कांग्रेस नेता निधि र भाजपा विदेश बिभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2022 Aug 03 | 05:10 pm 1741

नयाँदिल्ली, साउन १८ः पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख बिजय चौथाइवालेबीच भेटवार्ता भएका छन् ।

नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार भएको एक घण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायतका बिषयमा छलफल भएको थियो ।

त्यस अबसरमा कांग्रेस पूर्व उपसभापतिसमेत रहेका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने बिषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीमूलक भएको बताएका थिए।

यसले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने निधिले बिश्वास व्यक्त गरे।

चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बिश्वास व्यक्त गरे।

गत शुक्रबार अयोध्या पुगेका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.