कमिशनकै लागि बिरामी भारत पठाउने नेपाली डाक्टर र अस्पताललाई कारवाही गरिने

रिपोर्ट नेपाल | 2018 Sep 28 | 12:18 pm 3361

नयाँदिल्ली, असोज १२: नेपाली बिरामीहरुलाई ‘कमिशन’ का लागि अनावश्यक रुपमा भारतीय अस्पतालहरुमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टहरुलाई कारवाही गर्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सरकारलाई आग्रह गरेको छ ।

कमिशनकै लागि भारतीय अस्पतालहरुमा बिरामी पठाउने व्यक्ति तथा संस्थाको पहिचानका लागि गृह मन्त्रालय, स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता संरक्षण विभागको समन्वयमा तत्काल अनुसन्धान गर्न दूतावासले सुझाव दिएको छ। नेपाली दूतावासले कमिशनकै कारण नेपाली बिरामीहरुलाई अनावश्यक रुपमा भारतका क्लिनिक, नर्सिंग होम र उपचारका लागि भारतका आउने नेपाली बिरामीहरुमाथि यहाँका डाक्टर तथा स्वास्थ्य संस्थाहरुले चर्को आर्थिक शोषण गर्ने गरेको गुनासो बढ्दै गएपछि दूतावासले यस्तो कदम चालेको हो।

नेपाली बिरामी पठाएवापत प्रति बिरामी पन्ध्र प्रतिशत कमिशन दिइने गरेको छ। त्यसरी रिफर गरिएका बिरामीहरुसँग ती स्वास्थ्य संस्थाले दशदेखि पैतिस प्रतिशतसम्म थप रकमलिएर कमिशनमा खर्च गर्ने गरेका छन्। र, त्यसरी दिइने कमिशनलाई विभिन्न अनधृकित च्यानल मार्फत नेपाल पठाइने गरिएको छ।

कमिशनको यो खेललाई निरुत्साहित गर्न दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुले यहाँका विभिन्न अस्पतालका नेतृत्वलाई भेटेर कमिशनका लागि हुने गरेको चलखेल र नेपाली बिरामीहरुमाथि हुने अनावश्यक आर्थिक शोषण तत्काल बन्द गर्न पनि सचेत गराएका छन्। उक्त भेटमा नेपाली बिरामीहरुका लागि भारतीय बिरामीहरुसरह कै शुल्कको व्यवस्था गर्न पनि नेपाली अधिकारीहरुले आग्रह गरेको दूतावासले जनाएको छ।

‘कमिसनकै लागि नेपाली बिरामी सिफारिस गरिने गरिएको र त्यसबाट नेपाली बिरामीहरुमाथि आर्थिक शोषण हुने गरेको गुनासाहरु बढ्दै गएकाले यो पहल गरिएको हो,’ कार्यवाहक राजदूत भरतकुमार रेग्मीले भने।

उनको अनुसार कमिसनकै कारण नेपाली बिरामीले भारतीय बिरामीको तुलनामा चर्को शुल्क तिर्नुपर्ने बाध्यता समेत देखिएको छ। ‘हामीले यसलाई पनि बन्द गर्न यहाँका अस्पतालहरुलाई भनेका छौं,’ कार्यवाहक राजदूत रेग्मीले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.