पार्टी एकीकरण भएको छ महिनापछि २००७ साल असोजको दोस्रो साता । सन् १९५० सेप्टेम्बर २६ र २७ मा रौतहट (जिल्ला) सीमापारिको भारतीय सहर बैरगनियाँको एउटा राइस मिलमा नेपाली कांग्रेसका दुई सयजति प्रतिनिधि जम्मा भए । त्यही सम्मेलनमा सशस्त्र क्रान्तिको नीति पारित भयो । नेपाली राष्ट्रिय कांग्रसले त्यसअघि महाराजधिराजको अधिनायकत्वमा शान्तिपूर्ण उपायद्वारा जनताप्रति उत्तरदायी शासनको स्थापना गर्ने नीति तय गरेको थियो ।
यस पटक भने महाराजधिराजको नायकत्वमा भन्ने शब्द राखियो । अनि जुनसुकै उपायद्वारा भन्ने नीति पारित भयो । यसरी औपचारिक रुपमै नेपाली कांग्रेसले सशस्त्र क्रान्तिलाई मुख्य राणनीति बनायो ।
मातृका, बीपी, सुवर्णलगायत नेताहरुको उपस्थितिमै गिरिजा सशस्त्र क्रान्तिको विपक्षमा उभिए । जुनसुकै उपाय भन्नाले हिंसात्मक भन्ने पनि बुझिन्छ “हामी शान्तिपूर्ण बाटोबाटै जानुपर्छ । धेरै प्रतिनिधि उनकै समर्थनमा थिए ।” तर दाजुहरु मातृका र बीपी सशस्त्र क्रान्तिको पक्षमा थिए । लेखकसँगको कुराकानीमा गिरिजाले भनेका छन्, “दाजुहरुको प्रस्तावविरुद्ध मैले नै अर्को प्रस्ताव दर्ता गराउँदा उहाँहरुलाई समेत गाह्रो भयो ।
मेरो अडानले चार घण्टाका लागि बैठक स्थगित भयो । मातृका बाबु चुप लागेर बस्नुभएको थियो । बीपी मलाई सम्झाउन लाग्नुभयो–तैले गरेको प्रस्ताव फिर्ता गर् भनेर । उहाँ भन्न थाल्नुभयो–तैंले अरु केही भन्नुपर्दैन । बस् मैलो राखेको प्रस्ताव फिर्ता लिन्छु भनिदिए पुग्छ । मैले भने– सान्दाजु तपाई भन्नुहुन्छ भने म प्रस्ताव फिर्ता गर्न तयार छु, मनले नमाने पनि । तर म हजुरको भनाइसँग सहमत भएर फिर्ताचाहीँ गर्दिनँ नि ! अब विचारको कुरा हो, सान्दाजुको सबै विचारसँग मेरो सहमति हुन्छ भन्ने पनि होइन । मैले प्रस्ताव फिर्ता लिएपछि सशस्त्र क्रान्तिको नीति पारित भयो ।” प्रस्तावमा भनिएको थियो, “अब उप्रान्त नेपाली कांग्रेसले नेपाल भित्रै काम गर्नेछ र राणाशासन समाप्त पार्न छिट्टै सशस्त्र क्रान्ति थाल्नेछ ।” क्रान्ति सञ्चालनका लागि मातृकाको अध्यक्षतामा बीपी र सुवर्ण सदस्य रहेको सुप्रिम कमाण्डर काउन्सिल गठन भयो । “मुक्तिसेनाको गठन, तालिम र परिचालनका साथै हातहतियार र गोलीगठ्ठाको व्यवस्थापन गर्नु त्यसको जिम्मेवारी थियो ।”
क्रान्तिकालमा पार्टी बैठक बसेर तत्काल निर्णय लिन सम्भव नहुने भएकाले “अध्यक्ष मातृकालाई सम्पूर्ण निर्णय गर्ने अधिनायकको अधिकार दिइयो ।” सम्मेलनमा डा केआई सिंहले नेतृत्वको कडा आलोचना गरी उपस्थित प्रतिनिधिलाई खुबै हँसाए । उनको प्रश्न थियो, के मिलिट्री डिक्टेटरको अधिकार राख्ने हाम्रा अध्यक्ष महोदयलाई ३ सय तीन राइफलमा प्रयोग हुने गोलीको लम्बाई कति हुन्छ, थाहा छ ? सम्मेलन स्थलमा हाँसो गुन्जियो । सशस्त्र क्रान्तिको प्रस्ताव पारित भए पनि नेताहरु शान्तिपूर्वक आन्दोलन गर्ने अभिव्यक्ति दिइरहेका थिए । खासगरी सभापति मातृका आफू गान्धीवादी भएकाले हिंसात्मक बाटोमा नजाने बताउँथे । अर्कोतर्फ प्रजातन्त्र कांग्रेस गठन गरेदेखि नै सुवर्णले मेजर पुरण सिंहको नेतृत्वमा मुक्तिसेनाको गठन र हातहतियारको खोजी कार्य थालेका थिए । आपेक्षित हात लागिसकेको थिएन । पार्टी एकीकरणपछि सुवर्णले बीपीसाग भनेका थिए, मेरो लाखौं रुपैयां खर्च भयो । सूर्यप्रसाद उपाध्याय यहाँ पाइन्छ, त्यहाँ पाइन्छ भन्थे, हामी दोडिएर पुग्थ्यौं, प्लेन थियो महावीरको ।
प्लेन लिएर आउनुस् भन्थे, अनि हामी पुग्थ्यौं । दुई दिन त्यहाँ बस्थ्यौं । भैगो, अब पुलिसले घेर्यो भन्नुहुन्थ्यो । कहिले रामनगरमा राखेको छ । यावत् कुरा गर्नुभयो, हाम्रो लाखौं रुपैयां खर्च भयो । काम भएन ।
पार्टी कमाण्डर मातृका भए पनि मुक्तिसेनाका वास्तविक कमाण्डर भने सुवर्ण नै थिए । एक दिन सुवर्णले बीपी र गणेशमानलाई आफ्नो निवासमा बोलाएर सोधे, “बीपी क्रान्ति गर्न कति पैसा चाहिएला रु” सुवर्णको अनपेक्षित प्रश्न सुनेर बीपी गणेशमानको अनुहारमा पुलुक्क हेर्न थाले । धेरै भने भड्किएलान भन्ठानेर बीपीले भने, कति चाहिएला र सुवर्णजी, २५–३० लाख । गणेशमानले भनेका छन्, अब आश्चर्यचकित हुने पालो सुवर्णजीको पाले थियो ।
अविश्वसनीय कुरा सुन्दा उहाँ तर्सिनुभयो र भन्नुभयो–बस् २५–३० लाख रुपैयां १ त्यतिले पनि कहीँ क्रान्ति हुन्छ ? नचाहीने कुरा ! बिनासंकोच दिल खोलेर भन्नुस कोइरालाजी । कति चाहिन्छ ? २५–३० लाखले पुग्छ भन्ठान्नुहुन्छ भने ल अहिले नै लिनुस्, एक करोड म तपाईलाई दिन्छु । यदि नगदै लिनुहुन्छ भने भलाई पाँच दिनको समय चाहिन्छ ।
विभिन्न बैंकमा रहेको रकम जम्मा गरेर एकमुष्ट दिनका लागि समय चाहिने सुवर्णले बताए । उनले भने, खर्च हुने रकममध्ये आधा भाइ महावीर शमशेरले ब्यहोर्नेछन् । थप रकम चाहियो भने पनि धक नमानेर भन्नुहोला, अर्को करोडसम्म दिन हामी तयार छौं । (जगत नेपालद्वारा लिखित बीपीको विद्रोह)