पृथ्वीनारायण शाहको नाक, बिपीको भारु र सूर्यप्रसादको कण्डम

रिपोर्ट नेपाल | 2022 Sep 10 | 09:16 am 2349

  • विन्दुकान्त घिमिरे

संयोगले हिजो शुक्रबार (भदौ २४) गते दुई वटा ऐतिहासिक दिनको मिति र तिथि एउटै परे । विसं १८२५ को इन्द्रजात्राको दिन अर्थात भाद्र शुक्ल चतुर्दशीका दिन पृथ्वीनारायण शाह नेपालको राजगद्धीमा बसे । उनलाई जीवित देवी कुमारीले मुस्कुराउँदै टीका लगाइदिएसँगै नेपाल एकीकरण अभियानले औपचारिकता पायो । त्यसैगरी १९७१ भदौ २४ गते भारतमा निर्वासित जीवन बिताइरहेको दुम्जाली परिवारमा बिपी कोइराला जन्मे ।

पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वमा नेपाल एकीकरण भएको हो भन्ने कुरामा विवाद छैन । यो कुरा धेरैलाई थाहा छ । तर, पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्न मात्रै भ्याएका थिए, सामाजिक एकीकरण बाँकी थियो, जुन काम बिपी कोइरालाको नेतृत्वमा सम्पन्न भएको हो भन्ने विषयमा भने अझै पनि विवाद छ । तर यो विवाद निकालिनुको पछाडि के कस्तो राजनीतिक दाउपेच छ ? भन्ने कुरा जनतालाई सुसूचित गर्न बिपीका अनुयायी तथा मलुकको बौद्धिक वर्ग चुकेको छ ।

बिपी कोइरालाको नेतृत्वमा २००७ सालको क्रान्ति सम्पन्न भएपछि मात्रै मेचीदेखि महाकालीसम्मका जनताहरूले आफू नेपाली भएको थाहा पाएका हुन् । काठमाडौं उपत्याकावासी मात्रै नभएर सबै भूभागका जनताको पहिचान नेपालीका रूपमा बनेको र देशको सबै भूभागलाई नेपाल भन्न थालिएको २००७ सालको जनक्रान्ति पछि मात्रै हो ।

२००७ सालको जनक्रान्तिपछि स्कुल खुल्न थाले, क्याम्पस खुल्न थाले । नेपालको आफ्नै विश्व विद्यालय खोलियो । नेपाल राष्ट्र बैंक खुल्यो, भारतीय मुद्रा विस्थापित गरी नेपालले आफ्नै मुद्रा देशभर प्रयोगमा ल्याउन थाल्यो । नेपालीहरू रैतीबाट प्रजामा रूपान्तरण भए । प्रजाहरूले तिरेको कर राष्ट्रको ढुकुटीमा जान थाल्यो । देश विकासका लागि र प्रजाको सुविधाका लागि त्यो ढुकुटी खर्च गर्न थालियो । मेचीदेखि महाकालीसम्मका जनता सडक तथा हवाई यातायातको माध्यमले जोडिए ।

झापा र दार्चुलाका बासिन्दाबीच, कन्चनपुर र ताप्लेजुङका बासिन्दाबीच वैवाहिक सम्बन्ध गाँसिने अवस्था बनेका कारण देश एकढिक्का भयो । जनतालाई स्वास्थ्य उपचारको व्यवस्था हुन थाल्यो । तराई तथा पहाडी क्षेत्रका बेँसीहरूमा औलो रोग उन्मुलन गरिएका कारण जनआवाधी बढ्न थाल्यो । नेपालीहरूले पेटभरी खाने मात्रै होइन खाद्यान्न निर्यात गरेर पैसा कमाउन थाले । देशभित्र उद्योगधन्दा तथा कलकारखाना खोल्ने लहर चल्यो ।

जनताले आफ्नो शासक आफैँ चुन्ने मौका पाए । इतिहासमै पहिलोपटक ०१५ सालमा नेपालमा आमनिर्वाचन सम्पन्न भयो । योगदानको कदर गर्दै नेपाली प्रजाहरूले बिपी कोइरालालाई प्रधानमन्त्री चुने । डडेलधुराकी द्वारिकादेवी ठकुरानीदेखि ताप्जेजुङका प्रेमराज आङ्दम्बेसम्म एउटै मन्त्रिपरिषद्मा बसेर देशको लागि नीति निर्माण गर्ने तथा कार्यान्वयन गर्ने अवस्था बन्यो । यथार्थमा भन्नुपर्दा नेपालमा बिपी कोइरालाको जन्म राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको परिपुरकका रूपमा भएको देखिन्छ । कम उमेर मात्रै बाँचेका कारण पृथ्वीनारायण शाहले सिंगो नेपाल निर्माण गर्ने अभियानलाई पूर्णता दिन सकेका थिएनन् । त्यतिबेला भौगोलिक रूपमा एकीकरण गर्न त पृथ्वीनारायण शाहले भ्याए तर जनस्तरमा एकीकरण गर्न भ्याएनन् ।

अरूको त के कुरा नेपाल एकीकरणको उद्गमस्थल स्वयं गोरखाका जनताले समेत आफूहरू पनि नेपाली भएको थाहा पाउन २००७ सालसम्म पर्खनुप¥यो । २००७ सालसम्म अधुरो एकीकरणमै नेपाल गुज्रियो । नेपाल एकीकरणको त्यो अधुरो काम बिपी कोइरालाको नेतृत्वमा सम्पन्न भएको हो भन्ने यथार्थतालाई कत्ति पनि कन्जुस्याइँ गर्नु हुन्न ।

बिपी कोइराला के कारणले पृथ्वीनारायण शाहका परिपुरक ? बिपी कोइरालालाई नेपाली जनताले किन सधँै संझिरहने ? उनलाई किन पूर्वप्रधानमन्त्री मात्रै नभनेर दूरदर्शी राजनेता भन्ने ? लगायतका प्रश्नहरू निकै सान्दर्भीक छन् ।

यी प्रश्नका उत्तर पस्कनुअघि बिपी कोइराला जन्मेको समयमा नेपालको अवस्था कस्तो थियो ? भन्ने प्रश्नको यथार्थ उत्तर जान्नै पर्ने हुन्छ । जबसम्म यो प्रश्नको उत्तर थाहा पाउन सकिन्न तबसम्म बिपी कोइरालाले पुर्याएको योगदानको महत्व सामान्य मान्छेको दिमागले ठम्याउन सक्दैन ।

बिपी कोइराला युवा उमेरको हुँदासम्म राजधानी काठमाडौं उपत्यकाको चार भन्ज्याङभित्रको भूभागलाई मात्रै नेपाल भनिन्थ्यो । काठमाडौं उपत्यकाभित्र बस्नेहरूलाई मात्रै नेपाली भनिन्थ्यो । काठमाडौंमा बस्ने जहानीयाँ शासकहरूको शासन सत्ता त मेचीदेखि महाकालीसम्म पुगेको थियो, तर काठमाडौं उपत्यका अर्थात् नेपाल आउनका लागि चार भन्ज्याङमा एक रात बसेर अनुपतिपत्र लिनुपर्ने अवस्था थियो ।

राजधानी काठमाडौं उपत्यकाबाहेक अन्य भूभागका जनताले आफ्ना शासकलाई हाम्रा राजा अथवा हाम्रा महाराज भन्दैनथे । नेपालका राजा अथवा नेपालका महाराजा भन्ने गर्थे । शासन सत्ताको दृष्टिले नेपाल एकीकरण भएको थियो, किनकी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका शासक एउटै थिए । तर, जनतालाई भने हामी एउटै देशका रैती हौँ भन्ने थाहा थिएन । एक हिसाबले भन्ने हो भने शासक एउटै भए पनि राष्ट्र अलग अलगजस्तो थियो ।

राज्य भनेको जनतालाई सेवा सुविधा दिनका लागि हो भन्ने कुरा न शासकलाई थाहा थियो, न जनतालाई थाहा थियो । त्यतिबेला जनतालाई रैती भन्निथ्यो । ठाउँठाउँमा सामन्तीहरूको व्यवस्था गरेर शासकहरूले रैतीसँग चर्को कर उठाउँथे, त्यो रकम उनीहरूले आफ्नो मोजमस्तीको लागि खर्च गर्थे । रैतीबाट उठाइएको कर राज्यको ढुकुटीमा होइन कि शासकहरूको निजी ढुकुटीमा जम्मा हुन्थ्यो ।

स्वास्थ्य उपचारको कुनै प्रबन्ध नभएकोले गर्मी ठाउँमा जन आवाधी खासै थिएन, उच्च पहाडी तथा हिमाली क्षेत्रको मात्रै आवाधीले रैतीहरूलाई खान लाउन पुग्दैनथ्यो । जसका कारण कैयौँको अकालमा ज्यान जान्थ्यो । रैतीहरूले १०÷१२ जनासम्म छोराछोरी जन्माउँथे, तर युवा उमेरसम्म भने दुई÷तीन जना मात्रै बाँच्थे । त्यतिबेला नेपालका रैतीहरू अधिकांश त शिशु अवस्थामै मर्थे, मर्नबाट उम्केकाहरू पनि ४० वर्षको उमेरसम्म बाँच्नु धेरै ठूलो कुरा मानिन्थ्यो । ४० वर्षको उमेर कट्नुलाई धेरै गौरवको कुरा मानिन्थ्यो ।

सर्वसाधारण रैतीको त कुरै छाडौँ राजा र राजपरिवारका सदस्यको समेत हालत त्यस्तै थियो । थोरै राजाहरू मात्रै ४० वर्ष उमेरसम्म बाँचेका उदाहरण छन् । तर, मुख्य शासक राणाहरूको भने मस्तको जीन्दगी थियो । ७० वर्षको उमेरसम्म पनि श्रीमती तथा रखौटी बटुलीरहन्थे । नजिकको हाडनाताबाहेक जसलाई मन लाग्छ उसलाई करणी गर्ने छुट राणाहरूलाई थियो । वयोवृद्ध उमेरमा पनि रैतीका छोरीबुहारीहरूलाई करणी गर्थे, सन्तान जन्माउँथे । आफ्ना सन्तान मज्जाले हुर्काउने गर्थे ।

विकास निर्माणको कुरा गर्ने हो भने त अन्धकार नै थियो । एक इन्च सडक थिएन । एयरपोर्ट हुने कुरै भएन । राजधानी काठमाडौं उपत्यका बाहेकका रैतीहरूले आफ्नो देशको मुद्रा देख्न पाउँदैनथे । भारतीय मुद्राको प्रचलन थियो । शिक्षा दीक्षाको कुनै प्रबन्ध थिएन ।यो बेथितिबाट नेपाललाई मुक्त गर्न बिपी कोइरालाले राणाशासन ढाल्ने र प्रजातान्त्रिक शासन व्यवस्थाको परिपाटी सुरु गर्ने उद्घोष गरे । यसका लागि मेचीदेखि महाकाली सम्मका अगुवाहरू जम्मा गरेर नेपाली कांग्रेस पार्टी गठन गरे ।

नेपाली कांग्रेस पार्टीले राणाशासनविरुद्ध सशस्त्र क्रान्ति गर्यो । त्यो क्रान्तिले राणाशासन समाप्त भयो । २००७ साल फागुन ७ गते प्रजातन्त्र घोषणा भयो । राणाहरूको एकतन्त्रीय जहानीयाँ राणाशासन ढालेर नेपालमा प्रजातन्त्र स्थापना गर्ने लक्ष्य बिपी कोइरालाले राखे । यो लक्ष्यलाई उनले आफ्नै नेतृत्वमा सफल बनाए । राष्ट्रियता बलियो बनाउन नेपालमा कस्तो किसिमको शासन व्यवस्था उपयुक्त हुन्छ ? भन्ने मार्गचित्र पनि बिपी कोइरालाले नै कोरेका हुन् ।

राजासँगको टकरावको अन्तैर्य

आधुनिक नेपाल निर्माणको आरम्भ पृथ्वीनारायण शाहको नेतृत्वमा भएको हो भन्ने कुरा सर्व स्वीकार्य तथ्य हो । यो तथ्यमा कुनै विवाद छैन । तर, पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरण अभियानले पूर्णता पाएको थियो कि थिएन ? एकीकरणलाई पूर्णता दिने श्रेय कसले पाउने ? भन्ने विषयमा भने राजाहरू र नेपाली कांग्रेसबीच ठूलै टकराव भएको देखिन्छ । यही टकरावको परिणाम हो नेपालको राजनीतिक अस्थिरता ।

एकातिर बिपी कोइरालाको नेतृत्वमा नेपालमा निकै महत्वपूर्ण परिर्वतन भयो । नेपाल एकीकरणको अधुरो काम सम्पन्न भयो । अर्कातिर राणाशासनको समाप्तीपछि राजा त्रिभुवन र राजा महेन्द्रले बिपी कोइरालालाई आफ्नो ठूलो दुश्मन ठान्न थाले । २००७ साल फागुन ७ गते नेपाली जनतासमक्ष गरेका वाचालाई राजा त्रिभुवन शाहले उल्ट्याए । राणहरूले जसरी निरंकुश ढंगले शासन गरेका थिए त्यसरी नै शासन गर्ने पालो अब आफ्नो आएको ठम्याइमा राजा त्रिभुन शाह पुगे । प्रजातन्त्रलाई आफ्नो खल्तीमा राखेरै त्रिभुवन शाहले आर्यघाटको यात्रा तय गरे ।

त्रिभुवन शाहपछि राजा बनेका भएका महेन्द्र शाहले पनि राणाहरूकै पथ अँगाल्दै आपैmँले सक्रीय शासन सुरु गरे । बिपी कोइरालाको नेतृत्वमा जनताले ०१४ सालमा फेरि भद्र अवज्ञा आन्दोलन गरे । जनआन्दोलनसामु झुक्दै महेन्द्र शाहले आमनिर्वाचनको घोषणा गर्नुभयो । आमनिर्वाचनमार्फत बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बने ।

प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपी कोइरालाले त्यतिबेला गरेका प्राय सबै काम ऐतिहासिक छन् । त्यो छोटो अवधिमा यतिधेरै उपलव्धी नेपालको इतिहासमा कहिल्यै भएको थिएन । तर वीपी कोइराला नेतृत्वको जननिर्वाचन सरकारलाई राजा महेन्द्र शाहले १८ महिना पुग्ना नपुग्दै अपधस्त गरे । राणाहरूले जस्तै आँफै सक्रीय शासन थाले ।

आखिर राजा त्रिभुवन शाह र महेन्द्र शाहले वीपी कोइरालालाई किन मुख्य दुश्मन ठाने त ? जबकी राणाहरूले गद्धी च्युत गरिदिएका त्रिभुवन शाहलाई वीपी कै नेतृत्वमा गद्धीमा फर्काइएको थियो । राजा त्रिभुवन शाहले महेन्द्र शाहलाई युवराज पदबाट हटाउन खोज्दा वीपीले नै संझाइ बुझाई गरेका थिए । जसले आँफ्लाई राजगद्धी दिलाएको हो उसैलाई राजा त्रिभुवन र महेन्द्र शाहले मुख्य दुस्मन किन ठाने ? भन्ने प्रश्न जति पेचिलो छ वीपी कोइरालाले राजसंस्थाको अपरिहार्यता किन देखिरहे ? भन्ने प्रश्न पनि त्यतिकै पेचिलो छ ।

जसले आँफूलाई प्रधानमन्त्री पदबाट जबरजस्ती हटाएर जेलमा सडाइ दिएको छ , पटक पटक अत्यान्त अपमान गरेको छ , उसैको स्थायित्वका निम्ति वीपी कोइरालाले संघर्ष किन गरे ? के का लागि थियो यो संघर्ष ? भन्ने प्रश्न कम गम्भीर छैन ।

स्वयं वीपी कोइरालाकै भनाई अनुसार पनि राजा महेन्द्र शाह र वीपी कोइराला बीचको टकराव व्याक्तिगत दुस्मनी थिएन । व्याक्तिगत तथा पारिवारिक संवन्ध अत्यान्त राम्रो थियो । तर पृथ्वीनारायण शाहले आरम्भ गरेको नेपाल एकीकरणको अधुरो अभियानलाई पुरा गरेको श्रेय आफ्ना पिता त्रिभुवन शाहलाई दिलाउने चाहना महेन्द्र शाहको थियो । आधुनिक नेपाल निर्माण अभियानले पूर्णता पाएको श्रेय जनताको छोराको सट्टा राजाको छोराले पाएमा नेपालको राजसंस्था थप बलियो हुन्छ भन्ने ठम्याइमा राजा महेन्द्र शाह थिए ।

यसका लागि २००७ सालको जनक्रान्तिको इतिहास लेखनमा केही तथ्यहरूलाई ओझेलमा पार्नु पर्ने थियो । २००७ सालको जनक्रान्तिको सर्वे सर्वा नेपाली कांग्रेस नभएर तत्कालिन राजा त्रिभुवन हुन् भन्ने कुरा स्थापित होस् भन्ने चाहना महेन्द्रको थियो । तर आँफुले सक्रीय शासन नगरेसम्म वीपीको योगदान अभिलेखबाट मेटाउन र त्यो ठाउँमा त्रिभुवनको नाम राख्न नसकिने निक्र्योलमा राजा महेन्द्र शाह पुगे । २०१७ साल पुस १ गतेको दुर्घटना त्यसैको उपज थियो । मुलुकबाट राजतन्त्र पतनको विउ त्यही घटनाले रोपेको थियो ।

पंचायतकालका ३० वर्ष सम्म वीपी कोइरालालाई अराष्ट्रिय तत्व र त्रिभुवन शाहलाई राष्ट्रपिता भनेर खुव घोकाइयो । कक्षा १ देखि विधावारिधी सम्मका सबै पाठ्यपुस्तकमा यो कुरा राखियो । गृष्मबहाद्ुर देवकोटा र बालचन्द्र शर्मालाई पैसाको व्यवस्था गरेरै वीपी कोइराला भनेका देश द्रोही हुन् , राणा शासन हटाएर प्रजातन्त्र ल्याएको राजा त्रिभुवनले हो भन्दै इतिहासको किताव समेत लेखाइयो ।

यति सम्मकी जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई अपधस्त गरेर जेल हाल्ने क्रममा उहाँको र गृहमन्त्री सूर्यप्रसाद उपाध्यायको कार्यकक्ष खानतलासी गर्दा २ लाख भारु र चार पोका कण्डम बरामद गरिएको समाचार सरकारी मुखपत्र गोरखापत्रमा छापियो । त्यही समाचारलाई गृष्मबहादुर देवकोटाको इतिहासको दपर्ण भन्ने पुस्तकमा साभार गर्न लगाइयो । वीपी कोइराला जस्तो दुरदर्शी राजनेताले जति अपमान सहनु पर्यो , दुख बेहोर्नु पर्यो त्यस्तो अवस्था सायद विश्वका अरु राजनेताले बेहोरेका छैनन् ।

वीपीको बारेमा दुस्प्रचारको त के कुरा भयो र पृथ्वीनारायण शाहको विषयमा इतिहासमा पुस्तकमा लेखिएका केही गलत तथ्यहरूलाई खारेज गर्नुपर्छ भन्ने होस समेत महेन्द्र शाहले पुर्याएको देखिन्न । अहिले पनि इतिहासका विद्यार्थीहरूले पढ्ने गर्छन् –‘ किर्तीपुर विजय पछि पृथ्वीनारायण शाहले गर्भवती , दुध खुवाउने बच्चा भएका र गन्धर्भ बाहेक सबैको नाक काट्न लगाए । यस क्रममा १७ धार्नी नाक जम्मा भएको थियो ।’ संयोगले पृथ्वीनारायण शाह र वीपी कोइराला दुवै विरुद्ध उस्तै प्रकारको दुस्प्रचार भएको देखिन्छ ।

वीपीको मार्ग चित्र थियो –‘सार्वभौमसत्ता ( राष्ट्रियता) बलियो नभएसम्म देशका कुनै पनि उपलव्धी बेकार हुन्छन् , राष्ट्रियता बलियो बनाउनका लागि शासन सत्तामा जनसहभागीता चाहिन्छ, गरिव वर्गको उत्थानका लागि राज्यले विशेष संरक्षण दिनु पर्छ ।’

राजतन्त्रले राष्ट्रियतालाई मात्रै सर्वोपरी महत्व दिने , कम्युनिष्टहरूले गरिव वर्गको उत्थानलाई मात्रै सर्वोपरी महत्व दिने गरेको परिप्रेक्षमा वीपी कोइरालाले मध्यमार्गी अवधारणा ल्याए ।

वीपीको यो मार्गचित्रलाई वेवास्था गरेकै कारण राजतन्त्र समाप्त भयो । वीपीको यो मार्गचित्रलाई मदन भण्डारीले आत्मासाथ गरेकै कारण नेपालमा कम्युनिष्ट पार्टी प्रतिको जनविश्वास बढ्दै गयो । वीपीको विचार प्राय सबै पार्टीहरूका लागि स्वीकार्य देखिन्छ , तर दिवंगत भइसकेका वीपीको नाम स्वीकार गर्न भने नेपालका कम्युनिष्टपार्टीहरूलाई अझै लाज लागेको हो की ? भन्ने देखिन्छ ।सन्तानले बाबुको नाम भन्न लाज मान्नु पर्दैन ।

चेलाले गुरुको नाम भन्न लाज मान्नु पर्दैन । कम्युनिष्ट पार्टीहरूकै प्रस्तावमा वीपीलाई राष्ट्रिय विभुतिको सूचिमा राखिदिए हुन्छ । त्रिभुवन शाहदेखि पासाङ ल्हामु शेर्पासम्मको नाम राष्ट्रिय विभुतिको सूचिमा अटाइ सकेको अवस्थामा वीपीको नाम किन नथप्ने ? आखिर नेपाल भनेको काठमाडौं उपत्याका मात्रै नभएर मेचीदेखि महाकाली र सगरमाथादेखि केचनाकवल सम्मको सरहद हो भन्ने यर्थाथता सर्वप्रथम स्थापित गराएको वीपी कोइरालाले नै हो । साैर्य अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.