परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल | 2026 Sep 06 | 03:10 pm 65

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा भोटेकोशी नदीमा आएको बाढीपछि नेपालमा भइरहेको खोज तथा उद्धार अभियान र राहत व्यवस्थापनका विषयमा छलफल भएको हो।

भेटमा मन्त्री खनालले बाढीपछिको उद्धारमा सहयोग पुर्‍याएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका थिए। विशेषगरी कोरियाबाट विपद् उद्धार टोली परिचालन गर्नुका साथै मानवीय सहायता र आवश्यक राहत सामग्री उपलब्ध गराएकामा उनले कृतज्ञता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

खनालले विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन र जोखिम न्यूनीकरणमा केन्द्रित बनाउने सरकारको नीति रहेको बताएका थिए। आगामी पुनर्निर्माण प्रक्रियामा पनि दक्षिण कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे।

जवाफमा दक्षिण कोरियाली विदेशमन्त्री ह्युनले बाढी तथा विपद्बाट प्रभावित नेपाललाई पुनर्निर्माणका क्रममा आवश्यक सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताएका थिए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले बेहोर्नुपरेको क्षतिका विषयमा पनि दुई मन्त्रीबीच कुराकानी भएको थियो। ह्युनले जलवायु परिवर्तनबाट सिर्जित असरप्रति अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहेको उल्लेख गर्दै नेपाल र दक्षिण कोरियाले अन्तर्राष्ट्रिय तहमा यस विषयलाई थप प्रभावकारी रूपमा उठाउनुपर्ने धारणा राखेका थिए।

भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक सम्पर्कविहीन छन्। भेटका क्रममा विदेशमन्त्री ह्युनले उनीहरूको अवस्थाबारे परराष्ट्रमन्त्री खनालसँग जानकारी लिएको बताइएको छ।

बाढीपछि दक्षिण कोरियाको कोरिया डिजास्टर रिलिफ टिम नेपाल आएर खोज तथा उद्धार कार्यमा परिचालित रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.