कोरोनाले देशलाई निम्त्याउन सक्ने संभावित अकल्पनिय चुनौतीहरुमध्यको एक दृष्य !!!

| 2020 May 09 | 10:14 am 2751

  • विकास-कल्याण

एक प्रकारले कोरोनाका कारण सम्पूर्ण विश्व लगभग अस्तव्यस्त हुने अवस्थामा पुगेकोछ भन्नु अनुचित नहोला । अहिलेसम्म यसको औषधि पत्ता नलाग्नु र संसारका शक्तिशाली र विकसित राष्ट्रहरु समेत यसको चपेटामा नराम्रोसंग पर्नु यसो हुन जानुका पछाडिका प्रमुख कारणहरु हुन । २०१९ सालको अन्त्यतिरबाट केहL हजारको संख्यामा बिरामी र एकाध स्थानमा रहेको यो संक्रमण लगभग पाँच महिनाको अन्तरालमा आइपुग्दा झण्डै सम्पूर्ण विश्वमा पुगिसकेको छ । हुन त यो अलिक अगाडि नै लगभग जताततै पुगिसकेको थियो । यस अवधिमा यसले झण्डै ४० लाख जनसंख्यामा संक्रमण र मृत्यु हुनेको संख्या ३ लाखको हाराहारिमा पुर्याउन लागिसकेको छ ।

हुन त उत्तिकै संख्यामा निको पनि भइनैरहेका छन। जे जस्तो भएतापनि नयाँ संक्रमण थपिने त्यो पनि हजारौको संख्यामा र त्यस्तै अनुपातमा दैनिक मर्नेको संख्यामा भने पट्क्कै कमि आएको देखिदैन । कहिलेकाही केही देशहरुमा देखिने संक्रमण र मर्नेको संख्यामा आउने कमिले भलै केही आशा जगाए जस्तो लाग्दछ तर त्यसले खासै ठूलो भिन्नता ल्याउन सकेको छैन । तथापि केही सकरात्मक सन्देश प्रवाह गर्न् पहल भने गरेको छ । हुन त विभिन्न नियन्त्रणका उपायहरुका माध्यमबाट केही देशहरुले जस्तै दक्षिण कोरिया, जापान, भियतनाम, जोर्डन अष्ट्रेलियाले ठूलो सफलता प्राप्त गरिरहेका छन । त्यसै गरी अरु देशहरुले पनि थप फैलिन नदिन अनेक जुक्तिका बाबजुद केही हदसम्म सफलता पाइरहेका छन । यद्धपी, समग्र संसारको अवस्थालाई हेर्ने हो भने स्थिति भयावह नै छ भन्नुपर्ने हुन्छ ।

विस्तारै बहुसंख्यक जनसंख्या भएका देशहरु जस्तै भारत, पाकिस्तान लगायत दक्षिण एसियामा पर्दै गरेको प्रभावलाई अध्ययन गर्ने हो भने नजानिदो तरिकाले दिनानुदिन नयाँ संक्रमण र मृत्यु हुनेको संख्या हिजोभन्दा आज र आजभन्दा भोली अनुपातिकरुपमा झन बढ्दै गइरहेको छ । यो एक किसिमले संवेदनशील कुरा हो । एक त कोरोनाको कारणले गर्नुपरेको लकडाउनको समय बढ्दै जादा उत्पन्न भइरहेको सुझ र अबुझको अवस्था, त्यसले सर्वसाधरण त्यसमा पनि ज्यालादार मजदुरहरुमा परिरहेको मानसिक र बाध्यात्मक परिस्तथिति र विभिन्न उपायका बाबजुद बढ्दो संक्रमण संख्या आदि कुरालाई अहिलेकै स्थितिमा सुक्ष्म तरिकाले केलाउने हो भने ठूलै प्रलयको अनुमान गर्नु पनि अन्यथा नहोला ।

विभिन्न अनुमानित एवं अकाल्पनिक स्थितिहरूले यस्ता देशहरुलाई एकैचोटि आक्रमण नगर्लान भन्न सकिदैन । कोरोनालाई विश्वका शक्तिशाली एवं वौदिक व्यक्तिहरुले समेत एक युद्धको संज्ञा दिने गरेकाछन । ठूला ठूला गोलाबारी नभएका भएतापनि यसबाट व्यहोर्नु परेको मानविय, आर्थिक एवै चौतर्फी क्षति भने गोलाबारिको भन्दा कम रहेन । माथि लेखिएका संभावित परिस्थितिलाई मध्यनजर राख्ने हो भने कतै यो एउटा युद्धबाट महायुद्धको अवस्थामा त जाने होइन ? सुन्दा आश्चर्य लागेता पनि सजिलै नकार्न भने देखिदैन ।

यसै सन्दर्भमा नेपालको संभावित परिस्थितिलाई नियाल्ने प्रयत्न गरौं । नेपालले पनि बाँकी विश्वले जेजस्तो नियन्त्रणका उपायहरु अपनाइरहेका छन् लगभग त्यस्तै नै गरिरहेको छ । कोरोनाको संत्रास देखाएर परिस्थितिलाई मत्थर पार्न खोजिरहेको भएतापनि दिनानुदिन बढ्दै गइरहेको असहज अवस्थालाई समयमै बुझ्न र त्यहि अनुरुप कदम चाल्न ढिला भएमा त्यसको परिणाम असोचनीय पनि हुनसक्ने अड्कल गर्न सकिन्छ । छिमेकी देश र दक्षिण एसियाका केही देशमा हुन सक्ने कोरोना विष्फोट र त्यसबाट नेपालमा पर्न सक्ने छिटा, धिमा भएपनि देशभित्र बढ्दै गइरहेको कोरोना संक्रमितको संख्या, लकडाउन संगै विश्वव्यापिरुपमा भइरहेको रोजगारीको समस्या र देश फर्कन लालाइत जमात, घरभित्रै बढ्दो वेरोजगार युवाहरु र देश भित्रका सिमित संभावना एवं वैदेशिक रोजगारीको साँघुरिदै जानसक्ने अवसर, लकडाउन खुकुलो बनाउनुपर्ने बाध्यता र खुकुलो बनाउदाका चुनौती, कोरोनाले निम्त्याउदै गरेको आर्थिक संकट, शक्तिशाली र विकसित देशसमेत अरुलाई केही गर्न नसक्ने अवस्थामा पुगिरहेको स्थिति, आदि सम्पुर्ण संभावित भेक्टरहरुलाई विश्लेषण गर्दा आगामी बाटो त्यति सहज भने देखिदैन ।

हुन त कुनै आश्चर्य भई कोरोना समस्या प्रक्षेपित परिस्थितिभन्दा अगावै सामाधान हुदै गयो भने त हामीले आफैलाई भाग्यमानी सम्झनुपर्दछ । राम्रो भएमा त लगभग यी विषय हराउदै जान्छन तर यतिखेर हामी सबैभन्दा खराब परिस्थितिको कल्पना गरी त्यसको सामाधानको उपायहरु सोच्नु नै वुद्बिमत्ता हुनेछ । खराब परिस्थितिको कल्पना गर्नुपर्ने कारणका पछाडि पनि हाल देखिदै गइरहेका संभावित विकराल संकेतहरु नै हुन ।

आजको भोलि नै समस्याहरु नदेखिन पनि सक्छन । तर यो अवस्था केही समयसम्म रह्यो भने पक्कै पनि नेपाल जस्ता
देशहरुमा यसले निम्त्याउने दुषपरिणाम भने चुनौति दिनेखालको हुनेछ । कोरोनाको कारणले लकडाउन लम्ब्याउदै जादा हुदाँ
खानेहरुको अवस्था एक पछि अर्को गर्दै झन खराब हुदैजाने स्थिति आइरहेको छ । हुनेखानेको लागि त ज्यानै प्यारो होला तर
गरिखानेले कहिलेसम्म सहलान ? लकडाउन गरिराख्यो, सरकारले कहिलेसम्म राहत बाडिराख्ने क्षमता राख्ला ? लकडाउन खुकुलो
गर्यो ह्वात्तै संक्रमण बढ्न सक्ने डर । हुनत संवेदनशील इलाकाको आधारमा यसलाई खुकुलो गर्दै परीक्षण पनि गर्दै लैजान सकिन्छ
तथापि नेपाल जस्तो देशलाई भनेजस्तो सजिलो भने पक्कै पनि छैन ।

अब लकडाउनले कहिले सम्म थेग्ला, त्यो भने हेर्न बाँकी नै छ । अति भयो भने खति हुन्छ भने जस्तो भोकाउदै जाने पेटलाइ कोरोनाले र लकडाउनले छेक्ला ? त्यतिखेरको नीति रणनीति खोई । हो यतिखेर जिम्मेवार तहमा रहेका व्यक्तिहरुलाई दुवैतर्फबाट गम्भिर नैतिक दबाब भने नकार्न सकिदैन । कोरोना संवेदनशीलता भर्सेस मानविय संवेदनाको स्थिति देखिइरहेको छ । दुवै अन्तत मानविय संवेदानामै गएर टुङ्गिन्छन । कोरोनाले लिने पनि ज्यान हो र यसको कारण उत्पन्न हुने संकटले पनि लिने ज्यान हो । उपाय नभएपछि मान्छले शेरसंग त लड्छ भने ज्यानकोलागि स्वस्फूर्त कोरोनासंग लड्न तम्तयार नहोला भन्न सकिन्न । कुन अवस्था होला त्यो, ध्यान पुर्याएका छौ त ! यसमा बढी प्रष्टाउन जरुरी छैन ।

अर्थतन्त्रका हिसाबले त झनै के नै कुरा गरि साध्य भयो र । विश्वका दश ठूला शक्तिशाली अर्थतन्त्र भएका मुलुकमध्य अमेरिका, बेलायत, फ्रान्स, इटलीलाई त कोरोनाले वेहाल जस्तै नै बनाइरहेको छ भने चीन, जापान, जर्मनी, क्यानडा, ब्राजिललाई समेत दोस्रो तहको असर गरिरहेको छ र यो बढ्दो अवस्थामा छ । दश मध्यको भारत भने यी सबै भन्दा कम प्रभावित रहेको छ तथापी यसले दक्षिण एसियालाई अबको केन्द्रविन्दु बनाउन सक्ने अनुमान धेरैको रहेको छ । यदि यस्तो भएमा यसले नेपाललाई समेत प्रत्यक्ष प्रभाव पार्ने कुरामा दुईमत हुनसक्दैन । दश मात्र नभएर विश्वका अन्य राम्रो अर्थतन्त्र भएका कैयन देशहरुको पनि हालत कम भने छैन । त्यसकारण विश्व अर्थतन्त्रमा पर्ने असर त छदैनै छ, यसको गतिलै प्रभावमा नेपाल पनि पर्ने वाला छ र त्यसका अवयवहरु देखेन थालिसकेमा छन् । देशभित्र सुस्ताइरहेको अर्थतन्त्रलाई मुर्झाउने काम नै आफैमा भिमकाय हुदैगइरहेको छ भने देशको कुल ग्राहस्थको झण्डै एक तिहाइ हिस्सा ओगटेको विप्रेषण पनि केही समयको लागि थलापर्ने अवस्थामा पुग्ने देखिन्छ ।

देशको अर्थतन्त्रको अर्को महत्वपूर्ण क्षेत्र पर्यटन र होटल व्यवसाय लगायत यससंग सरोकार राख्ने अन्य व्यवसाय एवं रोजगारी
समेत तत्काल पुनरागमन गर्नसक्ने स्थितिमा छैनन् । ठूला होटल व्यवसायीहरुले ६ महिनाकोलागि व्यवसाय बन्द गर्न गरेको निर्णयले
पनि यसलाई पुष्टि गर्दछ । कोरोना कम हुदै गएपनि विदेशी पर्यटक आउन सुरु हुन भने केही समय लाग्नेछ । भन्नुको मतलब देशको
अर्थतन्त्रमा र रोजगारी सिर्जना गरिरहेको यस क्षत्रको यो गति हुनु भनेको पक्कै पनि राम्रो होइन । कोरोनाको कारण विश्वभरिनै वेरोजगारी बढिरहेको छ भने नेपालले पनि त्यस स्थितिको सामाना गरिरहेको छ । देशभित्रका अर्थतन्त्रका यन्त्रहरु बन्दहुदै गइरहेको र यी पनि पुरानो स्थितिमा आउन निश्चित समय लाग्ने हुदा युवा जनशक्ति वेरोजगार भई यत्तिकै बस्नुपर्ने वातावरणको सिर्जना भइरहेको छ । अर्थतन्त्रमा परिरहेको गहिरो असरले गर्दा बजारमा लगानी एवं अर्थ चलायमान गराउने ठूला परियोजनाहरु समेत प्रभावित हुनेछन् जसको कारण वेरोजगारीको संख्या अझ वृद्धि हुनेछ । अर्कोतर्फ विदेशीएका युवाहरु समेत वेरोजगार भई देश फर्कनको लागि दिन हेर्दै बसिरहेका छन । अनौपचारिक तथ्याङ्क अनुसार झण्डै चालिस लाखको हाराहारिमा नेपालीहरु विदेश पलाएन भएका छन् । सरकारी भनाई अनुरुप अहिले लगभग पाँच लाख भन्दा बढि घर फर्कन चाहन्छन । यो संख्या अझ बढेर जाने सुनिश्चित छ ।

तत्काल विदेशी कम्पनीले कामदार बोलाउने संभावना पनि न्युन छ, यदि बोलाइ हाले पनि पहिला जस्तो परिणाममा भने हुनेछैन । कतिपय देशका कम्पनीहरुले कामदार कटौति गर्ने कार्यलाई तिव्र बनाइरहेका छन्, जसको पछल्लो उदाहरण कतारलाई हेर्न सकिन्छ । त्यसैगरी भारतले समेत देश फर्कन गरिरहेका आग्रहका समाचार समेत आउन थालेका छन । केही समय सबै देशले देश भित्रको रोजगारीलाई बचाउन तर्फ लाग्ने छन् । मतलब देशमा वेरोजगारको जमात अझ बढेर जानेमा कुनै शंका रहेन ।

यसरी देशभित्र गुम्सिएर रहेको झुण्ड र सरकारसंग असन्तुष्ट हुदै बाहिरबाट भित्रिने झुण्ड एक ठाँऊमा आउदा यसले निम्त्याउने चुनौति कस्तो
हुन सक्ला । यो एक्कासि देखिने कुरा होइन, यो त समय परिस्थितिले आफै बनाउदै लैजाने वातावरण हो । यस्तो जोस र जाँगरले भरिएको युवा शक्तिलाई लगाम लगाउन सकिएन भने यो के कस्ता दिशातर्फ मोडिएला ? कोरोनाका कारण अन्य क्षेत्रहरु जस्तै सामाजिक, शैक्षिक, विकास, सुरक्षा, मानसिक लगायतमा पार्ने असर र विश्व व्यास्थामा ल्याउन सक्ने परिवर्तन त छदैनैछन तर यो लेखमा केवल माथि उल्लखित विषयलाई मात्र झल्काई संभावित देशभित्र आउनसक्ने परिदृष्य संझाउन खोजिएको मात्र हो । मतलब यदि कोरोनाले चाँडै हराउने छाँट ल्याएन असफल भएको खण्डमा उल्लिखित कारकहरुले निम्त्याउने छुट्टा-छुट्टै परिस्थितिहरु कालान्तरमा एकै ठाऊ आइपुग्ने वातावरण सिर्जना भयो भने तिनले तत् समयमा हुने नेतृत्वलाई दिनसक्ने चुनौति र त्यसले निम्त्याउनसक्ने परिणाम अहिले अनुमान मात्र गर्नसकिएला । अहिले यस्तै नै हुन्छ भनेर किटान गर्नु भन्दा विगतमा यस्तै यस्तै वातावरणबाट उत्पन्न भएका परिस्थितिले हाम्रो देश भित्रै र विश्वका विभिन्न देश र स्थानहरुमा भएका
घटना एवं परिघटनाहरु र तिनका कारण आएका परिवर्तनहरु हाम्रा अगाडि प्रशस्तै छन् । उदाहरणको लागि ट्युनिसियामा भएको एकजना फुटपाथ पसलेले गरेको आत्मदाह र त्यसपछि तरंगित विश्व ।

यस्तै परिस्थितिलाई अवसरमा परिणत गर्न तम्तयार भएर बसेका अनेक तत्वहरुले यसको भरपुर फाईदा लिन सक्ने प्रबल संभावना रहन्छ । त्यसैले जिम्मेवार निकाय र व्यक्तिहरुले विलम्व नगरी हाल विकसित भइरहेको अवस्थाको कारण निकट र कालान्तरमा उत्पन्न हुनसक्ने परिस्थितिलाई सम्बोधन गर्न आजैबाट ध्यान पुर्याउन अति नै आवश्यक छ । यति जान्दा जान्दै पनि वेवस्ता गरेर बस्ने हो भने आउने दिनमा आम सर्वसाधारणले र सिङ्गो देशले यसको ठूलै मुल्य चुकाउन नपर्ला भन्न सकिने अवस्था छैन । हाम्रो चाहाना त कोरोनाको औषधि छिटो भन्दा छिटो पत्ता लागी यसबाट जतिसक्दो चाँडो पार पाउ भन्ने नै हो, तर अहिलेको अवस्थाले त्यो देखाइरहेको छैन । त्यसकारण खराब भन्दा खराब स्थितिकोलागि तयार हुनसक्यो भने त्यसले ठूलो क्षति हुनबाट जोगाउँदछ । यही नै वर्तमान सरकार, सरोकारवाला निकाय र वौदिक वर्गलाई अनुरोध हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.