धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

| 2021 Sep 02 | 08:14 am 1297

काठमाडौं, भदौं १७ः कानून विपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ ।

बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपरीत आफन्तका नाममा खरिद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्डसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।

उक्त उपदफा अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याएको छानविनबाट पाइए पूँजी बजारको विकासविपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न उल्लेख छ । जाँचबुझ समितिले सिफारिश गरेका अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेकाले आवश्यक छानविन अघि बढाइएको सरकारको भनाइ छ ।

पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो । सर्वोत्तम कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाको छोरी रेबिका ढुंगाना र सोही बराबरको शेयर नै नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको पाइएको थियो ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो । सर्वोत्तमले बुक बिल्डिङङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ । आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.