बढ्यो भीड, बढेन व्यापार

रिपोर्ट नेपाल | 2022 Sep 25 | 07:27 am 1029

काठमाडौँ, असोज ९ः दशैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । ठूलाठूला व्यापारिक मलदेखि सडकपेटीमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ । एक सातायता बजारमा दैनिक उपभोग्य वस्तुुदेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढ्दै गएको हो । सार्वजनिक बिदाको दिन भएकाले शनिबार काठमाडौँको मुख्य व्यापारिक केन्द्र नयाँ सडकमा किनमेल गर्नेको भीडभाड झन् धेरै थियो । दशैँ मान्न उपत्यकाबाहिर घर जानेहरू चाँडै किनमेल गरेर घर फर्कने हतारोमा देखिन्छन् ।

कारोबार कम छ

बजारमा ग्राहकको भीड बढे पनि कारोबार भने घटेको व्यापारी बताउँछन् । सामान्य वर्षको दशैँको तुलनामा यस पटकको दशैँको कारोबार आधाले घटेको व्यापारीको भनाइ छ । नयाँ सडकको तयारी कपडा बेच्ने गुप्ता सप्लायर्सका सञ्चालक दिनेश गुप्ताले बजारमा देखिएको भीडजस्तो कारोबार बढ्न नसकेको बताए । “दिनप्रतिदिन ग्राहकको सङ्ख्या बढ्दै छ तर विगतका वर्षजस्तो व्यापार बढ्न सकेको छैन,” उनले भने । विगतका दशैँमा दैनिक ५० देखि ६० हजार रुपियाँको कारोबार हुने गरेकामा अहिले २५ देखि ३० हजार रुपियाँको कारोबार हुने गरेको उनले बताए।

नयाँसडक, मखन टोलको बिक्की स्टोरका सञ्चालक विक्की रौनियारले दशैँको चहलपहल बढे पनि कारोबार उत्साहजनक नभएको बताए । “विगतका दुई वर्ष कोभिड–१९ को कारणले व्यापार हुन सकेन । यस पटक बैङ्कमा तरलता अभाव र चर्काे ब्याजले गर्दा व्यवसायीले लगानी गर्न नसक्दा व्यापार बढ्न सकेको छैन,” रौनियारले भने ।

भृकुटीमडण्डपमा १५ वर्षदेखि जुत्ताचप्पलको व्यापार गर्दै आएका काभ्रेका पूर्ण लामाको अनुभव पनि यस्तै छ । विगतका वर्ष दशैँको बेला दिनमा ४० देखि ५० हजार रुपियाँको व्यापार हुने गरेकामा अहिले आधाले घटेको उनले बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले कारोबार घटेर ५० प्रतिशतमा झरेको बताए । “बैङ्कमा तरलता अभाव, चर्काे ब्याज र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका कारण व्यापार बढ्न सकेको छैन,” उनले भए । अहिले खुद्रा व्यापार नियमित रूपमा भए पनि थोक व्यापारमा कारोबार बढ्न नसकेको पूर्वअध्यक्ष कटुवालले जानकारी दिए । “साना व्यवसायीलाई बैङ्कले ऋण दिँदैन, सहकारीबाट निकाल्नुपर्छ । सहकारी समस्यामा परेकाले ऋण पाउन नसक्दा व्यवसायीलाई आर्थिक सङ्कटमा छन्,” उनले भने ।

सामानको कमी

ग्राहक र व्यापारीको एउटै गुनासो छ, बजारमा पर्याप्त सामान छैन । ग्राहक सामान छान्न नपाएको गुनासो गर्छन् भने व्यापारी पर्याप्त सामान हाल्न नसकेको बताउँछन् । खासगरी अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको, आर्थिक मन्दीको अवस्था आएको, कर्जा नपाएको र ब्याजदर बढेका कारण पर्याप्त सामान ल्याउन नसकेको व्यापारीको गुनासो छ । उत्तरतर्फका नाका बन्द भएका कारण दशैँलाई लक्षित गरेर ल्याइएका सामान समयमा आउन नसक्दा पनि व्यापार बढ्न नसकेको नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले बताए ।

मूल्य बढ्यो

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले भन्नुभयो, “बैङ्कमा तरलता अभाव, चर्काे ब्याज र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका कारण व्यापार बढ्न सकेको छैन ।”

“१० देखि १५ प्रतिशतसम्म सामानको मूल्य बढेको छ,” भृकुटीमण्डपका पूर्ण लामाले भने । भृकुटीमण्डप खुला बजारलाई सस्तो चिनियाँ सामानको बजार भनेर चिनिन्छ । यो वर्ष खरिद मूल्य नै बढेका लागि उपभोक्तालाई थप मूल्य भार परेको उनले जानकारी दिए । भृकुटीमण्डपमै १२ वर्षदेखि कपडाको व्यापार गर्दै आएका ओखलढुङ्गाका योगेन्द्र लामिछानेले सामानको खरिद मूूल्य नै बढेर आएको र बजारमा पर्याप्त मात्रामा नयाँ सामान नहुँदा पुरानै सामान बिक्री गरिरहेको उनले बताए ।

सुनचाँदी कारोबारमा छैन उत्साह

सिजन सुरु भए पनि बजारमा सुनचाँदीको कारोबार भने उत्साहजनक अवस्थामा हुन सकेको छैन । सुनचाँदी कारोबारको मुख्य सिजन तीज, दशैँ र तिहार भए पनि बजारमा सुनको अभाव हुँदा कारोबार बढ्न नसकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले कारोबारको मुख्य सिजन भए पनि आर्थिक सङ्कुचनका कारण सुनचाँदीको कारोबार बढ्न नसकेको बताए । “विगतका दुई वर्ष कोभिड–१९ का कारण व्यापार हुन सकेन । यो वर्ष बजारमा सुनको अभावका कारण कारोबार बढ्न सकेको छैन,” उनले भने ।

महासङ्घका अनुसार दशैँमा सामान्य अवस्थामा दैनिक ३० देखि ३५ केजी खपत हुने गरेको थियो तर दैनिक बिक्री २५ केजी मात्रै गर्न सकिएको महासङ्घले जनाएको छ । बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपियाँ र चाँदी प्रतितोला एक हजार दुई सय रुपियाँ रहेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.