गत निर्वाचनमा पार्टीको पराजयले हामीलाई झक्झकाएको छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रको दयनीय अवस्था, नेता तथा आवद्ध सदस्यहरुको उच्छृखंल तथा गैह्रजिम्मेवार आचरण र कर्मशीलताको खडेरी आजको काँग्रेस पार्टीभित्र तितो वास्तविकता हो । हालका वर्षहरुमा पार्टीको आन्तरिक जीवनमा नैतिक मूल्य मान्तामा ह्रास झन् थपिएको छ ।
एकातिर चरित्रवान र कर्मठ सदस्यहरु उदासिन हुन पुगेका छन् भने अर्कोतिर पार्टीभित्र प्रसावाल, परिवारवाद र बाहुबलीको बढ्दो प्राथमिकताले पार्टीभित्रै अन्तरघातको संस्कृति मौलाउँदै गएको छ । परिणामतः दक्षिण एसियाकै महत्वपूर्ण राजनीतिक दलको रुपमा रहेको नेपाली काँग्रेस संसद र बाहिर पनि कमजोर उपस्थिति रहन गएको छ ।
यो भन्दा दुःख लाग्दो अवस्था के हुन सक्छ ? काँग्रेसकोे यो दुरावस्थाबाट माथि उठाउन हामी सबैको एकीकृत र साझा प्रयास जरुरी छ । संगठनका सबै संस्थागत क्षेत्रहरुमा व्यापक परिवर्तन र सुधार जरुरी छ । मेरो विचारमा कुनै पनि संगठनका तीनवटा संस्थागत तत्वहरु हुनछन्।

एक, लोकतान्त्रिक र समयसापेक्ष विधान जसले तयस संस्थामा आवद्ध व्यक्तिहरुलाई नियमन गर्छ । अर्को, उनीहरुको सांगठनिक त्रियाकलापमा वृद्धि गर्छ । विधानबाट अगाडि बढ्दा संस्थासित आवद्ध सदस्यहरुको मूल्याङ्कन गरी वृत्ति विकास समेतमा अभिपे्ररित गर्छ । तसर्थ, हामीले विधानलाई २१ औं शताब्दी तथा संघीयताका सन्दर्भमा परिमार्जन गर्नुपर्दछ ।
दुई, वैचारिकरुपले प्रखर र दूरदर्शी नेतृत्व सांगठनिक रुपले क्रियाशील, निष्ठावान, क्षतावान, चरित्रवान व्यक्तिहरुलाई काँग्रेसको नेतृत्वदायी भूमिकामा अगाडि ल्याउने ठोस कार्ययोजना हुनुपर्छ । पार्टीको तल्लो निकायदेखि माथिल्लो निकायसम्म यस्ता सक्षम, प्रतिबद्ध र चरित्रवान नेतृत्व स्थापित गर्ने अभियान काँग्रेसको रहनेछ ।
नेता वा नेतृत्व भन्नसाथ उसको व्यक्तित्वमा अरु सद्गुणका अतिरिक्त सोच्ने, बोल्ने र गर्ने क्षमता तथा क्रियाशीलता अनिवार्य छ । समसामयिक राजनीतिमा हाम्रा प्रतिस्पर्धी पार्टी नेतालाई नै हेरौं– उनीहरु यिनै गरणले प्रभावशाली जस्ता बनेका छन् । नेतृत्वको गुणमध्ये साहस एक मानिन्छ । तर दुसाहासीहरुले पार्टी र प्रजातन्त्रलाई दुर्घटनाग्रस्त तुल्याएका छन् ।
यसका अतिरिक्त देशले इमान्दार जिम्मेवार र तयागी नेता खाजेको छ । निष्ठाको राजनीतिको कुरा त्यसै आएको हैन । दूरगामी योजना र कल्पना बिना संगठन र देशको प्रगति गर्न सकिन्न । यो सबै कुरा विचार गरेर नेतृत्व छान्नुपर्छ । नेताले कार्यकर्ताको मूल्याङ्कन गर्न सक्नुपर्ने मात्र हैन कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्न सक्नुपर्छ ।
नोवेल पुरस्कार विजेता प्रसिद्ध विद्धान प्रा. अमत्र्य सेनले भनेका छन् “समानता र स्वतन्त्रताको आदर्शले ओतप्रोत नभएका राजनीतिज्ञरु विलकुलै कुटिल, धुर्त, संवेदनाहीन, महत्वाकांक्षी र तिगडमवाज चरित्रका हुन्छन्, जो साधनको पवित्रतामा विश्वास गर्दैनन् र साध्यलाई नै सबै चिज ठान्दछन् । जसकारणले राजनीति षडयन्त्रकारीहरुको घिनलाग्दो खेलका रुपमा बदनाम हुन पुग्दछ । नेतृत्वको चरित्र सत्ताकाप्रति नेताको दृष्टिकोणमा भर पर्छ । उसको सोख सत्ता हो भने उसले मानिसहरुलाई प्यादा सरह प्रयोग गर्छ । यदि उसको सोख जनता हो भने सत्ताद्धारा जनताको भलो गर्छ । उसले जनताको भावना र सम्बन्ध अनुसार काम गर्छ ।” अब हाम्रा नेता कस्ता छन् ? हेर्नोस् र निराशा कहाँबाट जाग्यो, बुझ्नोस् ?
तेस्रो, युग सुहाउदो विचार संस्थागत तत्वमध्ये एक सम्बन्धित पार्टीले लिएको लक्ष्य वा उद्देश्य पनि महत्वपूर्ण हो । त्यसो त, आजको नेपालमा जसरी वर्तमान सरकार कम्युनिस्ट प्रतिगमनहरुलाई ब्यूँताउन र नेपालमा अझै राजनीतिक संक्रमण निम्त्याउने उद्देश्यले अगाडि बढिरहेको छ, यसले नेपाली काँग्रेसलाई सामाजिक न्याय, लोकतन्त्र, नागरिक अधिकार र स्वतन्त्रता, उदारवाद आदिका लागि कार्य गर्न ठूलो अवसर दिने सम्भावना त छदैंछ तर खासगरी भूमण्डलीकरणको सन्दर्भमा काँग्रेसको आफ्नो नीति र लक्षयलाई समयानुकुल परिष्कृत र पुनःलेखन गर्न आवश्यक छ ।
आजको वैदेशिक वा घरेलु नीति कोरा सैद्धान्तिक नभई व्यवहारिकतामा आधारित हुनुपर्दछ । यस सन्दर्भमा राडिकल सेन्ट्रिस्मको मुख्य विशेषता नै व्यवहारिकता वा यथार्थवादित हो जसले संयुक्त अधिराज्यका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरलाई “थर्ड वे” लेख्न प्रेरित गर्यो यसै विचारबाट अमेरिकाका पूर्व राष्ट्रपति विल क्विन्टन पनि उल्लेख्य रुपमा प्रभावित थिए ।
बीसौं शताब्दीको अन्त्यतिर पश्चिमा मुलुकहरुलाई स्थायित्व र विकास प्रदान गर्न यस सैद्धान्तिक नीतिको ठूलो हात रहेको छ । आज एक्काइसौं शताब्दीको प्रारम्भिक चरणमा, जबकी बाम र दक्षिणपन्थीहरुको केबल यूरोप–अमेरिका मात्र होइन हाम्रा छेउछाउ समेतमा पनि, हावा चलिरहेको सन्दर्भमा नेपालमा “मध्यमार्गी” राजनीतिको ठूलो महत्व टड्कारिएको देखिन्छ । “मध्यमार्गी” राजनीतिले दक्षिण र बाम उग्रतालाई मत्थर पार्दै मुलुकलाई स्थायित्व र समृद्धितिर डोर्याउन सक्छ ।
प्रस्टरुपमा भन्नुपर्दा सामाजिक न्याय सहितको आर्थिक वृद्धि नेपाली काँग्रेसको नीति हो र त्यसको प्राप्तिको लागि राष्ट्रको राजनीतिमा स्थान भनेको राडिकल सेन्टर नै हो भनेर हामीले बुझ्नुपर्दछ । यसबाट नेपाली काँग्रेस विचलित हुनुहँदैन । म तयसैका लागि कटिवद्ध र संघर्ष गरिरहेको छु । सामाजिक लोकतन्त्रको शाश्वत पक्षलाई हामीले अघि बढाउनै पर्छ ।
संक्षिप्तमा भन्नु पर्दा, नेपाली काँग्रेसको पुनर्जीवनको पहिलो आधार पार्टीको विधानमा समय सापेक्ष सुधार, दोस्रो, केन्द्रदेखि तलसम्म वैचारिकरुपले सक्षम अनुशासित र चारित्रिक रुपले निष्कलंक पार्टी नेतृत्व उत्पादन गर्ने । तथा, तेस्रो–काँग्रेस पार्टीको समय सान्दर्भिक लक्ष्य र उद्देश्य प्रष्टाउने र राष्ट्रमा यसको “केन्द्रीय” राजनीतिक स्थान सुरक्षित राख्ने । यी तीन संस्थागत तत्वहरुमा सुधार आवश्यक छ । यी सुधारहरु भएको खण्डमा नेपाली काँग्रेसले निश्चित रुपमा पुनर्ताजगी प्राप्त गर्नेछ र सिङ्गो राष्ट्रप्रतिको जिम्मेवारी सशक्त ढंगले सम्पन्न गर्नेछ ।
ध्यान दिनुपर्ने तीन कुरा
१.मध्यमार्गी एक गतिशील विचार हो । समयको गति र जनचाहना संगै आफूलाई हिडाउन सक्नु मध्यमार्गी स्वभाव हो । आजको यूरापेली मध्यमार्गीहरु कही तेस्रो बाटोको नाममा, कही नयाँ केन्द्रको नाममा आफूलाई यूग सुहाउदो बाटोमा हिडाइरहेका छन् । र समाजवादको समय गइसक्यो भनिएको अवस्थामा पनि यूरोपेली समाजवादीले सफलता हासिल गरेका छन् ।
२. हाम्रो पार्टीभित्र अहिले नयाँ किसिमले शुद्धिकरणका आपेक्षाहारु अभिव्यक्त भइरहेका छन् । त्यो शुद्धिकरणका दिशामा अघि बढ्न सर्वप्रथम आफैंलाई सच्याउने उदारता र लचकता हामीबाट पनि समाजले आपेक्षा गरेको होला भनेर बुझ्न सक्नुपर्छ । पार्टीलाई आज यो हविगतमा पुर्याउने दुईटा कुरा हुन्–गुटवन्दी र भ्रष्टाचार । दुबैले एक अर्कालाई सघाउ पर्याइरहेका छन् । पार्टी र प्रजातन्त्रलाई निरन्तर क्षति पुर्याउँदै आएका छन् ।
३. नेपाली काँग्रेसमा अहिले जुन दुर्घटना भएको छ र पार्टीलाई जुन क्षति पुगेको छ, यसलाई हामीले पार्टीमा नयाँ ज्यान भर्ने अवसरको रुपमा लिनुपर्छ । यही मौका पारेर पार्टी भित्रको धुलो मैला सफा गर्ने, पार्टी भित्रको द्धिविधा र अन्योलको अन्त गर्ने रुढिग्रस्त मानसिकता र जडतालाई पन्छाएर प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा काँग्रेसलाई उजिल्याउने एउटा नयाँ अवसरको रुपमा यस परिस्थितिलाई उपयोग गर्नुपर्छ ।(रामचन्द्र पाैडेलद्वारा लिखित)