गाडी नकिन्‍न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

रिपोर्ट नेपाल | 2018 Aug 22 | 07:38 am 2149

विराटनगर, भदौ ६: प्रधानमन्त्री केपी ओलीले प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई गाडी नकिन्न निर्देशन दिएका छन् । मंगलबार नेकपा प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूभन्दा पहिला जनतालाई ध्यानमा राख्न आग्रह गरे ।

‘तपाईंहरू पहिला आफूलाई गाडी किन्ने काम नगर्नुस्, यस्ता कुरामा सधैं होसियार रहनुपर्छ,’ उनले भने, ‘पहिला म र मेरा लागि होइन, जनताका लागि भन्ने हेक्का सबैमा हुनुपर्छ ।’

जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिँदै उनले जनताले वामपन्थीलाई कुर्सीमा बस्नका लागि मात्र सरकारमा नपठाएको बताए । ‘जनताले मन पराउने काम गर्नुस्, सस्तो लोकप्रियताका लागि झूट नबोल्नुस्,’ ओलीले भने, ‘देश बनाउने जिम्मा हाम्रो काँधमा छ, अर्को वर्ष सबै थोकमा फरक हुनुपर्‍यो । धान अघिल्लो वर्षभन्दा बढी फल्नुपर्‍यो, व्यापार घाटा घट्नुपर्‍यो ।’

पहिले अनुभव नभएका कारण प्रदेश र स्थानीय सरकार सञ्चालनमा केही समस्या देखिएको प्रधानमन्त्रीले बताए । ‘केही कमजोरी भए पनि हल्ला चलाएजस्तो भने होइन,’ उनले भने, ‘गल्ती भएको ठाउँमा सुधार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले पहिले पनि सबैजसो कुरामा कर तिरिँदै आएको र अब पनि आयमा मात्र कर लाग्ने बताए । ‘लिपस्टिकमा पनि कर तिरैकै हो, अहिले केको कोलाहाल नि ?’ उनले भने, ‘सय माउ भैँसी पाल्दा कर लाग्दैन तर एउटा बिक्री गर्दा लाग्छ। हजार लिटर दूध उत्पादन गर्दा कर लाग्दैन, बेचेपछि लाग्छ । आयमा मात्र कर लाग्ने हो, यसमा आत्तिनुपर्ने कुरा छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.