बिमस्टेकको लागि नेपाली आकाश पनि बन्द हुने

| 2018 Aug 28 | 06:40 am 1830

काठमाडौं, भदौ १२: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विम्स्टेक बैठक आउँदो बिहीबार र शुक्रबार काठमाडौंमा हुँदैछ ।

सम्मेलनको लागि भारत,बंगलादेश, भुटान,श्रीलंका,थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुख काठमाडौं आउँदैछन् । उनीहरुको सुरक्षाको लागि सडक मात्र नभएर नेपाली आकाश पनि केही बेर बन्द गरिने भएको छ ।

बिमस्टेकको लागि भोलिदेखि नै अति विशिष्ट अर्थात भीभीआईपी पाहुना काठमाडौं आउँदैछन् । सरकारले सुरक्षा संवेदनशीलताका आधारमा विदेशी पाहुना आउँदा आकाशमा अरु जहाज उड्न नदिने भएको छ ।

केही देशका प्रमुख भोलि र पर्सि नेपाल आए पनि भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख भने सम्मेलन हुने दिन १४ गते बिहीबार मात्रै काठमाडौै आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा बिहीबार मात्रै नेपाल आउँदैछन् । त्यसको लागि बिहीबार बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान नहुने विमानस्थलले जनाएको छ ।

‘१४ गते बिहीबार बिहान ठूला देशका राष्ट्रप्रमुख आउँदै हुनुहुन्छ, त्यसैले हामीले बिहान ८ देखि झण्डै ११ बजेसम्म आकाश बन्द गर्छौँ’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यो दिनको लागि सबै एअरलाइन्स कम्पनीलाई हामीले शेड्युल मिलाउन भनिसकेका छौँ ।’

त्यस्तै केही राष्ट्रप्रमुख १५ गते नै फर्कने हुनाले त्यो दिन पनि केहीबेर आकाश बन्द हुन सक्ने उहाँले बताउनुभयो । यस्तै केही देशका प्रमुख १६ गते बिहान फर्कने कार्यक्रम रहेकाले १६ गते पनि केहीबेर उडान र अवतरण प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल आउने भीभीआईपी पाहुनाको लागि सरकारले सुरक्षाको सबै बन्दोबस्त पूरा भएको जनाएको छ । भीभीआईपी पाहुनालाई विमानस्थलबाट कसरी होटलसम्म पुर्‍याउने भन्ने विषयमा सोमबार सर्वसाधारणका लागि सडक बन्द गरेर पूर्वतयारी पनि गरिएको छ । बिमस्टेकका बेला सवारी व्यवस्थापन सजिलोको लागि जोरबिजोर प्रणाली पनि अपनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.