प्रधानमन्त्री केपी ओलीले जनतामाथि भ्रम फैल्याउनेहरुप्रति सचेत रहन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले जथाभाबी कर निर्धारण गरेर जनतालार्ई करको भार बढेको भन्दै सावधानी अपनाउन स्थानीय जनप्रतिनिधिहरूलाई सचेत गराएका हुन् ।
नेपाल नगरपालिका संघको छैटौँ राष्ट्रिय अधिवेशनलाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नगरपालिकाहरूले जनताको सेवा, सुविधा र विकासको कामलाई अघि बढाए मात्रै मुलुकमा प्राप्त राजनीतिक बलियो हुने पनि स्मरण गराएका हुन् । उनले जनप्रतिनिधिहरूलाई राजनीतिक पूर्वाग्रह त्यागेर अघि बढनपनि आग्रह समेत गरे ।
प्रधानमन्त्री ओलीले उपभाग्य वस्तुमा आत्मनिर्भर हुने गरी लगानी गर्न पनि स्थानीय जनप्रतिनिधिहरूलाई सुझाव दिए । उत्पादन र उत्पादकत्व बढाउन, रोजगारीको अवसर सृजना गर्न र उपभाग्य वस्तुमा आत्मनिर्भर हुने गरी सबै स्थानीय तहले लगानी केन्द्रित गर्नुपर्ने प्रधानमन्त्री ओलीको आग्रह छ । उनले विकास र समृद्धिका लागि उत्पादन बढाउनुपर्ने भएकाले सरकारले त्यसैमा लगानी केन्द्रित हुने गरी गतिविधि अघि बढाएको दाबी समेत गरे ।
कार्यक्रममा प्रदेश ३ का मुख्य मन्त्री एवम् संघका अध्यक्ष डोरमणि पौडेल र वीरगन्ज नगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सम्मान गरिएको थियो । पौडेलले संघलाई नेतृत्व दिएर स्थानीय सुशासन ऐन प्रवर्द्धनमा योगदान दिएको र ८८ वर्षीया कार्कीलाई नगरपालिकाहरूको जेष्ठ सदस्यहरूको रूपमा सम्मान गरिएको हो ।