बीपीको कम्युनिस्ट आकर्षण

| 2018 Dec 15 | 08:20 am 2169

पिताजीको निधनपछि बनारसमा पढिरहेका गिरिजा दाजुलाई भेट्न पटनास्थित कालीबाबुको घर पुगे । एउटै कोठामा दुई वटा खाट राखेर बीपी र गिरिजाका लागि सुत्ने प्रबन्ध मिलाइएको थियो त्यहाँ । त्यो दिनको स्मरण गर्दै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसँग भनेका छन्, “लामो समयपछि सान्दाजुसँग भेट भएको थियो ।

राती कुरा गर्दै जाँदा मैले कम्युनिस्टले प्रयोग गर्ने भाषा बोलेछु क्यारे ! बनारसमा विश्वविद्यालय पढ्दा मनमोहन अधिकारीको संगतले म फेडरेसन (कम्युनिस्ट) तिर आकर्षित भएको थिएँ । उहाँले थाहा पाइहाल्नुभयो ।”

बीपी र गिरिजाबीच त्यो रात भएको वार्तालाप यस्तो थियो–

बीपीः भारतमा यत्रो स्वतन्त्र आन्दोलन चलिरहेको छ । गान्धीजी कहाँ छन् ।

गिरिजाः जेलमा, अरु कहाँ ?

बीपीः जवाहरलाल नेहरु, जयप्रकाश नि ?

गिरिजाः जेलमा ।

बीपीः गान्धी र नेहरुहरु जेलमा छन् । तेरा नेताहरु को हुन् र ती कहाँ छन् ?

गिरिजाः मेरो नेता श्रीपद् अमृतपद डाँगे(नेता, भाकपा) हुन् उनी बम्बैमा छन् ।

बीपीः गान्धी, नेहरु, जयप्रकाश जेलमा, डाँगेचाहिँ किन बाहिर ? ल अब धरै राति पनि भयो सुत ।

चर्का नारा र भाषण गरे पनि भारतका वामपन्थीहरु अङ्ग्रेजसँग मिलेका थिए । त्यसैले गान्धी, नेहरुलगायत सबै नेता जेलमा हुँदा कम्युनिस्ट पार्टीका महासचिव डाँगे भने बम्बैमा ठाँटसँग बसिरहेका थिए । दाजुको प्रश्नले गिरिजा रातभरी सुत्नै सकेनन् । बीपीका हरेक प्रश्न उनको दिमागमा घुमिरहे ।

त्यसो त विद्यार्थीकालमा बीपी आफैं कम्युजिस्ट थिए । आइए परीक्षा दिएर बसेको बेला उनी व्यापार बढाउने अभियानमा रहेका पिताजीसँग रेलमा बम्बै गए । फर्किने बेला बम्बैदेखि इलाहावादसम्म उनले कम्युनिस्ट पार्टीका नेता डाँगेसँग रेल यात्रा गरे । त्यही यात्राले उनलाई कम्युनिज्मप्रति आकर्षित गर्यो । बनारस आएपछि वामपन्थीहरुसँगको सङ्गत बढ्दै गयो ।

त्यो बेला बीपी साथीहरुका साथ भूमिगत रुपमा मस्को रेडियोका अंग्रेजी प्रसारण सुन्थे । डाँगेलाई भेटेपछि कम्युनिस्ट विचारधारातर्फ आकर्षित भएका उनी “बिएचयूमा पढ्दा देवकान्त बरुवालगायतका साथीहरुसँग मिलेर खोलिएको विद्यार्थी संगठनका सचिव थिए, पछि अध्यक्ष भए ।”

तिनताका बीपी आफ्ना सहपाठी देवेन्द्रपसाद सिंह र राजेश्वरप्रसादमार्फत जयप्रकाशनारायणको सम्पर्कमा पुगे । राजेश्वरप्रसाद जयप्रकाशका आफ्नै भाइ थिए । समाजवादी नेता जयप्रकाशले उनलाई समाजवादी बन्न प्रेरित गरे । भाइ गिरिजाप्रसाद कोइरालालाई उनले सोधेकै प्रश्न जयप्रकाशले बीपीलाई सोधेका थिए । जयप्रकाश र बीपीबीच भएको वार्तालापको अंश यस्तो थियो

जयप्रकाशः बीपी, तिमी त कम्युनिस्ट रहेछौ । यत्रो स्वतन्त्रता संग्राम चलेको छ । तिम्रा एउटै नेता पक्राउ परेको छैनन् । ल भन त तिम्रा नेता को  को हन् र कहाँ छन् ?

बीपीः श्रीपद् अमृत डाँगे बम्बैमा छन् ।

जयप्रकाशः डाँगे त अंग्रेजहरुसँग मिलेर बसेका छन् । तिमि डाँगेको कार्यकर्ता कसरी महात्मा गान्धीले संचालन गरेको स्वतन्त्रता संग्रममा होाियौं ?

बीपीले जवाफ दिन सकेनन् ।

कम्युनिस्टहरुले भारतीय स्वतन्त्रता संग्रामबाट हात झिकेका मात्र थिएनन्, अंग्रेजलाई सहयोग गर्दै गान्धी नेतृत्वको भारत छोडो आन्दोलनको निन्दा गरिरहेका थिए । दास्रो विश्वयुद्ध जारी रहँदा बेलायत र रुसबीच सैन्य सहयोगसम्बन्धी सन्धि भएको थियो । त्यही आधारमा भारतका वामपन्थीहरु अंग्रेजको विरोध नगर्ने बरु उनीहरुबाट लाभ लिएर बस्ने रणनीतिमा थिए ।

तिनले भारतीय स्वाधीनता संग्रामका योद्धाहरुको कम्युनिस्टसँग कटुटता बढेको थियो । काँग्रेस सोसलिस्ट पार्टीका कार्यकर्ता धमाधम पक्राउ परिरहेका थिए । समाजवादीहरु कम्युनिस्टलाई गद्दार भन्न थालेका थिए । यस्तै परिस्थिति र मनस्थितिमा बीपीको राजनीतिक प्रशिक्षण भएको थियो ।”

त्यही बेला जयप्रकाशले बीपीसँग भनेका थिए, “तिमी १८ वर्षका छौ र कम्युनिस्ट छैनौ भने सोच्नुपर्छ, तिम्रो हृदय छैन । तर तिमी २८ वर्ष माथिका छौ, तैपनी कम्युनिस्ट छौ भने बुझ्नुपर्छ, तिम्रो दिमाग छैन ।” वामपन्थी विचारधाराबाट प्रभावित बीपीलाई त्यही कुराले प्रजातान्त्रिक समाजवादी कित्तामा उभ्यायो ।

बीपीले भनेका छन्, “सन १९२९ को सत्ता लडाँइमा स्टालिन उच्च तहमा पुगेपछि त्यहाँ हत्या भएको समाचार आउँदा मलाई ठूलो चोट पुग्यो । अनि मैले कम्युनिस्ट पार्टी त्यागे ।” कम्युनिस्ट विचार छोड्दाको घटना उनी आफ्नो परिवारका सदस्यहरुलाई सुनाउने गर्थे ।

राजनीतिमा सक्रिय हुन थालेपछि सन् १९२९ मा राममनोहर लोहियामार्फत पहिलो पटक बीपीले महात्मा गान्धीलाई भेटे । त्यो बेला उनी मात्र १५ वर्षका थिए ।

गान्धीः कसको प्रेरणाले राजनीतिमा लाग्यौ ?

बीपीः पिताजी(कृष्णप्रसाद) । म तीन बर्षको हुँदा हाम्रो सिंगो परिवार प्रवास आउनुपर्यो । हाम्रो परिवारका सबै सदस्यलाई पक्राउ आदेश छ । हाम्रो सबै सम्पत्ति रोक्का छ । १२ वर्षदेखि भारत मा निर्वासित जीवन बिताइरहेका छौं ।

पिताजीबाट बीपीले राजनीतिक प्रशिक्षण पाएका थिए । पिताजीको बुझाई थियो, “पहिला अंग्रेजहरुको पन्जाबाट भारत मुक्त हुनुपर्छ । त्यसपछि नेपालबाट राणाशाही हटाउन सहज हुनेछ ।” त्यही मान्यताका आधारमा बीपीसहित धेरै नेपाली भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय थिए ।

काँग्रेस नेता भिमबहादुर तामाङलाई दिएको अन्तरवार्तामा बीपीपत्नी सुशीलाले भनेकी छन् “पिताजीले बीपीलाई टीकोटालो, फूलमाला लगाई खुसीका साथ बिदा गर्नुभयो र यस शुभयात्राको घडीमा कसैले पनि एकथोपा आँसु नचुहाउनु भनी परिवारका सदस्यहरुलाई सचेत गराउनु भएको थियो ।”

कलिलो उमेरमै भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रुपले लागेका बीपीको लोकप्रियता बढ्दै थियो । दोस्रो विश्वयुद्धताका उनी “बिहारमा समाजवादी पार्टीको सहायक सचिव भए । उनलाई काँग्रेस समाजवादी पार्टीको भारतभर विद्यार्थी आन्दोलन हेर्ने जिम्मा थियो ।” त्यसै बखत ब्रिटिस सरकारले उनलाई जबरजस्ती सेनामा भर्ना गर्यो ।

अनि “ब्रिटिस गोर्खा सैनिकलाई भड्काएको आरोपमा २९, नोभेम्बर १९४२ मा पटनाबाट पक्राउ गरियो ।” बाँकेपुरमा केही दिन राखेपछि भारतका प्रथम राष्ट्रपति डा राजेन्द्रप्रसादसँगै बीपलाई हजारीबाग जेल सारियो । चार वर्ष भारतीय जेलमा बस्दा उनले जयप्रकाशनारायण जगजीवन रामलगायत भारतीय नेताहरुसँग संगत गर्ने अवसर पाए ।” प्रवासमा रहेको नेपालीहरुबीच बीपीको प्रभाव बढ्दो थियो । राणाशासक उनको त्यो सक्रियता र प्रभावका कारण भयभीत र सशंकित थिए ।

त्यसैले भारतीय जेलमा रहेका बीपीलाई सुपुर्दगी गर्न राणाहरुले ब्रिटिस सरकारमाथि दबाब बढाए । ब्रिटिस सरकारले नेल र हतकडी लगाएर बीपीलाई रक्सौल पठाउने मिति तय गरी नेपाल सरकारलाई पत्रचारसमेत गरिसकेको थियो । उनलाई लिन रक्सौल तर्फ राणाको विशेष सुरक्षा टोली खटाइसेको थियो ।

“राजनीतिक कारणले पक्राउ परेका उनलाई सुपुर्दगी गर्न नमिल्ने भन्दै कानुनविद् कालिप्रसाद उपाध्यायले संघीय अदालतमा रिट दायर गरे । अदालतले सुपुर्दगी गर्ने ब्रिटिस भारत सरकारको निर्णयलाई गैरकानुनी ठहर गरेपछि अन्तिम समयमा उनलाई नेपाल पठाइएन ।

केही समयपछि हजारीबाग जेलबाट छुटेपछि घाँटीको क्यान्सर उपचारका लागि बीपी छ महिना टाट क्यान्सर अस्पताल बम्बैमा बसे । त्यसपछि नेपालमा प्रजातन्त्र स्थापनाबारे प्रवासमा रहेका नेपालीहरुसँग परामर्श गर्न थाले ।

राणाको दमन, अन्याय र अत्याचारले सीमा नाघे पनि महाराजलाई विष्णुको अवतार ठान्ने समाजमा विस्तारै चेतनशील हुँदै थियो । दोस्रो विश्वयुद्धमा युरोपसहित विभिन्न मुलुकमा लडेर विदामा घर आएका गोर्खा सैनिकहरुले बाहिरी संसारमा आफूले देखेका, जानेका कुराहरु गाउँगाउँमा सुनाइरहेका थिए । प्रजातन्त्र र नागरिक अधिकार थाहा पाउँदा दूरदराजका नेपाली जनता छक्क पर्थे । युरोपमा भएको राजनीतिक अभ्यासका कुरा नेपाली समाजका लागि नितान्त नयाँ विषय थिए । गान्धीको अहिंसात्मक आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाली समाजमा बढीरहेको थियो ।

“भारतीय स्वतन्त्रता संग्रामका क्रममा जेल परेपछि बीपीको ख्याती नेपाल र भारतमा चुलिएको थियो । भारत छोडो आन्दोलनको नेतृत्व गरिरहेका गान्धीसम्म आन्दोलनका हरेक रिपोर्ट नपुग्ने कुरै भएन । उनी बीपीबाट पनि निकै प्रभावित थिए ।(जगत नेपालद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.