महानिरीक्षक खनालकाे अातिथ्यतामा प्रहरी संचार दिवस सम्पन्न

| 2018 Jul 17 | 07:26 pm 3917

काठमाडौं,साउन १ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्वबारे चर्चा गर्दै प्रहरी कार्यमा सूचनाको अभावमा उत्पन्न हुनसक्ने जटिलता न्यूनिकरण गर्न संचार प्रविधिको आवश्यकता र यसको प्रयोग विकासको अपरिहार्यता रहेको बताएका छन् ।

महानिरीक्षक खनालले आज मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस कार्यक्रमको उद्घाटन गर्दा बताएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार म्यासेन्जर तथा सरुवा व्यवस्थापन सूचना प्रणाली एप्लीकेशनहरुको समेत उद्घाटन गर्दै यसबाट संचार क्षेत्रमा हुने काम कारवाहीमा थप गोपनियता तथा पारदर्शिता हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिँदै महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुले प्राप्त साधन स्रोतलाई उच्चतम प्रयोग गरी सांगठनिक छवि अभिवृद्धि गर्न व्यावसायिक निष्ठा, पारदर्शिता एवं ईमान्दारिताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने कुरामा विशेष जोड दिएका थिए ।

उद्घाटन समारोहमा संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा। राजिव सुब्बाले स्वागत मन्तव्य तथा नेपाल प्रहरीको संचार प्रणाली आधुनिकरण तथा सुढ्ढीकरण सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

उक्त अवसरमा संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार एप्लीकेशनहरुको बारेमा प्रहरी निरीक्षक ई। अरेन्द्रप्रसाद सिंहले जानकारी दिएका थिए ।

प्रहरी महानिरीक्षक खनाल र मातहत विभिन्न कार्यालयका संचार ईन्चार्जहरुबीच अन्तरक्रिया समेत भएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.