‘दश बर्षसम्म मेडिकल कलेज खोल्न हुँदैन भन्ने डा. केसीको माग मैले बुझिन’ – आचार्य

रिपोर्ट नेपाल | 2018 Jul 04 | 06:13 pm 4422

काठमाडौं, २० असार : नेपाल कम्युनिष्ट पार्टीका नेता भीम आचार्यले डा गोविन्द केसीको दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माग आफूले नबुझेको बताएका छन् । रिपोर्टर्स क्लवमाले बुधबार गरेको कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।

सरकारले तय गरेको स्तर वा मापदण्ड पूरा गरेका मेडिकल कलेजहरुलाई मात्र सम्बन्धन दिनुपर्ने उनको जोड छ । ‘हो, उहाँ चिकित्सा शिक्षामा देखिएको बेथिति हटाउन राम्रो मनशायले अनशन बस्दै आउनुभएको छ, तर १० वर्षसम्म पनि काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा मैले बुझेको छैन।’ उनले भने,‘सरकारले तोकेको स्ट्यान्डर्ड मेन्टेन गर्ने कलेजहरुलाई सम्बन्धन दिन रोक्नुहुँदैन, तीनलाई सम्बन्धन दिनुपर्छ।’

अहिले नेपालमा डाक्टर पढ्न नपाएर हजारौंको संख्यामा भारत, चीन, बंगलादेश लगायतका देशमा नेपाली विद्यार्थीहरु पढ्न जानुपर्ने बाध्यता रहेको सुनाउँदै उनले भने,‘अहिले नेपालबाट डाक्टर पढ्नको लागि अर्बौं रुपैयाँ विदेश बाहिरिएको छ, यो राक्नको लागि पनि नेपालमा स्तरीय मेडिकल कलेजहरु सञ्चालनमा आउनुपर्छ ।’ नेपालमै स्तरीय कलेजहरु खोल्न सके विदेशबाट पढ्न यहाँ आउने ठूलो संभावना रहेको उनको भनाई थियो । उनले भने ‘डाक्टर केसीले उठाएका अरु विषयहरु ठीक छन्, तर दशवर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने कुरामा म सहमत छैन।’ उनले चिकित्सा शिक्षा सुधारसम्बन्धी आएको माथेमा आयोगको प्रतिवेदन समेत ए टु जेड ठिक नहरेको जिकिर गरे । उनले थपे ‘काठमाडौंमा अनशन बस्न छोडेर उहाँ किन जुम्ला जानुपर्यो’ उनले प्रश्न गरे,‘यो कुरा पनि मैले बुझन सकेको छैन।’

उनले भने,‘उहाँकै स्वार्थका कारण उपचार नभएको हो, उहाँले देशभरि नै घोषणा गरिएको निषेधित क्षेत्रहरु फिर्ता लिन भनिरहनुभएको छ, तर म यही मञ्चबाट भन्छु, सरकारले फिर्ता लिनको लागि निषेधित क्षेत्र घोषणा गरेको होईन, त्यसैले कुनै हालतमापनि फिर्ता हुँदैन्।’ आचार्यले ५० जनाको जुलुसले गर्दा पाँच लाखलाई प्रत्यक्ष असर पर्ने हुँदा सरकारले निषेधित क्षेत्र तोकेको बताउँदै यसलाई सरकारको सही निर्णय भएको पनि दाबी गरे । त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीको पनि समस्या हल गर्नुपर्नेमा जोड दिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.