दस अर्ब अठतीस करोडको विद्युत् निर्यात

रिपोर्ट नेपाल | 2022 Nov 19 | 07:41 am 877

काठमाडौँ, मङ्सिर ३ः नेपाल विद्युत् प्राधिकरणले साढे पाँच महिनाको अवधिमा १० अर्ब ३८ करोड ९६ लाख रुपियाँको विद्युत् भारत निर्यात गरेको छ।

गत जेठ १९ गतेदेखि विद्युत् निर्यात गर्न थालेको प्राधिकरणले कात्तिकसम्ममा एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् निर्यात गरी उक्त रकम आर्जन गरेको हो। भारतीय मुद्रामा कारोबार हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारतीय रुपियाँ नेपाल भित्रिएको प्राधिकरणले जनाएको छ।

भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री हुने गरेको छ। आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। यो व्यवस्थाअनुसार हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपियाँ २३ पैसा रहेको प्राधिकरणले जनाएको छ।

निर्यात स्वीकृति ४०९ मेगावाट

सुरुमा दुईवटा विद्युत् गृहलाई स्रोत मानी दैनिक रूपमा ३९ मेगावाट आईएक्समा बिक्री हुँदै आएकोमा जेठ २७ गतेदेखि दैनिक छवटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुन थालेको थियो। कात्तिक १८ गतेदेखि चिलिमे जलविद्युत् आयोजना र कात्तिक ३० गतेदेखि सोलुखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात सुरु भएको हो। योसँगै भारतर्फ निर्यात हुने विद्युत्को स्वीकृत क्षमता ४०९ मेगावाट पुगेको छ।

आठ आयोजनालाई स्वीकृति

पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ।

भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत कात्तिक २५ गते सोलुखोलाबाट उत्पादित विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो। प्राधिकरणले अब आठ जलविद्युत् केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत् भारतीय आईएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ।

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ‘ए’, २५ मेगावाटको काबेली ‘बी’–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेस गरेको थियो। त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो।

नेपालमा निर्माण भएका अधिकांश जलविद्युत् आयोजना जलप्रवाहमा आधारित भएकाले नदीको बहाव घट्नेबित्तिकै उत्पादन पनि घट्छ। वर्षायाममा नदीको बहाव बढ्ने भएकाले धेरै र हिउँदमा बहाव घट्ने भएकाले थोरै बिजुली उत्पादन हुन्छ।

जल बहाव घटेसँगै निर्यातमा कमी

नदीमा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन कम हुन थालिसकेको छ। यसले गर्दा जलविद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमश : घट्दै गएको प्राधिकरणले जनाएको छ।

“उद्योगले अहिले स्वीकृत लोडअनुसार विद्युत् लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक कोरिडोरमा विद्युत्को माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ,” कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्धृत गर्दै नेपाल विद्युत् प्रधिकरणले उल्लेख गरेको छ।   गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.