विदेशको पीआर (स्थायी आवास अनुमति) र नागरिकता मिल्दा बधाईको ओइरो लाग्ने, घरमा दीपावली हुने र, ज्युँदै स्वर्ग जान लागेझैँ भव्य उत्सवका साथ बिदाइ गरिने मुलुकमा देशलाई केन्द्रमा राखेर प्रकट हुने अभिव्यक्तिको मूल्य हुँदैन भन्ने थाहा भएर पनि यसपटक देशकै बारेमा कलम चलाउने धृष्टता गरिएको छ ।
सार्वजनिक भाषणमा, गीत, कविता, निबन्ध र गफमा सीमित हुँदैछन् देशका कुरा ! राजनीतिक नेतृत्व देशबाहेक अन्य विषयका कुरा गर्दैनन्, तर व्यवहार र परिणामले उनीहरू देशबाहेक बाँकी जम्मै विषयको चिन्तामा रहेको देखाउँछ ! जनस्तरमा देशको फिक्री निकै गरिन्छ, तर एउटा भिषा भन्दा बढी महत्वको विषय देश भएको ब्यवहारतः जनस्तरले पनि ठानिरहेको महसूस गरिन्न ! देशरक्षाको मुख्य जिम्मेवारी लिएको सेनाभित्र कि युएन मिसनका विषयले महत्व पाउँछ कि ठेक्कापट्टाले ! कर्मचारी जगत् देशको औधी चिन्ता गर्छ, तर त्योभन्दा बढी चिन्ता ग्रेड, बढुवा, सरुवा, अवसर र परिवारकै बारेमा देखिन्छ । कर्मचारीका निम्ति देश किन पनि महत्वपूर्ण छ भने मासिक तलव-भत्ता, पेन्सन या उपदान देश रहँदा मात्र मिल्छ भन्ने उनिहरूलाई राम्रोसँग थाहा छ । न्यायाधीश र अन्य न्यायकर्मीहरू देशको महत्व बुझ्छन्, देश रहेकोले मात्र आफूहरू न्यायकर्मी बन्न पाइएको र, न्यायकर्मी बनेकै कारण अतिरिक्त आम्दानी र विदेशको ‘पीआर’का ‘अफर’ आएका हुन् भन्ने उनीहरूले राम्रोसँग बुझेका छन् । समाजका विभिन्न तह र तप्कालाई देश यस्तै अनेक कारणले चाहिएको छ । तर देश कसरी विभाजन र विघटनको दिशामा छ भन्ने हेक्का राख्न यीमध्ये अधिकाङ्श पक्ष चाहँदैनन् या यस्ता कुरामा विश्वास गर्दैनन् । देश जोड्नुभन्दा देश छोड्ने पखेटा जोड्नु यिनका निम्ति मुख्य चासो र महत्वको विषय हो । तथापि, हज्जारौँ वर्ष पुरानो देश नेपाल कसरी विभाजन र विघटनको दिशामा जाँदैछ भन्ने तथ्यहरू यहाँ केवल आफ्नै ‘रेकर्ड’का निम्ति प्रस्तुत गर्न खोजिएको छ ।
राजनीतिक सुधार या परिवर्तनको आवरणमा जे-जस्ता घटना भएका छन्, ती नेपालको राज्यसंयन्त्रलाई दुर्बल तुल्याउने र नेपाली समाजलाई खण्डित गर्ने नियतबाट प्रेरित छन् । समाज र राज्यसंयन्त्रलाई कमजोर तुल्याउँदा लाभ कसैलाई पुग्छ भने त्यो बाह्यशक्तिलाई मात्र हो । तथापि हामी अनेकौँ शीर्षकमा तिनकै हितका निम्ति मच्चिँदै छौँ । नेपालको विभाजन या विघटन सुन्दा अत्यासलाग्दो विषय भएपनि बैरीहरूको लहलहैमा लागेर हामी जे गर्दैछौँ, त्यसले उक्त सम्भावनालाई निकट तुल्याइसकेको छ, कसरी ?
देश मेट्ने या भत्काउने या भताभुङ्ग तुल्याउने कार्य सुन्दा अप्रिय र कठिन लागेपनि यो सजिलै कसरी विघटनको दिशामा छ भन्ने बुझ्न केही तथ्यहरूको अध्ययन गर्नुपर्ने हुन्छ । देश भनेको भूगोल मात्र होइन र, राज्यसंयन्त्र मात्र पनि देश होइन भन्ने हामी सबैलाई थाहा छ । संस्कृति, भाषा, धर्म, इतिहास, भौगोलिक सीमा, न्युनतम् समान मनोविज्ञान, मौलिक सभ्यता र राज्य संयन्त्रको समष्टि नै देश हो । देश विघटन गराउन सबैभन्दा पहिले त्यहाँको सभ्यता, भाषा, धर्म, संस्कृति, इतिहास र एकता नास गरिदिनुपर्ने हुन्छ, अग्रगमन र क्रान्तिका नाममा यो सब प्रक्रिया सुरु भइसकेको छ । नेपालको विभाजन र विघटनका निम्ति अखण्डित सार्वभौमिकतालाई खण्डित तुल्याउन आवश्यक थियो, तुल्याइयो । सनातनी धर्म, संस्कृति र परम्पराले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडिरहेको थियो, भत्काउन धर्मनिरपेक्षता र निरपेक्षताको सिरानी हालेर धर्मान्तरण आवश्यक पथ्र्यो, यो कार्य पनि अग्रगमनकै नाममा सम्पन्न भइसकेको छ । विश्वमा सर्वाधिक तीव्र गतिमा इशाइकरण भइरहेका मुलुकहरू मध्ये नेपाल अग्रपङ्क्तिमा पर्दछ । सनातनीहरूले आस्था राखेको र देशले राष्ट्रिय जनावर घोषणा गरेको गाईको बध हुँदा पनि राज्य तमासे बनेर बसिरहेको छ । समाजको एकता र ऐक्यबद्धता तोड्न जातीय चिनारीलाई राजनीतिक मुद्दा बनाउँदै जातका आधारमा आरक्षण र समानुपातिक अवधारणालाई संविधानमै उल्लेख गरेर संस्थागत गरिनुपर्ने थियो, सो कार्य पनि राजनीतिक परिवर्तनको नाममा सम्पन्न भइसकेको छ । जसका कारण समाजको एकता पुनस्र्थापित हुन मुस्किल पर्ने अवस्था देखापरेको छ ।
अनेकता र विभाजनको जग राखिसकेपछि अब स्थापित संस्कृतिको निरन्तरतालाई नियोजन गरि एलियन संस्कृतिलाई मान्य तुल्याउन अनेकौँ सूक्ष्म प्रयासहरू यस अवधिमा हुँदै आएका छन् । धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्र कार्यान्वयनमा आएलगत्तै होशियारीपूर्वक हाम्रो सभ्यता मेट्ने र पराया परम्परा भित्र्याउने प्रयास तीव्र गतिमा भइरहेको छ । यसक्रममा शदियौँदेखि प्रचलनमा रहेको विक्रम सम्बतलाई विस्थापित गरि इसाई परम्पराअनुरुपको क्यालेण्डर प्रचलनमा जबर्जस्त ल्याइँदै छ । विक्रम सम्बतलाई ओझेल पार्दै अन्ततः पूर्ण रूपले विस्थापित गराउन खोजिएको छ । विक्रम सम्बत विस्थापित हुँदा त्यससँगै जोडिएका नेपाली चाडपर्व र उत्सवहरू सङ्कटमा पर्नेछन्, यसले हाम्रो संस्कृति र मौलिक परम्परालाई समेत पखालिदिनेछ । त्यसपछि अङ्ग्रेजी क्यालेण्डरअनुसारका चाडपर्वहरू स्वतः ‘हाइलाइट’ हुनेछन् । अन्तर्राष्ट्रियकरणको नाममा विक्रम सम्बत हटाउँदै इस्वी सन्लाई हाम्रो राष्ट्रिय परिचयपत्रमा उल्लेख गरिएको छ । नेपालीको राष्ट्रिय परिचयपत्रमा नेपाली टोपी, सिन्दुर, पोते, टीका आदि लगाएको तस्बिर प्रयोग गर्न वर्जित छ । ब्यक्तिले आफ्नो जन्ममिति विक्रम सम्बतमा लेखेका कारण सो उल्लेख गर्न बाध्य भएको बुझ्न सकिन्छ ।
नेपालमा चल्ने गाडीको नम्बरप्लेट मौलिक प्रकारको थियो, त्यसलाई मेटेर इम्बोस्ड नम्बर जडान गर्न थालिएको छ, जसमा देवनागरी लिपि प्रयोग भएको छैन । छिमेकी राष्ट्र भारतको जस्तै नम्बरप्लेट राखिएका कारण सडकमा कुन गाडी नेपालको हो, छुट्याउन मुस्किल पर्ने अवस्था अहिले सिर्जना भएको छ । सबै नेपाली अङ्ग्रेजी भाषामा अभ्यस्त छैनन् र, कारणवश गाडीको नम्बर लिनुपर्ने अवस्था आउँदा नम्बर स्मरण गर्नसमेत मुस्किल छ । इम्बोस्ड नम्बर जडान गरिएका अरब मुलुक, बङ्लादेश, थाइल्याण्ड आदिमा आफ्नै मौलिक भाषाको प्रयोग भएको छ । नेपालमा भने देवनागरी लिपिको प्रयोग गर्न रोक लागेको छ । गाडीको नम्बर प्लेट देख्नेबित्तिकै यो नेपालको गाडी हो भन्ने स्थिति अब रहने छैन ।
२०६३ को परिवर्तनलगत्तै नेपालीको भाषामाथि गम्भीर हमला भएको छ । एकातिर हाम्रो मौलिक एवम् शाश्वत ब्याकरणीय नियमलाई तोडमरोड गरेर अराजकता सिर्जना गरिएको छ भने अर्कोतिर सबै प्रशासनिक निकाय (प्रदेश)हरूमा सरकारी कामकाजका निम्ति तिनले चाहेको भाषा प्रयोग गर्न सकिने ब्यवस्था संविधानले नै गरिदिएको छ । यसरी नेपाली भाषालाई कमजोर तुल्याउन गम्भीर ढङ्गले कपटपूर्ण कार्य भइरहेको छ ।
विक्रम सम्बत् १९१० मा जङ्गबहादुर राणाले मुलुकी ऐन बनाएर घोषणा गरेपछि नेपालमा विधिवत कानूनी शासन प्रारम्भ भएको थियो । त्यसयता समयानुकुल संशोधन र परिमार्जन हुँदै आएको मुलुकी ऐनको उमेरले नेपालको सभ्यता पुरानो भएको दर्शाउँदै थियो । २०६३ को परिवर्तनपश्चात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक तोडफोड गर्ने र, उनको भूमिका तथा योगदानलाई विस्मृत तुल्याउन जालसाजीपूर्ण प्रयास गर्नेहरूले नै मुलुकी ऐनलाई विस्थापित गरि संहिता जारी गराएका छन् । यसले हाम्रो ऐतिहासिकता र सभ्यतामाथि सिधै चुनौती दिएको छ । एकसय सत्तरी वर्षदेखि आफ्नै कानून निर्माण गरि शासन गर्दै आएको मुलुक भनिँदा बेग्लै गौरवानुभूति हुनसक्थ्यो, क्रमभङ्ग गर्ने नाममा हाम्रो इतिहास मेट्ने प्रयास नियतवश नै भएको छ । पृथ्वीनारायण शाहलाई अपमान र तिरष्कार गर्नु भनेको आफ्नै राष्ट्रिय पहिचानलाई अस्वीकार गर्नु हो, जुन एकथरि मानिसबाट विगत डेढ दशकदेखि हुँदै आएको छ ।
कथित परिवर्तनकारीहरूको हातमा देशको राज्यसत्ता पुगेपछि उनिहरूले सशस्त्र प्रहरीका गणहरूको नाम बदल्ने निर्णय लिए, नेपालका विभिन्न शक्ति पिठहरूको नामबाट गणहरूको नाम राख्दा सनातनी सभ्यताको झलक प्रकट भइरहेको थियो, देशका बैरीहरूलाई त्यो सैह्य भएन । त्यसैले सशस्त्र प्रहरीका गणहरूलाई अब विभिन्न देवीका नामबाट नभएर नम्बरका आधारमा चिन्नुपर्ने हुन्छ । उनीहरूले नेपाली सेनाको त्रिशुल डमरू अङ्कित प्रतीकचिन्हमा पनि आँखा लगाएका छन् । कुनै पनि दिन गुप्त रूपमा सेनाको लोगो परिवर्तन गर्ने निर्णय यिनले गरे भने आश्चर्य हुने छैन ।
सनातनी मुलुक भएको बलियो सङ्केत दिने ॐ अक्षरमाथि समेत यिनले बक्र दृष्टि राखेको देखियो । बृहत् नेपाली शब्दकोषबाट ॐ हटाउने निर्णय लिनुले नेपालका नयाँ सत्ताधारीहरू सनातनी सभ्यता र धर्मविरूद्ध सूक्ष्म ढङ्गले कसरी क्रियाशील भइरहेका छन् भन्ने सन्देश दिइरहेको छ । देवनागरी लिपि मेटेर अङ्ग्रेजी भाषा मात्र उल्लेख भएको इम्बोस्ड नम्बर प्रचलनमा ल्याउन देशका बैरीहरूलाई अदालतले नै सजिलो बनाइदिएको थियो र, अहिले बृहत् नेपाली शब्दकोषमा ॐ अक्षरलाई समाबेस गर्ने या नगर्ने भन्ने कुराको अन्तिम निर्णय दिने दायित्व पनि अदालतमै केन्द्रीत गरिएको छ ।
हरेक बीस वर्षमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने वैधानिक ब्यवस्थाले नेपाली राष्ट्रियताको अविच्छिन्नतालाई कालान्तरमा गम्भीर चुनौती दिनेछ । नागरिकता विधेयकका कतिपय अन्तरवस्तुले पनि अन्ततः नेपाली राष्ट्रियतालाई चुनौती दिने पक्का छ । नेपाल र भारतबीच सीमानासम्बन्धी सम्झौता नहुनु/नगरिनुलाई पनि हामीले सार्वभौम राष्ट्रिय अस्तित्वमाथिको गम्भीर चुनौतीका रूपमा बुझ्नु पर्दछ ।
यसरी देशको स्वधर्म, संस्कृति र नेपालीत्व मेट्न सूक्ष्म तवरमा भइरहेका प्रयासहरूलाई समयमै बुझ्न र प्रतिरोध गर्न सकिएन भने नेपालको आयू अल्प बन्ने निश्चित छ । हाम्रो मौलिक संस्कृति, धर्म, भाषा, परम्परा, सभ्यता, इतिहास, एकता र राष्ट्रिय पहिचान मेटिएपछि नेपालित्वबिनाको नेपाल बाँकी रहे पनि त्यस्तो नेपालको विशिष्टता कायम रहने देखिन्न । त्यसैले बैरीपक्षको हरेक कदम बुझ्न र, तिनलाई परास्त गर्न हरदम सचेत प्रयासमा रहनु हरेक नेपालीको प्रथम कर्तब्य बन्न पुगेको छ, जय मातृभूमि !