नेपालका कविको शैक्षिक योग्यता कति ?

रिपोर्ट नेपाल | 2018 May 26 | 03:23 am 5999

काठमाडौं: त्रिभुवन विश्वविद्यालद्वारा २०३१ मा ‘साहित्य महाविद्यावारिधि’बाट सम्मानित कवि धरणीधर कोइराला कलेज पढिरहेका वेला जागिर नपाएपछि बिदेसिएका थिए भन्दा पत्याउन गाह्रो लाग्छ ।

धरणीधर कोइराला : २४ माघ, १९४९ मा जन्मिएका कोइरालाको कलेजजीवन भारतको बनारसमा बित्यो । जब त्यहाँबाट आइए गरेर फर्किए, नेपालमा जागिर नै पाएनन् । विरक्तिएका २६ वर्षीय कवि कोइराला पारसमणि प्रधानसँगै दार्जिलिङ गएर सरकारी विद्यालयमा नेपाली पढाउन थाले ।

अध्यापन गर्दा गर्दै उनले अध्ययनलाई पनि निरन्तरता दिए । र, उनले कलकत्ता विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरे । त्यसपछि पनि बंगलादेशको ढाका विश्वविद्यालयबाट बिटी परीक्षा उत्तीर्ण गरेका कोइराला संस्कृत भाषाका प्रकाण्ड विद्वान् बने । उनको त्यही विद्वताको कदर गर्दै त्रिविले महाविद्यावारिधि प्रदान गरेको थियो ।

फेल भएपछि बरालिएका कवि: कलेजजीवन जति रमाइलो हुन्छ, वर्षको अन्त्यमा आउने परीक्षाले पनि त्यत्तिकै पीडा दिन्छ । कविशिरोमणि लेखनाथ पौड्याल पनि कलेजमा फेल हुँदा बरालिएका थिए । १० वर्षको उमेरमा गाउँमै संस्कृतको प्रारम्भिक शिक्षा हासिल गरेका उनी १५ वर्षमा काठमाडौं हानिए ।

लेखनाथ पौड्याल तीनधारास्थित संस्कृत छात्रावासमा बसेर संस्कृतको थप अध्ययन गरेका पौडेल संस्कृत माध्यमको परीक्षा दिन भारतको बनारस गए । तर, उनी परीक्षामा फेल भए ।

त्यसपछि उनी बरालिए । बाजे राधाकृष्णको पछि लागेर तराईमा घुमे । भौँतारिँदै आसामतिर लागे । त्यहाँ राममणि आदीसँग भेट भएपछि उनीसँगै नेपाल फर्किए । स्वर्गद्वारी महाप्रभुको संगतले जोगी हुनबाट रोकिएका पौडेललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेपछि आफ्नो गुरु दधिराम मरासिनीलाई चिठी लेखे ।

जहाँ लेखिएको थियो, ‘मेरा पूज्य गुरु ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।’

पढ्न नसकेपछि बिहे: राम्रो लेखपढ गर्न सकेन, कामधन्दा गरेन भने ‘सुध्रेला’ भन्दै छोराछोरीको बिहे गरिदिन्छन् । यो प्रचलन उहिले पनि थियो । कवि भूपि शेरचनले पनि कलेज पढ्न नसकेपछि बिहे गर्नुपरेको थियो ।

भूपि शेरचन पाँच वर्षको छँदा आमा पदमकुमारी शेरचनको मृत्यु भएपछि एकलकाँटे बनेका भूपिले प्रारम्भिक शिक्षा गाउँमै लिएका थिए ।

त्यसपछि उनलाई अध्ययनका लागि भारतको बनारस पठाइयो । जतिवेला उनी १२ वर्षका मात्रै थिए । आइए त उनले रामै्रसँग पूरा गरे । लेखनमा लागिसकेका उनी बिए अध्ययनको वेला भने पढाइभन्दा साहित्यिक कर्ममा तल्लीन रहे । भूपि बिएमा फेल भए ।

त्यसपछि भने ‘पढ्न नसकेको, बिग्रिएको’ भन्दै परिवारजनले २०१२ मा बिहे गरिदिए । विवाह भएपछि मात्रै उनले बिएको पढाइ गरेको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.