- बसन्त भुजेल
सामान्य अवस्थामा शत्रु र मित्र छुट्याउन सकिन्न । संकटको बेलामा मात्रै थाहा हुन्छ । संकटको बेलामा जसले सहयोगको हात अघि बढाउँछ त्यो नै मित्र हो । जसले संकटमा परेको मौका छोपेर आफ्नो स्वार्थ सिद्धीका लागि उद्धत हुन्छ त्यो नै शुत्रु हो । छिमेकी राष्ट्र भारतलाई शत्रुका रुपमा करार गरिहाल्न त हुँदैन तर उसको व्यवाहार मित्रको जस्तो देखिएन । २०७२ सालमा हामी विनासकारी भूकम्पको चपेटामा पर्यौं, तत्कालिन राहत तथा उद्धारका लागि भारतले ठूलो सहयोग गर्यो । तर त्यो सहयोग तुच्छ स्वार्थका लागि रहेछ भन्ने कुरा संविधान निर्माणका बेला प्रकट भयो । उसले संविधान निर्माणमा हस्तक्षेप गर्न खोज्यो । आफ्नो मुलुकका नागरिकको नेपालमा बहुमत बनाउने गरी संविधानका धारामा केही प्रावधान राख्न भारतले निर्देशन दियो । राजनीतिक दलहरुले ठाडो अस्वीकार गरे । त्यसवापत भारतले नाकावन्दी लगायो । जनअधिकार प्राप्तीका लागि नेपालमा भएका हरेक संघर्षमा भारतको सहयोग छ । तर त्यो सहयोग नेपाली जनताका पक्षमा नभएर आफ्नो विस्तारवादी तुच्छ स्वार्थका लागि रहेछ भन्ने कुरा नाकावन्दीले प्रमाणित गर्यो ।
कतिबेला कालापानीको मुद्धाले नेपाल–भारतको सम्वन्ध चिसिएको छ । कोरोनाको महामारी विरुद्ध दुवै मुलुक एक अर्कोसँग हातेमालो गरी जुध्नु पर्ने बेलामा भारतले कालापानी हुँदै चीन जाड्ने सडक उद्घाटन गर्यो । महामारी दक्षिण एशियामा प्रवेश गरेकै बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क संगठनको सक्रीयता बढाउने प्रस्ताव राखे । उनकै अगुवाईमा सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स पनि भयो । पाकिस्तान सँगको सीमा विवादका कारण भारतले लामो समयदेखि सार्कलाई पेण्डुलम बनाएको थियो । तर कोरोनाको संकट उत्पन्न हुनासाथ भारतले नै सार्कलाई सक्रीय बनाउन खोजेपछि त्यहाँका प्रधानमन्त्री मोदीको अन्तर्राष्ट्रिय उचाई एकाएक बढ्यो । तर मोदीले यो कदम तुच्छ स्वार्थका लागि गरेका रहेछन् भन्ने कुरा कालापानी प्रकरणले उजागर गर्यो ।
कालापानी क्षेत्र लामो समयदेखि विवादास्पद छ । यो क्षेत्रमा नेपाल–भारत र चीनबीचको त्रिदेशीय विन्दु (सीमा) कायम गर्न बाँकी नै छ । यस विषयमा नेपालले विगत तीन दशक देखि कुरा राख्दै आएको छ । तर यही महासंकटको मौकामा भारतले यही क्षेत्र हुँदै चीन जोड्ने सडक उद्घाटन गर्यो । नेपालले यस विषयमा वार्ताका लागि प्रस्ताव गर्दा भारतले कोरोनाको संकट समाप्त भएपछि वार्तामा बस्ने जनायो । प्रत्युत्तर स्वरुप नेपालले उक्त क्षेत्र समेत समेटेर आफ्नो देशको नक्शा जारी गर्यो । यस विषयलाई लिएर भारतले फेरी नाकावन्दीको धम्की दिन थालेको छ । भारतीय मिडियामा अर्नगल प्रचार तथा नेपाल विरुद्ध गाली गलौज शुरु भएको छ ।
विगतमा भूकम्पको चपेटा र भारतीय नाकावन्दी सँग सँगै सामाना गर्नु परेजस्तै यस पटक पनि कोरोना र भारतीय नाकावन्दीको सँगसँगै सामना गर्नु पर्ने हो कि जस्तो देखिएको छ । कोरोना नियन्त्रणको सन्दर्भमा पनि भारतबाट अपेक्षित सहयोग प्राप्त भएको छैन , उल्टै त्यहाँ रहेका नेपालीलाई केरोनाबाट संक्रमित गराउने र नेपाल फर्काउने रणनीति भारतले अवलम्वन गरेको देखिएको छ ।
कसरी जुध्ने ?
नेपाल यतिबेला दोहोरो मारमा परेको छ । एकातिर कोरोनाको महामारी र अर्कातिर भारतीय हस्तक्षेप । यी दुवै संकट विरुद्ध एकै चोटी जुध्नका लागि सानोतिनो तयारी तथा इच्छा शक्तिले पुग्दैन । दोस्रो विश्वयुद्धका बेला बेलायतका प्रधानमन्त्री सर विस्टन चर्चिलले जुन रणनीति अवलम्वन गरेका थिए , त्यही रणनीतिको खाँचो आज नेपाललाई परेको छ । तर हाम्रो देशको पूर्व तयारी कत्ति पनि देखिएन । सबै क्षेत्र चौपट छ । राज्यको नीति निर्माण तहमा रहनेहरु सँग दूरदृष्टि र इच्छा शक्ति देखिएन । सबै एक जुट हुनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीगत स्वार्थमा केन्द्रित भए । पार्टीगत मात्रै होइन गुटगत तथा व्याक्रिगत स्वार्थमा उनी केन्द्रित भएको अनुभव जनताले गरेका छन् । यतिबेला देशका सबै शक्तिलाई एकजुट बनाउने दायित्व प्रधानमन्त्रीको हो , तर त्यो दायित्वमा उनी चुकेका छन् । जनताको आत्मवल नबढाउने हो भने यी दुई वटा युद्ध जित्न सकिन्न, तर यतिबेला जनताको आत्मवल धेरै गिरेको छ ।
जनताको आत्मावल बढाउने तर्फ सरकारले सोचेको देखिएन । उल्टो आत्मबल झन घटेको छ । बढोस पनि कसरी ? खेतमा उब्जाएको साग सव्जी सडाएर फाल्नु पर्ने ? आँफूले पालेका गाइँ भैसीको दुध सडकमा लगेर पोख्नु पर्ने वाध्यतामा सर्वसाधारण जनता छन् । हाम्रो जनसंख्या पुग नपुग ३ करोड हो । त्यस मध्ये करिव ५० लाख युवाहरु विदेशको क्वारेन्टाइनमा थुनिएका छन् । खोरमा बाख्रा कोच्दा झैँ उनीहरुलाई कोचिएको छ । सबै युवा कोरोनाको संक्रमणमा पर्ने खतरा बढेको छ । उनीहरुको उद्धारका लागि कुरा उठ्दा प्रधानमन्त्री ओली रुखो जवाफ दिएर पन्छेका छन् । यता हुने खाने तथा पहुँचवालाहरुलाई भने लकडाउन छैन । उनीहरु निस्फिक्री गतिविधि गरिरहेका छन् । । विदेशबाट डलर तिरेर ल्याएको रक्सी खाई निमुखा छिमेकीलाई सान देखाइरहेका छन् । यो कस्तो लकडाउन हो ? कस्तो प्रशासन हो ? बुझिसक्नु छैन । नयाँ जोगीले धेरै खरानी घस्छ भनेझैँ रुघा खोकी लागेकोलाई पनि कोरोना भन्दै लकडाउनमा राख्ने, धेरै राम्रो काम गरेको छु भनेर प्रोपोगण्डा मच्चाउने । गेटमा भोटे ताल्चा लगाउने झ्याल ढोका खुलै राख्ने । कार्यकर्तालाई राहत बाँढेझै पास बाँढ्ने, कोरोनाले पास भएका लाई माफी दिन्छ र ? त्याे हो भने त हरेक लाई पास बनाएर घाँटीमा झुण्याइदिए भइहाल्यो नि । कुनै मन्त्र फुकेर बनाइएको बुटी जस्तै । पासका भरमा जहाँ राहत बाँढिएको छ त्यहाँ त्यहाँ पुग्न सकिने । सित्तैमा खाना खुवाएको ठाउँमा पुग्न पनि सकिने ।
जव अमेरिका तथा युरोपको हालतमा कोरोनाको महामारीमा नेपाल पुग्छ तब सम्म ढिलो भइसकेको हुनेछ । हतारमा गरिएका गल्तीका कारण फुर्सदमा पछुताउनु परिरहेको छ ।
राष्ट्रियताको सवाल
राष्ट्रियताको सवालमा कसैले अण्डर स्टमेट गर्छभने त्यसको जवाफ दिन तयार छौं । ह्वेल माछा जति ठूलो भए पनि पानी मै वस्ने हो , जमिनमा उक्लनासाथ मर्छ । हात्ति जति ठूलो भए पनि घाँस नै खाने हो । तर बाग बुढो वा शिकार खेल्न नसक्ने भए पनि घाँस खाँदैन । शिकार कसरी गर्ने हो ? उसलाई सिकाउनु पर्दैन । संसारलाई थाहा भएकै कुरा हो , वीर गोर्खाली को हो ? भनेर । अहिले सम्म गोर्खालीहरुले विश्वसामु वीरता प्रर्दशन गरिरहेकै छन् । देशले फेरी रगत मागे वीर गोर्खालीहरु तयार छन् । मातृभूमीलाई कसैले गिद्धेदृष्टि लगाउँछ भने गोर्खालीले सहन जानेका छैनन् । नेपाल अहिलेसम्म कसैको उपनिवेश भएको छैन । बरु वीर गोर्खालीले छिमेकी भारत लगायत धेरै देशलाई उपनिवेशबाट मुक्त बनाउन सहयोग गरेका छन् ।
यदी कसैलाई राज्य शक्तिको मात लागेको छ भने उसलाई सिधा बाटोमा हिँडाउन पनि सकिन्छ । आज उत्तर कोरियाबाट सिक्न सकिन्छ । उत्तर कोरियाले राष्ट्रियताको पाठ विश्वलाई सिकाइरहेको छ । उत्तर कोरिया आकार र जनसंख्यामा ठूलो छैन तर राष्ट्रियताको सवालमा सबै भन्दा बलियो छ ।
सेनालाई व्यारेकमा राखेर भात मात्रै पचाउन लगाउने कि ? देशको सीमा रक्षाका लागि खटाउने ? सेनाको काम सीमा रक्षागर्ने हो , ठेक्का पट्टामा हात हाल्ने होइन । जब सेनाले ठेक्का पट्टामा हात हाल्छ तर आफ्नो दायित्वबाट उ परै पन्छिन थाल्छ । बाघले मानिसको रगतको स्वाद पायो भने पल्कन्छ र हाम्रो सेनाले पनि ठेक्का पट्टामा पल्केर आफ्नो मुल दायित्व भूलेको त होइन ?
राज्यलाई आवश्यक परे सबै जनताले हतियार उठाउन तयार हुनु पर्छ । हाम्रो आकाशमा भारतीय जासुसी विमान खुलेआम उडिरहेका छन् । के नेपाल सँग एण्टि एयरक्राफ्ट यन्त्र छैन ? यो यन्त्र हामी आँफै बनाउन सकिन्छ । देशको रक्षका लागी वीर गोर्खाली आफै सुसाइट मिसाइल बन्न सक्छन् । एक जना गोर्खालीले १ सय जना दुस्मनलाई समाप्त गर्ने क्षमता राख्छ । हालै अफगानस्थानमा भएको द्धन्दलाई ठेगाउनमा ल्याउन गोर्खाली सफल भएका छन् । दिपकप्रसाद पुनले सर्वोच्च युद्ध पदक प्राप्त गरेका छन् । कसले छेकेको छ ? नेपाली सेनालाई सीमा रक्षाका लागि जान ? राज्यले सेना पालेको के का लागि ? सलामी मलामी र गुलामीका लागि ? वा शान्ति सेनामा गएर डलर कमाउनका लागि ? जनताले कर तिरेको देश जोगाउनका लागि होइन ?
धेरै नेपालीको बलिदान पछि आएको संविधानमै खोट छ कि ? भन्ने आशंका समेत गरिन थालिएको छ । अरु कसैले ड्राफ्ट गरिदिएको संविधान हाम्रा लागि अफाप सिद्ध भएको हो कि क्या हो ? हज्जारौंको बलिदानबाट फालिएको पञ्चायत ठिक रहेछ कि क्या हो ? भन्न थालेका छन् जनताले । यो खतरनाक संकेत हो । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ । भन्ने दिन आउन लागे जस्तो छ ।
‘नौलाखे तारा उदायो ।’ गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ , भन्ने गीत फेरी गाउने दिन आएको छ । विदेशमा भासिएका नेपालीहरुलाई हरिदेवी कोइरालाको गीत ‘ घर फर्की आउनोस् मेरो हाजुर’ फेरी गाउन मन लागेको छ । बुद्ध जन्मेको देशमा शान्ति आउन सकेन । बहुमतको सरकार छ विकास आउँदैन । साँच्चै पशुपतिनाथले रक्षागर्न छाडेकै हुन् त ? विदेशी अनुदानमा बाटो बनेको छ त्यही पनि हिँड्न पाइँदैन । विदेशी अनुदानमा २२ वर्ष अघि निर्माण सुरु भएको मेलम्चीबाट अझै पानी आएको छैन । आफ्ना खेतबारी बाँझा छन् । विदेशमा विषादी हालेर उब्जाइएका्े तरकारी , अन्न तथा फुलफुल खान हामी बाध्य छौं । यो कस्तो वाध्यता हो ? बुझ्न सकिएन ।