गगनकुमार थापा
यतिबेला यो मासको अघिल्तिर म मेरो प्रधानमन्त्रीलाई धम्की दिन उभिएको पनि होइन, मेरा प्रधानमन्त्रीलाई लल्कार्न उभिएको पनि होइन, बोल्न नपाएर उभिएको पनि होइन, बोल्न त मैले संसदमा नै पाइरहेकै छु । लामो समयदेखि अनसनरत डा. केसी काठमाडौं नआइकन वार्ता हुँदैन भन्ने अभिव्यक्ति दिने मेरा प्रधानमन्त्रीलाई ‘जुम्ला नेपालमै पर्छ’ भनेर सम्झाउन पनि म यहाँ उभिएको होइन ।
म यहाँ तपाईंहरू सबैलाई साक्षी राखेर मेरो प्रधानमन्त्रीलाई अनुरोध गर्न उभिरहेको छु, मेरा सांसद साथीहरूलाई अनुरोध गर्न उभिरहेको छु ।
नेपाल सरकारले फेरि चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गर्न ल्याउँदैछ भन्ने मैले सुनेको छु । त्यो विधेयक ल्याउनुभन्दा एक दिनअघि नागरिकहरूले यहाँ उभिएर सरकारलाई खबरदारी गर्नुभएको छ, आफ्नो सरकारलाई अनुरोध गर्नुभएको छ, संसदमा हामी त्यो कुरा गर्छौं नै ।
मलाई मेरा सांसद साथीहरूले कहिलेकाहीँ सोध्नुहुन्छ– डा. गोविन्द केसी को हो ? म भन्छु कि डा. गोविन्द जोगी हो, एउटा फकीर हो । कतिपय साथीहरूले संसद्मै छलफल गर्दा भन्नुभयो, ‘डा. केसी ! हिम्मत छ भने जागीर छोडेर आउ ।’ ती साथीहरूलाई पछि मैले चिया पिउँदै भनेँ– ‘जसले जीवन छोड्छु भनेर लागिरहनु भएको छ, उहाँलाई के जागिरको कुरा गर्नुहुन्छ ?’
कतिपय साथीहरूले गोविन्द केसी कांग्रेस हो भन्नुभएको छ । कहिले उहाँ कहिले भन्नुहुन्छ कि गोविन्द केसी विवेकशील साझाको मान्छे हो । म भन्छु, यो देशमा कतिपय यस्ता साथीहरू हुनुहुन्छ, जो कुनै पनि पार्टीमा आबद्ध छैनन् । त्यस्तै डा. केसी पनि कुनै पार्टीमा आबद्ध छैनन्, उनी एक फकीर हुन् । जो हाम्रा अधिकारका निम्ति, हाम्रो भविष्यका निम्ति लडिरहनु भएको छ । मेरो प्रधानमन्त्रीले यति बुझिदिए हुन्छ कि उहाँको कुनै पार्टीसँग केही सरोकार छैन केवल गरीव जनताको स्वास्थ्यको सवाल छ ।
कहिलेकाहीँ भन्ने गर्छौं कि सतीले सरापेको देश हो हाम्रो । म यो कुरामा त्यति धेरै विश्वास त गर्दिनँ तर यसको एक अन्तर्यछ कि महिलाको सम्मान गर्न नसक्नुले प्रमाणित हुन्छ कि अझै यो देश त्यो पीडाबाट गुज्रिन सकेको छैन ।
मेरो प्रधानमन्त्रीलाई आग्रह गर्छु कि डा. केसी कसैले फकाएर फकिनुहुन्न, कसैले तर्साएर तर्सिनुहुन्न, चिकित्सा शिक्षा ठिक ढंगले पारित नहुने बेलासम्म कसैले पनि उहाँलाई हल्लाउन सक्दैन । तर, यो सरकार यसैगरी जिद्दी गरेर बस्छ भने त उहाँको स्वास्थ्यमा तलमाथि हुन सक्छ । म प्रार्थना गर्छु, उहाँको जीवनमा केही तलमाथि भयो भने…, सतीले सरापेको देश भनेर अहिलेसम्म भन्दै आयौँ, अब डा. केसीलाई केही भयो भने– प्रधानमन्त्री केपी शर्मा ओली मात्र होइन हामी कोही पनि त्यो अपराधबाट मुक्त हुन सक्दैनौं । त्यो अपराध, श्राप हामी सबैलाई लाग्छ, त्यो गल्ती हामी नगरौँ, मेरो प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु ।
मैले प्रधानमन्त्रीजीको अभिव्यक्ति सुनेँ र केही माननीय मन्त्रीजीहरूको अभिव्यक्ति पनि सुनेँ । उहाँहरूले बुझ्नुभएको छैन भन्न खोजेको होइन मैले । यहाँ उभिएर डा. माथेमाले पनि धेरै कुरा भन्नुभएको छ । तर त्यो अभिव्यक्ति सुन्दै गर्दा म नियतमाथि मात्रै प्रश्न उठाउन चाहान्न कि उहाँहरू माथेमा प्रतिवेदनको गहिराइमा पुग्नुभएको छैन भन्ने मेरो बुझाइ हो ।
डा. केसीले राख्नुभएका मागहरू चाहे त्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तरको अध्ययन–अध्यापन शुरु गरौँ भन्ने कुरा वा स्नातकोत्तर छात्रवृत्तिमा हुनुपर्छ भन्ने कुरा सरकारलाई पूरा गर्न कुनै अप्ठ्यारो हुन्छ भन्ने जस्तो मलाई लाग्दैन । मुख्य कुरा चिकित्सा शिक्षा विधेयकसँग जोडिएको कुरा नै हो ।
चिकित्सा शिक्षा विधेयक अध्यादेशसम्म आइपुग्दा केही प्रावधानहरू तलमाथि भएको छ जसका बारेमा डा. माथेमा चर्चा गरिसक्नु भएको छ । पहिलो प्रावधान कुनै पनि हालतमा १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न दिनुहुँदैन भन्ने कुरा नै हो । यो यसरी हेर्दा सामान्य लाग्छ । कतिपय साथीहरूलाई यसको बहस भएको हेर्दै गर्दा के लाग्छ कि यो विषय कुनै अतिरञ्जित ढंगबाट, आग्रहपूर्ण ढंगबाट उठाइएका छन् । तर त्यस्तो होइन ।
म मेरो सांसद साथीहरूलाई आग्रह के हो भने, डा. केदारभक्त माथेमा कार्यदलले चिकित्सा शिक्षाको नीति बनाउनका लागि सिपmारिस गरेको प्रतिवेदन हो । त्यो तयार पार्ने डा. माथेमा मात्र होइन त्यो कार्यदलमा डा. मदन उपाध्याय, डा. अर्जुन कार्की, प्राडा सुरेशराज शर्मा, डा. रमेशकान्त अधिकारी, डा. भगवान कोइराला, डा. गुणराज लोहनी (जो अहिले स्वास्थ्य मन्त्रालयको डिजी हुनुहुन्छ) शिक्षा मन्त्रालयको प्रवक्ता हरि लम्साल हुनुहुन्छ । शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयको संस्थापक प्रतिनिधित्व, काठमाडौं विश्विद्यालय, धरान, बीपी प्रतिष्ठान नेपालका सबै ठाउँबाट यो क्षेत्रको प्राज्ञिक व्यक्तित्वहरू जसलाई सबैले स्वीकारेका छन्, यस्ता पात्रहरू बसेर तयार बनाएको कार्यदलले लामो अध्ययन ग¥यो, नेपालभित्रको मात्र होइन, नेपाल बाहिरको पनि अध्ययन ग¥यो । त्यसको आधारमा केही निष्कर्ष निकाल्यो ।
सम्माननीय प्रधानमन्त्रीजी, तपाईंलाई पनि यसको बारेमा केही था’छैन । मेरो जनरल नलेज छ र पनि मलाई पनि खास था’छैन, शिक्षामन्त्रीलाई पनि था’छैन । हामी राजनीति गर्ने मानिसहरू सबै कुरा थाहा भएको जस्तो गर्छौं तर केही थाहा हुँदैन । तर, यसको फ्याक्ट कुरो वा प्रतिवेदनले भनेभन्दा केही फरक कुरा भन्नुभएको छ भने हामी जान्न चाहन्छौँ कि तपाईंको ज्ञानको स्रोत के हो, तपाईंको बुझाइको स्रोत के हो ? दश वर्षसम्म काठमाडौंमा मेडिकल कलेज किन नखोल्ने ? दश वर्षसम्म काठमाडौंमा मेडिकल कलेज यसकारण नखोल्ने कि काठमाडौं उपत्यकाभित्र जति पनि जनसंख्या छ, यो जनसंख्याको आधारमा जति पनि अस्पताल र मेडिकल कलेजहरू छ त्यो यहाँको जनसंख्याको लागि पर्याप्त छ । अरु थप मेडिकल कलेज खोल्ने हो भने, कलेजका विद्यार्थीले सिक्ने हो भने बिरामीमाथि हो । बिरामी पुग्दैन भन्ने प्रमाण हेर्न कही जानुपर्दैन, सरकारका मन्त्रीजीलाई मेरो आग्रह छ, ल सँगै जाउँ, संसदको टोली बनाउर जाउँ, यहीँका कतिपय मेडिकल कलेजहरू रित्ता छन् । लुकाएर लुक्ने कुरा हुँदैन ।
साथीहरू भन्नुहुन्छ, काठमाडौंमा खोल्न किन नपाइने, म काठमाडौंको सासंद हुँ, यहाँको जनताको प्रतिनिधि भएर भन्दै छु, भो पुग्यो अब काठमाडौंमा थप मेडिकल कलेज चाहिँदैन ।
पूर्व–पश्चिम सबै जिल्लाका साथीहरूले आफ्नो जिल्लाको जिम्मा लिई आएर बोल्नुहुन्छ । उहाँहरूले मेरो अस्पताल खाली भयो भन्नुभएको छ, मेरो अस्पतालमा चिकित्सक पुगेन भनेर भन्नुभएको छ । त्यसो भए आग्रह गर्न चाहान्छु, तपाईंको अस्पतालमा चिकित्सक पुगोस् भन्ने चाहनुहुन्छ र तपाईंको जिल्लामा अस्पताल होस् भन्ने चाहनुुहुन्छ भने अहिले गोविन्द केसीको माग ठिक छ भनिदिनुहोस्, त्यसपछि तपाईं सुतेर बस्नुस् तपाईं भएकै ठाउँमा चिकित्सक पुग्छ ।
यो विधेयकको विरुद्धमा पनि उभिने र विधेयकलाई तोडमोड तयार हुने अनि मेरो जिल्लामा अस्पताल र चिकित्सक छैन भनेर भन्छौँ । एउटा चिकित्सक तयार गर्नका लागि करिब ८–१० वर्ष लगाएर एक करोडभन्दा बढी खर्च गरेर ३९ हजार आठ सय रुपैयाँ दिएर गाउँ–गाउँमा जिल्लामा हामी चिकित्सक पुगेन भनेर बहस गर्छौं ।
प्रधानमन्त्रीले भन्नुभएको छ कि नेपाललाई मेडिकल हब बनाउँछु भनेर, म सोध्न चाहन्छु– किन तपाईंहरू उपचारका लागि बंगलादेश नभएर सिंगापुर जानुहुन्छ ? बंगलदेश अहिले मेडिकल हब हो, तर उपचारका लागि बंगलादेश जाँदै गर्दा त्यहाँको डाक्टर देखेर हामीलाई डर लाग्छ, बिरामी भागाभाग गर्छन् ।
मेडिकल कलेज कहाँ खुल्छ, कसले खोल्छ र कसरी खोल्छ ? अनि हाम्रो गाउँमा चिकित्सक आउने कुरा यो सँग जोडिएको छ । काठमाडौंमा ५०–६० लाख रुपैयाँ तिरेर साहुहरूको खोलेको मेडिककल कलेजमा पढेर डेढ करोड तिरेर पढेको चिकित्सक तपाईं हाम्रो गाउँमा ३० हजारमा आउँदैन । त्यसकारण मेडिकल कलेज कहाँ खोल्ने भन्ने कुरा योसँग जोडिएको छ ।
अर्को विद्यार्थी बाहिर गए भनिएको छ, कति विद्यार्थी बाहिर गए, तथ्यमा छलफल गरौं, ल चारसय, पाँच सय विद्यार्थी बाहिर गए, यो आन्दोलन शुरु हुनुभन्दा अघि कति विद्यार्थी बाहिर जान्थे… दुई हजार भन्दा बढी । डा. गोविन्द केसीलाई बडो सजिलोसँग बोल्दैगर्दा मलाई शंका लागिरहेको छ कतै विदेश बाहिर पठाउनेहरूबाट सञ्चालित भएका पो छन् कि भनेर भनिरहनु भएको छ ।
आज विदेश पठाउनका लागि डेस्क र टेबल राखेर बसेका मानिसहरूको धन्दा कसैले बन्द ग¥यो भने यही गोविन्द केसीको आन्दोलनले बन्द ग¥यो । यही प्रतिवेदनले बन्द ग¥यो । पहिले सबैभन्दा सजिलो बाहिर जानका लागि मेडिकल विद्यार्थी भएर जान पाइन्थ्यो ।
त्यो रोक्नका लागि माथेमा सरको आयोगले सिफारिस ग¥यो, नेपाल मेडिकल काउन्सिलले लागु ग¥यो र नेपालको विश्वविद्यालयको प्रवेश परीक्षा पास नगरी कोही बाहिर जान पाउँदैन भन्ने कुरा लागू हुनासाथ एकचोटी दुई हजारबाट घटेर संख्या चार सयमा आयो ।
त्यो विद्यार्थी पनि नेपालमा पढ्न नपाएर गएको होइन कि नेपालको मेडिकल कलेज महँगो भएर गएको हो । यहाँको मेडिकल कलेजले एकचोटी चालिस लाख लिन्छ, यहाँ पास हुनुपर्छ । ती विद्यार्थी बंगलादेश, चीन तथा फिलिपिन्समा पैसा तिरेर एबिबिएसको सर्टीफिकेट हातमा आउने ग्यारेन्टी लिएर त्यहाँ गएका हुन् ।
दुःखका साथ भन्नुपर्छ तिनले पनि दुःख पाएका छन् भोलि तिनले हामीलाई पनि दुःख दिनेछन् ।
यहाँ ५० वटा मेडिकल कलेज खोले पनि वर्षको तीन चार सय विद्यार्थी बाहिर जान रोकिन्न । म माननीय सांसदहरूलाई आग्रह गर्न चाहन्छु कि कुरा बुझिदिनुस्, यहाँ मेडिकल खाली छन् । यति कुरा बुझिदिन मेरो सासंद साथीहरूलाई आग्रह छ ।
नेपालमा भएका मेडिकल कलेजहरूको सिण्डिकेट जोगाउनका लागि गोविन्द केसी अनशन बस्नुभएको छ भन्ने आरोप प्रधानमन्त्रीजी र माननीय सांसद साथीहरूले पटक–पटक यसलाई दोहो¥याउनु भएको छ । आजको दिनमा यहाँ ६० लाख ७० लाख शुल्क तिरेर पढिरहेको एक विद्यार्थीले आज ४० लाख ३० लाखमा पढ्न पाउँदा, कोसँग रिसाएको छ भन्दा गोविन्द केसीसँग, आज त्यही मानिसको कार्यदलबाट मेडिकल कलेजलाई जोगाउने जिम्मा पनि सरकारको हो । जबर्जस्ती कुतर्क गरेर मेडिकल माफियालाई जोगाउने कुरा ठिक होइन भन्ने कुरा बुझिदिन पनि आग्रह गर्न चाहन्छु ।
प्रधानमन्त्रीले भन्नुभएको छ कि नेपाललाई मेडिकल हब बनाउँछु भनेर, म सोध्न चाहन्छु– किन तपाईंहरू उपचारका लागि बंगलादेश नभएर सिंगापुर जानुहुन्छ ? बंगलदेश अहिले मेडिकल हब हो, तर उपचारका लागि बंगलादेश जाँदै गर्दा त्यहाँको डाक्टर देखेर हामीलाई डर लाग्छ, बिरामी भागाभाग गर्छन् ।
मेडिकल हब त्यसरी नै बनाउने हो भने यहाँ उपचार गराइरहेका सामान्य मानिसहरू पनि घरखेत बेचेर भारत उपचार गराउन जान बाध्य हुन्छन् । विश्वास हुँदैन, गुणस्तरीय चिकित्सक सबैभन्दा ठुलो कुरा हो । मेडिकल कलेज खोल्ने वा संसारका मानिसहरू यहाँ पढ्न आइदिन्छन् र टन्न डलर तिर्छन्, त्यसपछि नेपाल नै धनी हुन्छ भन्ने लागेको हो भने बुझ्नुहोस्– त्यो पानीजहाज जस्तो होइन प्रधानमन्त्रीज्यू । त्यसरी देश धनी हुँदैन । संसारका मानिसहरू तपाईं हामी जति मुर्ख छैनन् । बिरामी नै नभएको मेडिकल कलेजमा आफ्नै नेपालीहरू पढ्न छोडिसेपछि बाहिरको मानिसहरू यहाँ के आधारमा पढ्न आउँछन् । हिजो दिनमा हाम्रो आइओएममा ? मणिपालमा किन पढ्न आए भन्दा यहाँ गुणस्तर छ भनेर पढ्न आए । किनभने गुणस्तर छ भनेर आए जुन दिन उनीहरूलाई गुणस्तर छैन भन्ने लाग्छ त्यो दिनबाट बन्द हुन्छ ।
सर्टीफिकेट किनबेच गर्न मात्रै आउने भने हाम्रो पनि अवस्था बंगलादेशको जस्तै हुन्छ । म यति कुरा बुझिदिन प्रधानमन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु । त्यसैगरी कतिपय साथीहरू यसअघि मापदण्ड पूरा नगरेर खोले ती मापदण्ड पूरा नगर्नेलाई पनि कारबाही गर्नुपर्छ । म उहाँहरूलाई आग्रह गर्न चाहन्छु । गौरीशंकर कार्कीको नेतृत्वमा जुन आयोग बन्यो, त्यो आयोगले ४३ जनालाई कारबाहीको सिफारिस गरेको छ । ती सिफारिस गरेका मानिसहरूलाइ कारबाही गर, गलत गरेका मानिसहरूलाई दण्ड देउ, जोसुकै परुन् भन्दै गर्दा हामी त्यो गर्न सक्दैनौँ भनेर भनिरहेका छौँ । हामी कति बडो लज्जा बोकेर भन्छौं, एउटै कुरामा १५ पटक अनशन बस्न लाज लागेन भनेर गोविन्द केसीलाई सोध्छौँ तर मलाई लाज लागेको छ त्यो के हो भने एउटै विषयमा १५ पटक अनशन बसाउन यो सरकारलाई लाज लाग्नुपर्ने हो, यो संसदलाई लाज लाग्नु पर्ने हो ।
त्यत्रोे पुर्वाधार तयार भएको मेडिकल कलेजलाई किन नदिने भन्छौँ हामी । तर, मैले तपाईंलाई बालकोट आएर बुझाएको छु, मनमोहन अधिकारी हामी सबैको स्मरणीय नेता हुनुहुन्छ । उहाँको नाममा विवाद गर्ने अधिकार नेकपा एमालेलाई मात्र छैन, मनमोहन अधिकारी हाम्रो पनि नेता हो । उहाँको नाममा मेडिकल कलेज खुल्छ तर यो अस्पतालमा जति सम्पत्ति लगानीकर्ताको परेको छ त्यो सबै नेपाल सरकारले किन्छ भनेर निर्णय ग¥यौँ । निर्णय मात्र गरेनौँ म आफैं स्वास्थ्यमन्त्री हुँदै गर्दा नेपाल एकेडेमी फर मेडिकल साइन्स जसलाई हामी वीर अस्पताल भनेर चिन्छौं , नेपालको सबैभन्दा ठुलो एकेडेमी मैले कांग्रेसको साथीहरूलाई भनेँ, नेताहरूलाई गएर भनेँ उहाँहरूले स्वीकृति दिनुभयो । पुष्पकमल दाहालले त्यो बेलामा सबैभन्दा ठुलो मद्दत गर्नुभयो, म त्यो सम्झन्छु अहिले । त्यसको नाम फेरर नेपाल एकेडेमी फर मेडिकल साइन्स फेरर मनमाहन अधिकारी फर मेडिकल साइन्स राख्ने र मनमोहनको सम्पत्ति यसैले किन्ने, एक व्यक्तिले चलाएको मेडिकल कलेजभन्दा देशको सबैभन्दा ठुलो चिकित्साशास्त्र अध्ययन संस्थानको नाम नै मनमोहनको नाम राखौँ भन्यौँ तर उहाँहरूले मान्नुभएन ।
म आग्रह गर्छु कमरेड भान्जा हुनुहुन्छ, मामा माथि पदमा हुनुहुन्छ । तपाईंहरू बसेर छानबिन गर्नुस् कि कुन एकजना मानिस पनि कसैले पनि गल्ती गरेको छ भने कुनै एकजनाले पनि अपराधबाट दण्ड पाउँछ । ती सबै चुनौतीको सामना गर्न तयार हुनुपर्छ । हिजोको दिनमा लोकमानसिंह कार्की आउनुभयो, श्रीमान् गोपाल पराजुलीजी आउनुभयो । यो सबै कुराले के देखाउँछ भने नेपालको सन्दर्भमा सामान्य चिकित्सा शिक्षाको विषय मात्र होइन नेपालमा राजनीतिक नेक्सस कहाँ–कहाँ छ भन्ने कुरा प्रष्ट पार्छ ।
अहिले मनमोहनको नाममा खोलेको कलेज फलानो पार्टीले खोल्न दिएन भनेर गोविन्द केसी मनमोहन मेडिकल कलेजको विरुद्ध अनशन बसेको छ भन्दै गर्दा लाज लाग्दैन, यसमा कुनै तर्क छ भन्दा– छैन ।
म तपाईंलाई बिन्ती गर्न आएको हुँ । डा. गोविन्द केसीको जीवन तपाईं–हामी राजनीति गर्ने मानिसभन्दा धेरै मुल्यवान छ । उहाँमा निष्ठा छ, जुन सानो कुरा होइन । आज एउटा मेडिकल कलेजको लाइसेन्स नपाएपछि एउटा व्यापारी, एउटा मुनाफाखोर बाटोमा भटभटाउँदै हिँडेको छ । उसले कहिले गोविन्द केसी मरे हुन्छ भनेको छ, कहिले यी सबै नेताहरू भ्रष्ट्राचारी हुन भनेर भन्छ । प्रधानमन्त्रीले झन् नाता पनि खुलाइदिनुभयो, भान्जा पर्नुहुँदो रहेछ ।
म आग्रह गर्छु कमरेड भान्जा हुनुहुन्छ, मामा माथि पदमा हुनुहुन्छ । तपाईंहरू बसेर छानबिन गर्नुस् कि कुन एकजना मानिस पनि कसैले पनि गल्ती गरेको छ भने कुनै एकजनाले पनि अपराधबाट दण्ड पाउँछ । ती सबै चुनौतीको सामना गर्न तयार हुनुपर्छ । हिजोको दिनमा लोकमानसिंह कार्की आउनुभयो, श्रीमान् गोपाल पराजुलीजी आउनुभयो । यो सबै कुराले के देखाउँछ भने नेपालको सन्दर्भमा सामान्य चिकित्सा शिक्षाको विषय मात्र होइन नेपालमा राजनीतिक नेक्सस कहाँ–कहाँ छ भन्ने कुरा प्रष्ट पार्छ ।
डा. केसीको स्वास्थ्य अवस्था निकै कमजोर छ । प्रधानमन्त्री तपाई नेकपा एमाले र माओवादीको मात्र होइन हाम्रो पनि हो । मेरो पनि हक लाग्छ तपाईंमाथि, त्यही हकका आधारमा तपाईंलाई आग्रह गर्न चाहन्छु तपाईंले आज बेलुका चिकित्सा शिक्षा विधेयक गोविन्द केसीको मागअनुसार र माथेमाको प्रतिवेदनअनुसार आउँछ भन्दै गर्दा देशभरी तपाईंकै जयजयकार हुनेछ । देशभर तपाईंलाई फूलमाला लगाइनेछ तपाईंको कद घट्दैन । तपाईंको दुई तिहाइ पनि घट्दैन, झन बलियो बन्छ । त्यसकारण तपाईं यति कुरा बुझिदिनुस् कि यो नागरिकको आवाज हो ।
म फेरि संसदमा बालेको कुरा दोहो¥याउँछु कि रत्नपार्कको अघि बस्दै गर्दा हिजो गिरिजाप्रसाद कोइराला, नारायणमान बिछुक्चे, माधव नेपाल, भरत विमल यादव, अमिक शेरचन यी केही मानिसहरू बस्दै गर्दा त्यो बेला दरबारट महाराजले भनीबक्सथ्यो रे– यी पाँच–सात जना मानिसहरू उफ्रेर केही पनि हुँदैन । यहाँ आएका मानिसहरूको टाउको नगन्नुस् सम्माननीय प्रधानमन्त्रीज्यू । संसदमा भएका मानिसहरूको टाउको नगन्नुस् । यदि विषय सत्य छ भने एउटा मानिस मात्रै उभिए पनि पुग्छ । मुद्दा गलत छ भने लाखौं मानिस आए पनि केही हुँदैन ।
आज यी मानिसहरू सत्यको पक्षमा उभिएका छन् डा. केसी कर्णालीमा सत्यको पक्षमा लडिरहेका छन् । सत्यको आवाजलाई सुनिदिनुस्– म यति आग्रह गर्न चाहन्छु ।
(सार्वजनिक मन्तव्यमा आधारित)