तिज: मौलिकता हराउँदै, विकृति मौलाउँदै

| 2018 Sep 09 | 12:35 pm 5290

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए। त्यसपछि शिव पार्वतीको विवाह भयो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ। व्रत बस्ने दिन हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा दुखलार्इ भुलाउँदै हर्षोल्लासका साथ मनाउने पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।

सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व छ।

तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। व्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ।

यसवर्षको तिज भदौ २७ गते सोमबार परेको छ। जसरी पहिले-पहिले तिजको अघिल्लो दिन दर खाने र अर्को दिन निराहर व्रत बस्‍ने प्रचलन थियो । तर, पछिल्लो समय एक महिनाअघिदेखि नै तिज आएको खबर सामाजिक सञ्‍जालका भित्ताहरुले दिइसकेका हुन्छन्। सडक, चोक र गल्लीमा राता सारीमा तीज कार्यक्रममा हिँड्नेहरुको संख्या बाक्लिइ सकेको हुन्छ। रेडियो, टेलिभिजन र मोबाइलमा तीजका भाका बज्‍न थालेको धेरै दिन भैसकेको छ। यस वर्षको तिजले पनि हिन्दु नारीहरुलाई छोपिसकेको छ।

पछिल्ला वर्षहरुमा तिजले आफ्नो रुपरंग फेरेको छ। अहिले तिज सँस्कारभन्दा पनि फेशन जस्तै बनेको छ। पहिले दुख वेदनालाई गीतमार्फत पोख्ने तिज, अहिले आएर डिस्को, र्‍याप, हिन्दी फिल्मी गीतमा लचकदार नाच नाच्‍ने अनि साडी र गरगहना देखाउने माध्यम बनेको छ। हुन त समय परिवर्तनशिल छ। समयअनुसार तिज मनाउने शैलीमा धेरथोर फरक आउनु स्वभाविक नै मान्न सकिन्छ। तर सँस्कारलाई नै भुलेर रमाईलोका लागि, देखाउनका लागि र खानपिन गर्नका लागि मान्न थालिएको तिजलाई कदापी राम्रो भन्‍न सकिदैन।

तिजमा लगाईने पहिरन, खाईने परिकार, श्रृंगारको कुरा केही वर्ष पहिले वा दुर्इ दशकअघिसम्म पनि निकै सभ्य, शालिन हुन्थ्यो भने अहिले आएर त्यस्तो हुन छाडेको छ। महिलाहरुले लगाउने पहिरन कसको महँगो? कसले कस्तो खायो ? र, कसले धेरै गहना देखायो ?, कसले कति खर्च गर्‍यो भन्‍ने कुरासँग दाँज्‍न थालिएको छ। त्यसैले एक अर्थमा भन्‍ने हो भने तिज एउटा वर्गको देखाउने माध्यम बनेको छ भने अर्कोतिर गरिब दिदीबहिनीहरुले तिज मनाउनै छोडिसकेका छन्।

सय वर्ष पुग्‍न लागेकी एकजना हजुरआमा अहिले पनि भन्नुहुन्छ, ‘तिजमा हामी माईत जान्थ्यौँ। दाजुभाई लिन आउँथे। वर्षभरि भेट नभएका कतिपय दिदिबहिनीहरुलाई तिजकै अवसर पारेर मात्रै भेट्ने मौका हुन्थ्यो। त्यतिबेला दिदिबहिनीबीच खुबै प्रेम हुन्थ्यो। तिजको दिन व्रत बस्थ्यौँ, श्रीमान्को दिर्घायुको कामना गर्दै। खानमा करेलाको अचार, घिऊ हालेको भात विशेष हुन्थ्यो। माछा, मासु भएपनि नभएपनि खासै वास्ता हुदैनथ्यो। त्यो बेलाको तिज निकै आत्मिय हुन्थ्यो। दाजुभाई घरसम्म लिन आउँथे। नयाँ कपडा किनिदिन्थे। मिठाखानेकुरा माईतीमा गएर खाईन्थ्यो।’ तर अहिले मेरो पुस्ताका दिदीबहिनीहरुले मनाउने तिज ति हजुरआमाले भने जस्तो पटक्कै छैन।

भड्‍किलो गितले डिस्कोमा पुर्‍यायो तिज

हिजो बुबाको आगनीमा बसेर गाउने नाच्‍ने रमाउने महिलाहरू अहिले सहरका पार्टी प्यालेस र पाँच तारे होटलमा रमाउन थालेका छन। सामाजिक सञ्जालमा फोटो पोष्ट गरेर यो पर्वको उपहास गरिरहेका छन्। पर्व गितको रुपमा चिनिने तिजलार्इ पछिल्लो समय आएका भड्किला, उत्तेजित र उट्पट्याङ गितले बुबाको आँगनमा नाच्‍ने दिदिबहिनीलार्इ डिस्को र बारहरुमा नाच्‍ने बनाएको छ। किनकी ति गितहरु आमाबुबासँग सँगै बसेर हेर्न, सुन्‍न र नाच्‍न मिल्‍ने खालका हुँदैनन्।

अहिलेका तिज गितमा सौन्दर्यता र मौलिकता त लोप भयो नै त्यसमा पनि तिजको मौसमी संगित कलाहीन र ‘उट्पट्याङ’ गीतको वर्चश्व छ। कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भने झैँ, तिजको मर्म र सौन्दर्य समातेका गीत नै नबनेका भने होइनन् तर ती गितहरु भड्किलो संस्कार र व्यवहारले ओझेलमा परे। जसले गर्दा कलाकाहरु पनि भड्किलो हुन बाध्य भए।

तिजको मूल मर्मबाट बाहिरिएर तयार पारिएका यस्ता गीतले तिज गीतको मौलिकता र परम्परागत सौन्दर्यलाई कुरुप बनाइदिएका छन्। पर्व गीतका रुपमा चिनिने तिज गीत मूल चरित्र र प्रवृत्तिबाट विमुख र छताछुल्ल भएको छ। हरिदेवी कोइरालाहरु अचेल छायाँमा छन्, ‘नेपालबाट दाजैले शीरफूल कमाई पठाए, किन दिन्थिन् भाउजूले राखिन् आफैले ।’ अब के, यस्ता रचनाको युग सकिएकै हो त? गम्भीर प्रश्न हामीमाझ छ। संवेदनशिल हुने बेला यही हो। भोलीको पुस्ताले नेपालमा तिजको अवसरमा यस्ता पनि गित थिए होलान र भनेर सोच्‍ने दिन नआओस। कला, संस्कार र संकृति नै लोप भयो मानिस भएर बाँच्‍नुको अस्तित्व रहँदैन।

तिज गित र पछिल्लो भड्‍किलो प्रवृतिले पर्वको महत्त्व र परम्पराको गरिमाभन्दा पनि तिजलाई मोजमस्ती र भड्किलोपनले गाँजिरहेको छ। महिलाको सोह्र शृंगार र माइत जाने रहरका साथै ऐतिहासिक र कालजयी गीतका स्थानमा अत्यन्तै तल्लो स्तरका गाना बजानाले तिजलाई ‘डिस्को’मा परिणत गरेको चर्चा पनि हुन थालेको छ।

यो पर्व समाजले उत्तम मानेको आफ्नै मौलिकता भएको इतिहासले स्थापित गरेको पर्वलार्इ गितले गरेका उहासका कारण कुरुप र महत्वहिन बनाइनु हुँदैन।

उमंगको तिज उदास किन बन्दैछ ?

यस पर्वलार्इ महिलाहरुको उमगंको पर्वको रुपमा मनाइन्छ। माइतिमा गएर होस् वा आफ्नतसँगै बसेर वर्षभरीका पीरव्यथालार्इ भुलेर मनाइने यो पर्व पछिल्‍लो समय फेसन र देखासकिको चंगुलमा फस्दा उमगंभन्दा पनि उदासीतिर गइरहेको छ। हुनेखानेहरुले त यसलार्इ राम्रै भन्लान तर भएखानेहरुका लागि पनि यस प्रकारको भड्किलो तिजले उनीहरुमा हिनताबोध र विचलन ल्याउने निश्चित छ।

बिहानदेखि साँझसम्म तातो घाममा पोलिएर मजदुरी गरेको पैसाले छाक टार्नेहरुले सामान्य चाडपर्व मनाउन त सकस भइरहेको हुन्छ। सँगैको छिमेकीहरुले धुमधामका साथ तिज मनाइएको देख्दा स्वभाविकरुपमा त्यसरी नै तिज मनाउने इच्छा जाग्‍नु स्वभाविक हो। त्यो इच्छा पुरा गर्न नपाउँदाको पिडा एकातिर हुन्छ भने उनीहरुसँग टाढिनुपर्ने बाध्यता अर्कोतिर। जसले गर्दा सामाजिक संरचनामा विचलन र चाडपर्वप्रतिको मोह भंग हुने भय पनि त्यतिकै छ।

सामाजिक सञ्‍जालमा भेटिएको यी हरफले सम्झाउँछ

तिज आउनु कहिले कहिले मान्छौ महिनौं पहिले
घर खर्च धान्‍नलार्इ पिर जहिल्यै।

स्वभाविकरुपमा सामान्य परिवारलार्इ घरखर्च धान्‍न नै धौधौ भइरहेकोबेला एक महिनादेखि नै दरको नाममा ऋण जोहो गरेर देखाउनकै लागि तिज मनाउनुको कुनै तुक छैन। तिजको दर खाने नाममा माछा मासु तथा अनेक व्यञ्‍जन र मदिरा सेवन गर्नाले आर्थिक रुपमा त नोक्सान भयो नै त्यसको अलावा सामाजिक संस्कारमा कुठाराघात भयो र स्वास्थ्यमा नकारात्मक असर समेत गर्दछ।

अहिले पनि हजारौं दिदीबहिनीहरु गरीबीका कारणमा भारत, खाडी मुलुक तथा अन्य धेरै राष्ट्रहरुमा आफ्नो शरीर बेच्‍न बाध्य छन्। उनीहरुलार्इ पनि माइतीसँगै बसेर तिज मनाउने रहर होला तर बाध्यता र परिस्थितिले उनीहरु यसरी तिज मनाउन पाउँदैनन्। यो हुनुको पछाडिको कारक भनेकै चाडपर्व महँगिनु र वर्गवादले स्थान लिनु नै हो। यसरी तिजलार्इ संयमित नबनाउने हो भने उच्च र कुलिन वर्गमा मात्र सिमित हुने देखिन्छ। के साँच्चै तिज र यस्ता चाडपर्वहरु अब धनी तथा हुनेखानेहरुले मात्र मनाउने हो त ?

गरिब, दिनदुखी तथा हुनेखानेहरुको मिश्रण नै समाज हो। जहाँ समान मुल्यमान्यता र परम्पराको अवलम्बन गरिन्छ भने सहअस्तित्व स्वीकार गरिन्छ। त्यसकारण सामाजिक भातृत्व, मित्रता र सहकार्य गरी सामाजिक संस्कृतिलार्इ बचार्इँराख्‍नै आजैदेखि सचेत र सजग हुन जरुरी छ।

एनआरएन आईसिसी सदस्य गोमा सेनले तिज भड्किलो नमानआउन सुझाव दिँदै भनेकी छन्,

महिलाहरूको रमाइलो पर्व तीज आउनै लाग्यो सबैलाई चिन्ता होला कस्तो साडी र गहना लगाउने? म भन्छु चाडपर्व आयो भनेर आफ्नो हैसियत भन्दा माथी परिवारलाई नै बोझ हुने गरि महंगा साडी र गहना भन्दा आफू संगै भएका २/४ बर्ष अगाडीका पुराना साडी पुन: लगाउ । अलिकति ब्लाउज फरक खालको या भनौ कलर चेन्ज गरे पनि फरक लुक आइहाल्छ, पक्कैपनि पोहर तिजमा लगाएको साडी यसपाली लाउन मन त लाग्दैन । तर यसलाई फरक खालको चूरा र पोते अनि ब्लाउज अर्को लगाउने हो भने फरक देखिन्छ।

त्यति मात्र होइन तीजलाई भनेर सधै कति मात्र रातो साडी थुपार्दै जाने त ? गहनाको त कूरै छोडौं नेपालमा ६५/७० हजार तोलाको गहनाको बोझ कसरी धान्ने ? हुन त सक्नेको लागी सुनका गहना लगानीको रूपमा लिइन्छ तर कम आय स्रोत भएका आमा दिदी बहिनीले पनि त तीज मान्न र मनाउन पर्यो।

नेपालमा आफ्नै स्वदेशमा निर्मित कलरफूल पोतेका फरक-फरक स्टाइलका रंगीचंगी हार ,मंगल सूत्र ,साडी संग म्याचिगं गर्ने गरे कति राम्रो देखिन्छ । समाजमा कसैलाई पनि हिनताबोध नहुने सबै बांच्न सकिने उपाय खोजौ यसैमा सबैको भलो हुन्छ।

गत १/२ बर्ष याता देखि छड्के तिलहरी बिस्तारै बिस्थापित हुन लागेको होकी जस्तो देखिदै छ । सायद यसपाली जन्तरको पालो आउने होकी ? पढेलेखेका र सामाजिक अभियन्ताबाट यसको सूरूवात गरौं पक्कै पनि चेन्ज आउने छ!

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.