– कृष्णप्रसाद सापकोटा
यो आलेख तयार हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पतालको बेडमा छन् । देशकै कार्यकारी प्रमुख अस्वस्थ भएपछि सबैको ध्यान त्यसतर्फ खिचिने नै भयो । त्यसमाथि किड्नी ट्रान्सप्लान्ट गराएका बोलक्कड प्रधानमन्त्री ओली आफै पनि बेला–बेला आफ्नो भाषणमा ‘आफू नाफाको जिन्दगीमा बाँचिरहेकोले छोटो समयमै धेरै काम गरिदेखाउनु छ’ भन्ने वाक्य घुसाइरहन्छन् । यसरी नाजुक स्वास्थ्य अवस्थामा देशको सेवा गरिरहेका प्रधानमन्त्री बिरामी परेर रातारात अस्पताल पुऱ्याइएपछि घटना चर्चामा रहने नै भयो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको चर्चा उर्लिएकै कारण तत्काल सेलाउन नमिल्ने एउटा अर्को सन्दर्भ भने ओझेलमा पऱ्यो । त्यो सन्दर्भ थियो– ‘पूर्वप्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिहरूले राष्ट्रपतिसामु घुँडा टेकेर दशैँको टीका ग्रहण गरेको सन्दर्भ ।
खासगरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले घुँडा टेकेर टीका थापेको तस्बिर सामाजिक सञ्जालमा भाइरल मात्र भएन, राष्ट्रपतिका साथमा स्वयम् पराजुलीको समेत व्यापक आलोचना भयो । पराजुलीका अलावा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर वा अप्ठेरो गरी झुकेर टीका लगाएका तस्बिरमा देखिन्छन् । तर घुँडै टेकेको दृश्यचाहिँ पराजुलीको मात्रै देखिएकोले उनको बढ्ता चर्चा भयो । एकथरीले ‘राष्ट्रपतिको चाकडी गरेको’ भन्दै पराजुलीप्रति ब्यङ्ग्यवाण प्रहार गरे भने अर्काथरीले राष्ट्रपतिले ज्यादति गरेको भन्ने आरोप लगाउँदै ‘शितल निवास’प्रति आक्रोश पोखे ।
यसरी आमनागरिक तप्का पूरै तरङ्गित हुनु अस्वाभाविक पनि थिएन, किनकि सामान्य व्यवस्थापन गर्दा पुग्ने मामलामा विचार नपुर्याउँदा राष्ट्रकै सर्वोच्च मर्यादामा रहेको निकायबाट एउटा गम्भीर गल्ती हुन पुगेको थियो ।
टीका–प्रकरणका भिडियो र तस्बिरहरू हेर्दा प्रष्टै बुझ्न सकिन्छ कि त्यहाँ व्यक्ति हेरेर व्यवहार गरिएको छ । कसैलाई कुर्सीको व्यवस्था गर्ने कसैको पालोमा त्यो हटाउने गर्नु सामान्य मात्र चेत भएका व्यक्तिका लागि पनि चित्त बुझ्न नसक्ने प्रकारको छ । आफ्ना छोरी–ज्वाइँ, आफन्त तथा निकटजनलाई कुर्सीमा आरामले बसाएर टीका–आशीर्वाद प्रदान गर्ने राष्ट्रपतिज्यूलाई आफूकहाँ श्रद्धापूर्वक टीका ग्रहण गर्न आउने सबै नेपाली समान छन्, समान व्यवहार गरिनुपर्छ भन्ने विवेक नफुरेकै होला त ? यो अत्यन्त अस्वाभाविक लाग्ने सवाल पैदा हुन्छ । यदि राष्ट्रपतिज्यू कारणवश सामान्य शिष्टाचार पालना गर्नबाट चुक्नुभएको हो भने पनि राज्यको ढुकुटीबाट करोडौँ खर्च हुने गरी स्थापना गरिएको त्यत्रो राष्ट्रपति निवासको व्यवस्थापकीय संरचना के हेरिरहेको थियो ? कतै अशिष्ट व्यवहार प्रदर्शन गराएर आलोचना निम्त्याउन चाहनेहरू त त्यहाँ हाबी भइरहेका थिएनन् ? शङ्का उठ्छ । जनबलमा आएको गणतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री र नागरिकको टाउकोको पनि अलग–अलग स्थान हुन्छ र ? यस्तो त कल्पना गर्नै पनि सकिँदैन ।
आफूलाई शपथ दिलाउने व्यक्तिकै अपमान हुँदा त आफ्नै पनि अपमान हुन्छ भन्ने राजनीतिको लामो यात्रा तय गरेर यहाँसम्म आइपुग्नुभएको उहाँजत्तिको व्यक्तित्वलाई महसुस हुनैपर्ने हो । के गोपाल पराजुलीले घुँडा टेक्दा राष्ट्रपतिको शीर निहुरिएन र ?
राष्ट्रपति एउटा व्यक्ति नभएर देशकै सर्वाधिक मर्यादित तथा गरिमामाय संस्था हो । राष्ट्रपतिका पनि व्यक्तिगत जीवन नहुने होइन, तर राष्ट्रपतिबाट सार्वजनिक तवरले गर्ने–गराइने हरेक व्यवहारसँग मुलुककै प्रतिष्ठा जोडिएको हुन्छ, त्यो राष्ट्रपतिको निजत्वमा सीमित रहँदैन, रहन पनि मिल्दैन । आमनागरिकलाई टीका ग्रहणका निम्ति निम्त्याएर पन्पक्ष व्यवहार गर्नु त कल्पना गर्न नसकिने विषय हो । तर यस्तै अकल्पनीय व्यवहार राष्ट्रपति निवासमा हुन पुग्यो र पनि त्यसलाई हल्काफुल्का ढङ्गले सामाजिक सञ्जालमार्फत क्षणिक टीका–टिप्पणी गरेर त्यत्तिकै भुलाउने चेष्टा गरिएको छ । यो आलोच्य छ ।
यहाँ मनन गर्नुपर्ने एउटा महत्वपूर्ण कुरा के पनि छ भने दोस्रोपटक राष्ट्रपति चयन भएपछि विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशको हैसियतमा उनै पराजुलीबाट नै राष्ट्रपतिको पद तथा गोपनियताको शपथ लिनुभएको हो । तत्कालीन प्रधानन्यायाधीश पराजुली पदमुक्त भए । तर पदमुक्त भए पनि आफूलाई शपथ खुवाउने मान्छेलाई घुँडा टेकाएर टीका लगाइदिँदा राष्ट्रपति भण्डारीलाई पनि अप्ठ्यारो लाग्नुपर्ने हो । पराजुलीलाई मात्र होइन, अरु नागरिकलाई पनि यस्तो शैलीमा टीका र आशीर्वाद दिँदा आफ्नो पनि शीर निहुरियो भन्ने हेक्का उहाँलाई हुनुपर्ने हो । तर फोटोमा देखिने भावका आधारमा भन्नुपर्दा उहाँलाई त्यस्तो लागेको जस्तो देखिँदैन । यसरी आफूलाई शपथ दिलाउने व्यक्तिकै अपमान हुँदा त आफ्नै पनि अपमान हुन्छ भन्ने राजनीतिको लामो यात्रा तय गरेर यहाँसम्म आइपुग्नुभएको उहाँजत्तिको व्यक्तित्वलाई महसुस हुनैपर्ने हो । के गोपाल पराजुलीले घुँडा टेक्दा राष्ट्रपतिको शीर निहुरिएन र ?
राष्ट्रपति तथा राष्ट्रपति कार्यालयलाई व्यवस्थित तवरले सञ्चालन गर्न, उक्त संस्थाको मर्यादा जोगाउनकै निम्ति त्यहाँ निजामति, जङ्गी, सुरक्षालगायतका निकायबाट ठूलो सङ्ख्यामा कर्मचारी खटाइएको हुन्छ । शिष्टाचार सिकाउन वा सन्दर्भअनुसारको व्यवहार व्यवस्थापन गर्नकै निम्ति अलग कर्मचारी समूहका अलावा निजीदेखि कार्यालय सचिवहरू, तिनलाई पनि विधि–बाटो देखाउन विभिन्न विधाका सल्लाहकारहरू राज्यकै खर्चबाट नियुक्त गरिएका हुन्छन् । तिनीहरू सबैले आ–आफ्नो स्थानबाट जे–जति काम गर्ने हुन् ती सबै राष्ट्रपतिको गरिमा उठानकै लागि हुने हुन् । राष्ट्रपतिको सकारात्मक चाहना वा निर्देशनअनुसारको कर्म गर्ने, कतै राष्ट्रपतिबाट कमी–कमजोरी हुन लागे त्यो अवस्थाको पहिचान गर्दै कमजोरी हुन नदिने दायित्व बोेकेका पात्रहरू नै टीका–प्रकरणमा तमासे बनेको महसुस हुन्छ । उनीहरू चुस्त रहन सकेका भए यसरी राष्ट्रपतिको व्यवहारमाथि औंला उठ्ने अवस्था आउने थिएन । विद्या भण्डारी जस्ता शालिन व्यक्तित्वले ‘राजा–महाराजा जस्तो रवाफी शैलीमा प्रस्तुत भएको, सामन्ती ब्यवहार प्रदर्शन गरेको’ भन्ने आलोचना खेप्नुपर्ने थिएन ।
सल्लाहकार र सहयोगीको ध्यान नपुग्दा राष्ट्रपति विवादमा तानिनुभएको छ । राष्ट्रपतिको ध्यान नपुग्ने यस्तै–यस्तै कुरामा सहयोग तथा सल्लाह दिने काम सल्लाहकार र सहयोगीको हो । चर्चित मानव अधिकारकर्मीदेखि नियमकानुनका ज्ञाताहरू नै राष्ट्रपतिका सल्लाहकार छन् । तर टीकाका दिनको फोटो हेर्दा त, राष्ट्रपति कार्यालयमा हुने सामान्य कार्यक्रमको व्यवस्थापन गर्नको लागि पनि उचित सल्लाह समेत दिन उनीहरू चुकेका छन् ।
वास्तवमा सल्लाहकार र सहयोगीको ध्यान नपुग्दा राष्ट्रपति विवादमा तानिनुभएको छ । राष्ट्रपतिको ध्यान नपुग्ने यस्तै–यस्तै कुरामा सहयोग तथा सल्लाह दिने काम सल्लाहकार र सहयोगीको हो । चर्चित मानव अधिकारकर्मीदेखि नियमकानुनका ज्ञाताहरू नै राष्ट्रपतिका सल्लाहकार छन् । तर टीकाका दिनको फोटो हेर्दा त, राष्ट्रपति कार्यालयमा हुने सामान्य कार्यक्रमको व्यवस्थापन गर्नको लागि पनि उचित सल्लाह समेत दिन उनीहरू चुकेका छन् । उनीहरूले बुझ्नुपर्छ कि पूर्वप्रधानन्यायाधीश पराजुलीलगायत सर्वसाधारण नागरिकको शीर निहुर्याएर र घुँडा टेक्न लगाएर तिनीहरूको टाउको निहुरिने अवस्था आइपर्दा देशका राष्ट्रपतिको शीर पनि ठाडो हुँदैन । प्रकारान्तरले शीर निहुरेकै ठहर्छ ।
टीका लगाइदिँदै गर्दा राष्ट्रपति दरबारी रवाफमा देखिनुभयो । यो उहाँको आफ्नो चाहना हो भनी मान्न मुस्किल परेको परिवेशमा पक्कै पनि राष्ट्रपतिको अघिल्तिर सबैले घुँडा टेकून् भन्ने कसै न कसैको चाहनाले काम गरेको भान पर्दछ । के गणतन्त्रको राष्ट्रपतिबाट टीका लाउन जाने नागरिकले यसैगरी निहुरिनु पर्छ भन्न खोजिएको थियो ? यदि राष्ट्रपति कार्यालयको व्यवस्थापन गर्नेहरूको चाहना यस्तो हो भने यो मामला गम्भीर हो ।
त्यसो त घुँटा टेकेको तस्बिरका कारण सर्वाधिक चर्चामा आएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली स्वयमले आफू राष्ट्रपतिबाट अपमानित नभएको बरु घटनाको अनावश्यक चियोचर्चा चलाएर उल्टै राष्ट्रपतिलाई बदनाम गर्ने चेष्टा गरेको जस्ता अभिव्यक्ति सार्वजनिक गरेका छन् । यसरी मान–अपमानभन्दा माथि उठेर आफ्नो अभिव्यक्ति दिन पराजुली स्वतन्त्र छन्, तर यो कुनै व्यक्तिविशेषले ढाकछोप गर्न खोज्दैमा छोपिने र छोप्न मिल्ने कुरा होइन । सिङ्गै राष्ट्रको गरिमासँग जोडिएको सवाल हो । आज राष्ट्रपतिमा विद्या भण्डारी हुनुहुन्छ, उहाँले सो घटना आफ्नो व्यक्तिगत आचरणको कुरा हो भन्दै मान या अपमानको जिम्मेवारी स्वयम् लिने घोषणा गर्न पनि सक्नुहोला । तर, संविधानतः त्यो मान्य हुन सक्दैन । राष्ट्रपति व्यक्ति होइन संस्था हो । राज्यको गरिमामय संस्थाका हरेक सानोभन्दा सानो क्रियाकलाप पनि निगरानीमा रहन्छ । त्यसको मूल्याङ्कन हुन्छ । यसै आधारमा देशको इज्जत घट्ने–बढ्ने पनि हुुन्छ । आजका राष्ट्रपतिले गर्ने व्यवहारका छायाँ भोलि आउने राष्ट्रपतिको मान–मर्यादासँग समेत जोडिन सक्ने हुँदा व्यक्तिगत व्यवहार भनेर पन्छिन मिल्ने सवाल नै आउँदैन ।
समग्रमा भन्नुपर्दा राष्ट्रपति निवासमा भएको टीका–प्रकरणले कम्युनिष्ट पार्टीले नेतृत्व गरेको गणतान्त्रिक सरकार तथा राज्य व्यवस्थाकै धज्जी उडाएको छ । दशकौँदेखि आमनेपालीले भोग्दै आएको आडम्बरी–सामन्ती समाजवाद एउटा नयाँ रूपमा प्रकट भएको छ र यस्तै–यस्तै अन्य रूपहरू प्रकट हुँदै जाने आशङ्का र त्रास पैदा गराएको छ । के नेपाली जनता सधैँ ‘दुःखी प्रजा’ र नेता वा शासकहरू चाहिँ ‘सुखी राजा’ भइरहने तर्फकै यात्रा हो त नेपालको आजको लोकतान्त्रिक भनिएको गणतन्त्रात्मक शासन व्यवस्था ? यो सवालको जवाफ खोज्नैपर्ने परिस्थिति पैदा भएको महसुस गरिएको छ । अस्तु ।
