भाइको हत्याविरुद्ध जाहेरी दिने नुरप्रसाद अदालतमा पुनः अनुपस्थित

| 2018 Aug 21 | 07:01 am 1741

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीले फेरि अदालतमा अनुपस्थिति जनाएका छन् । उनलाई हिजो आइतबार अदालतमा हाजिर हुन आदेश दिइएको थियो ।

चितवन जिल्ला अदालतले गत साउन २० गते नुरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको र अदालतको आदेशपछि नुरप्रसादको गोरखास्थित घरमा रितपूर्वक मिति तामेली गरिएको थियो । तोकिएको मितिमा नुरप्रसाद अदालत हाजिर नभएपछि पुनः भदौ २४ गते आइबारका लागि मुद्दाको पेशी तोकेको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले बताएका छन् ।

यसअघि फागुन १३ गते अधिकारीलाई झिकाउन म्याद जारी गरिएको थियो । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीहरुले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको थियो ।

कृष्णप्रसाद अधिकारीको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशअनुसार असार २४ गते उनी सर्वोच्च अदालत समक्ष हाजिर भएका थिए । उनी यतिबेला कारगारमा सजाय भोगिरहेका छन् ।

यो मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालिप्रसाद अधिकारी, भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको छ । यसरी नूरप्रसाद पटक पटक अदालतको आदेशको किन अटेर गरिरहेका छन्, चासोको विषय बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.