तरकारीको थोक मूल्य घट्यो

रिपोर्ट नेपाल | 2022 Dec 08 | 07:28 am 1329

काठमाडौँ, मङ्सिर २२ः काठमाडौँमा तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्लो डेढ सातामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीको मूल्य आधा भएको छ तर खुद्रा मूल्य नघट्दा उपभोक्ताले राहत पाउन सकेका छैनन् ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार मङ्सिरको पहिलो सातासम्म थोकमा प्रतिकेजी एक सय रुपियाँमा कारोबार भएको स्थानीय काउली अहिले घटेर ४० रुपियाँमा झरेको छ । रातो आलु पनि प्रतिकेजी ७५ रुपियाँबाट घटेर ५५ रुपियाँमा झरेको छ । मुला, बन्दा, सागलगायतका तरकारी पनि थोक कारोबारमा सस्तिएका छन् ।

कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेबी कलङ्कीका विनीता थापाले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको अनुभव सुनाइन् । “काउली अहिले प्रतिकेजी एक सय रुपियाँमा किन्नुपर्छ तर यहाँ त त्यही काउली एक सय रुपियाँमा एक धार्नी आयो । आलु, बन्दा, गोलभेँडा, चम्सुर, पालुङको साग त्यत्तिकै सस्तो,” उनले भनिन् ।

कालीमाटी बजारभित्रै रहेको खुद्रा र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढी नै छ । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो १५ दिनमा मौसमी तरकारीको भाउ आधामा झरेको बताइन् । उनले भनिन्, “अहिले बजारमा तरकारीको माग नै कम छ, आएको तरकारी पनि बिक्री गर्न गाह्रो छ । थोक बजारमा मौसमी मात्रै होइन, बेमौसमी तरकारी पनि सस्तिएका छन् ।” कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आपूर्ति पुरानै अवस्थामा फर्किएकाले मूल्य घटेको बताए । उनका अनुसार कालीमाटीमा हाल दैनिक औसतमा आठ सय मेट्रिक टनको हारहारीमा तरकारी भित्रिने गरेको छ ।

समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ । बजारमा स्वदेशी उत्पादन धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज, गोलभेँडालगायतका तरकारी भारतबाट आइरहेका छन् । हरियो तरकारीको भाउ सस्तो भएको र मौसमी तरकारी अझै सस्तिने क्रममा रहेको उनले बताइन् ।

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले थोक र खुद्रामा तरकारीको मूल्यान्तर धेरै हुँदा पनि अनुगमन नहुने सरकारको नियमनकारी निकायको उदासीनता हो भने । अनुगमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमप्रसाद भट्टराईले तरकारी केन्द्रित भएर बजार अनुगमन नभए पनि नियमित रूपमा अनुगमन भइरहेको दाबी गरे । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.