठको सादा जिवन प्रशंसनिक पक्ष हो ।
जिवनभर तपश्याकै रुपमा राजनीति भन्दा अरु कुनै पेशमा नलागेका श्रेष्ठले अन्य कतिपले राजनीतिलाई ब्यापार बनाई रहेको आरोप लगाउँछन् । ‘भित्रि सञ्चो ठक्का पट्टा र कमाउ धन्दा बाहिर राजनीतिकर्मीको मुकुण्डो जब सम्म मिल्काउन सकिन्न तब सम्म जनता झुटा सपनाका शिकार भईनै रहने छन्’– श्रेष्ठ भन्छन् –‘ एउटा सचेत वर्गले त त्यो बुझी सकेका छन तर अझै पनि एउटा तप्का बुझी नसकेकोले उनिहरुलाई बुझाउन घर दैलो गरिरहेको छु । ’
यस्तो छ हिड हिड्दै उनको भनाई
म अहिले मुसिकोटको घर दैलो गर्न बाटोमा हिडिरहेको छु । बाटाघाटाहरुको अवस्था बेहाल छ । नगरपालिका जस्तो ठाउँमा यातायाताका साधानहरु चल्ने खालका सडक छैनन, घण्टौं हिडेर घर दैलो गरिएको छ ।
विरामी वुवा आमाहरु , सुत्केरी र गर्भवती दिदी वहिनीहरु यातायातको अभावमा स्वास्थ्य संस्था सम्म जान नसक्ने अवस्था देंखे , । पाँच बर्ष अघि र अहिलेमा भौतिक पुर्वधार विकासमा खासै अन्तर भएको मैले पाईन , यसर्थ म निकै ठुला सपना देखाउन चाहन्न मात्र जनताका आधारभुत समस्या भनेका भौतिक पुर्वधारको विकास टोल टोल सम्म पुराउने छु । शिक्षा र स्वास्थ्यमा सहज पहुँच पुराउन सकियोस र शैक्षिक क्षेत्र बेरोजगारहरु उ्रत्पादन गर्ने थलो बनिरहेको छ त्यसलाई सुधारेर रोजगारमुलक शिक्षा मेरो पहिलो प्राथामिकतामा पर्ने छ । ’
देशकै प्रमुख दल नेपाली काग्रेस लुम्बिनी प्रदेश कै नेतृत्वतह उपसभापति भई सकेका श्रेष्ठ प्रदेश सभा सदस्यमा चुनाव जित्न सके मन्त्री हुने हैसियतमा छन् । यसर्थ पनि सिंङ्गो जिल्लावासका लागि आशाको केन्द्र बन्न पुगेका छन् ।
रेसुङ्गा नगरपालिकाका निर्वतमान मेयर डिल्लीराज भुसाल उनका प्रतिस्पर्धी उमेदवार हुन् । २०४९ सालको निर्वाचनमा पनि उनै भुसाल प्रतिस्पर्धी थिए । जति बेला श्रेष्ठले भुसाललाई हराए । त्यसको वदला भुसालले २०७४ को चुनावमा लिएर जिते । अहिले उनै संग तेश्रो पटक प्रतिस्पर्धा हुँदैछ ।
हैरौ आलोपालो जित–हारको चर्खा घुम्ने हो कि वा भुसालले नै दोश्रो पटक वाजी मार्ने हुन त्यो मंसिर ४ पछिको मतपरिणामले देखाउने छ ।तपाईको चुनाव जित्ने आधार के के हुन ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्–‘ पहिलो आधार जनप्रतिनिधीको परिक्षमा फेल भई सकेका मान्छेलाई जनताले कसरी दोहराउँलान ? तपाई आफै हेर्नुस् विगत पाँच बर्षमा हुन नसकेको रेसुङ्गा नगरपालिकाको विकास ५ महिना मै भएको छ र अरु थुप्रै गरिदै छ ।
यसबाट पनि जनताले हामीलाई बिश्वास गर्ने नै छन् । अर्को कुरा विकास कार्यमा म भुवन श्रेष्ठको भिजन जनताले बुझैकै छन् , यसर्थ पनि विकास र न्याय प्रेमी जनताले आफ्नो विवेक पुराएर मलाई जिताउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु । ’ साभार अर्थ सम्वाद