बर्दिया, भदाै २० । नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले एक्काइसाै शताब्दीको प्रहरी शासक नभएर जनताको सेवक भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षण भ्रमणका क्रममा डिआइजी जोशीले समाजमा शान्ति सुरक्षा अमनचयन र सामाजिक न्यायका लागि प्रहरीले अहोरात्र काम गर्नुपर्ने बताएका थिए । निरीक्षण भ्रमणका क्रममा जिल्लाभरका सबै युनिटका इन्चार्जलाई निर्देशन दिंदै जोशीले नागरीकमा प्रहरि सेवाको पहुँचमा अलिकति पनि कमी हुन नहुने बताएका थिए ।
जनताको जिउ धनको रक्षार्थ लामो छाेटो दुरीको गस्ती बढाउनुका साथै नागरीक मैत्री कार्यक्रम गर्नुपर्ने कुरामा डिआइजी जोशीको जोड रहेको थियो । समाजमा हुने विकृती र विसंगतिलाई अन्त्य गरी रुपान्तरण गर्नका लागि सचेतना कार्यक्रम राख्नुपर्ने जोशीको भनाई रहेको थियो । जनतालाई केन्द्र विन्दुमा राखेर कार्य गरे मात्रै प्रहरी मेरो साथी भन्ने नारा सार्थक हुने भन्दै डिआइजी जोशीले शुन्य सहनशिलतामा कार्य गर्न निर्देशन दिएका थिए । निरीक्षणका लागि बर्दिया पुगेका जोशीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिर शाहीले स्वागत गरेका थिए । बर्दियाको निरीक्षण अघि डिआइजी जोशीले जिल्ला प्रहरी कार्यालय बाँकैको निरीक्षण र निर्देशन दिएका थिए ।
