लेखनमार्फत संस्कारको रुपान्तरण

| 2023 Oct 11 | 12:10 pm 1665

२०८० साल असार २९ गते शुक्रबार बिहान ह्वाट्सएपमा एउटा म्यासेज आयो, लेखिएको थियो- ‘के भयो बुबालाई ?’ डाक्टर ओममूर्ति अनिलको त्यो म्यासेज मेरा लागि म्यासेज मात्रै थिएन, एउटा ठुलो भरोसा थियो, डाक्टरको म्यासेज थियो । मेरो बुबा मोहनबहादुर बस्नेतलाई डा. अनिलले एकपल्ट मात्रै हेर्नुभएको थियो । २८ गते बिहीबार अकस्मात ‘ब्रेन स्ट्रोक’ भएर बुबालाई आईसीयुमा राख्नु परेपछि मैले फेसबुकमा स्टेटस लेखेकी थिएँ । सोही स्टेटस पढेर डाक्टरसाबले ‘बुबालाई के भयो ?’ भनेर सोध्नुभएको थियो । आफूलाई परेको बेला डाक्टरको त्यस्तो सन्देशले एक प्रकारको भरोसा दिने रहेछ । त्यसअघि परिवारमा कहिल्यै त्यस्तो घटना नभएकाले हामी सबै आत्तिएका थियौँ । डाक्टरसाबले सोध्नु मात्रै भएन, आवश्यक डाक्टरी सल्लाह पनि दिनुभयो । भदौ महिनाको अन्तिम साता उहाँले लेख्नुभएको ‘जीवन्त सम्बन्ध’ पुस्तक पढ्दैगर्दा सक्रिय जीवन बाँचिरहेका बेला एक्कासी ओछ्यान पर्नुभएका आफ्नो बुबाको अवस्था आँखाअगाडि आइरहेको थियो । पुस्तकका पानाहरू अघि बढ्दै जाँदा बुबाको अवस्थालाई लिएर भाइलाई ‘बाबु, यस्तो त ओममुर्ति अनिल डाक्टरसाबको बुबालाई पनि भएको रहेछ’ भनिरहेकी थिएँ ।

अहिले चर्चामा रहेको डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’को सुरुवातले नै मानिसको मन तान्छ । उहाँले लेख्नुभएको छ- ‘जीवनमा खुशीका दुई प्रमुख श्रोत हुन्छन्, भौतिक र भावनात्मक । भौतिक खुशी वा सुखको सीमा तथा आयु हुन्छ । भावनात्मक सुख असीमित र चीरकालिक हुन्छ । सांसारिक मानिस भौतिक सुखको प्रलोभनमा पर्छन्, किनकि यो सुख अवरणीय हुन्छ । तर, ज्ञानीहरू भौतिक सुखबाट चाँडै तृप्त भएर भावनात्मक सुखको मार्गमा अग्रसर हुने गर्छन् । उनीहरूले जीवनलाई गहिराइमा बुझेका हुन्छन् तथा आफूलाई चिनेका हुन्छन् । अन्तर्मनको खुशी उनीहरूको प्राथमिकतामा पर्छ ।’ हुन पनि जीवनमा भौतिकसुख प्राप्त गर्नका लागि मानिसले गर्न मिल्ने-नमिल्ने अनेक काम गर्छन् तर अन्ततः जीवनको खुशी भने स-साना कुरामा अल्झिएको हुन्छ । भविष्यमा सुख पाउने उद्देश्यले पैसा कमाउनका लागि मानिसले जिन्दगीको उर्वर समय खर्चिन्छ तर गजबको कुरा के छ भने भावनात्मक र आत्मिक सन्तुष्टिसँग जोडिएका खुशीहरूका पैसा चाहिँदैन । जिन्दगीमा पैसा आवश्यक छ, स्वास्थ उपचारकै लागि पनि पैसा नभइ हुँदैन तर पैसा र भौतिक सुख र आत्मिक सन्तुष्टीबीचको दूरी निकै लामो छ । ‘जीवन्त सम्बन्ध’ले मानिसको जीवनमा आवश्यक तिनै स-साना खुशीहरूको वर्णन गरेको छ ।

‘जीवन्त सम्बन्ध’मा जीवनदेखि मृत्युसम्मका धेरै चरणहरू समेटिएका छन् । मानिसको जीवनमा निश्चय नै अनुभूतिहरू फरक हुन्छन् । कतिपय अनुभूतिहरू परिस्थितिजन्य हुन्छन् । सर्वसाधारणले डाक्टरका बारेमा सोच्ने कतिपय कुराहरूलाई पुस्तकमा फरक ढङ्गले प्रस्तुत गरिएको छ । यो पुस्तक पढ्नुअघि मलाई ‘हि इज नो मोर या सी इज नो मोर या सरी, उहाँ रहनुभएन भनेर डाक्टरहरूले कति सजिलै मानिसको मृत्यु घोषणा गरिदिन्छन्’ जस्तो लग्थ्यो । तर वास्तविकता फरक रहेछ । ‘पराजित डाक्टर’ शीर्षकमा डा. ओममूर्ति अनिलले लेख्नु भएको छ- ‘मृत्युको घोषणा गर्नु चुनौतीपूर्ण र संवेदनशील काम हो । चिकित्सकले आफ्नो पेसामा नचाहेर पनि यस्तो काम पटक-पटक गरिराख्नुपर्ने हुन्छ । सिकिस्त बिरामीसँग दुईवटा मात्र बाटा हुन्छन्, पहिलो- पुनर्जीवन पाउनु र, दोश्रो- संसारिकताबाट मुक्ति पाउनु । म दुवैको पटक-पटक साक्षी भएको छु । मृत्यु घोषणाजस्तो गाह्रो काम मैले कैयौँ पटक गर्नु परेको छ । जब कुनै बिरामी उपचार गर्दागर्दै मृत्युनजिक पुगेको देख्छु, अनि मेरो मस्तिष्कमा मृत्यु घोषणाको कुरा घुम्न थाल्छ ।’ एउटा डाक्टर कतिसम्म भावनात्मक पीडाको अवस्थाबाट गुज्रन्छ भन्ने कुरा यी पङ्क्तिहरूले हामीलाई जानकारी दिएका छन् ।

‘जीवन्त सम्बन्ध’ पुस्तक पढ्नुअघि मलाई ‘हि इज नो मोर/सी इज नो मोर/सरी..उहाँ रहनुभएन भनेर डाक्टरहरूले कति सजिलै मानिसको मृत्यु घोषणा गरिदिन्छन्’ जस्तो लग्थ्यो । तर, वास्तविकता फरक रहेछ ।

‘जीवन्त सम्बन्ध’मा डाक्टरका कुरा छन्, बिरामीका कुरा छन्, शास्त्रका कुरा छन्, रामायण, महाभारत र गीताका कुरा छन् । भान्साका कुरा छन्, खानाका कुरा छन्, माया र मानवीय संवेदनाका कुरा छन् । पुस्तक मूलतः डा. अनिलका आफ्ना स्वर्गिय पिता तेजनारायण सिंहको बारेमा केन्द्रित हुँदाहुँदै पनि धेरै कुरा समेटिएका छन् । कतिपय सन्तानले बाबुआमालाई बेवास्ता गर्दै आएको वर्तमान अवस्थामा सन्तानले बाबुआमालाई माया र आदर गर्न यो पुस्तकले प्रेरित गर्छ । सन्तानले बाबुआमासँग संस्कार र शिक्षा लिने कुरा एकादेशको कथामा परिणत हुँदै गएको बेला प्रविधि भन्दा बाबुआमा कति माथि हुन् भन्ने कुराको बोध गराउँछ । अहिलेका सन्तानलाई बाबुआमा भन्दा प्रविधि निकट र प्रिय छ ।

जीवन्त सम्बन्ध पढ्दै जाँदा अन्नपूर्ण न्युरो अस्पतालमा आईसीयुबाट वार्डमा सारेपछि बुबाको ग्रहदशा कटाउन बाजे बोलाएर पाठ गराएको सम्झिएँ । मान्छेलाई विपद् आइपरेपछि मनस्थिति नै अर्को हुँदोरहेछ । डाक्टरको उपचारसँगै धामी, चिनाचपेटा हेराउने, के गरिएन ? आफ्ना बाबुआमा जतिसुकै उमेरका भएपनि त्यति त के हो र ? भन्ने पनि हुँदोरहेछ । डा. ओमले पनि बुबाको चिना देखाउनुभएको रहेछ । दुःख पर्दा देवी-देउताको भाकल त प्रायः गरिन्छ नै, भगवान् त पुकारिन्छ नै । बुबाआमा साथमा हुञ्जेल समय नदिने, वास्ता नगर्ने, संसार छोडिसकेपछि पश्चाताप गर्ने धेरै देखिएको छ । पुस्तकले बुबाआमालाई समय दिनका लागि झक्झक्याउँछ ।

‘बुढेसकालको खुशी’ शीर्षकमा उहाँले लेख्नुभएको छ- ‘धेरै पछिसम्म भनौँ डाक्टर भएपछि पनि बाबुआमाको खुसी भौतिक सुखमै छ भन्ने मेरो सोच थियो । तर एकदिन बुवाआमाबीच भएको वार्तालाप मैले सुनेँ, जसले त्यसअघिसम्मको मेरो बुझाइलाई गलत साबित गरिदियो । आमा-बुबाले जीवनको उत्तरार्द्धमा विलासितासहितको भौतिक सुखभन्दा पनि सन्तानसँगको सामिप्यतालाई प्राथमिकता दिनुहुँदोरहेछ भन्ने बुझेँ । यसअघि मलाई पनि घर, गाडी, नाम, पैसा भएपछि बुबाआमालाई खुशी बनाउँछु भन्ने थियो, तर त्यस्तो होइन रहेछ, म गलत रहेछु ।’

हामीमध्ये धेरैले आफ्ना सन्तानलाई हेर्दाहेर्दै, सन्तानप्रतिको दायित्व पूरा गर्दागर्दै बाबुआमाप्रतिको कर्तब्यलाई भुल्ने गरेका छौँ । घरमा आएपछि एकैछिन बुबाआमासँग बस्नु भन्दा मोबाइल चलाउन हतार हुन्छ । आमाबुबा र परिवारलाई दिने सयम हिजोआज मोबाइलले लिने गरेको छ । विदेशमा रहनेहरूमध्ये कतिले चाहिँ बुबाआमाको महत्व बच्चा जन्मिएपछि बुझ्न थालेका छन्, बच्चा हुर्काउनका लागि । स्वार्थवश बाबुआमा सम्झिएपनि बच्चाहरूसँग हजुरबुबा हजुरआमाको सामिप्यता अत्यन्त महत्वपूर्ण हुन्छ, हुँदोरहेछ । बाबुआमाले दिने संस्कार यो संसारमा कसैले पनि दिन सक्दैन । संस्कारको पुस्तान्तरण चुनौती बनिरहेको समयमा विभिन्न घटनाक्रमहरूसँगै आफ्नो अनुभूति समेटिएको पुस्तक जनसमक्ष ल्याएर डा. ओममूर्ति अनिलले आफ्नो बुबाप्रतिको श्रद्धा र सम्मानलाई मात्र नभइ एउटा सिङ्गो कालखण्डलाई नै जीवन्त बनाउनुभएको छ । संसार छोडेपछि पश्चाताप गर्नुभन्दा जीवित रहँदै बुवाआमालाई समय दिऔँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.