नेपालको स्वर्ग : मुस्ताङ

| 2023 Sep 21 | 01:26 pm 2505

नेपालको संबिधान २०७२ मुलुकमा लागु भए पश्चात त्यस अघि कायम रहेका ७५ वटा जिल्लाहरुलाई मुलुक संघीय संरचनामा गै सके पछि प्रदेश मिलानको क्रममा साबिक लुम्बिनी अञ्चलको नवलपरासी र राप्ती अञ्चलको रुकुम जिल्ला टुक्रिए पश्चात हाल ७७ वटा जिल्ला कायम रहेका छन् ।  टुक्रिएर बनेका दुबै जिल्लाहरुको स्पष्ट नामाकरण त गरिएको छैन, तर भौगोलिक बिभाजन पश्चात कायम रहेका जिल्लाहरु मुलुकको आबस्यक्ता, जनताको सेवा प्राप्तीमा सहज पहुंच र प्रशासनिक सुगमता लगायतको मापदण्डलाई आधार मानेर नै बिभाजन  गरिएको हो । यसरी कायम रहेका प्रत्येक जिल्लाहरुको पहिचान सहितको आफ्नै महत्व रहेको छ । कुनै जिल्ला भौगोलिक हिसाबले अन्य जिल्ला भन्दा फरक छ भने कुनै सांस्कृतिक हिसाबले । राजनैतिक हिसाबले पनि जिल्लाहरुको भौगोलिक र जनसंख्याको आधारमा  भिन्नता पाउन सकिन्छ । कुनै जिल्ला भौगोलिक हिसाबले बिशाल छन तर जनसंख्याको हिसाबले अत्यन्त निम्न छन भने कुनै जिल्लाहरु जनसंख्याको हिसाबले घना देखिन्छन् तर भौगोलिक सीमितता कम छ ।

अर्कोतर्फ  एकै जिल्ला भित्र पनि फरक फरक किसिमको सांस्कृतिक, सामाजिक, भौगोलिक  र जातीय बिबिधता पाइन्छ । एकै खालको रहनसहन, धार्मिक आस्था र जातीय बसोबासको आधार भेट्टाउन गार्हो पर्दछ । नेपालको भौगोलिक बिभाजनको आधार हेर्दा यसको संरचना छिमेकी मुलुक चिनसँग सीमाना जोडिएको  हिमाल, मध्य भूभाग पहाड र दक्षिणी सीमाना छिमेकी मुलुक भारतसँग जोडिएर तराई रहेको छ । उत्तरमा हिमाल, बीचमा पहाड र तराईमा समथर जमीनले मिलेर बनेको करणले गर्दा नै यसलाई भौगोलिक बिबिधता भनिएको हो । बसोबासको आधार पनि यही बिबिधता अनुसार अलग अलग छ । तराईमा बसोबास गर्ने र हिमाल क्षेत्रमा बसोबास गर्ने मनिसहरुको रहनसहन र सांस्कृतिक अबस्था बिल्कुलै भिन्न छ ।

म जन्मेको स्थान लुम्बिनी अञ्चलको पहाडी जिल्ला गुल्मीको सदरमुकाम तमघास स्थित रहेको  घरबाट उत्तरमा अबस्थित धवलागिरी र नीलगिरी हिमाल सेतै चाँदि जस्तो लहरै  स्पष्ट रुपमा देख्न सकिन्छ । त्यस बाहेक अन्य हिमालहरु त्यहाँबाट देख्न सकिदैन् ।  तर तमघासको पुर्वी शीरमा रहेको मनमोहक सांस्कृतिक र पर्यटकीय स्थान  रेसुङगाको डाँडोबाट हेर्दा धवलागिरी र निलगिरी हिमालको अलावा माछापुछ्रे र अन्नपुर्ण हिमाल बिहान खुरुरु दौडेर गयो भने पनि बेलुका गोधुली साँझ नपर्दै चुचुरोमा नै पुगिन्छ कि जस्तो गरि नजिकै देखिन्छ । रेसुङगा डाँडोमा बसि हिमालहरुको दृश्य नियाल्दा पलपलमा ती हिमालहरुबाट आउने चिसो सिरेटोले मुटु कमाउथ्यो । बैसाख महिनामा पनि पातलो लुगा लगाएर रेसुङगामा समेत एक छिन अडिन मुश्किल हुन्छ । त्यसैले त तराईका बिभिन्न स्थानहरुबाट तराईको प्रचण्ड गर्मी छल्नको लागि गुल्मीको पर्यटकीय स्थल रेसुङगामा मानिसहरु ओइरो लाग्दछन ।

मलाई बाल्यकालको  अबस्थामा के अनुभूति हुन्थ्यो भने ती हिमाल पारी कुनै जमिनि सतह नै छैन् । अर्थात हिमाल पारीबाट जमीनको अस्तित्व नै समाप्त हुन्छ जस्तो लाग्थ्यो ।  तर पछि जब प्राथमिक बिद्यालय  अध्ययनको क्रममा धवलागिरी, निलगिरी, माछापुछ्रे र अन्नपुर्ण हिमालको पारि पट्टी नेपालको दुई वटा जिल्लाहरु मनाङ र मुस्ताङ पर्दछन भन्ने कुरा थाहा भए पछि झन मेरो मनमा थप कौतुहलताले जरो गाडेको थियो । आफ्नै घरको आँगनबाट देखिने हिमालको मुनि पट्टी मुस्ताङ जिल्ला पर्दछ भन्ने कुरा थाहा पाए पछि त झन बढी मनमा कौतुहलता हुनु स्वभाबिक नै हो । अर्कोतर्फ मेरो मनमा त्यस्तो  हिमालको फेदीको चिसोमा त्यहाँका मानिसहरु कसरी बस्न सकेका होलान ? भन्ने कुरा अनुत्तरित भएर बसेको थियो ।  मैले यस बिषयमा तत्काल कसैलाई त सोधिन, तर  एउटा कुरा चाही निश्चयताका साथ मेरो मनमा रहन गयो कुनै दिन त्यहाँको भौगोलिक अबस्थाको बारेमा साक्षात्कार भई प्रत्यक्ष्य अनुभूति गर्दा कस्तो होला ? यधपी केहि अघि सम्म म सपनामा नै थिए ।

मुस्ताङ जिल्ला गण्डकी प्रदेशको धाैलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ । यस जिल्लाको ऐतिहासिक आधार र भौगोलिक अवस्था आदि हेर्दा धरै अघि यो क्षेत्र नेपाल र तिब्बत वीचको मुख्य व्यापारिक नाका रहेको बुझिन्छ । मुस्ताङ जिल्लाको उत्तरी सीमाना तिब्बतसँग जोडिएको लोमान्थानसम्म उच्च  पहाडी र हिमाली श्रृंखला मिलेर बनेको छ तर  सीमापारी तिब्बतको भूभाग नेपालको तराई जस्तो समथर भूभाग रहेको छ ।

नेपालको दोश्रो ठूलो तथा पर्यटकीय  शहर पोखराको पुरानो बिमानस्थलबाट हवाइजहाजबाट जम्माजम्मी २० मिनेटमा मुस्ताङको जोमसोम पुग्न सकिन्छ । तर सडक यातायातको पनि सर्वसुलभ उपलब्धता रहेको कारण त्यहाँ पुग्न पोखरा देखि बस तथा जीपमा सवार भई करिब साढे छ घण्टामा कास्की जिल्लाको पर्यटकीय तथा रमणिय स्थल लुम्ले, पर्वत जिल्लामा रहेको बन्जी जम्प र म्याग्दी जिल्लामा रहेको तातोपानी लगायतका स्थानहरुको रमणीय आनन्द लिंदै काली गण्डकी किनारै किनार बिबिध प्राकृतिक छटाहरुको अवलोकन गर्दे करिब १५९ किलोमिटर कच्ची र पक्की सडकको यात्र पार गर्दा मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा पाइला टेक्न सकिन्छ । त्यसअघि स्याउ खेतिको लागि  मुस्ताङ जिल्लाको प्रसिद्द स्थान मार्फा र ओखर खेतिको लागि प्रसिद्ध स्थान कोवाङको रमणियता समेत आँखाको नानीबाट ओझेल हुन सक्दैन ।

मुस्ताङ जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । यसको उत्तर-दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ । यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको र उच्च हिमाली श्रृंखला रहेको कारण र बन जङगल नभएको हुँदा  यहाँ एकदमै कम पानी पर्दछ । नेपालको कम पानी पर्ने जिल्लामध्ये मुस्ताङ पहिलो नम्बरमा पर्दछ । नेपालको प्रसिद्ध धार्मिक स्थल  दामोदर कुण्ड उद्गमस्थल रहेको  कालिगण्डकी नदी बग्दै तल कागबेनी आइपुग्दा मुक्तिनाथ क्षेत्र भएर आउने काग  खोला मिसिएर जिल्लाको  करिब करिब बिच भाग भई कालीगण्डकी नदी जोमसोम सदरमुकाम हुँदै बग्ने गर्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । उच्च हिमाली र पहाडी बनावट रहेको र पानीको अभाव हुने हुँदा यस जिल्लाका धेरैजसो बस्ती यही नदीको किनारमा अवस्थित छन् ।

यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ । जुन  नेपालकै एक विशेष क्षेत्र हो । नेपालका धेरैजसो जिल्लाहरूको नामाकरण कुनै खोला, सांस्कृतिक सम्पदा, भौगोलिक बनावट,  स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ । तिब्बतीयन भाषमा मन् भनेको औषधि र थाङ भनेको चौरबाट मनथाङ हुदै मुस्ताङ हुन आएको हो भन्ने जनश्रूति रहेको छ । मुस्ताङ जिल्ला जडिबुटिको हिसावले पनि  प्रशिद्ध रहेकोले पनि यस जिल्लाको नामाकरण औषधिकै नामबाट भएको हो भन्ने विश्वास गर्न सकिन्छ ।

यस जिल्लाको प्रमुख आकर्षण भनेको नै विश्वमा शालीग्रामको लागि  प्रख्यात रहेको  कालीगण्डकी नदी हो । कालिगण्डकी नदीको अलावा नेपालका अन्य नदीहरुमा शालीग्राम पाउन सकिदैन । त्यसकारण पनि नेपाल लगायत विश्वको बिभिन्न मुलुकहरुबाट पर्यटक तथा श्रद्धालुहरु मुक्तिनाथ कागबेनी लगायतका स्थानहरुमा दर्शन गर्नको अलावा शालीग्राम प्राप्तीको लागि पनि तीर्थालुहरु मुस्ताङ आउने गर्दछन् ।  त्यसैगरि जिल्लाको दक्षिण भेगको रक्षा कबचको रुपमा रहेका  ८१६७ मिटर उचाईको धवलागिरी हिमाल र ६९४० मिटर उचाईको निलगिरी हिमालको शीर देखि फेदी सम्म सेतै चाँदी जस्तो घेरा  हिउँले लटरम्म ढाकिदा देखिने दृश्यले प्रभावित नहुने सायदै पाउन नसकिएला  ।  त्यसैले   स्वदेशी तथा बिदेशी पर्यटकको यस क्षेत्रमा घुँइचोनै लाग्ने गर्दछ ।

मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर गोम्पा ,टुकुचे गोम्पसम्प ,टुकुचे मकल गोम्पा, टुकुचे रानि गोम्पा , मार्फा गोम्पा आदि यस क्षेत्रका प्रसिद्ध धार्मिक स्थलहरु हुन् । त्यसमा पनि नेपालको बिभिन्न स्थानहरुको अलावा दक्षिण भारतको बिभिन्न स्थानहरु र विश्वका अन्य मुलुकहरुबाट समेत श्रद्धालु भक्तजनहरु मुक्तिनाथ तथा दामोदर कुण्ड दर्सनको लागि आउने गर्दछन् ।

साथै आफ्ना मृत्यु भैसकेका पितृहरुको सम्झनामा दिइने पिण्ड अर्पण तथा तर्पनको लागि पनि सोर्ह श्राद्धको समयमा ठूलो संख्यामा नेपालीहरु कागबेनीमा आउने गर्दछन् । यस समयमा कागबेनी र मुक्तिनाथमा थामिनसक्नु गरि मानिसहरुको ओइरो नै लाग्दछ । पहिले हवाई मार्ग मात्र  आवागमनको प्रमुख साधन  रहेको मुस्ताङ जिल्लामा अहिले सवारी मार्गको सर्वसुलभताले गर्दा पनि हजारौंको संख्यामा मानिसहरु यहाँ आउन सकेका हुन् ।

मुस्ताङ जिल्ला सांस्कृतिक हिसाबले जति महत्वपूर्ण छ, त्यति नै पर्यटकीय हिसाबले पनि आकर्षणको केन्द्र रहेको छ । यस जिल्लामा रहेका लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’ क्षेत्र,टुकुचे, निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेक, टुकुचे बतासे लेक, टुकुचे नाथांग खर्क’ आदि प्रसिद्ध पर्यटकीय स्थलहरु हुन् ।

बिबिध जैबिक बिबिधता तथा जडिबुटीको आधार क्षेत्र रहेको कारणले गर्दा पनि यस जिल्लाको महत्व अन्य जिल्लाहरुको तुलनामा बढि नै छ । त्यसकारण पनि मुख्य सिजनमा मुस्ताङ जिल्लामा रहेको बिबिध पक्षहरुको अबलोकन तथा भ्रमणको लागि बिभिन्न मुलुकहरुबाट आउने  पर्यटकको घुँइचोले गर्दा यदाकदा ट्राफिक ब्यबस्थापन र शान्ति सुरक्षा कार्य  चुनौतिपूर्ण बन्ने गर्दछ ।

यस जिल्लामा रातो स्याऊ,मार्फा, गोल्डेन स्याऊ, फापर,आरु, चेरि आरु, ओखर आदि प्रसिद्द  खेति र नगदे बालीको रुपमा रहेका छन् । यहाँ कृषिको प्रमुख आधार भनेको नै स्याउ खेती हो । तर जलवायु परिवर्तनको असर यस जिल्लामा प्रष्टै देखिन थालेको छ ।  पहिला जिल्लाको दक्षिणी सिमाना थसाङमा समेत प्रशस्त मात्रामा स्याउ फल्दथ्यो भने सदरमुकाम नजिक रहेको मार्फा गाउँमा पनि जलबायु परिवर्तनको असरको कारण  पहिले जस्तो प्रयाप्त मात्रामा स्याउ फल्न छाडेको छ । हिमाली जिल्ला र पहाडै पहाडले ढाकिएको भएतापनि सदरमुकाम जोमसोममा गर्मी महिनाको दिउसो घाम लागेको अबस्थामा अत्यन्त  गर्मी हुन थालेको छ  । यदि जलवायु परिवर्तनको असरलाई  बेलैमा सम्बोधन नगरि यसको सर्वाङगिण संरक्षणमा नलाग्ने हो भने भोलीका दिनहरुमा मुस्ताङ जिल्लाको सदरमुकाम भन्दा तल्लो ईलाका र जोमसोममा समेत  स्याउ खेती ब्यवसायमा उच्च गिरावट आउन सक्दछ ।

मुस्ताङ जिल्ला उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन अन्य स्थानको भन्दा भिन्नै प्रकारको छ । सदरमुकाम देखि उत्तर तिब्बतसँग सीमाना जोडिएको ईलाका वारी  भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको समेत बसोबास भएको पाईन्छ । यहाँ बसोबास गर्ने बहुसंख्यक गुरुङ र थकाली जातीहरू बाैद्ध धर्म मान्दछन् ।

यहाँका मानिसहरुले लगाउने लुगा, रहनसहन, संस्कार र संस्कृति नै पर्यटकको मुख्य आकर्षणको बिषय बन्ने गरेको छ । तथापी यहांको मौलिकता पनि हराउंदै गएको छ । यहांका मानिसहरु जाडो याममा जाडो छल्नको लागि छिमेकी मुलुक  तथा नेपालको पोखरा लगायतका स्थानहरुमा झर्ने गर्दछन् भने गर्मी याममा मात्र यहाँ फर्किने गर्दछन् । कतिपय त मुस्ताङ आउनै छाडेका छन् । माथिल्लो मुस्ताङका धेरै मानिसहरु अमेरिका लगायतका देशहरुमा पलायन भएका छन् । जिल्लाको उत्तरी भेग, तिबतियन संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा यहाँको आफ्नै संस्कृति र पराम्परा रहेको छ भने केहि हदसम्म छिमेकी जिल्लाको पनि  प्रभाव परेको छ ।   यस जिल्लामा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको  हुनाले घ्याङ र गुम्बामा पूजा आजा गर्ने लामा, झुमा बस्ने परम्परा रहेको छ ।

नेपालमा घटित बार्षिक, मासिक तथा दैनिक अपराधको आँकडा हेर्ने हो भने नेपालको सबैभन्दा शान्त जिल्ला मुस्ताङ नै हो । यहाँको बार्षिक अपराधको तथ्याङ्क काठमाडाैं लगायतका जिल्लाहरुको एक हप्ताको तथ्याङ्क भन्दा पनि कम छ । यहाँ बसोबास गर्ने मानिसहरुको शान्त स्वभाव, अत्यन्त मिलेर बसेको समुदाय, एक आपसमा सहयोगी भावना तथा मिलनसार र शालीन स्वभावको कारण यहाँ भवितब्य र बिपदका घटनाहरु बाहेक सामान्य प्रकृतिका घटनाहरु पनि घट्दैनन् । आफ्ना मान्यजनहरुप्रतिको आदरभाव, उच्च अनुशासन, पाहुनाहरुप्रति सेवाभाव  र इमान्दारिता यहाँ बसोबास गर्ने मानिसहरुको गहना हो भन्दा पनि हुन्छ ।  जहाँ अनुशासित समाज हुन्छ त्यहाँ अपराध हुदैन ।  मानिसहरुमा खराब कार्य गर्न हुदैन भन्ने भाव आउनु नै अपाराध नहुनु हो । त्यसैले मुस्ताङ जिल्लामा देश तथा बिदेशका बिभिन्न मुलुकहरुबाट पर्यटकहरु धार्मिक तथा ऐतिहासिक स्थानहरुको भ्रमणको लागि ढुक्कका साथ आउने गर्दछन् ।

(लेखक प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.