प्रधानमन्त्री मोहन शमशेरलाई भेटेर फेस टु फेस कुरा गर्न चाहन्थे बीपी । भूमिगत बसेका उनी सम्पर्कसुत्रको खोजीमा थिए । उपयुक्त च्यानल फेला परेको थिएन । न त काठमाडौंमा चिनजानका मानिस नै थिए ।
बीपीका आफन्त दीर्घराज कोइरालाका दाजु ढुण्डीराज प्रधानमन्त्री मोहन शमशेरका नातिलाई ट्युसन पढाउँथे । उनैलाई सूत्र बनाउन सकिन्छ कि भनेर कैयौं दिन काठमाडौंका गल्ली चहारे । राणाका जासुसबाट बचेर हिँड्न सहज थिएन । बिहान र राति तोप पड्क्पछि काठमाडौंमा कफ्र्यु लाग्थ्यो । त्यो अवधिमा घरबाहिर निस्कनेलाई गोल हानिन्थ्यो ।
त्यसैले बीपी राति तोप पड्किएपछि एक घरबाट अर्को घरमा जान्थे र बिहानको तोप पड्किनासाथ पुनः अन्त सरिहाल्थे । अनेकौं प्रयासपछि एक दिन ढुण्डीराजकै ढोका ढकढकाउन पुगे । बीपीलाई देख्नसाथ उनी चकित भए ।
ढुण्डीराजः किन आएको ? यस्तो खतरा मोलेर !
बीपीः मैले मोहन शमशेरसँग जसरी पनि भेट्नुपर्नेछ । हजुरले भेट्ने वातावरण मिलाउनुहुन्छ कि भनेर आएको हुँ ।
ढुण्डीराजः कसरी मिलाउने मैले ?
बीपीः मोहन शमशेर छोरा विजयका कुरा धेरै सुन्छन् । उनका नातिलाई तपाई पढाउनुहुन्छ । उनैलाई भनेर मिलाउनुपर्यो ।
ढुण्डीराजः म प्रयास गर्छु । तर तिमि एकदमै सावधानीका साथ बस्नु । राणाका जासुसले सुइँको पाउनासाथ तिम्रो ज्यान खतरामा पर्छ ।
बीपीः ठीक छ दाजु, कसरी हुन्छ भेट्ने इन्तजाम मिलाउनुपर्यो ।
म यहाँ आएको छु र प्रधानमन्त्रीलाई भेट्न चाहन्छु भन्ने कुरा उनले थाहा पाउनुपर्यो । “कुरा मिल्यो भने मिलिहाल्यो, मिलेन भने मलाई २४ घण्टासम्म गिरफ्तार गर्न पाइँदैन । त्यसको ग्यारेन्टी दिनुपर्छ ।”
सम्पर्कसूत्र मार्फत महाराज मोहनकहाँ खबर पठाइयो । तर जवाफ आइपुगेको थिएन । यसबीच दाजुभाइको पुनः भेट भयो । ढुण्डीराजले भने, “ठीक छ, पर्सि म त्रिपुरेश्वरबाट आइरहेको हुन्छु । मैले हातमा पन्जा नलाएको देखियो भने कुरा बुझ्नु, कुरा मिल्यो । मेरो पछिपछि आउनु । मैले पन्जा लगाएको देखियो भने कुरा नमिलेको ठान्नु । आफ्नो बाटो लाग्नु ।”
तोकिएको समयमा त्यहीँ पुगेका बीपीले ढुण्डीराज दुबै हातमा पन्जा लगाएर आइरहेको देखे । कुरा बुझे र बाटो लागे । मोहन शमशेरले बीपीलाई भेट्न तयार रहे पनि उनको कुनै शर्त नमान्ने सन्देश पठाएका थिए । बीपीकै भनाइमा, “मोहन शमशेरले भनेका थिए, उ बिनासर्त भेट्न आउँछ भने ठीक छ ।
म उसलाई थुनुँ कि छाडिदिउ ।” महाराज मोहनले थुन्ने संकेत पाएपछि बीपीले पनि उनलाई भेट्न नसक्ने खबर पठाइदिए । बीपी काठमाडौंमै बसेर राणाविरुद्ध सकृय रहेको खबरले सनसनी फैलियो । सहरका चोकगल्ली जताततै उनको खोजीमा जासुस र आठपहरिया परिचालन गरिए ।
बीपीसँगै काठमाडौं आएका कृष्णप्रसाद एक महिनाजति बसेर भूमिगत रुपमै भारत फर्किए । बीपीचाहिँ कसैगरी राणा प्रधानमन्त्रीसँग संवाद गरी नागरिक अधिकार स्थापनाका लागि पहल गर्न सकिन्छ कि भन्ने सोचमा थिए । सम्पर्कसूत्रमार्फत उनले भारतीय राजदूत सुरजसिंह मजिठियालाई प्रधानमन्त्रीसँगको भेटका लागि मध्यस्थताको भूमिका निर्वाह गरिदिन आग्रह गर्दै सन्देश पठाए । औपचारिक रुपमा राजदूत बीपीलाई भेट्न तयारै भएनन् ।
अनौपचारिक तहमा भेट्न सकिने सन्देश पठाए । पशुतिनजिक(हाल एयरपोर्ट मैदान) राणाजीहरुसँग राजदूत नियमित गल्फ खेल्न जान्थे । त्यहीँबाट फर्किने बेला आफैं सीधै भेटेर कुरा गर्ने योजना बनाए बीपीले । पशुपतिको बाटो हुँदै गल्फ मैदाननजिक गएर बसेका बीपीसँग राजदूतको भेट भयो ।
बीपीः मेरो सन्देश प्रधानमन्त्री मोहन शमशेरकहाँ पुर्याइदिनुपर्यो । “म फेस टु फेस बसेर कुरा गर्न चाहन्छु । तर एउटा सर्त छ मेरो । हामीबीच कुरा मिलेन भने पनि २४ घण्टासम्म उनले मलाई गिरफ्तार गर्न पाउँनेछैनन् ।”
राजदूतः तपाइँलाई थाहै छ, यो काम मेरो होइन । म कसरी भन्न सक्छु ? प्रधानमन्त्रीले त सर्तको कुरा मान्नेछैनन् ।
बीपीः सक्नुहुन्छ भने भन्नुस् । राजदूत इच्छुक देखिएनन् ।
छ्यापछ्यापती परिचालित सीआइडी र आठपहरियाबाट जोगिँदै बीपी कहिले स्वयम्भु त कहिले गुह्वेश्यरी अनि सहरभित्रका नेवार बस्तीमा मूमिगत शैलीमा बसीरहेका थिए । (जगत नेपालद्वारा लिखित)