दाङ, जेठ ९: सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन् ।
दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक रु २५० प्रदान गर्दै आएका छन् । “म पेशाले निर्माण व्यवसायी हुँ, कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो”, भण्डारीले भने । नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।” २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए ।
“शुरुमा उनले रु ५० बाट शुरु गर्नुभएको हो, अहिले रु २५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भने । जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उहाँले बताए । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको समेत उहाँले बताए । बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुन । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक रु १०० जुंगाको तलब खाने गरेको बताए । “म नेपाली सेनामा हवल्दार हुँदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक रु १०० जुंगा पालेबापत पैसा दिँदै आउनुभएको थियो,” उनल भने ।
अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि वृद्धि गर्दै जुंगाको लागि पैसा दिइरहने बताए। भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट रु पाँच हजार प्रदान गरेका थिए ।