– ई. महेन्द्र पराजुली
आधुनिक नेपालको प्रत्येक युगान्तकारी राजनीतिक आन्दोलनको सफल नेतृत्व नेपाली काङ्ग्रेसले गरेर नै देशमा परिवर्तन सम्भव भएको थियो । एउटै पार्टीले पटक–पटक ठूला क्रान्ति तथा जनआन्दोलनको नेतृत्व गरेको संसारको इतिहासमा विरलै पाइन्छ । राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको संवाहक बनेको नेपाली काङ्ग्रेसले २००७ को जनक्रान्ति, २०१५ को संसदीय निर्वाचन, २०३६ को जनमतसङ्ग्रह, २०४६ को प्रजातन्त्र पुनस्र्थापना, ०६२-०६३ को जनआन्दोलन, २०६३ को बृहत् शान्तिसम्झौता र २०७२ को संविधान जारी गर्न निर्णायक भूमिका खेलेको थियो ।
नेपाली राजनीतिको मियो बनेको नेपाली काङ्ग्रेस कमजोर हुँदा जहिल्यै पनि लोकतन्त्र खतरामा रहिआएको र त्यसविरुद्ध आन्दोलन गर्नुपरेको इतिहास साक्षी छ । एउटै पाटो र कोणबाट मात्र नेपाली काङ्ग्रेसको मूल्याङ्कन गर्ने हो भने त्यो अधुरो हुन जान्छ । तर, नेपाली काङ्ग्रेसको गौरवशाली इतिहासका सुनौला पानाहरूमा उज्याला मात्र नभएर केही अँध्यारा पक्ष र पाटाहरू पनि छन् । सिद्धान्तभन्दा पनि आफ्नो समूह र गुटको संरक्षणका लागि त्यसमाथि पनि व्यक्तित्व टकरावकै कारण नेताहरूबीच आपसी मतभेद र द्वन्द्व बढ्न गई पार्टी फुटेको तीतो सत्य अनि यथार्थ हो काङ्ग्रेसको विगत ।
बीपी कोइराला र डा. डिल्लीरमण रेग्मी, बीपी कोइराला र मातृकाप्रसाद कोइराला, बीपी र सुवर्णशमशेरबीच पनि एक–आपसमा मतभेद र द्वन्द्व भएको थियो । डा. डिल्लीरमण रेग्मी र मातृकाप्रसाद कोइरालाले त आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाए नै । बीपी र सुवर्ण दुई नेताले आफूबीचका विवाद थाती राख्दै सहमति र असहमतिबीचै भए पनि मतभेद र द्वन्द्व थप बढ्न नदिई कुशलतापूर्वक व्यवस्थापन गरेका थिए । नेपाली काङ्ग्रेसमा बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई काङ्ग्रेसका चार खम्बा भनिन्थ्यो भने सुशील कोइराला, शैलजा आचार्य, रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई चारताराका रूपमा लिइन्थ्यो । यी पात्रहरूमध्ये कतिले विवादै–विवादबीचै भए पनि सफलताको शिखर चुमे भने कोही ओझेलमा परे–पारिए । कोही इतिहासको उच्च मूल्याङ्कनमा परे भने कोहीले अवमूल्यनको नियतिसमेत भोगे ।
बीपी कोइराला मात्र यस्ता नेता हुन् जसले राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरकै नेताको रूपमा ख्याती कमाई महामानवको पहिचान बनाए । ‘नेता आवश्यकता र आकस्मिकताको संयोगबाट जन्मिन्छ’ भन्ने कार्लमाक्र्सको भनाइ सापट लिने हो भने बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला यसै सिद्धान्तबाट नेता भए भने शेरबहादुर देउवा यसको ठीक विपरीतबाट । गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादका समयमा नेतात्रयको अवधारणामा चलेको काङ्ग्रेस २०४७ पछि व्यक्तिवादी हुन पुग्यो ।
बीपीले सुम्पिएको काङ्ग्रेसको नासो नेतात्रयले सुरक्षित राख्न सकेनन् । विधि, विधान र पद्धतिअनुसार चलेको छैन काङ्ग्रेस २०४७ पछि । काङ्ग्रेस अनुशासनहीनहरूको पार्टीका रूपमा चिनिदै गयो । नेतामा सामन्ती संस्कार, अहङ्कार र परिवारवाद बढ्दै गयो । पाटी हार्दै गयो भने नेता जित्दै गए ।
इतिहासले स्थापित गरिसकेका सिंह, भट्टराई र कोइरालामा आ–आफ्नै विशिष्ट गुण थिए । बीपीले सुम्पिएको काङ्ग्रेसको नासो नेतात्रयले सुरक्षित राख्न सकेनन् । विधि, विधान र पद्धतिअनुसार चलेको छैन काङ्ग्रेस २०४७ पछि । काङ्ग्रेस अनुशासनहीनहरूको पार्टीका रूपमा चिनिदै गयो । नेतामा सामन्ती संस्कार, अहङ्कार र परिवारवाद बढ्दै गयो । आफ्नै सहोदर भाइ मोरङका जिल्लासभापति गिरिजाप्रसाद कोइरालालाई कारबाहीस्वरूप सभापतिपदबाट बीपी कोइरालाले बर्खास्त गरेको नजिर स्थापित हुन सकेन काङ्ग्रेसमा भने कारबाहीका हतियार खिया लागेर भुत्ते भए । पाटी हार्दै गयो भने नेता जित्दै गए । जिम्मेवारी र जवाफदेहिता परको विषय बन्यो काङ्ग्रेसमा । नेतामा राजनीतिक चरित्र र संस्कारको विकास हुन सकेन । नेताका निवास शक्तिकेन्द्रमा परिणत भए । पार्टी तथा सरकारमा पारदर्शिता भएन । पार्टीमा बेथिति, विसङ्गती र दण्डहीनता बढदै गयो । नेपाली काङ्ग्रेसको विधान कागजको खोस्टोसरह भयो । सत्तामा बस्दा काङ्ग्रेसलाई मात र बात दुवै लाग्ने गर्छ । अरूलाई लोकतन्त्रको पाठ सिकाउँदा नथाक्ने नेपाली काङ्ग्रेसले आफैँभित्रचाहिँ कस्तो लोकतान्त्रिक अभ्यास गरेको छ त ? यसको जवाफ छैन काङ्ग्रेससँग ।
बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताको मात्रै नभएर नेपाली जनताकै मन जिते । राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय जगत्मै चिनिए । शैलजा अस्ताएसँगै हारेको होइन जितेकै इतिहास लेखाएर गइन् । चार तारामध्ये शेरबहादुर देउवा र रामचन्द्र पौडेल जीवितै छन् । ‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, चिल्ला र सुकिला लुगा लगाउनेहरू पार्टीमा हाबी हुनेछन् र सही कार्यकर्ताले तिनीहरूविरुद्ध पुनः एकपटक आन्दोलन गर्नुपर्नेछ’ भन्ने बीपीको भविष्यवाणी सत्य साबित भएको छ । ठ्याक्कै यस्तै अवस्थाबाट गुज्रिएको छ काङ्ग्रेसको वर्तमान । धनपति र बाहुबलीको कुरा बिक्न थालेको छ पछिल्लो समय काङ्ग्रेसमा । उनीहरूकै दबदबा र हालीमुहाली छ पार्टीमा भने हैसियत पनि तिनैले बनाएका छन् । आफ्नो जीवन नेपाली काङ्ग्रेस पार्टीका नाममा तमसुक गरिदिएका कार्यकर्ता, लोकतन्त्र प्राप्तिको लडाइँमा आफ्नो जीवन आहुती र उत्सर्ग गरेका सहिद र आश्रित परिवारप्रति काङ्ग्रेस कहिल्यै उदार बनेन । इतिहासमै कमजोर अवस्थामा रहेको नेपाली काङ्ग्रेस ओरालो लाग्नुमा १३औँ महाधिवेशन कारक बन्यो ।
काङ्ग्रेसमा भागबन्डाको सूत्रको प्रयोगले पार्टीका कतिपय इमानदार, चरित्रवान र लोकप्रिय नेता तथा कार्यकर्तालाई पाखा लगाइयो २०४६ पछि । नेतृत्वको पेलाइमा परेर कति ओझेलमा पर्न बाध्य भए । यो कार्य घट्नुको सट्टा बढोत्तरी भएको अवस्था छ पार्टीमा । राम्रा होइन हाम्रा भन्ने संस्कृतिको विकास हुन गई यसको मलजल गरेकै छन् नेताले ।
सत्ता आरोहणका लागि पार्टीको मूल नीति, विचार, आदर्श र सिद्धान्त नै परित्याग गर्दै गैरप्रजातान्त्रिक रवैया अपनायो काङ्ग्रेसले । राणाहरूले गर्ने पजनीजस्तै भयो काङ्ग्रेसको टिकट वितरण निर्वाचनमा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई भोट हाल्नु थियो भने किन तानाशाही निरङ्कुश पञ्चायती व्यवस्था फाल्नुपरेको थियो ? त्यस्तै गरेर १७ हजार नागरिकको रगतमा होली खेलेको घाँटी रेटुवा एमाओवादीलाई मत हाल्नु थियो भने किन टाउकोको मूल्य तोकेको ? यसको दोषी को हुन् ? पार्टीका इमानदार, स्वच्छ छवि भएका लोकप्रिय पार्टीप्रति प्रतिवद्ध कार्यकर्ता कि नेतृत्व ? काङ्ग्रेसले बाटो बिरायो, स्वेच्छाचारी बन्दै गएको छ नेतृत्व । नेतृत्वको अचानो बन्न बाध्य र विवश भए स्वाभिमानी, निष्ठावान कार्यकर्ता ।
यतिबेला विगटित एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणले नेपालमा अब एउटा कम्युनिस्ट र अर्काे लोकतान्त्रिक धारका दुईवटा सिद्धान्त स्थापित भएको छ । कम्युनिस्ट सिद्धान्तको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरेको छ भने लोकतान्त्रिक विचार र सिद्धान्तको नेतृत्वदायी भूमिकामा नेपाली काङ्ग्रेस रहने पृष्ठभूमि तयार भएको छ । पार्टीलाई चलायमान बनाउने अङ्गको रूपमा रहेका महत्वपूर्ण भूमिका खेल्नुपर्ने विभाग तथा समितिहरू गठन नभएर पार्टी तदर्थवादमा चलेको मात्र नभएर विधानअनुसार हुनुपर्ने महासमितिको बैठक नबोलाई अरू पछि धकेल्दै छन् देउवा ।
काङ्ग्रेसको साङ्गठानिक संरचना मात्र नभएर भ्रातृ सङ्घ–संस्थासमेत अस्त–व्यस्त बनेका पृष्ठभूमिमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान पनि निष्क्रियजस्तै छ । काङ्ग्रेसमा भागबन्डाको सूत्रको प्रयोगले पार्टीका कतिपय इमानदार, चरित्रवान र लोकप्रिय नेता तथा कार्यकर्तालाई पाखा लगाइयो २०४६ पछि । नेतृत्वको पेलाइमा परेर कति ओझेलमा पर्न बाध्य भए । यो कार्य घट्नुको सट्टा बढोत्तरी भएको अवस्था छ पार्टीमा । राम्रा होइन हाम्रा भन्ने संस्कृतिको विकास हुन गई यसको मलजल गरेकै छन् नेताले । यो सबै अवस्थाका आधारमा विद्यमान अवस्थामा नेपाली काङ्ग्रेस पार्टीको पुनसंरचना गरी आमूल परिवर्तन गर्न जरुरी हुन पुगेको यथार्थ अस्वीकार गर्न कुनै पनि प्रजातन्त्रप्रेमी सचेत नागरिकले सक्दैन ।