काठमाडौं, साउन १४: काठमाडौंको कलंकीमा एक युवती आफ्नै प्रेमी र उनका साथीबाट बलात्कृत भएकी छन्। बलात्कारको घटनामा संलग्न भएको आरोपमा प्रहरीले सशस्त्र प्रहरीका दुई जवानलाई पक्राउ गरेको छ।
पीडित युवतीले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीका आधारमा प्रेमी सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय, बलम्बुमा कार्यरत रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुमाथि जबरजस्ती करणी र करणीको प्रयाससम्बन्धि मुद्दा चलाइने प्रहरीले जनाएको छ । पोखरेल दुई वर्षअघि एक युवतीसँग प्रेममा रहेपनि उनका गतिविधिका कारण युवती टाढिएकी थिइन्।
‘त्यसको एक वर्षपछि फेसबुकमा साथी भए र सुध्रिएको नाटक गरे’, पीडित युवतीले भनेकी छन्, ‘म सुध्रिएँ, जागिर पनि छाडेँ । होटल सञ्चालन गर्दैछु भनेर मलाई झुक्याए ।’
पोखरेलको आग्रहअनुसार बिहीबार ती युवती कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा गएपछि प्रेमीकै सहयोगमा सो घटना घटेको बताइएको छ। उनले होटल सञ्चालन गरेको नभई, अर्कै योजनाका लागि दुई वटा कोठा बुक गरेका थिए । उनीहरु राति खानपिन गरेर सुतेका थिए।
पीडित युवतीका अनुसार राति ४ बजेतिर ब्यूँझदा उनलाई असहज महसुस भयो। उनले भनेकी छन्, ‘त्यतिबेला प्रेमी नभएर प्रेमीका साथी गलत हर्कत गर्न खोजिरहेका थिए । म अर्धनग्न थिएँ ।’
प्रेमीका साथी आफू सुतेको कोठामा कतिबेला आइपुगे भन्ने थाहा नभएको उनको भनाई छ। यसबारे प्रेमी पोखरेललाई भन्दा उनले उल्टै सम्झाउन खोजेको उनको भनाई छ।
त्यसबारे प्रहरीलाई जानकारी गराउँन खोज्दा प्रेमीले मोबाइल नै फुटाइदिए। बिहान युवतीले प्रहरीलाई लिएको जाहेरीको आधारमा पक्राउ गरेको हो।