कुवेत विमानस्थलमा सय बढी नेपाली यात्रु अलपत्र

रिपोर्ट नेपाल | 2018 Aug 21 | 08:54 am 3370

काठमाडौं, भदौ ५: वातिनिया एयरवेजले नियमित उडान नगर्दा कुवेत विमानस्थलमा सयभन्दा बढी नेपाली कामदार चार दिनदेखि अलपत्र परेका छन् ।

वातिनिया एयरवेजले प्राविधिक कारण देखाउँदै भदौ १ देखि नेपालको उडान बन्द गरेको हो। वातिनियाले गएको डिसेम्बरबाट दैनिक रुपमा कुवेत–काठमाडौं सिधा हवाई सेवा प्रदान गर्दै आएको थियो।

वातिनियाले कुवेतबाट नेपाल उडान बन्द गरेपनि कतार, साउदी अरबबाट ल्याइएका नेपाली कामदार कुवेतको ट्रान्जिटमा ल्याएर अलपत्र बनाएको छ।

‘भदौ १ तारिख बिहान ९ बजेको उडान थियो। म बिहान ७ बजे नै विमानस्थल पुगेको थिएँ,’ दमकका राजेन्द्र राजवंशीले कान्तिपुरलाई भने,‘ढिला भएको भन्दै १२ बजे उडान गर्ने बताएर राख्यो। त्यसपछि हामीलाई अर्को उडानको समय दिइएन।’

अलपत्र भएका कामदारलाई विमानस्थलको छेउमा रहेको सफिर होटलमा लगेर राखेको छ। एयरवेजको व्यवस्थापनले चार दिन बितिसक्दा पनि स्वदेश फर्किने उडान तालिका नदिइएको यात्रुहरुले बताए।

यात्रुका अनुसार कम्पनी बन्द भएर फर्केका २८ जनाको एउटै समूह छ। ‘ग्यान्स प्लान्टमा काम गर्ने कम्पनी थियो। बन्द भएर हामीलाई नेपाल पठाएको हो। सबै साथीहरुलाई लट लटमा पठाएको छ। कम्पनीबाट बल्ल निस्कन पाएका थियौं। विमानस्थलमा आएर फस्यौं,’ उनले भने,‘यता आइसकेपछि हामीलाई होटलबाट निस्कन दिइएको छैन।’

छोटो समयको विदा र आपतकालिन विदामा आएका कामदारहरु बढी पीडित बनेका छन्। ‘एक महिनाको आपतकालीन बिदामा जान लागेको थिएँ। ३ दिन कम्पनीमै बस्नुपर्‍यो। चार दिन त विमानस्थलमै भयो। अझै कति दिन बस्नुपर्ने हो, थाहा छैन,’ राजवंशीले भने।

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली यात्रुलाई यथासक्य छिटो उडान गर्नृको लागि एयरलाइन्सका व्यवस्थापनसँग कुराकानी भइरहेको वताए।

‘विमानस्थालमा कामदार उडान भर्न नपाउन साथ मैले नै एयरलाइन्सका उच्च अधिकारीसँग कुराकानी गरेको थिएँ। उनीहरुले जहाज अभाव भएर समस्या आएको बताएका थिए,’ उनले भने,‘व्यवस्थापनले वैकल्पीक ब्यबस्था गरेर नेपाल पठाउने प्रतिबद्धता जनाएको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.