लोहियाको दबाब पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई सुनाएका छन्, “भारतका समाजवादी नेता डा राममनोहर लोहियाले मोहन शमशेरलाई टेलिग्राम पठाएर आफू प्लेन चढी नेपाल आउन चाहेकाले अनमति मागेका रहेछन् । बीपी रिहाइका लागि भारत सरकारलाई तीब्र दबाब परेको थियो । मोहनले रिसाउँदै टेलिग्रामको मुठा फालिदिए । उनले भनेका थिए, यस्तो पनि गर्ने हो, बिदेशीले हामीलाई दबाब दिने ? टेलिग्रामको एउटा कागज मेरोनजिक पुग्यो । उठाएर हेरें लोहियाको रहेछ ।” त्यसमा लेखिएको थियो, म नेपाल आउँदै छु, अनुमति दिनुपर्यो ।
राणाहरु भन्दै थिए, प्लेन ल्याण्ड गर्न सक्छ कि सक्दैन ? त्यो बेलासम्म नेपालमा जहाज आएकै थिएन । बीपीको अवस्थाबारे भारतका प्रधानमन्त्री नेहरुले समेत चासो राखेपछि अप्ठ्यारोमा परेका मोहन शमशेरले राति १२ बजे आदेश दिए, यिनीहरुलाई भोली दाजुसँग भेटाईदिनु । तारिणी र गिरिजाले भने, महाराज हामी एक्लै भेट्छौं । “ल ल दाजुभाइको कुरा हुन्छ । एक्लै भेट्न दिए हुन्छ,” मोहनले आदेश दिए ।
बीपीलाई राखिएको कालकोठारीमा उनीहरुलाई लगियो । बीपी सुतिरहेकै थिए । गिरिजा सिरानतिर बसे, तारिणी खुट्टातिर । तिम्रा दाजु मर्ने भए सम्झाउनुपर्यो भनेर उनीहरुलाई पठाएको थियो । जेलभित्र बीपीलाई एउटै ठूलो कम्बल ओछ्याउन र ओढ्न दिइएको थियो । त्यो बाहेक अरु कुनै कपडा थिएन । गिरिजाले त्यो दिनको घटना सुनाउँदै लेखकसँग भनेका छन्, “यसो सान्दाइको हात पक्डौं भनेको त सिक्रिले बाँधेको रहेछ । गोडा र कम्मरमा पनि सिक्रि थियो । बाफ रे बाफ । त्यो देखेपछि त मलाई त एकदमै रिस उठेर आयो । मैले भने, “तारिणी दाजु, हामी पनि यहीा अनशन सुरु गरौं । अब बङ्गलामा जाने होइन । सान्दाजुले भन्नुभयो–त्यसो नगर । तिमीहरु पनि अनशन बस्दा राम्रो हुँदैन । तीन दाजुभाइ मात्र थियौं, कोठामा ।”
भारतीय समाजवादी नेता राममनोहर लोहिया नेपाल आउन लागेको जानकारी दिँदै तारिणी र गिरिजाले भने, “अब चिन्ता गर्नुपर्दैन सान्दाइ, अन्तराष्ट्रिय समुदायको चासो एकदमै बढेको छ ।”
दाजुलाई अनशन तोड्न सम्झाउ भनेर तारिणी र गिरिजालाई केही दिनसम्म लगातार राणाहरुले भेटाउने क्रम जारी राखे । तर दाजुमाथि भएको ज्यादती देखेर दुबैले आफूहरु पनि अनशन बस्ने अड्डी लिएपछि राणाहरुको केही चलेन । अनि भेटाउन बन्द गरे।
बीपीले भनेका छन्,“अनशन बसेपछि मेरो पेट दुख्न पनि बन्द भयो, दिसा पनि बन्द भयो । म पानी मात्र खान्थें । पहिला आठ दश दिन मलाई असाध्यै दुःख भएको थियो । त्यो बन्द भयो । यसरी म २० दिनसम्म रहें ।”
त्यति बेला एउटा गम्भीर दुर्घटनामा परेर जयप्रकाश नारायण पटना अस्पताल भर्ना भएका थिए । उनले अस्पतालको शैयाबाटै प्रधानमन्त्री जवाहरलाल नेहरुलाई फोन गरी बीपीको रिहाइका लागि दबाब दिन आग्रह गरे । नेहरुले जयप्रकाशलाई आश्वस्त बनाउँदै भनेका थिए, “म कुटनीतिक स्तरबाट पहल गर्दै छु । मेरो रायमा श्रीमती सुशीला काठमाडौं जानुपर्छ ।” काठमाडौंमा कोइराला परिवारका सबै सदस्यलाई पक्राउ गर्ने आदेश थियो ।
नेहरुले उनीहरुको सुरक्षाबारे प्रधानमन्त्री मोहन शमशेरसँग कुरा गरेपछि मात्र आमा दिव्या, श्रीमती सुशीला, भाइ केशब र छोरा प्रकाश काठमाडौं गए ।
उनीहरु काठमाडौं पुग्नुअघि नै नेहरुको टेलिग्राम प्रधानमन्त्री समक्ष पुगिसकेको थियो । बीपीले भनेका छन्, “हाम्रा लागि त्यो घटना ठूलो नैतिक प्रोत्साहन थियो भने राणाहरुका लागि अपमान थियो । हामीमध्ये कसैलाई मार्न सक्दा आन्दोलन दमन गर्न सकिन्त भन्ने उनीहरुले सोचेका थिए ।” तर त्यो बेला संसारकै प्रतिष्ठित नेतामध्येका एक नेहरुले नै चासो लिइदिएपछि अन्तराष्ट्रिय स्तरमै बीपीको रिहाइका लागि वातावरण बन्यो ।
बीपीले भोक हडताल सुरु गरेको २४ दिनमा श्रीमती सुशीला परिवारका साथ काठमाडौं पुगिन् । बिहार सरकारले उनलाई एउटा स्पेसल प्लेनको व्यवस्था गरिदिएको थियो । तर काठमाडौंको हवाई मैदान सेवायोग्य नभएको भन्दै राणा सरकारले प्लेनबाट नआउन सल्लाह दिएपछि उनीहरु मोटरबाटै आए । सुशीला मंगलबार आइपुगिन् मंगलबारलाई अशुभ दिन मानेर प्रधानमन्त्री मोहन शमशेरले सुशीलालाई बीपीसँग भेट्न दिएनन् ।
त्यतिन्जेल कोइराला परिवारका सदस्यहरु त्रिपुरेश्वरस्थित धर्मशालामा बसे । कठोर यातना दिएर कालकोठारीमा राखिएका बीपीका लागि ४८ घण्टाभित्र नयाँ घर बनाइयो । त्यस अघि उनी जेल पर्दाकै एक जोर कपडाको भरमा थिए । परिवारका सदस्यले भेट्ने बेलसम्म उनका निम्ति नुहाउने र अन्य सुविधासहितको नयाँ घर तयार भइसकेको थियो । बीपीले भनेका छन्, “सुशीला भेट्न आउनुअघि मलाई त्यहाँ सारियो ।
मैले सुशीलालाई आउनेबित्तिकै भेट्ने कुरामा जोड दिएँ । दिउँसोको नराम्रो प्रभाव साँझ परेपछि समाप्त हुने ठानी बेलुका तारा नेदेखिउन्जेल उनलाई कुर्न भनियो । डाक्टरहरुको टोलीसहित सुशीलालाई साँझ मकहाँ ल्याइयो ।”
त्यो दिन बीपीलाई भेटेका भाइ गिरिजाले लेखकसाग भनेका छन्, “यता हो भनेर अघिल्लो दिन भेटेको ठाउँतिर जान खोजें । तर सुरक्षाकर्मीहरुले भने त्यता होइन यता यता । एकै रातमा नयाँ घर बनाइसकेका रहेछन् । मत छक्क परें । कसरी बनाए कुन्नी ! सान्दाजुका लागि एउटा बेडरुम, हामी कुरुवाहरुका लागि अर्को कोठा र पानी राख्नका लागि पनि छुट्टै अर्को कोठा बनाइएको रहेछ । बीपीकाे विद्राेह जगत नेपाल