काँग्रेसको समाजवाद र कम्युनिस्ट समाजवाद

रिपोर्ट नेपाल | 2018 Dec 19 | 01:24 pm 2103

राजनीतिक सिद्धान्तको आधारमा गरिनुपर्छ । कुनै पनि राजनीतिक दल वा दलको सरकारको आफ्ना नीति र कार्यक्रमको निर्धरण सिद्धान्तकै आधारमा तय हुन्छन् । देश निर्माणको खाका, शासन सञ्चालनको शैली र आधार पनि सिद्धान्तकै आधारमा निर्धारित हुन्छन् । विकसित मुलुकहरुमा त कुनै दलले चुनाव जित्नसाथ अब त्यो देशको नीति अमूक विषयमा यस्तो हुनेछ भनेर विश्लेषकहरुले ठोकुवा गरिहाल्छन् ।

नेपालको राजनीतिक दलहरुमध्ये नेपाली काँग्रेस लोकतान्त्रिक समाजवादको सिद्धान्तबाट अनुप्राअणित छ भने नेपाल कम्युनिस्ट पार्टी साम्यवादी सिद्धान्त वैज्ञानिक समाजवाद बमोजिम चल्ने भनिएको छ । दुई कम्युनिस्ट पार्टी मिलेर एउटा बनेपछि अब कम्युनिजम (साम्यवाद) ल्याउने रे ? अब के हो त लोकतान्त्रिक समाजवाद ? के हो वैज्ञानिक समाजवाद (साम्यवाद) ? साम्यवादको वेद भने पनि गीता भन पनि माक्र्स र एङ्गेल्सले मिलेर लेखेका दास क्यापिष्टल र कम्युनिस्ट घोषणा पत्र नै हुन् ।

जस अनुसार वैज्ञानिक समाजवादका मुख्य आधारहरु १. अतिरिक्त मूल्यको सिद्धान्त २. इतिहारको भौतिकवादी व्याख्या ३. अनिवार्य वर्ग संघर्ष ४. रक्त रिञ्जित क्रान्तिद्वारा पुँजीवादको अन्त्य पुँजीपति वर्गको अन्त्य र ५. सर्बहारा वर्गको तानाशाहीद्वारा वर्गविहीन समाजको स्थापना । जहाँ राज्य स्वतः विलोप भइसकेको हुन्छ अर्थात् राज्यविहिन, वर्गाविहिन, शोषण रहित, जात र धर्म विहिन र दमन उत्पीडन विहिन एउटा स्वतन्त्र समाजको परिकल्पना ।

तर विश्वमा आजसम्म जहाँ कम्युनिस्ट क्रान्ति भएर परिवर्तन आयो त्यहाँ कही पनि शोषण दमन विहिन स्वतन्त्र समाजतर्फ राज्य उन्मुख भएको देखिएन उल्टै राज्य चरम विभेदकारी, दमनकारी देखा पर्यो । त्यसैले जुनबेला जहाँबाट माक्र्सवादको प्रतिपादन भएको र वैज्ञानिक समाजवादको उद्घोष भएको थियो । उसैबेला उहिबाट वैज्ञानिक समाजवादका अवैज्ञानिक र अव्यवहारिक मान्यता र अवधारणा उपर कठोर आलोचना संशोधन प्रस्तुत भएका थिए र लोकतान्त्रिक समाजवाद अरु प्रष्टसँग अगाडि बढेको र कम्युनिस्ट समाजवादभन्दा फरक रुपमा अघि बढ्दै आएको छ ।

सूत्रगतरुपमा भन्नुपर्दा

१. लोकतान्त्रिक समाजवाद बहुलवादमा विश्वास गर्छ साम्यवादी दर्शन बहुलवादमा विश्वास गर्दैन । एउटै वर्गको सत्तामा विश्वास गर्छ ।
२. लोकतान्त्रिक समाजवाद सुधारवादमा विश्वास गर्छ (वसन्तमा पालुवा पलाएजस्तो शान्तिपूर्ण परिवर्तनमा विश्वास गर्छ । सहिष्णुता र समन्वयको आधार लिन्छ ।
कथित वैज्ञानिक समाजवाद अनिवार्य वर्ग संघर्ष र हिंसात्मक क्रान्तिमा विश्वास गर्छ । घृणा र निषेधको सहारा लिन्छ ।

अब बुदाँगत रुपमा

क. साम्यवादी समाजवाद रक्तपातपूर्ण क्रान्तिद्वारा पुँजीपतिवर्गको विनाश गरेर सर्वहाराले आफ्नो हातमा सत्ता लिएपछि समाजवादको थालनी हुन्छ भन्दछ ।

ख. तर लोकतान्त्रिक समाजवाद व्यापक जनचेतना र जनमत तयार पारी समाजवादमा आस्था राख्ने पार्टीले चुनाव जितेपछि संसदमार्फत कानुन बनाएर सुधारात्मक प्रक्रियाद्वारा क्रमशः समाजवादतिर अघि बढ्न चाहान्छ । व्यक्तिको विनाश होइन, सुधारमा विश्वास गर्छ । व्यक्तिको होइन प्रवृत्तिको अन्त्य चाहान्छ ।

ग. साम्यवाद वर्ग संघर्षमा तीव्रता ल्याएर वर्ग विरोधलाई बढाउन चाहान्छ । तर लोकतान्त्रिक समाजवाद समाजमा वर्ग संघर्षको विद्यमानतालाई स्वीकार्दा स्वीकार्दै पनि त्यसबाट उत्पन्न हुने उग्र घात प्रतिघातहरुबाट समाजलाई सकेसम्म जोगाएर परिवर्तनको प्रक्रियालाई शान्तिपूर्ण र अहिंसक दिशा दिन चाहान्छ ।

घ. साम्यवाद “साध्य असल छ भने जस्तोसुकै साधनबाट पनि त्यसलाई प्राप्त गर्न हिचकिचाउनु हुन्न” भन्छ तर लोकतान्त्रिक समाजवाद असल साध्यमा पुग्नका लागि भरसक साधन पनि असल नै भएमा परिवर्तन विवेकपूर्ण र टिकाउ हुन्छ भन्छ ।

ङ. साम्यवाद “सर्वहारा वर्गको अधिनायकवाद”को नाउँमा एक दलीय तानाशाही हो । लोकतान्त्रिक समाजवाद विरोधी दलको अस्तित्वलाई आदर गर्ने बहुदलीय प्रजातन्त्र हो ।

च. साम्यवाद जनवादी केन्द्रीयताको नाममा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सभा सम्मेलनको स्वतन्त्रता लगायतका तमाम मौलिक स्वतन्त्रता र अधिकारहरुबाट आम नागरिक बञ्चित रहन्छन् ।
लोकतान्त्रिक समाजवाद, लोकतान्त्रिक मौलिक अधिकारहरु सम्पूर्ण जनतालाई निर्वाध रुपमा उपभोग गर्न दिँदै प्रजातन्त्रात्मक साधनबाट समाजवादको लक्ष्यमा पुग्न चाहान्छ ।

छ. साम्यवादले व्यक्तिगत सम्पतिको उन्मूलन गरेर सारा जमिनजेथा, कलकारखाना र घरआँगन समेत सरकारीकरण गर्दछ । जबकि लोकतान्त्रिक समाजवाद हरेकले निजी सम्पति राख्न पाउने अधिकारलाई स्वीकार गर्दछ र व्यक्तिगत स्वतन्त्रतलाई कायमै राख्न चाहान्छ ।

ज. साम्यवादले सम्पूर्ण उद्योग व्यवसायहरुको राष्ट्रियकरण गरेर वा राज्य संरक्षित केही सिमित परिवार केन्द्रीत पूँजीवाद स्थापित गर्दछ । लोकतान्त्रिक समाजवाद केही आधारभूत उद्योग धन्धाहरुलाई मात्र सार्वजनिक नियन्त्रणमा लिई शोषण गर्ने पूँजीलाई नियन्त्रण गरेर अन्य साना ठूला उद्योगहरुलाई जनताको सामूहिक स्वामित्वमा सहकारिताको आधारमा र नीजि क्षेत्रमा संचालित गराउन चाहान्छ । प्रगतिशील कर प्रणाली लागू गरी त्यसबाट जम्मा हुने धनको प्रयोग तल्लो वर्गको जीवनस्तर उठाउने कार्यमा प्रयोग गर्दछ ।

झ. साम्यवाद कठोर र क्रुर पूँजीवादकै प्रतिरुप हो । त्यसमा स्वामित्वको नाम मात्र बदलिएको हुन्छ । व्यक्तिको ठाउँ राज्यको नोकरशाहीले लिन्छ । आर्थिक नमूना उही नै रहन्छन् ।

ञ. तर गान्धी र बीपीहरुले अर्थाएको समाजवाद भने मध्यम प्रविधिको आर्थिक मोडल अपनाएर केही आधारभूत उद्योगहरु बाहेक अधिकांशमा स–साना लघु उद्योगहरुलाई सरकारी सहयोगमा खोल्न लगाई गाउँ र शहरका मानिसहरुलाई समूहगत रुपमा संचालन गर्न दिएर सबैलाई स्वतन्त्र पेशा प्रदान गरनई काम मामको समस्या हल गर्न चाहान्छ ।

ट. साम्यवादी समाजवादमा व्यक्ति हराउँछ, समष्टिको नाउँमा व्यक्तिको बलिदान हुन्छ तर लोकतान्त्रिक समाजवादमा हर मानिसले व्यक्तित्व विकास गर्ने अवसर पाएको हुन्छ । राज्य भनौं वा समाज या समष्टि भनौं व्यक्तिको व्यक्तित्व विकासमा सहायक तत्वको रुपमा क्रियाशील रहन्छन् ।

ठ. साम्यवादले धर्मलाई जनताका लागि अफिम मात्र हो भन्यो र सारा मूर्ति र देवालयहरुलाई तोडफोड पार्यो तर लोकतान्त्रिक समाजवाद धार्मिक अन्धविश्वास र कट्टरताको आलोचक हुँदाहुँदै पनि व्यक्तिगत स्वतन्त्रतामा आस्था राख्ने सिद्धान्त भएको हुनाले कसैका धार्मिक भावनामा चोट पुर्याउन चाहदैन । केवल वैञानिक शिक्षाको प्रचार गरी संस्कृति र संस्कारमा परिष्कार ल्याउन चाहान्छ ।

ड. कम्युनिस्ट व्यवस्था अन्तर्गत नागरिक जीवनको प्रत्येक क्षेत्रमा सरकारले हस्तक्षेप गर्दछ । व्यक्ति आफ्नो पेशा रोज्न र शैक्षिक मार्ग रोज्न समेत स्वतन्त्र हुँदैन । हरेका पक्षबाट साम्यवादले सर्वसत्तावादको रुप लएको हुन्छ तर लोकतान्त्रिक समाजवाद समाजलाई अनावश्यक नियन्त्रणमा जकड्न चाहादैन, स्वतन्त्र र समानतामूलक समाज यसको लक्ष्य र आदर्श हो ।

ढ. साम्यवादले “भोको पेट र नाङ्गो शरीरहरुलाई प्रजातन्त्रको कुनै माने छैन” भन्ने तर्क प्रस्तुत गरेर राजनीतिक विकासको सवाललाई गौण राखेर केवल आर्थिक समानताको मात्र कुरा गर्छ र “प्रतिनिधि प्रजातन्त्र र राजनीतिक स्वतन्त्रता भनेको त बर्जुवा वर्गको विलासिता मात्र हो” भन्दछ तर लोकतान्त्रिक समाजवाद “गरीबमा आत्मा हुँदैन उसको संचालन पेटले मात्र गर्छ र उसलाई स्वतन्त्रता चाहिदैन” भन्ने खालको तर्कसित सहमत छैन । लोकतान्त्रिक समाजवाद “मानिस पेटले होइन मस्तिष्कले संचालित हुन्छ” भन्ने सिद्धान्तमा विश्वास गर्दै “आर्थिक समानताले मात्र हुन्न । राजनीतिक रुपमा पनि नागरिकले बराबर हक पाउनेपर्छ” भन्दछ । त्यति मात्र होइन “राजनीति ठिक नभए कुनै कुरा पनि ठिक हुँदैन र प्रजातन्त्र नै विकास र समानताको पूर्वधार हो” भन्ने कुरामा लोकतान्त्रि समाजवादको अगाध आस्था रहेको छ ।

ण. कम्युनिस्टहरु समाजवादको स्थापनाको लागि वर्ग चेतना अर्थात् शाषित वर्गको शोषण विरुद्धको चेतनालाई मूल आधार मान्दछन्।

त. जबकि लोकतान्त्रिक समाजवादीहरु आम जनताको राजनीतिक चेतनालाई समाजवादको मूल आधार मान्दछन् ।

थ. साम्यवादीहरुको उद्देश्य शासन–सत्ता प्राप्त गर्नु र त्यो शासन सत्तामा फेरि अरुलाई आउनै नदिनु जनताले उनीहरुलाई पदच्युत गर्नै नसकनु रहिआएको छ र सत्ता निरंकुश रहेको हुन्छ ।

द. लोकतान्त्रिक समाजवादी व्यवस्थामा जो पनि सत्तामा जान सक्दछ र एकपटक प्राप्त भएको सत्ता अर्कोपटक जनताको समर्थन प्राप्त नभएमा खोसिन पनि सक्छ, जनता निर्णायक हुन्छ, सर्वशक्तिमान हुन्छ । (रामचन्द्र पाैडेलद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.