– कृष्णप्रसाद सापकोटा
बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका एक युवालाई राजधानी काठमाडौंको सडकमा अत्यन्त अमानवीय, अपमानजनक र यातनापूर्ण ढङ्गले लछारपछार गर्दै प्रहरीले नाङ्गेझार तुल्याएको एक मार्मिक दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ । सो भिडियो दृश्यमा देखिएअनुसार प्रहरीको बर्बरताका कारण रन्थनिएका युवाको यथोचित उद्धार गरी सामान्य अवस्थामा ल्याउने प्रयास गर्नुको साटो अन्य प्रदर्शनकारी समेत तमासे मात्र बनेका छन् । यस्तो अत्यन्त दारुण अवस्थाको छ्यानविचार नै नगरी एक मिडियाकर्मी पीडित युवकसामु पुगेर एकाएक प्रश्न गर्छन्– ‘यतिबेला तपाईंलाई कस्तो लागिरहेछ ?’
पीडा र अपमानले रन्थनिएका ती युवाले एकछिन त बोली नै फुटाउन सकेनन् । जब दोहोर्याएर उही प्रश्न गरियो, उनी आक्रोशमिश्रित भावमा चिच्याए– ‘कस्तो लाग्नु !? देख्नुभएन मेरो हालत ? अपराधीलाई कारवाही गर भनी माग गर्दा यस्तो यातना भोग्नुपर्यो । यस्तो अवस्थामा कस्तो लाग्छ भनुँ म ?…’ प्रदर्शनकारीको भीडबाट प्रहरीले एकजनालाई मात्र घिसारेर बर्बर व्यवहार गर्दा पनि उपस्थित सबै तमासे मात्र बनेकोमा क्षुब्ध र दुःखी बनेका ती युवा भीडतर्फ फर्किएर पुनः चिच्याए– ‘तिमीहरू सब मरे हुन्छ, मर तिमीहरू !’ अनि भावुक मुद्रामा थपे– ‘थुक्क ! यस्तो देशमा बाँच्नुभन्दा त मर्नु नै बेस !’
एउटा भर्भराउँदो उमेरको, कसिलो कदकाठी भएको, मौका पाए निकै गरिखालान् जस्ता देखिने जोशिलो युवाको एकैछिनअघिको जोश र जाँगर मरेको स्पष्टै अनुभूति गर्न सकिन्थ्यो । उनी आफ्नो नियतिप्रति आत्मग्लानीले चूर बनेका थिए, त्यसैले त आफू जन्मेको देशलाई नै धिक्कार्दै थिए ।
राज्यका लागि आफ्ना हरेक नागरिक समान हुनुपर्ने हो । न्याय–अन्यायको कसीमा सबैलाई समान व्यवहार गरिनुपर्ने हो । तर वर्तमान सरकारले निष्पक्ष अभिभावकीय भूमिका निर्वाह गर्नूुको साटो राजनीतिक आस्थाको आधारमा व्यवहार गरिरहेको अनुभूति गरिएको छ ।
जुन परिस्थितिमा उनी देशलाई नै सराप्दै थिए, त्यो पटक्कै अस्वाभाविक थिएन । नागरिकको बोलवाला हुने गणतान्त्रिक शासन स्थापित भएको बेला ‘बलात्कारी र हत्यारालाई कारवाही गर’ भनेर सरकारलाई खबरदारी गर्नु अपराध पक्कै थिएन । तर, उनको त्यो सचेतनायुक्त क्रियाकलापलाई अपराध ठानियो र नागरिकलाई सुरक्षा दिनुपर्ने निकायबाटै असुरक्षित हुनुपर्यो । सबैका सामु अपमानित हुनुपर्दा, बर्बर यातना खेप्नुपर्दा र आफूवरपरका भीड केवल तमासे बनिरहँदा समाज र देशकै नियतिप्रति को निराश हुँदैन होला र ?!
आखिर आमनागरिकको मनमा यसरी देशप्रति नै घृणा उत्पन्न गराउने परिवेश कसको कारण निम्तियो ? यो यतिबेलाको ज्वलन्त प्रश्न हो । अनि, कुनै पनि अपराध र अपराधीलाई अपराधको प्रकृतिअनुसारको कारवाही गरी समाजमा शान्ति र सुशासन स्थापित गराउने बाचा गरेको सरकारले बलात्कारी तथा हत्यारा जोगाउन प्रपञ्च रच्दै गरेको जुन आशङ्का पैदा भएको छ, यसरी जनस्तरबाटै सरकारमाथि सन्देह खडा हुनु पनि अत्यन्त विडम्बनापूर्ण सन्दर्भ हो ।
कलिलो उमेरकी बालिका निर्मला पन्त बलात्कृत भई अकालमा ज्यानसमेत गुमाएको महिनादिन नाघिसकेको छ । यसबीच प्रहरी प्रशासन तथा मुलुकको उच्च निकाय गृह मन्त्रालयले निर्वाह गरेको भूमिका फितलो मात्र होइन, भ्रामक र दुर्नियतपूर्ण समेत देखिएको छ । अत्यन्त जटिलभन्दा जटिल र रहश्यपूर्ण ठानिएका घटनालाई समेत अनुसन्धान गरी गाँठो फुकाएर पटक–पटक प्रशंसा वा वाहवाहीको पात्र बन्दै आएको नेपाल प्रहरीले यो मामलामा अहिलेसम्म छेउटुप्पो फेला नपरेको जस्तो व्यवहार र बयानबाजी गर्नु अपत्यारिलो र हास्यास्पद कुरा हो । नेपाल प्रहरीका अब्बल अनुसन्धान अधिकृतहरूका लागि यो ग्लानी, क्षोभ र लज्जाको विषय पनि हो । किनकि, यदि दिलैदेखि चाहने र गहिरिएर खोजबिन गर्ने हो भने अपराधीको पहिचान गर्न कत्ति कठिन नभएको स्थानीय वासिन्दाहरू बताइरहेका छन् ।
आफ्ना मान्छे भए अपराधीलाई पनि चोख्याउन खोज्ने र विरोधि खेमाको भएमा निरपराधीलाई समेत धरापमा पार्न खोज्ने प्रवृत्ति असल र जनताको सरकारले दर्शाउन सक्दैन । यस अर्थमा कञ्चनपुर घटना वर्तमान सरकारलाई जाँच्ने एउटा कसी नै बनेको छ ।
यति मात्र होइन, घटनामा संलग्नता रहेको सम्भावित पात्रहरूबारे पनि स्थानीयले औंल्याइरहेको अवस्था छ । तर, स्थानीयले औंल्याएका पात्रविशेषलाई हिरासतमा लिएर सामान्य सोधपुछसम्म पनि नगरी मानसिकता खल्बलिएका व्यक्तिलाई जबर्जस्ती दोषीको रूपमा उभ्याएर प्रहरीले गम्भीर गल्ती गर्न पुगेको छ । परिणामतः जनआक्रोश उर्लिएको छ र आक्रोशकै बीच निर्दोष एक किशोरको अकालमा मृत्युसमेत भएको छ । प्रहरीको गोली लागेर कतिपय घाइते बनेका छन् । न्यायको माग गर्दा थप नागरिक अन्यायको पिसाइमा पर्नु अत्यन्त दुःखद घटना हो ।
राज्यका लागि आफ्ना हरेक नागरिक समान हुनुपर्ने हो । न्याय–अन्यायको कसीमा सबैलाई समान व्यवहार गरिनुपर्ने हो । तर वर्तमान सरकारले निष्पक्ष अभिभावकीय भूमिका निर्वाह गर्नूुको साटो राजनीतिक आस्थाको आधारमा व्यवहार गरिरहेको अनुभूति गरिएको छ । राजनीतिक आस्थाबाट पनि अघि बढेर अझ नातावाद, कृपावाद, आफन्तवाद र पहुँचवाल जिन्दावाद भन्ने खालको नीति अनुशरण गरिरहेको आभास हुन थालेको छ । होइन भने सत्तासीन नेकपाकै तमाम कार्यकर्ताले समेत बलात्कार र हत्याकाण्डको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कारवाही गर्न माग गरिरहेका छन्, सरकारले यो किन सुन्न सकेन ? आफ्नै कार्यकर्ता, मतदाता र शुभचिन्तकहरूको भावनाको कदर किन गर्न सकेन ? यसबाट अत्यन्त महत्वाकाङ्क्षी र ठुल्ठूला सपना देखाएको ओली सरकार पनि झुठो र ढोँगी रहेछ भनी आरोप लगाउन बाध्य हुनुपर्ने अवस्था निम्तिन सक्छ । किनकि, जघन्य अपराधमा समेत पीडितलाई न्याय र पीडकलाई कारवाही गर्न चुक्ने सरकारले असल काम गर्न सक्ला र गर्ला भन्ने विश्वास गर्न सकिँदैन ।
नागरिकको हृदयमा विद्रोहको भावना त्यसै जाग्दैन, राज्य विवेकहीन हुँदा नै यसरी जनता आक्रोशमा आउँछन् । र, जनआक्रोश उर्लिएपछि के मात्रै हुँदैन ?– यो त वर्तमान नेताहरू सबैलाई जानकारी छँदैछ ।
आफ्ना मान्छे भए अपराधीलाई पनि चोख्याउन खोज्ने र विरोधि खेमाको भएमा निरपराधीलाई समेत धरापमा पार्न खोज्ने प्रवृत्ति असल र जनताको सरकारले दर्शाउन सक्दैन । यस अर्थमा कञ्चनपुर घटना वर्तमान सरकारलाई जाँच्ने एउटा कसी नै बनेको छ । जति बिग्रनु मामला बिग्रिसकेको छ, तर अझै पनि निष्पक्ष छानविन गरेर दोषी पहिल्याई सरकारले आफ्नो छवि सुधार गर्ने मौका बाँकी नै छ । नागरिक तहबाट स्वतःस्फुर्त रूपमा उठेका आन्दोलन र जायज विरोध प्रदर्शनलाई पनि ‘सरकारलाई बदनाम गर्ने विपक्षी दलको षडयन्त्र’ देख्नु सत्ताधारी दल र यसका नेताहरूको ठूलो भूल हो । यो महसुस नगरी उल्टै न्यायको पक्षमा आवाज उठाउनेमाथि नै बर्बर ढङ्गले प्रस्तुत हुने हो भने माथि प्रस्तुत गरिएका युवाजस्ता एक–एक युवाले सरकारलाई सराप्नेछन्, आफ्नै मातृभूमिलाई धिक्कार्ने छन् र यस भूमिमा बाँच्नुभन्दा मर्नु नै निको भन्दै पलायनको बाटो रोज्ने छन् ।
हुन पनि राज्य नै नागरिकको हितविपरीत चल्न खोज्छ भने आशा र विश्वास त कताबाट पो पैदा हुन्छ र ? नागरिकको हृदयमा विद्रोहको भावना त्यसै जाग्दैन, राज्य विवेकहीन हुँदा नै यसरी जनता आक्रोशमा आउँछन् । र, जनआक्रोश उर्लिएपछि के मात्रै हुँदैन ?– यो त वर्तमान नेताहरू सबैलाई जानकारी छँदैछ । सम्बन्धित सबैमा चेत फिरोस् । अस्तु ।