पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला सुरु

रिपोर्ट नेपाल | 2021 Sep 02 | 08:10 am 1337

काठमाडाैं, भदाै १७ः पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८ सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार भुर्चअल माध्यमबाट उक्त मेलाको उद्घाटन गरेका हुन्।

सातै प्रदेशमा उत्पादन भएका वस्तु, कृषि उत्पादन एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात प्रवर्द्धन गर्न महिला उद्यमी महासंघ नेपालले मेला आयोजना गरेको हो। मेला उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्न उद्यमशीलता र आर्थिक विकासको आवश्यकता रहेको बताए।

‘कोभिड–१९ का कारण उत्पादित सामग्री बजारसम्म पुग्न नसकेको अवस्थामा यस्ता प्रकारका प्रयासले नेपाली उत्पादनलाई विश्व बजारमा सहभागिता जनाउन सहयोग पुग्नेछ,’ देउवाले भने, ‘सरकार र निजी क्षेत्रको सहकार्यबाट देशले छिट्टै आर्थिक विकासतर्फ गति लिनेछ। महिला उद्यमीले उत्पादन गरेका मौलिक वस्तुले मुलुकको समग्र विकासमा टेवा पुग्नेछ।’

महामारीले उत्पादित वस्तुको बजारीकरणमा समस्या देखिएकाले सम्पूर्ण नागरिकलाई सरकारले कोरोना खोपको सुनिश्चितता गरिरहेकाले चाँडै समस्या समाधान हुने उनको भनाइ छ। समारोहमा बोल्दै महासंघकी अध्यक्ष रिता सिंहले महिला आर्थिक तथा सामाजिक सशक्तीकरण र रूपान्तरणका निम्ति पैरवी, वकालत, सञ्जाल विस्तार, सूचना प्रवाह, क्षमता अभिवृद्धि र बजारीकरणमा मेलाले टेवा पुर्‍याउने बताइन्।

‘महिला उद्यमीका आवश्यकता र चुनौतीबीच सामना गरिरहेको बजार पहुँचको कठिनाइलाई समेत यस मेलामार्फत उद्यमशीलता विकासको क्षेत्रमा नयाँ फड्को मार्नेछ,’ उनले भनिन्, ‘महिला उद्यमीले सञ्चालन गरेका व्यवसाय विश्वव्यापी रूपमा बढ्दै गएको परिवेशमा नेपाली महिला उद्यमीहरूले उद्यम व्यवसाय मार्फत घरायसी आम्दानी तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने समताको विकासमा मेला सत्य साबित हुनेछ।’ महिला उद्यमीको साझा थलोको रूपमा प्रयोग गर्दै मेला आधुनिक प्लेटफर्मको रूपमा समेत विकास भएको उनको धारणा छ। ‘अहिलेको परिस्थितिमा आम नागरिकको दैनिकी डिजिटल बजारतर्फ आकर्षित भइरहेकोले मेला आयोजना गर्न लागिएको र मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देशका विभिन्न स्थानबाट उत्पादन भएका वस्तुको बजारीकरणमा बल पुग्नेछ,’ उनले भनिन्।

त्यस्तै, महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीको हौसला बढाउन र अन्तर्राष्ट्रिय बजारमा देशभर उत्पादन भएका वस्तुको व्यवसायलाई बढावा दिन भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रदर्शनी, प्रवर्द्धन, बजारीकरण र बिक्रीका लागि साझा स्थल सिर्जना भएको बताइन्। यसअघि चारपटक भौतिक रूपमा मेला आयोजनाबाट महिला उद्यमीको मनोबल बढेको बताउँदै उनले महिला उद्यमशीलतामार्फत राष्ट्रको आर्थिक विकास, गरिबी निवारण, सामाजिक तथा आर्थिक सवालका सबै क्षेत्रमा महिला सहभागिता र सशक्तीकरणमा समेत जोड पुगेको बताएकी छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.